निर्वाचनका बेला कति बढ्ला पेट्रोलियम पदार्थको खपत ?
काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए । उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।
कार्यकारी निर्देशक भट्टले भने, ‘हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदैछौँ । चुनाव हुने निश्चित नै भयो । चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरुलाई स्टक राख्न भन्ने छौँ ।’ कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले करिब २०–२५ लाख लिटर पेट्रोल औषतमा खपत हुने गरेको छ । डिजेल ३८–४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औषतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।
चुनावका बेला बोर्डर बन्द हुने भएकोले इन्धन दुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए । कार्यकारी निर्देशक भट्टले भने, ‘चुनावका बेला हामी अलि चनाखो भएर कति दिन बोर्डर बन्द हुन्छ, त्यो किसिमले हाम्रा ट्याङ्करहरु, भएका भण्डारण गृहहरु पूरा भरेर राख्ने छौं । हामीसँग भएका १७–१८ सय ट्याङ्करहरु मोभिलाइज गर्नेछौँ । त्यो ट्याङ्करमा पनि स्टक राखिनेछ । यसरी हामीले आपूर्ति व्यवस्थालाई सहज बनाउनेछौँ ।’ उनले २–४ दिन बोर्डर बन्दै भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए । कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसैसाता आयल निगम निर्णयमा पुग्नेछ ।

नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हबाइ इन्धन, ग्यास ल्याउने गरेको छ । हाल वितरण, डिपोहरु आयल निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्नसक्ने व्यवस्था निगमले मिलाएको कार्यकारी निर्देशक भट्टले बताए । नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीब्र पारेको छ । २ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई डिजेल १२ दिनलाई मात्रै धान्नसक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङ्की निर्माण गरेको छ । पोखराको १० हजार केएल ट्याङ्कीलाई निगमले संचालनमा समेत ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगंजमा रहेका ट्याङ्कीहरुलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ । अहिले डिजेल करिव १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।
पाइपलाइनको काम पनि तीव्र
नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीब्र समेत पारेको छ । अहिले मोतिहारी अमलेशगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । २०७६ मा डिजेलमात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेशगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, केरोशिन पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए ।
उनकाअनुसार अहिले डिजेल, पेट्रोल, मट्टितेल जतिबेला आवश्यक पर्यो त्यतिबेला भारतबाट ल्याउन सहज रहेको छ । भारतबाटै ट्याङ्करमा इन्धन ल्याउँदा बेलाबेलामा ल्याउन कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उनको भनाइ रहेको छ । कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडामा समेत सस्तो पर्ने गरेको छ । दुवानी खर्च कटौंती भएकै कारण उपभोक्तलाई प्रतिलिटर २ रुपैंयाँ इन्धन सस्तो पर्न गएको छ । आगामी दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ दुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उनको भनाइ रहेको छ ।
भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइँदैछ । अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ । पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ । यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ ।
