`

नेकपाको अपानि : निर्वाचन तयारीदेखि एकता प्रक्रियासम्मको खाका

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो संगठनात्मक एकीकरण, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र पार्टीको भावी कार्ययोजनालाई लक्षित गर्दै विस्तृत अन्तर–पार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै विभिन्न घटक दलहरूको एकतापछि बनेको नेकपाले अपानिमार्फत एकता प्रक्रियाको पृष्ठभूमि, सहमतिहरू, तत्कालीन राजनीतिक चुनौती र आगामी रणनीतिबारे स्पष्ट मार्गनिर्देशन गरेको छ । कात्तिक १९ मा एकता घोषणा भएलगत्तै पार्टीले देशभर सन्देशसभा सञ्चालन गरिरहेको छ । कात्तिक २६ मा भीम रावल नेतृत्वको ‘मातृभूमि अभियान’ नेकपामा गाभिएपछि सुदूरपश्चिमदेखि पूर्वसम्म एकीकृत संरचना विस्तारका कार्यक्रम तीव्र बनेका छन् ।

अपानिको केन्द्रमा आसन्न निर्वाचन तयारी छ । फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावलाई पार्टीले आफ्नो पहिलो परीक्षाका रूपमा व्याख्या गर्दै जेनजी पुस्ताको भावना, सोच र प्राथमिकता प्रत्यक्ष रूपमा सम्बोधन गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । अपानिमा भनिएको छ— युवा पुस्ताको अपेक्षा बुझेबिनापछाडि परिने भएकाले कार्यक्षेत्रमै उभिएर तत्काल चुनावी अभियान सुदृढ बनाउनु पर्नेछ ।

पार्टी एकताको कारण र आवश्यकता सम्बन्धी विशद् विश्लेषण पनि यस निर्देशनमा समावेश छ । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक अनिश्चितता, विगतका कम्युनिस्ट विभाजनहरूले उपलब्धिहरूमा परेको असर, र समाजमा फैलिदै गएको निराशालाई चिर्नै पार्टी एकताको प्रमुख प्रेरणा रहेको उल्लेख गरिएको छ । अपानिमा एकता प्रक्रियामा सुरुआतमा समावेश १० दलदेखि पछ्याउँदै जोडिएका सबै घटक दलको विस्तृत विवरण राखिएको छ ।

एकता राष्ट्रिय सम्मेलनबाट तय भएका ११ बुँदा समेत अपानिमार्फत पुनः औपचारिक रूपमा कार्यकर्तासामु प्रस्तुत गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘पाँच कुने तारा’ चयन, दीर्घकालीन एवं अल्पकालीन योजनाहरू, अपिल प्रकाशन, निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया र थप समूहहरूसँग एकता विस्तार गर्ने तयारीसम्बन्धी धारणा सबै यस निर्देशनभित्र समेटिएका छन् ।

यसैगरी, पार्टीभित्र एकता र गतिशीलता कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आवश्यक संगठनात्मक निर्णय, जिम्मेवारी बाँडफाँड र कार्यान्वयनका सूचनाहरू पनि अपानीले निर्देशित गरेको छ । अपानिले नेता–कार्यकर्तालाई राम्रो संगठित संरचना र साझा राजनीतिक दृष्टिकोणमार्फत वाम एकताको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गरेको छ ।

जनकपुरमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ । धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा आज मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गर्न लागेको हो ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा प्रदेशभरबाट ४० हजार बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ ।

नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ । यसअघि मंसिसर २३ गते मकवानपुरको हेटौँडामा सभा ससमापन गर्ने तयारी गरिए पनि यो मिति सारिएको छ । बागमतीका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी उपत्यकामै भेलाको तयारी भइरहेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथि घात : भीम रावल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पु¥याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए ।

रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ ।’ रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ ।

नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाएका छन् । रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए ।

विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए । सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भनेका छन्, ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ ।’

बिराटनगरमा आज नेकपाको सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (सोमबार) कोशी प्रदेशस्तरीय सन्देश सभा गर्दैछ । प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने विशेष सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू आज विराटनगर आउन लागेका हुन् ।

एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।

१० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् । सुदूरपश्चिम, लुम्बिनी गण्डकी प्रदेशमा भने नेकपाले सभा सकेको छ । सभामा प्रमुख वक्ताका रूपमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत नेताहरू रहेका छन् ।

नेकपाको आज पोखरामा एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (आइतबार) गण्डकी प्रदेशलाई लक्षित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपाले भोलि (सोमबार) कोशीको विराटनगरमा, मंसिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने तालिका सार्वजनिक गरेको छ । मंसिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ । नेकपाका नेताहरुले जेनजी आन्दोलनले १५ बाम घटक दललाई एकत्रित गराउन बल दिएको बताउँदै आउँदा दिनमा आफूहरु सच्चिन तयार रहेकाले आत्मालोचनाका लागि जनता समक्ष आइरहेको बताइरहेका छन् ।

वाम शक्तिहरुलाई एकतामा आउन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई व्यापक एकता र सहकार्यको ढाँचामा सहभागी हुन औपचारिक आह्वान गरेको छ ।

सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनको उतार–चढाव, विभाजन र पुनःएकीकरणका अनुभवलाई समेट्दै १५ विभिन्न पार्टी र समूहहरूको एकीकरणबाट पुनर्गठित नेकपाले नयाँ राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र सुशासनका मुद्दामा साझा पहल आवश्यक रहेको ठहर गरेको छ ।

पार्टीद्वारा जारी विस्तृत अपिलमा जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनदेखि पछिल्लो ‘जेन जी आन्दोलन’ सम्मका ऐतिहासिक संघर्षका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते तथा अपाङ्ग अग्रपङ्क्तिका योद्धाप्रति सम्मान व्यक्त गरिएको छ । हालको आन्तरिक अर्थ–राजनीतिक जटिलता र बदलिँदो क्षेत्रीय–अन्तर्राष्ट्रिय भू–राजनीतिलाई संवेदनशील ठहर गर्दै नेकपाले विद्यमान राजनीतिक व्यवस्थासँग पुरानो उत्पादन प्रणालीको अन्तर्विरोधका कारण जनतामा अपेक्षित परिवर्तन नआएको विश्लेषण गरेको छ ।

पार्टीका अनुसार यथास्थितिवादी शक्तिहरुले गणतान्त्रिक उपलब्धिमा धावा बोल्ने प्रयास गर्दै आएको र अर्कोतर्फ जनतामा सुशासन तथा सामाजिक न्यायप्रतिको चाहना तीव्र बन्दै गएको परिस्थितिले राष्ट्रिय सहमतिको पहल अपरिहार्य बनाएको छ । नेकपाले सरकारमा रहेर सुशासन र आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रम अघि बढाएको दाबी गर्दै, त्यसलाई रोक्न प्रतिगामी शक्तिहरुले राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएको छ ।

जेन जी आन्दोलनका पृष्ठभूमिमा देखिएको असन्तुष्टि, त्यसपछि उत्पन्न हिंसा र अराजकताका घटनाको उल्लेख गर्दै पार्टीले त्यस आन्दोलनमा प्रकट भएको नयाँ पुस्ताको चाहनालाई राजनीतिक अडान, सुशासन र उन्नत लोकतन्त्रतर्फ निर्देशित गर्नुपर्ने जनाएको छ । गैरदलीय सरकार बनेपछि तत्कालको अनिश्चय केही हटेपनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि चुनौती अझै बाँकी रहेको चेतावनी पार्टीले दिएको छ ।

घोषित तिथिमा निर्वाचन सम्पन्न गर्नु अत्यावश्यक रहेको पुनः दोहोर्‍याउँदै नेकपाले चुनावलाई बिथोल्ने, लोकतान्त्रिक दलहरूलाई कमजोर पार्ने तथा संविधानविरुद्ध कुचेष्टा गर्ने सम्भावित प्रयासप्रति सतर्कता व्यक्त गरेको छ । पार्टीले वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूबीच साझा मोर्चा बनेर संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकीकृत कदम चाल्न अपिल गरेको छ ।

नेकपाले समाजवादी मोर्चाबाट पार्टी एकतामा रूपान्तरण गर्दै ‘नेपाली विशेषताको समाजवाद’ लाई रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै सार्वजनिक, सामुदायिक र निजी स्वामित्वको मिश्रित उत्पादन संरचना, शिक्षा–स्वास्थ्यमा राज्यको बढ्दो दायित्व, सामाजिक असमानता अन्त्य, असंलग्न र सन्तुलित परराष्ट्र नीति लगायतका आधारभूत पक्षहरूलाई पार्टी एकताको केन्द्रमा राखिएको बताइएको छ ।

स्वतन्त्रता र अनुशासनको सन्तुलनमा आधारित जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार बनाउँदै पार्टीले एकता प्रक्रिया राष्ट्रिय महाधिवेशनमार्फत थप सुदृढ बनाइने जनाएको छ । पुनर्गठित नेकपाले वाम, समाजवादी, सच्चा लोकतन्त्रवादी तथा देशभक्त सबै शक्तिलाई समाजवादी परिवर्तनको दिशामा सुरू भएको एकता र ध्रुवीकरणको नयाँ यात्रामा सहभागी हुन खुलेर आह्वान गरेको छ ।

नेकपाको एकता सन्देश सभा सुदूरपश्चिमबाट सुरु

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा कैलालीको धनगढीबाट सुरु भएको । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा सभा सुरु भएको हो । भानुभक्त जैसीको अध्यक्षयतामा सुरु भएको कार्यक्रममा प्रचण्ड माधवसहित भीम रावल गिरिजामणि पोख्रेललगायतले सम्बोधन गर्नेछन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

आजबाट सुरु भएको नेकपाको सन्देश सभा २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन् । सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ । त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

नेकपाले आज धनगढीमा पहिलो सन्देश सभा गर्दै

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिष्ट पार्टी गठनपछि पहिलो पटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर जान लागेको हो । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा गर्नेछ ।

साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेशको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौँडामा मंसिर २३ गते सभाको तयारी गरेको छ । हिजो आयोजित पार्टी एकता कार्यक्रममा नेकपामा सहसंयोजक माधव नेपालले धनगढीमा २० हजार बढी मानिस कार्यक्रममा उतार्ने दावी गरेका थिए ।

यो एकता लहड, आवेश र चुनाव जित्न होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । जसपासहित चार घटकसँगको एकता सभालाई सम्बोधन गर्दै हिजो धादिङको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा जनताको उपस्थिति उत्साहजनक भएको बताएका हुन् ।

उनले भने, ‘हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौं । त्यहाँ जनताको उमङ्ग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो । त्यसले धादिङमा मात्रै होइन देशैभरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ । यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन ।’

उनले देश अफ्ठेरो अवस्थामा रहेको भन्दै त्यसको रक्षाको लागि भएको बताएका छन् । उनले भने, ‘यो एकता चुनाव आउँदै छ, जित्नको लागि होइन, राष्ट्रको स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यको साथ बलियो तागत निर्माण गर्ने अभियान हो ।’नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जन वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा आज (बिहीबार) थप चार दल मिसिएका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच जसपाको एकता पक्षधर, नजागरण पार्टी नेपाल, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र विप्लवको नेकपा (माओवादी) को विद्रोही समूहनेकपामा समाहित भएका हुन् । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायत सहभागी छन् ।

कार्यक्रममा नेकपा र एकतामा सामेल समूहका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ । कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेकपा घोषणा गरेका थिए । त्यसको एक हप्तापछि कात्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र अर्को एउटा समूह नेकपामा समाहित भएको थियो । आज चार दल थपिएसँगै नेकपामा ध्रुवीकृत हुने घटक संख्या १६ पुगेको छ ।

 

जसपाको राजेन्द्र श्रेष्ठ समूह आज नेकपामा समाहित हुँदै

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएका राजेन्द्र श्रेष्ठ समूह आज (बिहीबार) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको जनाइएको छ । देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराएका छन् ।

पेरिसडाँडामा जेनजीसँग नेकपा (तस्वीरहरू)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले जेनजीसँग नेकपा कार्यक्रम गरेको छ । शनिबार नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीले जेनजीसँग नेकपा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायत उपस्थित छन् । त्यस्तै पार्टीको जेनजी रेड फोर्सका कार्यकर्ता तथा पार्टीका अन्य कार्यकर्ता पनि सहभागी छन् ।

नेकपालाई सबै पुस्ताको साझा बनाउँछौं : झलनाथ खनाल

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सबै पुस्ताले अपनाएको साझा राजनीतिक घर बनाउने अभियान सुरु भएको घोषणा गरेका छन् । पेरिडाँडामा आइतबार सम्पन्न पूर्व पदाधिकारीहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा सहभागिता, संगठन मजबुतीकरण र कम्युनिष्ट एकतालाई नै पार्टीको प्रमुख कार्यदिशा बनाइने स्पष्ट पारे ।

खनालले अबको नेकपा केवल पूर्व–नेतृत्व केन्द्रित नभई किशोरदेखि वृद्धसम्म सबैलाई समेट्ने ‘समग्र पुस्ताको पार्टी’ का रूपमा अघि बढ्ने दाबी गरे। यसका लागि प्रदेश–प्रदेशमा सन्देश सभाहरू आयोजना गर्दै आधारस्तरमा सक्रियता वृद्धि गरिने उनको भनाइ छ ।

‘नेपाली विशेषताको समाजवादतर्फ पार्टीलाई उन्मुख गराउने हाम्रो अर्जुनदृष्टि हो । यो एकता कसैको विरोधमा होइन, आम जनतालाई जागृत र संगठित गर्दै समाजवादको बाटो पहिल्याउने अभियान हो’, खनालले भने ।

उनका अनुसार नेकपाभित्र मात्र होइन, बाहिरका केही राजनीतिक दलहरूसँग पनि सम्भावित एकताको विषयमा निरन्तर संवाद भइरहेको छ । उनले एकतालाई ‘राजनीतिक प्रतिष्पर्धा’ होइन ‘आन्दोलन विस्तार’ का रूपमा व्याख्या गर्दै युवालाई प्रोत्साहन, जिम्मेवारी र नेतृत्वमा उन्नत बनाउने कार्यसूचीलाई सर्वोच्च प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

खनालले नेपाली विशेषतामा आधारित समाजवाद निर्माण नै दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै, भने, ‘अबको कम्युनिष्ट पार्टी पुस्तान्तरसँगै विचारको निरन्तरता सुनिश्चित गर्ने संरचना निर्माणतर्फ अघि बढ्छ ।’ नेकपाको बहुपुस्तीय सहभागिता, संगठन विस्तार र एकतामुखी रणनीतिलाई लिएर अबको केही समय पार्टीभित्र र बाहिर दुबै क्षेत्रमा राजनीतिक चहचल बढ्ने संकेत खनालका अभिव्यक्तिबाट देखिन्छ ।

नेकपाका नेताहरू पेरिसडाँडामा छलफलमा

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आज (आइतबार) दिउँसो पेरिसडाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले नपाली कम्युनिष्ट पार्टीको भावी कार्यक्रम तय गर्नेछ । बैठकले प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको दाहालको सचिवालयले जनाएको छ ।

‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि दियो निवेदन

काठमाडौं । दश कम्युनिष्ट घटक दल मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो । साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिष्ट पार्टी बनाएका हुन् । नव गठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिष्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ । ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने ।

माधव नेपालले भने–हामीले पनि चीन र भारतले जस्तो ‘नेपाली कम्युनिष्ट पार्टी’ किन नभन्ने ?

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन् । काठमाडौंको भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती, कमजोरी भने सच्याउनु पर्ने बताए ।

‘नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन । नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ । आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ । इमानदारिताको अभाव छ । हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नु पर्छ । युवापस्ताको विश्वास जित्नुपर्छ,’ उनले भने । उनले वामदेव गौतमको कुरा स्मरण गर्दै थपे, ‘कुराले चिउरा भिज्नेवाला छैन । हामी कुरा गर्न र प्रचवन दिन सिपालु छौं । तर, रुपान्तरण गर्ने कुरामा धेरै पछाडि छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका उनले नेपाल मात्र त्यस्तो देश रहेको, जहाँ कम्युनिष्टहरूले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको बताए । ‘बृहत् वाम एकता निकै लोकप्रिय छ । तर, व्यवहार हे¥यो भने अब धेरै बाँकी देख्नु हुन्छ । बाँकी वामहरूसँग पनि एकताको प्रयास अवश्य गर्नेछौं । हामी सानो दायरामा बस्न चाहँदैनौं । बन्देज, आग्रह र पूर्वग्राह पनि राख्दैनौं । सबैलाई समेट्नेगरी गोलबद्ध गरेर हिंड्न चाहन्छौं,’ उनले भने ।

नेपालले भारत र चीनमा कम्युनिष्ट पार्टीको नाम नियाल्दै आफूहरूले नव गठित पार्टीको नाम घोषणा गरेको सुनाए । नेपालले पार्टीको नाम राख्न वृहत छलफल भएको पनि बताए । ‘यो नेपाली कम्युनिष्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? नेकपा समाजवादी राख्ने कि हाम्रो राजु कार्की कमरेडको । सबै समाजवादी कुन समाजवादी कुन समाजवादी ? अनि नेपाली कम्युनिष्ट राख्ने कि ?,’ नेपालले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टी भन्छन्, भारतीय कम्युनिष्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिष्ट पार्टी किन नभन्ने ?’

अनि चम्किलो तारालाई चुनाव चिन्ह राखिएको बताए । ‘तारा चम्किलो चिन्ह किन नलिने । वृहत छलफलपछि हामी यो दुईवटा निष्कर्षमा पुगेका हौं,’ उनले भने । उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने बताए । ‘हामी प्रतिगमनको दिशामा लैजाने प्रयत्नलाई विफल बनाउनेछौं,’ उनले भने । सरकारसँग वार्तामा रहेका जेनजीहरूलाई पनि पार्टीमा भित्र्याएको बताउँदै उनले अन्य जेनजीहरूलाई पनि यो पार्टीमा आबद्ध हुन आह्वान गरे ।

नेपालले नयाँ पार्टी घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको बताउँदै नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टी बन्ने बताए । उनले यो पार्टीमा आफूहरूको अग्नी परीक्षा पनि सुरू भएको बताए । ‘जनतालाई हामीले विश्वास दिलाउनु पर्छ । यो पुरानै पार्टीको स्वरुप होइन । आफ्नै पार्टीहरूमा रहेका कमी कमजोरीको समीक्षा गरेर, गल्ती सुधार गरेर, परिवर्तनको संबाहक बनेर, क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी बनाएका छौं,’ उनले भने ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै निष्पक्षरूपमा चुनाव हुनुपर्ने बताए । उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए । अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, ‘आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।’ समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेको बताए । सामाजिक अभियन्तालाई हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।