`

कांग्रेस नेताहरु माघ २१ देखि चुनावी क्षेत्रमै खटिने

Nepal One HD १४ माघ २०८२ १२:०७
निर्वाचन विषेश

काठमाडौं । आउँदो निर्वाचनको तयारीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाली कांग्रेसले नयाँ सांगठनिक रणनीति अख्तियार गरेको छ । कांग्रेसले आगामी २१ माघदेखि २१ फागुनसम्मका लागि ‘विशेष रणनीति’ लागू गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई कार्यक्षेत्रमा उतार्ने भएको हो ।

निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको ‘निर्वाचन परिचालन निर्देशिका’ मा चुनावको अन्तिम तयारीका लागि नवीन कार्ययोजना समेटिएको छ । जसअन्तर्गत ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिलाई मुख्य आधार बनाइएको छ । यस नीतिअनुसार पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरूले आफ्नो तोकिएको कार्यक्षेत्रमा अनिवार्य रूपमा खटिनु पर्नेछ ।

निर्वाचनको वातावरण निर्माण गर्न र पार्टीको सांगठनिक अवस्था सुदृढ तुल्याउन कांग्रेसले यो एक महिने विशेष अभियान सञ्चालन गर्न लागेको हो । निर्देशिकामा उल्लेख भएअनुसार चुनावको अन्तिम ३० दिन नेता तथा कार्यकर्ताहरूले केवल आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रमा केन्द्रित हुनुपर्नेछ । यसले केन्द्रमुखी राजनीतिलाई भूगोलमुखी बनाउने अपेक्षा पार्टीले लिएको छ ।

विशेष रणनीतिको अन्तिम रूप दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हाल प्रदेशस्तरीय आन्तरिक छलफलहरू भइरहेका छन् । सोही क्रममा बुधबार गण्डकी प्रदेशको विशेष छलफल आयोजना गरिएको छ । यसअघि मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँगको परामर्श सकिएको उपसभापतिको सचिवालयले जनाएको छ ।

छलफलमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला सम्पर्क समितिका सभापतिहरूका साथै काठमाडौँमा रहेका कांग्रेस निकट पेशाकर्मी, बुद्धिजीवी र युवाहरूको सक्रिय सहभागिता रहेको छ । अभियानमार्फत कांग्रेसले तल्लो तहका कार्यकर्ताको मनोबल उच्च पार्ने, मतदातासँगको सम्बन्ध नवीकरण गर्ने र चुनावी चुनौतीहरूको सामना गर्न स्थानीय संयन्त्रलाई सक्रिय बनाउने लक्ष्य राखेको छ । उपसभापति शर्माका अनुसार, यो रणनीतिले पार्टीको निर्वाचन परिचालनलाई थप संस्थागत र नतिजामुखी बनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *