`

नेकपाको अपानि : निर्वाचन तयारीदेखि एकता प्रक्रियासम्मको खाका

Nepal One HD २० मंसिर २०८२ १२:१२
प्रमुख खबर

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो संगठनात्मक एकीकरण, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र पार्टीको भावी कार्ययोजनालाई लक्षित गर्दै विस्तृत अन्तर–पार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै विभिन्न घटक दलहरूको एकतापछि बनेको नेकपाले अपानिमार्फत एकता प्रक्रियाको पृष्ठभूमि, सहमतिहरू, तत्कालीन राजनीतिक चुनौती र आगामी रणनीतिबारे स्पष्ट मार्गनिर्देशन गरेको छ । कात्तिक १९ मा एकता घोषणा भएलगत्तै पार्टीले देशभर सन्देशसभा सञ्चालन गरिरहेको छ । कात्तिक २६ मा भीम रावल नेतृत्वको ‘मातृभूमि अभियान’ नेकपामा गाभिएपछि सुदूरपश्चिमदेखि पूर्वसम्म एकीकृत संरचना विस्तारका कार्यक्रम तीव्र बनेका छन् ।

अपानिको केन्द्रमा आसन्न निर्वाचन तयारी छ । फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावलाई पार्टीले आफ्नो पहिलो परीक्षाका रूपमा व्याख्या गर्दै जेनजी पुस्ताको भावना, सोच र प्राथमिकता प्रत्यक्ष रूपमा सम्बोधन गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । अपानिमा भनिएको छ— युवा पुस्ताको अपेक्षा बुझेबिनापछाडि परिने भएकाले कार्यक्षेत्रमै उभिएर तत्काल चुनावी अभियान सुदृढ बनाउनु पर्नेछ ।

पार्टी एकताको कारण र आवश्यकता सम्बन्धी विशद् विश्लेषण पनि यस निर्देशनमा समावेश छ । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक अनिश्चितता, विगतका कम्युनिस्ट विभाजनहरूले उपलब्धिहरूमा परेको असर, र समाजमा फैलिदै गएको निराशालाई चिर्नै पार्टी एकताको प्रमुख प्रेरणा रहेको उल्लेख गरिएको छ । अपानिमा एकता प्रक्रियामा सुरुआतमा समावेश १० दलदेखि पछ्याउँदै जोडिएका सबै घटक दलको विस्तृत विवरण राखिएको छ ।

एकता राष्ट्रिय सम्मेलनबाट तय भएका ११ बुँदा समेत अपानिमार्फत पुनः औपचारिक रूपमा कार्यकर्तासामु प्रस्तुत गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘पाँच कुने तारा’ चयन, दीर्घकालीन एवं अल्पकालीन योजनाहरू, अपिल प्रकाशन, निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया र थप समूहहरूसँग एकता विस्तार गर्ने तयारीसम्बन्धी धारणा सबै यस निर्देशनभित्र समेटिएका छन् ।

यसैगरी, पार्टीभित्र एकता र गतिशीलता कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आवश्यक संगठनात्मक निर्णय, जिम्मेवारी बाँडफाँड र कार्यान्वयनका सूचनाहरू पनि अपानीले निर्देशित गरेको छ । अपानिले नेता–कार्यकर्तालाई राम्रो संगठित संरचना र साझा राजनीतिक दृष्टिकोणमार्फत वाम एकताको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *