`

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने ६० पुगे, जनमतका मात्रै २० जना

Nepal One HD २८ पुष २०८२ १७:३८
निर्वाचन विषेश

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलले बुझाएको समानुपातिक बन्दसूचीबाट ६० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । आज (सोमबार) दिउँसो ३ बजेसम्म निवेदन दिनेको संख्या ६० रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । अब करिब एक घण्टा निवेदन दिने समय भएकाले थप हुन सक्ने उनले बताए । उनले थप १०० वटा जति निवेदन आयोगमा आएको बताएका छन् । उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन् । जनमतका २० जनाले निवेदन दिएका छन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ र एमालेका ३ जना छन् । निर्वाचन आयोग स्रोतका अनुसार त्यो संख्या अझै थपिन सक्छ । एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्वयं उपस्थित भएर नाम फिर्ता लिने निवेदन दिइरहेका छन् । १३ र १४ पुसमा ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ चुनावमा भाग लिने गरी बन्दसूची बुझाएका थिन् ।प्रतिनिधिसभाको २ सय ७५ सिटमा १ सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले पनि समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।

बन्दसूचीमा आफ्नो नाम तल पारिएको भन्दै उनी असन्तुष्ट बनेकी रञ्जुको निवेदन लिएर पार्टीका एक प्रतिनिधि आज निर्वाचन आयोग पुगेका हुन् । रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ समानुपातिक बन्दसूचीको १०औं स्थानमा राखेको थियो । तर पार्टीको प्राइमरी चुनावमा महिलातर्फ सबैभन्दा धेरै मत ल्याए पनि बन्द सूचीमा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको थियो । आइतबार पार्टीले बन्द सूचीमा संशोधन गरे पनि रञ्जुको स्थान अगाडि नबढाइएपछि उनी थप असन्तुष्ट बनेकी छन् । उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि रास्वपाले बन्दसूची अद्यावधिक गरेको थियो । त्योसँगै समानुपातिकतर्फको केही नाम तलमाथि परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *