एमाले र प्रलोपाबीच चुनावी तालमेल, यस्ता छन् तीन बुँदे सहमति
काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच कर्णाली प्रदेश र पुरानो राप्ती अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा दुबै दलबीच संयुक्त रूपमा चुनाव लड्ने समझदारी बनेको हो ।
आइतबार काठमाडौँमा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष परिषद सदस्य दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार हुम्ला र जुम्ला बाहेकका कर्णालीका सबै जिल्लामा प्रलोपा एमालेको चुनाव चिह्नमा मतदान गर्न तयार भएको छ ।
कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, कालिकोट, मुगु, हुम्ला र जुम्ला जिल्ला रहेका छन् । यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लामा प्रलोपा एमालेको पक्षमा उभिनेछ भने रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपालाई समर्थन गर्ने सहमति भएको छ । विशेष गरी रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्ने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपा उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपा उम्मेदवार सन्दीप पुनलाई एमालेले समर्थन गर्नेछ ।
हुम्ला र जुम्लामा भने दुवै दल आ–आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धामा छन् । हुम्लामा एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन् । त्यहाँ कांग्रेस, नेकपा, राप्रपा र रास्वपाका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । यस्तै जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धितालबीच प्रतिष्पर्धा हुँदैछ, जहाँ अन्य दलका उम्मेदवारहरूको पनि उल्लेख्य उपस्थिति छ । सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने बताएका छन् । कर्णाली र राप्ती क्षेत्रमा शक्ति सन्तुलन बदल्न सक्ने यो तालमेलले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

