लौकहीमा सशस्त्रको गोलीले स्थानीय मारिएपछि उग्र प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजार क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर स्थानीय अटो-सिटी सफारी चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिट (बीओपी) परिसरमा ढुंगामुढा, तोडफोड र आगजनीसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । उनी भारतबाट चिनी, सर्फ, सुर्ती लगायत सामग्री लिएर आफ्नै सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको अवस्थामा गोली लागेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार घर नजिकै चेकजाँचको क्रममा विवाद बढेपछि गोली चलाइएको थियो र साहलाई दुई राउण्ड गोली लागेको बताइन्छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरेका छन् ।
उनका अनुसार चोरीको सामान बोकेको सवारी रोक्न खोज्दा सवारीमा सवार व्यक्तिबाट पहिले गोली चलेको र त्यसपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको हो । स्रोतले जनाएअनुसार बीओपी लौकहीबाट सशस्त्र प्रहरी हबलदारको कमाण्डमा खटिएको चार जनाको चेकप्वाइन्ट टोलीले दुई वटा सिटी सफारी जाँच गर्न खोज्दा सिटी सफारीबाट दुई राउण्ड फायर भएको र त्यसपछि सशस्त्र प्रहरीले एसएलआरबाट पाँच राउण्ड फायर गरेको थियो ।

घटनापछि स्थानीयले शव उठाउन नदिँदै विरोध जारी राखेका छन् । बिहीबार बिहान करिब १६० जनाको भीड घटनास्थलबाट बीओपीको मुख्य गेटसम्म पुगेर ढुंगामुढा गरेको थियो । त्यसक्रममा बीओपीमा रहेको रिजर्भ टोलीले दुई सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको हो । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले स्थिति नियन्त्रणमा लिन सीमित मात्रामा अश्रुग्यास प्रयोग गरिएको र अवस्था क्रमशः सामान्य बन्दै गएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ । स्थानीयले भने लेनदेनको विवादका कारण गोली चलाइएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । अहिले लौकही क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले शान्ति कायम गर्न सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै घटनाको छानबिन अघि बढाउने जनाएको छ ।
