`

आज पनि हामीलाई खुब हेप्ने गरेका छन्, केही समयपछि हेर्नुहोला : प्रचण्ड [भिडियो]

Nepal One HD ८ कार्तिक २०८३ १६:१६
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको विचार र इतिहासमा खेलेको भूमिकालाई बेवास्ता गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले केही समयपछि देशमा नयाँ परिस्थिति सिर्जना हुने दाबीसमेत गरेका छन्।

पछिल्लो राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय घटनाक्रमबारे टिप्पणी गर्दै प्रचण्डले नेपाली जनताले असहज परिस्थितिको सामना गरिरहेको र विश्व राजनीतिमा देखिएका द्वन्द्व तथा भूराजनीतिक परिवर्तनको असर नेपालमा पनि परिरहेको बताएका हुन्।

‘आज पनि हामीलाई खुब हेपेर भन्ने गरेका छन्। विचारको भूमिका, इतिहासमा खेलेको भूमिकालाई पूरै माइनस गर्न खोजेका छन्। केही समयपछि हेर्नुहोला, देशमा नयाँ परिस्थिति बन्छ,’ प्रचण्डले भने।

उनले विश्वव्यापी रूपमा बढिरहेका युद्ध, विद्रोह र आन्दोलनले अन्तर्राष्ट्रिय परिस्थिति जटिल बनाएको उल्लेख गरे। रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व तथा इजरायल, अमेरिका र इरानबीचको युद्धको प्रसङ्ग उल्लेख गर्दै उनले युरोपमा भइरहेका आन्दोलनले समेत विश्वको अवस्था सहज नरहेको देखाउने बताए।

प्रचण्डले नेपालको राजनीतिक अवस्था पनि विश्वमा भइरहेको भूराजनीतिक परिवर्तनबाट प्रभावित भएको धारणा राखे। उनका अनुसार भूराजनीतिक चलखेल र शक्ति सन्तुलनमा आउने परिवर्तनको असर नेपालमा अझ बढी चुनौतीपूर्ण रूपमा देखिएको छ।

‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन। बरु अझ बढी असहज नेपालमा परिरहेको छ। यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ,’ उनले भने।

आफ्नो पार्टीको ऐतिहासिक भूमिकाबारे चर्चा गर्दै प्रचण्डले नेपाली जनताको सार्वभौमिकता तथा उत्पीडित वर्ग र समुदायको अधिकारका लागि पार्टीले विगतमा त्याग, तपस्या र बलिदान गरेको बताए। त्यही संघर्षको पृष्ठभूमिमा देशमा युगान्तकारी राजनीतिक उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ थियो।

उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र त्यसको प्रभावबाट नेपाली राजनीतिमा उत्पन्न चुनौतीप्रति आफ्नो पार्टी गम्भीर र जिम्मेवार रहेको पनि बताए।

‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल, भुमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौँ भन्ने हामीले महसुस गरेका छौँ,’ प्रचण्डले भने।

प्रचण्डको अभिव्यक्तिले वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो पार्टीको ऐतिहासिक योगदान र विचारको सान्दर्भिकता स्थापित गर्ने प्रयाससँगै आगामी दिनमा नयाँ राजनीतिक परिस्थिति विकास हुन सक्ने उनको आकलनलाई उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *