`

यो एकता लहड, आवेश र चुनाव जित्न होइन : प्रचण्ड

Nepal One HD ११ मंसिर २०८२ १६:४३
राजनीति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरेका छन् । जसपासहित चार घटकसँगको एकता सभालाई सम्बोधन गर्दै हिजो धादिङको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा जनताको उपस्थिति उत्साहजनक भएको बताएका हुन् ।

उनले भने, ‘हिजो धादिङमा राजेन्द्र पाण्डेजी र मैले बोलेका थियौं । त्यहाँ जनताको उमङ्ग र उपस्थिति हेर्ने हो भने अभूतपूर्व थियो । त्यसले धादिङमा मात्रै होइन देशैभरी पनि त्यसले शक्तिशाली सन्देश गइसकेको छ । यो एकता कुनै लहड र आवेगमा गरेको अभियान होइन ।’

उनले देश अफ्ठेरो अवस्थामा रहेको भन्दै त्यसको रक्षाको लागि भएको बताएका छन् । उनले भने, ‘यो एकता चुनाव आउँदै छ, जित्नको लागि होइन, राष्ट्रको स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यको साथ बलियो तागत निर्माण गर्ने अभियान हो ।’नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जन वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा आज (बिहीबार) थप चार दल मिसिएका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच जसपाको एकता पक्षधर, नजागरण पार्टी नेपाल, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र विप्लवको नेकपा (माओवादी) को विद्रोही समूहनेकपामा समाहित भएका हुन् । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायत सहभागी छन् ।

कार्यक्रममा नेकपा र एकतामा सामेल समूहका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ । कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेकपा घोषणा गरेका थिए । त्यसको एक हप्तापछि कात्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र अर्को एउटा समूह नेकपामा समाहित भएको थियो । आज चार दल थपिएसँगै नेकपामा ध्रुवीकृत हुने घटक संख्या १६ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *