`

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिले गरे प्रदर्शन

Nepal One HD ८ कार्तिक २०८३ २०:५२
विश्व

काठमाडाैँ । शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।स्पेनमा अर्को महिना हुने संसदीय निर्वाचनको एक प्रमुख मुद्दा यही हो । यो प्रदर्शन स्पेनको पेन्सन प्रणालीको दिगोपन र जीवनयापन खर्चबारे राजनीतिक विवाद चलिरहेका बेला भएको हो।

समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले दक्षिणपन्थीहरूले मुद्रास्फीतिसँग जोडिएको वृद्धि कमजोर पार्ने योजना बनाएको आरोप लगाएका छन्।
शनिबार प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा आतोचा रेल स्टेसनबाट ग्राभ भिया (राजधानीको मुख्य व्यापारिक सडक) सम्म पैदल यात्रा गरेका थिए।

जिज्ञासु पर्यटकहरूले उनीहरूलाई हेरिरहेका देखिन्न्थे। मड्रिडका अधिकारीहरूले एएफपीलाई दिएको जानकारीमा प्रदर्शनमा करिब दुई लाख ५० हजार प्रदर्शनकारी सहभागी रहेको अनुमान गरिएको थियो।
तीमध्ये धेरैले ‘हाम्रो पेन्सनको रक्षा र सुनिश्चितता गर’ लेखिएका ब्यानर बोकेका थिए। दक्षिणी शहर सेभिलका ३८ वर्षीय सरकारी कर्मचारी जुआन फर्नान्डेजले भने, “म लगायतका लाखौँ मानिस आफ्नो भविष्यको पेन्सन पाउने कुरामा ‘अनिश्चित’ भएपछि प्रणालीलाई निजीकरण गर्ने कुनै पनि सरकारी प्रयासको विरोध गर्न राजधानी उत्रिएको बताए।

“निजीकरण गरिएको कुनै पनि भागको मूल्य सेयर बजारको मूल्यसँग जोडिनेछ। त्यहाँ विजेता पनि हुनेछन् र हारेका पनि,” उनले एएफपीलाई बताए।यस महिनाको सुरुमा दक्षिणपन्थी विपक्षी पपुलर पार्टी (पीपी) का सांसद एस्टर मुनोजले वर्तमान पेन्सन प्रणाली ‘ध्वस्त’ हुने भविष्यवाणी गर्दै यसमा परिवर्तन गर्न माग गरेकी थिइन्, जसले सरकारको आलोचना निम्त्यायो। “पेन्सन पवित्र हुनुपर्छ,” ६४ वर्षीया र अवकाश नजिक पुगेकी पिलारले एएफपीलाई बताइन्। उनले ‘सबै कुरा निजीकरण गर्ने प्रवृत्ति’ को निन्दा गर्नुभयो र आवास खर्च तथा भाडावालहरूको सुरक्षाको अभावबारे हालैका हप्ताहरूमा भएका अन्य प्रदर्शनहरू देखेर खुसी लागेको बताइन्।

“मलाई लाग्छ आवास सङ्कटले युवाहरूलाई बिउँझाएको छ,” उनले भनिन्। उनले केवल पेन्सन मात्र नभई स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवाहरूको सुरक्षा गर्न र स्पेनी जनतालाई ‘आफुहरूले मिहिनेत गरेर कमाएका सबै कुराको रक्षा गर्न’ आग्रह गर्नुभयो।”

पीपी नेता अल्बेर्टो नुनेज फेइजूओले सोमबार भनेका थिए, “उहाँको पार्टीले नोभेम्बर २९ को निर्वाचन जितेर उहाँ प्रधानमन्त्री बनेको खण्डमा हरेक वर्ष मुद्रास्फीतिअनुसार पेन्सन बढाइरहनेछ ।”

सान्चेजले पीपीलाई सन् २०२२ देखि लागू भएको मुद्रास्फीतिसँग पेन्सन वृद्धि जोड्ने संयन्त्रमाथि प्रश्न उठाएको आरोप लगाए। उक्त पार्टीले यो व्यवस्था ल्याउने कानुनको विरोधमा मतदान गरेको थियो।

स्पेनको सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशभर करिब ६८ लाख स्पेनीले राज्यको पेन्सन पाउँछन्। सेप्टेम्बरसम्म पेन्सनको रकम प्रतिव्यक्ति महिनाको औसत एक हजार ५७६ युरो (एक हजार ७६५ डलर) रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *