`

घरधनीकै योजनामा लुटिएको थियो सिन्धुलीमा एसबिआई बैंक, सातै जना पक्राउ

सिन्धुली । पुस २९ गते साँझ सिन्धुलीको घ्याङलेख–२ हायुटारस्थित एसबिआई बैंक शाखामा भएको तीन करोड ७ लाख रुपैयाँको लुटपाटमा सात जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये बैंकको घरधनी छविलाल स्याङतान र उनका जेठान चतुरमान बज्यु मुख्य संलग्न व्यक्ति हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, राति साढे ७ बजे लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकभित्र प्रवेश गर्दा उनीहरूले प्लाष्टिकको पेस्तोल देखाएर ताल्चा खोलाएका थिए । सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई सामान्य घाइते बनाएपछि उनीहरूले पैसा बोरा र झोला भित्र राखेर जंगलतर्फ भागेका थिए ।

घटनामा ठूलो समूह संलग्न रहेको प्रहरीले जनाएको छ । बैंकबाट फरार भएकाहरूमध्ये केहीलाई करिब दुई किलोमिटर पूर्व लिपिखोलामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले जंगल र विभिन्न स्थानमा लुकाइएको रकम पनि फेला पारेको छ। प्रारम्भिक खोजीमा २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको छ भने बाँकी रकमको खोजी जारी छ ।

पक्राउ परेकामध्ये भागवतसिंह थापा (काभ्रेपलाञ्चोक, ४२ वर्ष), चतुरमान बज्यु (सिन्धुली, ४७ वर्ष), शशांक श्रेष्ठ (चितवन, २४ वर्ष), मिलन गिरी (नुवाकोट, २३ वर्ष), विवेक मगर (नुवाकोट, १९ वर्ष), छविलाल स्याङतान (सिन्धुली, ४४ वर्ष) र एक १६ वर्षीय नाबालक रहेको प्रहरीले जनाएको छ ।

एसपी सुवेदीले घटनाको योजनासम्बन्धी जानकारी पनि दिएका छन् । उनका अनुसार लुटपाटको योजना गत असोजदेखि नै बनाइएको थियो । पुस २३ गते पहिलो प्रयास असफल भएपछि पुस २८–२९ गते दोश्रो प्रयास सफल भएको थियो । बैंकको घरधनी स्याङतानले आवश्यक हातहतियारको व्यवस्था र सूचना आदानप्रदान गरेको पाइएको छ । प्रहरीले बाँकी रकम र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी राखेको छ । पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासत अनुमति लिइएको छ ।

भ्रष्टाचारमुक्त देश माग्दा योगबहादुरले गुमाए ज्यान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ पुगेका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए । योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहन्थे । दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थ्यो । गत भदौ २३ गते काठमाडौँमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबीच झडप भयो ।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठूलो संख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौँसहित देशभर विरोध प्रदर्शन भयो । योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल भए । गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे ।

फोन उठे पनि तर त्यो आवाज भाइको थिएन । ‘भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौँका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्‍यो,’ गहभरि आँशु पार्दै रामकृष्णले भने । योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ ।

‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनु पर्‍यो, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,’ दाजु रामकृष्णले भने । योगबहादुर जेनजी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो । ‘उ आन्दोलनमा गएको हामीलाईपछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’ रामकृष्णले भने ।

गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लिन थिए। विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उनलाई घोचिरहने गथ्र्याे । योगबहादुर पुतलीसडकमा फूपुको घरमा बस्थे । योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झरेका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किए । काठमाडौँमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गरे । तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झदै दाजु रामकृष्णले भने, ‘त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।’

भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौँ पुगे । ‘त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर भेटिएन । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो’, दाजु रामकृष्णले भने ।

घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन । गत भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गरेका थिए । उनलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । ‘तर अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ’, दाजु रामकृष्णले भने । सहिद परिवार व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्नेमा रामकृष्णको जोड छ । जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनले बताए । ‘यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथामिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनै पर्छ’, उनले भने ।

जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गसिकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ । रासस

वनपाले हत्या घटना : झाडीमा भेटियो टाउको, पक्राउ परेका व्यक्तिको कपडामा रगतको दाग

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा कार्यरत वन रक्षक (पाले) रामेश्वर (रामईश्वर) महतोको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै महतोको टाउको फेला परेको छ भने पक्राउ परेका व्यक्तिको कपडामा रगतको दाग भेटिएको प्रहरी र प्रशासनले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार बिहान वन क्षेत्रमा रुख काटिएको आवाज सुनेपछि महतो साइकलमा सोतर्फ गएका थिए । अबेरसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । सोही दिन जंगलको झाडीमा टाउको बिनाको शव फेला परेको थियो । त्यसपछि अनुसन्धान तीव्र पार्दै धनुषाको लालगढबाट कुकुरसहित विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो ।

प्रहरी निरीक्षक नितेश कुमार सिंहका अनुसार आइतबार दिउँसो घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फको झाडीमा महतोको टाउको फेला परेको हो । शव भने घरदेखि करिब ५०० मिटरको दूरीमा पर्ने परियोजनाको जंगल क्षेत्रमा भेटिएको थियो । हत्याको आशंकामा ईश्वरपुर नगरपालिका–२ राइटरखोरका रामवली महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको पाइएको र त्यसले घटनामा संलग्नताको आशंका बलियो बनाएको बताए । प्रहरीले सोधपुछ र थप प्रमाण संकलन गरिरहेको जनाइएको छ ।

स्थानीयका अनुसार कर्तव्यपालनका क्रममा वन तस्करी रोक्न गएका बेला महतोमाथि आक्रमण भएको आशंका गरिएको छ । घटनापछि ईश्वरपुर क्षेत्रमा त्रासको वातावरण बनेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताएका छन् । यसैबीच, सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनले घटनापछि आकस्मिक बैठक बसेर महतोको योगदानको कदर गर्दै उनलाई संरक्षण शहीद घोषणा गर्न पहल गर्ने निर्णय गरेको छ । परियोजना व्यवस्थापक खेमलाल सेन्चुरीका अनुसार अन्तिम दाहसंस्कार र किरिया खर्चका लागि तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने, कर्मचारीहरूबाट कम्तीमा एक दिनको तलब बराबरको रकम सहयोगस्वरूप संकलन गरी परिवारलाई दिने, तथा देशभरबाट राहत संकलन गरी हस्तान्तरण गर्ने निर्णय गरिएको छ।

त्यसैगरी आश्रित परिवारका एक सदस्यलाई परियोजनामै महतोको पदमा तत्काल रोजगारी दिने, नेपाल सरकार तथा वन पैदावार विकास समिति केन्द्रीय कार्यालयमार्फत नियमानुसार क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय पनि गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान द्रूत गतिमा भइरहेको र दोषी पहिचानको अन्तिम चरणतर्फ अघि बढिरहेको जनाएको छ ।

असईलाई कान्छी श्रीमती बनाउने डीएसपी नेपाल कारागार चलान

रुपन्देही । बहुविवाहको अभियोगमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बहुविवाहसम्बन्धी उजुरीपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासबाट नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । डिएसपी नेपालको जेठी पत्नी तारा नेपाल खनालले श्रीमानले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा अदालतमा गएको हो ।

डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन् । अदालतमा डीएसपी नेपालले गीता पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’ का क्रममा सन्तान जन्मिएको बयान दिएको एक कानुन व्यवसायीले जनाएका छन् । नेपालले पहिलेको श्रीमतीकै सल्लाहमा अर्को बिहे गरेको दाबी अदालतमा गरेका छन् । गीता पुरीतर्फ पनि ५ वर्षको छोरी र २ वर्षको छोरा रहेका छन् । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले अदालतको आदेशअनुसार मधु नेपाल पुर्पक्षका लागि कारागार गएको र गीता पुरी धरौटीमा रिहा भएको जानकारी दिए ।

सुपर त्रिशुली हाइड्रोपावरका दुई कामदार त्रिशुली नदीमा बेपत्ता

मकवानपुर । त्रिशुली नदीमा नुहाउने क्रममा हाइड्रो पावरमा कार्यरत दुई कामदार बेपत्ता भएका छन् । शनिबार दिउँसोदेखि बेपत्ता उनीहरुको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशुली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ ।

बेपत्ता युवकको आज बिहानैदेखि खोजी जारी रहेको चितवन प्रहरीले जनाएको छ । त्रिशूली नदी किनारमा कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको हो । उनीहरु सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने कामदार रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको छ । हिजो साँझसम्म पनि फेला नपरेपछि आज बिहानैबाट खोजी कार्य जारी राखिएको चितवन प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटबाट गोताखोर सहितको टोलीले अहिले नदीमा खोजी गरिरहेका छन् ।

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपीका खाली गरियो

सुनसरी । सुनसरीको लौकही क्षेत्रमा भएको गोलीकाण्डमा संलग्न सशस्त्र प्रहरी बल (एपीएफ) का एक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट सामान लिएर नेपाल फर्किंदै गरेका सफारी चालक विजय साहमाथि गोली प्रहार भई घटनास्थलमै मृत्यु भएपछि उक्त घटना व्यापक चासोको विषय बनेको छ । घटनाको गम्भीरता हेर्दै प्रशासनले तत्काल छानबिन प्रक्रिया अघि बढाएको छ । हिजै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) घनश्याम न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत सदस्य रहेका छन् ।

प्रहरीका अनुसार गोली चलाउने एपीएफ हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । सुनसरी प्रहरी प्रवक्ता समेत रहेका डीएसपी खड्काले घटनाको सबै पाटो केलाएर निष्पक्ष अनुसन्धान गरिने जानकारी दिए । घटनापछि सुरक्षा व्यवस्थापन र अनुसन्धानलाई सहज बनाउन लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । यस कदमलाई घटनाप्रति प्रशासनले देखाएको गम्भीरताको संकेतका रूपमा लिइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले छानबिन समितिलाई सात दिनको समयसीमा दिइएको जानकारी दिएका छन् । उनका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि आवश्यक कानुनी कारबाही र थप प्रशासनिक कदम चालिने छ । यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको भूमिका, चेकजाँचको प्रक्रिया र नागरिकको सुरक्षासम्बन्धी प्रश्नहरू उठाएको छ । स्थानीयवासीले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिलाउन प्रशासनसँग माग गरेका छन् ।

कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, आमासहित तीन जना बेहोस

सुर्खेत । सुर्खेतमा जाडो भगाउन कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका अरु तीन जना बेहोस भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएर ३८ दिनको शिशुको मृत्यु भएको हो । भेरीगंगा नगरपालिका–२ का स्थायी बासिन्दा तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन् ।

बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा भेटिएका हुन् । तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो । बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ । उनीहरूको अवस्था उपचारपछि सामान्य हुँदै गएको बताइएको छ । प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

लौकहीमा सशस्त्रको गोलीले स्थानीय मारिएपछि उग्र प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर स्थानीय अटो-सिटी सफारी चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिट (बीओपी) परिसरमा ढुंगामुढा, तोडफोड र आगजनीसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । उनी भारतबाट चिनी, सर्फ, सुर्ती लगायत सामग्री लिएर आफ्नै सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको अवस्थामा गोली लागेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार घर नजिकै चेकजाँचको क्रममा विवाद बढेपछि गोली चलाइएको थियो र साहलाई दुई राउण्ड गोली लागेको बताइन्छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन् ।

उनका अनुसार चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा सवारीमा सवार व्यक्तिबाट पहिले गोली चलेको र त्यसपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको हो । स्रोतले जनाएअनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमाण्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले दुई वटा सिटी सफारी जाँच गर्न खोज्दा सिटी सफारीबाट दुई राउण्ड फायर भएको र त्यसपछि सशस्त्र प्रहरीले एसएलआरबाट पाँच राउण्ड फायर गरेको थियो ।

घटनापछि स्थानीयले शव उठाउन नदिँदै विरोध जारी राखेका छन् । बिहीबार बिहान करिब १६० जनाको भीड घटनास्थलबाट बीओपीको मुख्य गेटसम्म पुगेर ढुंगामुढा गरेको थियो । त्यसक्रममा बीओपीमा रहेको रिजर्भ टोलीले दुई सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको हो । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले स्थिति नियन्त्रणमा लिन सीमित मात्रामा अश्रुग्यास प्रयोग गरिएको र अवस्था क्रमशः सामान्य बन्दै गएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ । स्थानीयले भने लेनदेनको विवादका कारण गोली चलाइएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । अहिले लौकही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले शान्ति कायम गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै घटनाको छानबिन अघि बढाउने जनाएको छ ।

सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा बुधबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीय सफारी चालकको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो । भारतबाट आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति करिब १ः१० बजे साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले दोषीलाई कारबाही माग गर्दै मृतकको शव उठाउन दिएका छैनन्, जसका कारण घटनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जनाएका छन् ।

यस विषयमा सशस्त्र प्रहरी बल, इटहरीका डीआइजी कुमार न्यौपानेले राति सामान लिएर आउँदै गरेका दुईवटा अटो र एउटा ई–रिक्सालाई ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा झडप भएको दाबी गरेका छन् । तस्कर समूह रोकिनुको सट्टा सशस्त्र प्रहरीलाई नै ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्दा साहलाई गोली लागेको उनको भनाइ छ । झडपमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानहरू नवीन खड्का र युगराज खतिवडा समेत घाइते भएको जानकारी प्राप्त भएको उनले बताए ।

गोली लागेको अवस्थामा मृत भेटिए युवक

सिन्धुली । सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । गए राति घ्याङलेख गाउँपालिका–१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार मृतकलाई गोली लागेको छ । मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ । ‘घटना कसरी भयो भन्ने यकिन भएको छैन । आफै पड्किएको हो वा कसैले हानेको हो भन्ने फरेन्सिक र पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ एसपी सुवेदीले भने । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

 

 

काठमाडौंमा मृत फेला परे एक प्रहरी

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक जना प्रहरी मृत फेला परेका छन् । सोमबार बिहान सवा ८ बजेतिर काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा उदयपुर गाईघाटका बलबहादुर मगर मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बलबहादुर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको र अस्पताल पु¥याउँदा मृत्यु भइसकेको जानकारी आएको बताए । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । मृतक कुन पद र कार्यालयमा कार्यरत थिए भन्ने यकिन भइसकेको छैन । घटनाबारे अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताए ।

 

एम्बुलेन्सबाट गाँजा तस्करी, दुई जनालाई पक्रिन प्रहरीले चलायो गोली

काठमाडौं । गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन मोरङमा प्रहरीले आइतबार राति हवाई फायर गरेको छ । केराबारी गाउँपालिका–५ लाफा टोलमा राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले शंकास्पद अवस्थामा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेको सोही बेला हवाई फायर भएको हो ।

धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इन्स्पेक्टर राजीव गिरी र असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरीले रोक्नासाथ एम्बुलेन्समा सवार व्यक्ति भाग्न खोजेपछि नियन्त्रणका लागि असई तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।

खानतलासीका क्रममा एम्बुलेन्सभित्र १६ वटा पोकामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको एसपी कटवालले बताए । गाँजाको तौल लिने काम बाँकी रहे पनि प्रारम्भिक अनुमानमा ४८० किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ । बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

रौतहटको मदिरा उद्योगमा विष्फोट : एकको मृत्यु, ६ जना घाइते

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित एक मदिरा उद्योगमा शनिबार बिहान विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु ६ जना कामदार घाइते भएका छन्।

कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन् ।

बिहान अचानक ठूलो आवाजसहित डिस्टिलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए । विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।

साढे चार किलो कोकिन पेटमा बोकेर लाओसदेखि काठमाडौंसम्म यात्रा

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल नजिकबाट पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरिएको छ । थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेनलाई पक्राउ गरेको ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए । उनीहरूले नेपालमा बसेर कोकिनको कारोबार गर्ने अनुसन्धानबाट खुलेको निरौलाले बताए।

प्रवक्ता निरौलाले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम र लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतका जेभियर र नेपालमा कोकिन लिन आएका भारतका अर्का नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको उल्लेख गरे । थाइल्याण्ड नागरिक कामाले १२ वटा प्लाष्टिकमा क्याप्सुलभित्र र भारतीय नागरिकले जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले कोकिन बरामद गरेको उनले बताए । प्रहरीले पक्राउ जरेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

श्रीमान कोरियामा, घरमा परिवारबाटै पेट्रोल छर्केर आगो लगाई श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरिएको घटनामा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपराह्न करिब साढे ४ बजेतिर ३२ वर्षीया सुशीला घिसिङ (बम्जन) भान्छा कोठामै जलेको अवस्थामा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुईतले घरको भान्छामा पेट्रोल र मट्टितेल प्रयोग गरी आगजनी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलबाट पेट्रोल भरिएका र जलेका बोतल, लाइटर र राँको बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आगो निभाउने क्रममा दुर्गामान बम्जन घाइते भएका छन् र उनको उपचार भइरहेको छ । घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी सासु ५९-५० वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछमा मीना लामाले सुशीलामाथि पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ । मृतकका माइती पक्षले सासु–नन्दसँगै ससुरा दुर्गामान बम्जनविरुद्ध समेत किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका दुवै जनामाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ ।

प्रहरीले पारिवारिक विवाद लामो समयदेखि चल्दै आएको र मृतकका श्रीमान कोरियामा रहेको तथ्य पनि अनुसन्धानको दायरामा राखेको जनाएको छ । यता, घटनापछि स्थानीयले दोषीलाई कडा कारबाही र मृतकलाई न्याय माग्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी गरेका छन्। स्थिति नियन्त्रणमा राख्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

भक्तपुरको निर्माणाधीन घरमा मजदुरको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा एक निर्माणाधीन घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।

उदयपुर घर भएका ठकुरीको हत्या आरोपमा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

 

इनारको शव प्रकरणले खोल्यो दोहोरो हत्या रहस्य

काठमाडौं । ललितपुरमा इनारभित्र बोरामा प्याक गरिएको शव भेटिएको घटनाले अनुसन्धानका क्रममा अर्को एक जघन्य हत्या पनि बाहिर आएको छ । सुरुमा एक व्यक्तिको हत्या मात्रै ठानिएको यो प्रकरण अहिले दोहोरो हत्याको रूपमा पुष्टि भएको छ । प्रहरीका अनुसार दोस्रो हत्या भएका व्यक्ति भोजपुरका २१ वर्षीय पारुहाङ राई हुन् । उनको शव भक्तपुर र ललितपुरको सीमानामा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित जंगल क्षेत्रमा फेला परेको हो । अनुसन्धानका क्रममा अभियुक्तले दिएको सूचनाका आधारमा प्रहरीले उक्त स्थानबाट शव बरामद गरेको जनाएको छ।

यसअघि पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारभित्र सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो । उक्त घटनापछि प्रहरीले गहिरो अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीको प्रारम्भिक निगरानीमा परेका देवराज ढुंगेललाई पक्राउ गरी सोधपुछ गर्दा उनले जयराज अधिकारीको संलग्नता रहेको बताएका थिए । त्यसपछि प्रहरीले जयराज अधिकारीलाई सिन्धुलीबाट आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जयराज अधिकारीले सोधपुछका क्रममा पारुहाङ राईको हत्या पनि आफूहरूकै संलग्नतामा भएको स्वीकार गरेका छन् । उनले बताएअनुसार शव फालिएको स्थानमै पुगेर प्रहरीले पारुहाङको शव फेला पारेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राई दुवैको हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए । उनका अनुसार केशवराज हायुको हत्या मंसिर २४ गते र त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको हत्या गरिएको प्रारम्भिक बयानमा उल्लेख छ । एसएसपी बस्नेतले घटनासँग जोडिएका अन्य पक्ष, हत्या गर्नुपर्ने कारण र सम्भावित थप संलग्न व्यक्तिहरूको खोजीका लागि अनुसन्धान अझै जारी रहेको बताए । प्रहरीले घटनालाई गम्भीर अपराधको रूपमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

 

विराटनगरका दुई क्यासिनोमा एकैसाथ छापा, व्यवस्थापकसहित २० नेपाली नियन्त्रणमा

विराटनगर । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेर व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । आइतबार मध्यराति गरिएको कारबाहीमा बिग होटलभित्रको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्रको गोल्डेन क्यासिनोबाट नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो । नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध छ । तर विराटनगरका यी क्यासिनोमा लामो समयदेखि नेपालीहरूको सहज आवतजावत भइरहेको र त्यसकै कारण विभिन्न विवाद तथा झगडाका घटना बाहिरिँदै आएका थिए । यिनै गतिविधिलाई आधार मानेर प्रहरीले निगरानी बढाउँदै छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्न दिएको पुष्टि भएपछि कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।

विगत केही महिनायता विराटनगरका क्यासिनोहरू विवादको केन्द्र बन्दै आएका थिए । गत चैत ३ गते रत्ना होटलको क्यासिनो परिसरमा क्यासिनो विवादकै विषयलाई लिएर दुई समूहबीच कुटाकुट हुँदा किरण लामा, रोनाल कँडेल र अभिषेक गिरी घाइते भएका थिए । त्यसअघि २०८० पुस २८ गते बिग होटलमा रहेको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा क्यासिनो बाहिर दुई समूहबीच खुकुरी हानाहानसमेत भएको थियो । उक्त घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए । बारम्बार झगडा, अवैध प्रवेश र आपराधिक गतिविधि बढ्दै गएपछि प्रहरीले क्यासिनोमाथि कडा निगरानी राख्दै आएको थियो । पछिल्लो छापालाई क्यासिनोभित्र हुने गैरकानुनी गतिविधि नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा प्रहरीले लिएको छ ।

 

सिकार खेल्न हिँड्दा लडेर बन्दुक पड्किँदा आफ्नै साथीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुई जनामध्ये अघिल्लो साथीलाई ठेस लागेर लड्दा पछाडिको साथीको गोली लागेर मृत्यु भएको छ । राक्सिराङ–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन जंगलमा हिँडिरहँदा लहरामा अल्झेर लड्दा पछाडि सँगै हिँडिरहेका मनहरी–६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुवैले भरुवा बन्दुक बोकेका थिए र ब्लोन लड्दा उनको बन्दुक पड्किएर पछाडि रहेका थिङको मृत्यु भएको हो । ब्लोनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले बताए । घटना आइतबार दिँउसोको हो ।

आइजीपी कार्कीको गुनासो : प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो गरेका छन् । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ । यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ ।’ विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताएका छन् ।२३ र २४ गतेको जेन जेड प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

हाँस्य कलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको थियो । आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक कार्की, हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितिमा भवन हस्तान्तरण गरेका हुन् ।

नेपाल प्रहरीमा २१ इन्स्पेक्टर र ४३८ असईका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुला गरिएको छ । आज (शुक्रबार) विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो ।

प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन खुलाएको हो । इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ । दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ । असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ ।

इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । इन्स्पेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ । असईका लागि भने प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

हेर्नुस् विज्ञापन

राजापुर गोलीकाण्ड : लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीका भाइ पेस्तोलसहित पक्राउ

दाङ । राजापुर गोलीकाण्डका मुख्य आरोपी दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुलरियाका अनुसार चौधरीलाई बुधबार कैलालीबाट पक्राउ गरिएको हो । यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित हमार थारु रेस्टुरेन्टकी सञ्चालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

पक्राउ परेका महावीर लुम्बिनीका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता डिल्ली चौधरीका भाइ हुन् । गत आइतबार बिहान ८ बजे सोही रेस्टुरेन्टमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का २७ वर्षीय निरज थारु अचेत अवस्थामा भेटिएका थिए । उपचारका लागि नेपालगञ्ज पुर्‍याएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो । गोली प्रहारबाट मृत्यु भएको प्रमाणमाथि प्रारम्भिक अनुसन्धानमा मृतकका दुवै कानमुनी प्वाल देखिएको प्रहरीले जनाएको छ । चौधरीको साथबाट पेस्तोल समेत बरामद गरिएको इप्रका राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृति, गोली प्रहार कसले र किन गरियो भन्नेबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । मृतक थारु पूर्व मुख्यमन्त्री चौधरीको पोल्ट्रीका कर्मचारी हुन् । जसकारण यो घटनामा पूर्व मुख्मन्त्री चौधरीलाई समेत छानविनको दायरामा ल्याउनुपर्ने मृतकका आफन्तले माग गरेका छन् । चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए । यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान–श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ ।

 

दाङ लमहीमा चल्यो गोली

दाङ । दाङको लमही बजारमा दिउँसै गोली चलेको छ । लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गोली लागेर पसल सञ्चालक सामान्य घाइते छन् । गोली लागेर उक्त पसलमा काम गर्ने कालिगढ अन्दाजी १८ वर्षीय दीपक सुनार घाइते रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए ।

गोली प्रहार गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । घटनापछि जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ पनि लमही पुगेका छन् । एसपी श्रेष्ठले घाइते सुनार सुन पसल संचालकको सालो रहेको बताए । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

कारागारमा महिला प्रहरीसँग चिनजान, छुटेपछि उनकै हत्या गरेर फरार

काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहरिर कारागार पुगेका व्यक्तिले छुटेपछि फेरि अर्को हत्या गरेका छन् । लमजुङमा गत चैतमा भएको पूर्व प्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात महिनापछि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले उक्त घटनामा पक्राउ पुर्जी जारी गरिएका चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो ।

उनले पूर्व प्रहरी हवल्दार ४५ वर्षीया सीता कँडेलको हत्या गरेको सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ३१ चैत २०८१ मा लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेको एक घरमा दुर्घन्ध आएको भन्दै प्रहरीमा खबर भएको थियो । बाहिरबाट ताला लागेको उक्त घरको ढोका प्रहरीले फोडेर हेर्दा भित्र महिलाको शव भेटिएको थियो ।

आफू सुत्ने बक्स पलङमुनि त्रिपालले बेरेर राखिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । हत्या गरेर बक्स पलङमुनि लुकाएको पाइएपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत परिचालन भएको थियो । सो क्रममा हत्यामा बुद्धिरामको संलग्नता खुलेको थियो । बुद्धिरामलाई सीआईबीले रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको छ । अनुसन्धानको क्रममा बुद्धिराम यसअघि पनि व्यक्ति हत्या गरेर जेल बसेको व्यक्ति रहेको खुलेको छ ।

यसअघि विवाहको विषयमा विवाद हुँदा गोरखाको साविक फिनाम गाविस–५ कि ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । उनकी छोरी सम्झना पाण्डेसँग विवाहको कुरामा विवाद भएपछि आमाको हत्या बुद्धिरामले गरेका थिए । यो घटनामा उनी कारागार चलान भएका थिए । भीमफेदी कारागारमा रहँदा त्यहाँको सुरक्षामा खटिएका हवल्दार (हाल मृत) सीतासँग बुद्धिरामको चिनजान र निकट सम्बन्ध रहेको थियो । पछि जेलबाट छुटेपछि उनै बुद्धिरामले अवकाश भएकी पूर्व हवल्दार कँडेलको हत्या गरेको सीआईबीले जनाएको छ ।

 

 

अख्तियार प्रमुखसहितलाई ज्यान मार्ने धम्की दिने केहि व्यक्ति पक्राउ

काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को नामबाट देशका १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की पठाएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । प्रहरीले सो धम्कीपछि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उच्च प्रहरी स्रोतले जनाएको छ । प्रकाश पाठक नाम गरेका व्यक्तिले आफू उक्त समूहको अध्यक्ष भएको दाबी गर्दै केही दिनअघि इमेलमार्फत प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन मन्त्रीहरू आरजु राणा, रमेश लेखक, पूर्वमन्त्री बालकृष्ण खाँणसहित १० जनालाई प्राणघातक धम्की पठाएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । धम्की पत्रमा उनीहरूले भ्रष्टाचार र अस्थिर शासनलाई कारण देखाउँदै लक्षित व्यक्तिहरूको हत्या गर्ने निर्णय गरेको उल्लेख छ ।

पत्रमा पाठकले लक्षित व्यक्तिहरूलाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन् । भदौ २४ गते कारागारबाट फरार भएका केही कैदीबन्दीलाई साथमा लिएर आक्रमण गर्ने योजना रहेको दाबी समेत गरिएको छ । जिम्मेवारी भने आफूले लिने उल्लेख गरिएको छ । काभ्रे घर बताउने पाठकले अहिले भारतमा रहेको दाबी गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत भिडियो प्रकाशित गर्दै आफूलाई समूहको अध्यक्ष बताउँदै १० जनामाथि आक्रमण गर्ने योजना सुनाएका छन् । भिडियोमा उनले नेपाल प्रहरी आफूमाथि कडा चासोका साथ खोजी गरिरहेको दाबी गर्दै प्रहरीका विभिन्न निकायले आफ्ना सहयोगीलाई पक्राउ गरिरहेको आरोप लगाएका छन् ।

उनका अनुसार भारतीय विभिन्न सहरमा लुकेर बसेका स्थानहरूमा नेपाली सुराकीका आधारमा प्रहरी पुगिरहेको पनि उनले बताए । आफू लगातार बसोबास परिवर्तन गर्न बाध्य भएकाले पक्राउ गर्न नसक्ने उनको दाबी छ । उनले अख्तियार प्रमुख राईलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् । उक्त घटनालाई गम्भीररूपमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सहित अन्य इन्टिलिजेन्स यूनिटहरूले पाठक र उनको समूहबारे विस्तृत खोजी गरिरहेका छन् । समूह कति संगठित र ठूलो छ भन्नेबारे प्रहरीले अझै सार्वजनिक जानकारी दिएको छैन ।
धम्कीपछिका गतिविधि, मानिसहरूलाई नियन्त्रणमा लिएर भइरहेको अनुसन्धान र डिजिटल प्रमाण संकलनका आधारमा प्रहरीले घटनालाई आतंककारी प्रकृतिको सम्भावना राखेर अघि बढाइरहेको बताइएको छ ।

१० उच्च पदस्थको ज्यान मार्ने धम्कीबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपालका १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्कीसम्बन्धी एक गम्भीर घटनाको अनुसन्धानमा नेपाल प्रहरी तीब्र रूपमा अगाडि बढेको छ । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहका अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले ईमेलमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित पूर्वमन्त्रीहरू आरजु राणा, रमेश लेखक, बालकृष्ण खाँण लगायत शीर्ष व्यक्तिहरूलाई निशाना बनाइने चेतावनी दिएका थिए ।

प्राप्त पत्रमा पाठकले आफूहरूको केन्द्रीय समिति ले १० जना ‘भ्रष्ट प्रशासक’ र ‘अस्थिर सरकार बनाउने’ व्यक्तिहरूलाई हटाउने निर्णय गरेको उल्लेख छ । राईलाई सम्बोधन गरिएको पत्रमा १० दिनभित्र राजीनामा दिनुपर्ने, अन्यथा हत्या गर्ने कार्यवाही अघि बढाइने दाबी गरिएको छ । साथै, केही दिनअघि कारागारबाट फरार भएका कैदीलाई साथमा लिएर आक्रमण गर्ने योजना रहेको पत्रमा उल्लेख छ । धम्कीसम्बन्धी ईमेलहरू प्राप्त भए लगत्तै नेपाल प्रहरीका विभिन्न निकायले अनुसन्धान सुरु गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार पाठक नेपालमै नरहेको प्रारम्भिक संकेत पाइएको छ । उनका अनुसार–‘विभिन्न युनिटहरूले अनुसन्धान गर्दैछन्, इमेल पठाउने व्यक्ति नेपालमा नभएको देखिन्छ ।’

अर्कोतर्फ, पाठकले आफ्नै फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफू त्यही समूहको अध्यक्ष भएको पुनः दाबी गरेका छन् । भिडियोमा उनले प्रमुख आयुक्त राईसहित १० जनाको हत्या गर्ने योजना सुनाएका छन् । उनले प्रहरी आफूमाथि निगरानी गरिरहेको थाहा पाएको र आफ्ना सहयोगीहरूमध्ये केही पक्राउ परिरहेको दाबी पनि गरेका छन् । उनका अनुसार, नेपाल प्रहरीले भारतका विभिन्न स्थानमा उनलाई खोजेको भए पनि आफू निरन्तर स्थान परिवर्तन गरिरहेकाले समात्न नसकेको बताएका छन् ।

‘म एक घण्टामा चार ठाउँ परिवर्तन गरिरहेको छु’, भन्दै उनले राईलाई लक्षित गर्दै ‘मलाई समात्नु अगाडि आफ्नो ज्यानको सुरक्षा गर’ भन्ने चेतावनी पनि भिडियोमा दिएका छन् । घटना गम्भीर बनिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लगायत अन्य इन्टिलिजेन्स युनिटहरूले पाठकको खोजी र स्रोत पहिचानमा सक्रिय रूपमा काम गरिरहेका छन् । उनका समूहको वास्तविक आकार, संरचना र उद्देश्यबारे भने अहिलेसम्म खुलेको छैन ।

लामो दूरीका सबै गाडीहरु अनिवार्य बसपार्कबाटै छुट्नु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नु पर्ने व्यवस्था लागू गरिएको छ ।

लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेष गरी ‘पिक आवर’ मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दूरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।’

यस्तै लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्र समेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । ‘ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ’, उनले भने ।

ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

यस बाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ ।

 

धोबीखोलामा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

काठमाडौं । काठमाडौंको धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको खुलेको हो ।
उनकी श्रीमतीले शव सनाखत गरेकी हुन् । काठमाडौं महानगरपालिका–२९ रूद्रमति पुल मुनिको धोबीखोलामा बिहीबार बिहान ६ः५० बजे उनको शव फेला परेको थियो ।

शव नजिकै साइकल पनि भेटिएको थियो । उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट छ । पुलबाट खसेर ढुंगामा टाउको ठोक्किएकाले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

काठमाडौं धोबीखोलामा एक व्यक्ति मृत भेटिए

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत भेटिएका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

जनकपुरमा महिलाको शंकास्पद मृत्यु

जनकपुरधाम । जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झा गत बिहीबार राति मृत फेला परेकी थिइन् । घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ ।

रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो । रोशनीका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् । माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले भने माइती पक्षबाट असुरक्षित भएकाले आफूहरुले लिएर गएको बताउँछन् ।

उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए । अहिलेसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको बताउँदै उनले पोस्टमार्टम रिपोर्ट पश्चात मात्र हत्या हो कि आत्महत्या हो भनेर निष्कर्षमा पुगिने बताए । रोशनीका मामा प्रदीप चौधरी भने घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको बताउँछन् । प्रमाण नष्ट गर्न उनका कपडाहरु पनि जलाइएको बताउँदै उनी भन्छन्, ‘हामीलाई भान्जीको हत्या भएको शंका छ । त्यसैले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीहरुलाई कडा कारबाही हुनुपर्छ,’ उनी भन्छन् ।

 

पौने सात करोड क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । पौने सात करोड बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं–१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार भद्रकालीबाट पक्राउ गरेको हो ।

उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप छ । उनीमाथि अनलाइन ठगीको समेत आरोप छ । अहिले प्रहरीले शाहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यसअघि बुधबार पनि काठमाडौं प्रहरीले डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको थियो । उनले पनि १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी रकमको क्रिटो कारोबार गरेको आरोप छ ।

मध्यराति छोराको कुटपिटबाट बाबुको मृत्यु

न्वलपरासी । नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । मंगलबार राति पौने १२ बजे नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै–झगडा हुँदा सन्तकुमारले आफ्ना बाबु रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो ।

अस्पतालका डाक्टरले रामबहादुरलाई गए राति सवा १२ बजे मृत घोषणा गरेको हो । कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ ।

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण

काठमाडौं । आफूखुशी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । भदौयता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो । भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो ।

आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन् । उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ ।

सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् नामावली

काँक्रेविहारमा मृत भेटिएका युवा–युवतीको पहिचान

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत फेला परेका युवा–युवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल खटाइएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

काँक्रेविहार जंगलमा युवा–युवती मृत भेटिए

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा युवा–युवती मृत भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ः ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । पछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा खटाइएको डीएसपी बुढथापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा तन्नमा बेरिएको अवस्थामा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।
शंकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

रेखाखोलामा शव फेला, दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गए राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

कुकुरले नवजात शिशुको शव लिएर हिंडेपछि युवती पक्राउ

रुपन्देही । परपुरुषसँगको अवैध सम्बन्धमा जन्मेको शिशु फालेको आरोपमा प्युठान प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्युठान, गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

मंसिर १ गते बिहान शिशुको शव कुकुरले झुण्डाउँदै हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनापछि प्युठान प्रहरीले नवजात शिशुको शव खोसेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानबाट शिशु बिपना सुनारको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

प्रहरी निरीक्षक भट्टराईका अनुसार कुकुरले डुलाउँदै गरेको नवजात शिशुको शव खोसेर अनुसन्धान गर्ने क्रममा बिपना सुनारले परपुरुषसँगको सम्बन्धबाट छोरीलाई जन्म दिएपछि बुक्तिचौरस्थित गहुँ बारीमा फालेको भन्ने खुलेपछि उनलाई सोही दिन दिउँसो पक्राउ गरिएको हो । अनुसन्धानमा बिपनाले चार दिन पहिले छोरीलाई जन्म दिएपछि पोल खुल्ने डरले गहुँ बारीमा फालेको बयान दिएकी छन् । बिपनाकी श्रीमान विदेशमा छन् । नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ । पोष्टमार्टमपछि नवजात शिशुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

 

 

पुजारीको गोली हानी हत्या

हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा एक पुजारीको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो ।

ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी समेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए ।

घटनाको सूचना पाउना साथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

नव नियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह, सम्हाले प्रहरी ‘कमाण्ड’ (तस्वीरहरु)

काठमाडौं । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइ दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका थिए ।

आजबाट प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको सर्वोच्च कमान्ड सम्हालेका छन् । गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि आज उनले प्रहरी प्रधान कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन् । प्रहरी संगठनभित्र एक इमान्दार र अनुभवी अधिकृतको रूपमा परिचित कार्कीसँग विभिन्न चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ ।

डीआईजी रहँदा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका उनले एसएसपीको रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए । सोही अवधिमा भुटानी शरणार्थी प्रकरण जस्ता संवेदनशील मुद्दाको सामना गर्नुपरेको थियो । भर्खरै, गत भदौ २४ मा काठमाडौं उपत्यकामा जेनजी आन्दोलन चर्कदा उपत्यकाको कमान्ड सम्हाल्ने जिम्मेवारी पनि उनकै काँधमा थियो ।

उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुखको भूमिकामा थिए । कार्कीको पृष्ठभूमिमा कुनै ठूलो आर्थिक विवादमा नमुछिएको स्वच्छ छवि रहेको छ । उनले फिल्डको अनुभवदेखि आईजीपीको सचिवालयमा बसेर काम गरेको अनुभव समेत सँगालेका छन् । विदेशमा विभिन्न तालिम लिइसकेका उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिकामा समेत रहेका थिए । नेपाल प्रहरीले अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ ।