`

अछाम-१ मा रोचक भिडन्त, भीम रावल चौंथो पटक संसद छिर्ने दाउमा

रामचन्द्र जोशी ६ माघ २०८२ १५:५७
निर्वाचन विषेश

अछाम । पश्चिम नेपालको पहाडी जिल्ला अछाम क्षेत्र नम्बर–१ मा यस पटकको प्रतिनिधिसभा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। कांग्रेस र एमाले राजनीतिक पुनरागमनको खोजीमा रहँदा पूर्व उपप्रधान तथा मन्त्री समेत रहिसकेका डा. भीम रावल भने चौथोपटक संसद प्रवेश गर्ने प्रयासमा छन्। अछाम–१ बाट चार पटक चुनाव लडेका रावल तीन पटक विजयी भइसकेका नेता हुन्। यही क्षेत्रबाट निर्वाचित हुँदै उनले गृह, रक्षा तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। नेकपा एमालेको सक्रिय राजनीतिमार्फत राष्ट्रिय स्तरमा प्रभाव जमाएका रावल यसपटक भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन्।

गत निर्वाचनमा पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेबाट टिकट नपाएका रावल त्यसयता ‘मातृभूमि जागरण अभियान’ मार्फत सक्रिय रहँदै आएका थिए। केही समयअघि मात्रै उनी नेकपाको सक्रिय राजनीतिमा फर्किएका हुन्। सुदूरपश्चिमकै प्रभावशाली नेतामध्ये एक मानिने रावलको उम्मेदवारीले अछाम–१ को चुनावी समीकरण थप जटिल बनाएको छ।

उता, नेपाली कांग्रेसले अछामका पुराना नेता भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएको छ। कांग्रेस अछामका पूर्व सभापति समेत रहिसकेका स्वार स्थानीय स्तरमा राम्रो संगठन र छवि भएका नेता मानिन्छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी रावलसँग पराजित भएका थिए। २०४८ र २०५६ को आमनिर्वाचनमा अछाम–१ जितेको कांग्रेस त्यसयता लगातार कम्युनिष्ट उम्मेदवारसँग पराजित हुँदै आएको छ। करिब २५ वर्षपछि कांग्रेस यो क्षेत्रमा राजनीतिक पुनरागमनको प्रयासमा छ।

नेकपा एमालेले भने अछाम–१ मा दिपक साउद ‘तरंग’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि जिल्लाका इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा उम्मेदवार परिवर्तन गरिएको हो। साउद हालसम्म प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय थिए। एमालेबाट टिकट पाएसँगै उनी हालै एमालेमा प्रवेश गरेका हुन्। यसअघि २०७० को आमनिर्वाचनमा उनी नेकपा माओवादीबाट संविधानसभा निर्वाचनमा उम्मेदवार थिए। 

रामारोशन, चौरपाटी र मेल्लेख क्षेत्रमा साउदको प्रभाव राम्रो रहेको भन्दै एमालेले उनको उम्मेदवारीले चुनावी परिणाम बदलिन सक्ने आँकलन गरेको छ। २०४८ यता भएका सात संसदीय निर्वाचनमध्ये एमालेले चार निर्वाचन जितिसकेको छ। तर २०७९ को निर्वाचनमा एमाले उम्मेदवार झपट बोहरा तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार शेरबहादुर कुँवरसँग पराजित भएका थिए। कुँवर हाल नेकपामा आबद्ध छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता ओमप्रकाश रावललाई उम्मेदवार बनाएको छ। रास्वपा अछामका सभापतिसमेत रहेका रावललाई पार्टीभित्र र युवामाझ स्वच्छ र जुझारु नेताका रूपमा हेरिन्छ। अछामका पुराना राजनीतिक हस्तीहरूसँग पहिलोपटक संसदीय निर्वाचनमा भिड्न लागेका रावल पनि संसद प्रवेशको रणनीतिमा छन्।

अछाम–१ को चुनावी इतिहास

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचनमा अछाम–१ बाट कांग्रेसका बलबहादुर कुँवर विजयी भएका थिए। उनले एमालेका भिम कडायतलाई ४ हजार ४ सय ६३ मतान्तरले पराजित गरेका थिए। २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस विभाजित हुँदा एमालेका भिम बहादुर रावल पहिलोपटक संसद प्रवेश गर्न सफल भए। २०५६ मा भने कांग्रेसका गोविन्द बहादुर शाह विजयी बने।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर कुँवर विजयी भएयता अछाम–१ मा कम्युनिष्ट पार्टी समर्थित उम्मेदवारहरूले लगातार जित्दै आएका छन्। २०७० र २०७४ मा भिम रावल विजयी भए भने २०७९ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भए। रोचक संयोग के छ भने २०६४ यताका सबै निर्वाचन जितेका रावल र कुँवर अहिले एउटै राजनीतिक मोर्चामा छन्। यस्तो अवस्थामा अछाम–१ मा निरन्तरता कायम हुन्छ वा नयाँ शक्ति उदाउँछ भन्ने विषय चुनावी नतिजाले नै तय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *