‘इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथि घात : भीम रावल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पु¥याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए ।
रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ ।’ रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ ।
नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाएका छन् । रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए ।
विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए । सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भनेका छन्, ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ। यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ।
— Bhim Rawal, PhD (@BhimRawal179) December 4, 2025
