‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि दियो निवेदन
काठमाडौं । दश कम्युनिष्ट घटक दल मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो । साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिष्ट पार्टी बनाएका हुन् । नव गठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिष्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ । ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने ।
