प्रधानमन्त्री कार्यालयकाे कालोसूचीमा सात निर्माण कम्पनी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो।
सम्झौताअनुसार जिम्मा लिएको काम निर्धारित समयमा सम्पन्न नगरेको तथा आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै सम्बन्धित सरकारी निकायले कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेका थिए।
कालोसूचीमा पर्ने कम्पनीमध्ये बीएमआर कन्स्ट्रक्सनलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, हेभन-निसान जेभी, नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रा.लि., आर.यु.पी.एस. कन्स्ट्रक्सन प्रा.लि. र बाल्ट्रा पेट्रोकेमिकल प्रा.लि.लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी, सीआईपीईएल-शैलुङ जेभी र जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रा.लि.लाई दुई वर्ष छ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका कम्पनीहरूले प्रतिबन्धको अवधि समाप्त नभएसम्म कुनै पनि सार्वजनिक निकायको खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
सार्वजनिक खरिद प्रक्रियामा सम्झौताअनुसार काम नगर्ने तथा जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कानुनी दायरामा ल्याउने उद्देश्यले यस्तो कारबाही गरिएको हो।
