`

कास्कीका तीन क्षेत्रमा ४५ उम्मेदवारको प्रतिस्पर्धा : कहाँ को छन् मैदानमा ?

रामचन्द्र जोशी १२ माघ २०८२ १७:४३
निर्वाचन विषेश

काठमाडौं। गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट ३९ र ६ स्वतन्त्रसहित कुल ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसपटक कास्कीका सबै क्षेत्रमा पुराना तथा नयाँ अनुहारको रोचक भिडन्त हुने देखिएको छ। कास्की–१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ। 

एमालेले यस क्षेत्रमा स्थानीय स्तरमा सक्रिय नेताका रूपमा उदाएका बैनबहादुर क्षेत्रीलाई अघि सारेको छ। २०७४ को स्थानीय तहबाट जिल्ला समन्वय समितिका प्रमुख बनेका क्षेत्री पहिलोपटक संघीय तहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेसले कास्की–१ मा तिलकबहादुर रानाभाटलाई उम्मेदवार बनाएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रानाभाट हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका थिए। कास्की–१ लाई कांग्रेस गण्डकीको ‘आधार क्षेत्र’ मानिँदा रानाभाटको उम्मेदवारीले क्षेत्रको चुनाव थप चासोको विषय बनेको छ। 

नेकपाले जनयुद्धकालदेखि सक्रिय नेता राजकाजी गुरुङ ‘करण’ लाई टिकट दिएको छ। एमालेको पकड क्षेत्र मानिँदै आएको कास्की–१ मा करणको प्रवेशसँगै परिणाममा उथलपुथल हुने विश्लेषण भइरहेका छन् ।  रास्वपाले लेखक खडकराज पौडेल ‘गनेस’ लाई अघि सारेको छ। उनी पछिल्लो समय उपन्यास ‘पैताला’मार्फत चिनिएका साहित्यकार हुन्। उनले २०७९ मा पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन्द्र शाह ‘बालेन’ को टिमबाट टिकट पाएका हुन्। उनेपाले कास्की–१ मा खगोल वैज्ञानिक मनिषा द्वालाई उम्मेदवार बनाएको छ भने राप्रपाले बाबुराम थापामाथि भरोसा गरेको छ। यसअघिको निर्वाचनमा कास्की–१ एमालेका मानबहादुर गुरुङले जितेका थिए।

यो क्षेत्रमा रुपा, मादी गाउँपालिका तथा पोखरा महानगरका १०, १२, १३, १४, २७, २८, २९, ३० र ३२ नम्बर वडाहरू पर्दछन्।

कास्की–२ : एमालेको बलियो आधार क्षेत्रमा नयाँ अनुहारको भिडन्त

कास्की–२ मा प्रतीनिधिसभा निर्वाचनको लागि आठ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  २०६४ यता निरन्तर विजय हासिल गर्दै आएको एमालेले यसपटक यो क्षेत्रमा रश्मी आचार्यलाई अघि सारेको छ। कृष्णबहादुर थापाको अपेक्षित उम्मेदवारी अन्तिम समयमा परिवर्तन गर्दै एमालेले रश्मीलाई टिकट दिएको हो। यस क्षेत्रबाट दिवंगत एमाले नेता रविन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए भने पछिल्ला दुई निर्वाचन(उपनिर्वाचन २०७६ र प्रतिनिधिसभा निर्वाचन २०७९) रविन्द्र पत्नि विद्या भट्टराईले जितेकी थिइन्।

कांग्रेसले गण्डकी प्रदेश समितिका प्रवक्ता माधव बास्तोला ‘मधु’लाई उम्मेदवार बनाएको छ । मधुको प्रवेशले कास्की–२ को प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ । नेकपाले पूर्व माओवादी सैन्य कमान्डर किरण थापा ‘आमोद’लाई टिकट दिएको छ। थापा युद्धकालीन गतिविधिका कारण चर्चामा आएका थिए र हालै मात्रै नेकपा प्रवेश गरेका हुन्।

रास्वपाबाट पूर्वपत्रकार उत्तम पौडेल प्रतिस्पर्धामा छन्। उनी न्युज-२४ टेलिभिजनमा रवि लामिछानेको टिममा रहँदै कास्कीबाट पत्रकारिता गर्दै आएका थिए। उनेपाले उर्जाविद् कुशल गुरुङलाई मैदानमा उतारेको छ भने राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग शाहीलाई उम्मेदवारी दिएको छ। 

कास्की–२ मा पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरू समावेश छन्।

कास्की–३ : एमालेका बैरागी दोहोरिदै, कांग्रेस र नेकपाका नयाँ अनुहार

कास्की–३ मा एमालेबाट अघिल्लो निर्वाचनका विजयी उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ पुनः मैदानमा उत्रिएका छन्। २०७४ को स्थानीय तहमा वडासदस्यमा पराजित भएका बैरागीले २०७९ मा भने उल्टो संघीय निर्वाचन जितेका थिए। यसपटक यो क्षेत्रमा नेकपाले नयाँ अनुहार गोपाल गिरीलाई प्रतिस्पर्धामा उतारेको छ। सुरुमा नेकपाबाट यो क्षेत्रमा प्रेम पौडेलले टिकट पाउने चर्चा थियो तर उनी पारिवारिक कारणले पछि हटेपछि गिरीलाई टिकट दिइएको हो।

कांग्रेसले देउवा समूहका नेता मनोज गुरुङलाई उम्मेदवार बनाएको छ । उनी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका नेता हुन्।  रास्वपाले युवा व्यवसायी बिना गुरुङलाई अघि सारेको छ भने उनेपाले तर्कबहादुर गुरुङलाई टिकट दिएको छ। राप्रपाले केन्द्रीय सदस्य अर्जुन खनाललाई कास्की–३ मा उम्मेदवार बनाएको छ।

यस क्षेत्रमा २०४८ यताका सात निर्वाचनमध्ये पाँचमा एमाले विजयी भएको छ। कास्की–३ मा अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरू पर्दछन् । 

अघिल्लो चुनावमा कास्कीका तीनै क्षेत्रमा एमाले विजयी भएको थियो। कास्की–१ मा मानबहादुर गुरुङ, कास्की–२ मा विद्या भट्टराई र कास्की–३ मा दामोदर पौडेल ‘बैरागी’ त्यतिबेला निर्वाचन जिते। यसपटक कास्कीका तीनै क्षेत्रमा नयाँ तथा पुराना उम्मेदवारको प्रतिस्पर्धाले चासोको विषय बनेको छ। एमालेले जित्दै आएको यी निर्वाचन क्षेत्रको विधायक को ? फागुन २१ को मतदानपछि ‘ब्यालेटबक्स’ ले यो प्रश्नको उत्तर दिनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *