`

सरकारी सम्पति तोडफोड र आगजनीको आरोपमा पूर्व सांसद मोदीका स्वकीय सचिव पक्राउ

काठमाडौं । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्व सांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन् । विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन् । अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थि ए। घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए ।

अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियो पनि बाहिरिएको थियो । आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन् । पूर्व सांसद मोदीले भने अन्सारी अहिले आफ्नो स्वकीय सचिव नरहेको बताएका छन् । ‘म मन्त्री हुँदा उनी मेरो स्वकीय सचिव थिए । तर पछिल्लो समयमा उनी थिएनन् । विनोद सिंह छन्,’ मोदीले भने ।

 

भदौ २४ को घटना : आकस्मिक दङ्गा कि पूर्व नियोजित विद्रोह ?

काठमाडौं । भदौ २४ मा नेपालभरि भएका आगजनीका घटनाहरू आकस्मिक प्रतिक्रिया नभई एक गम्भीर रूपमा समन्वित र पूर्व नियोजित अभियान भएको न्यूयोर्क टाइम्सको हालै प्रकाशित अनुसन्धानले प्रमाण प्रस्तुत गरेको छ । देशको प्रशासनिक केन्द्रमा गरिएको यस हमलाले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायत सयौं सरकारी र निजी संरचनाहरू ध्वस्त बनायो ।

न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार, भ्रष्टाचार विरोधी प्रदर्शनको क्रममा भदौ २३ मा सुरक्षाकर्मीको गोलीबाट १९ प्रदर्शनकारी मारिएपछि देशभरि फैलिएको हिंसामा योजनाबद्ध तरिकाले आगजनी गरिएका थिए । अनुसन्धानमा संलग्न विशेषज्ञहरू भन्छन–यस्तोस्तरको समन्वय बिना केही घण्टाभित्रै यति ठूलो क्षेत्रफलमा आगजनीको आगो फैलिन असम्भव छ ।

अग्नि विशेषज्ञहरूले घटनास्थलको जाँच, तस्वीर–भिडियो विश्लेषण र प्रत्यक्षदर्शीका आधारमा निष्कर्ष निकालेका छन् कि आगो फैलाउने क्रममा विशेष प्रज्वलनशील रसायनहरूको प्रयोग भएको हुनसक्छ । यस्ता पदार्थहरू सहजै उपलब्ध नहुने र प्रयोग गर्न पूर्व ज्ञान आवश्यक हुने उनीहरूको भनाइ छ ।

त्यस दिन काठमाडौंमा संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार क्रमशः १ः४५ देखि ३ः३० भित्रै जलेर खरानी भए । प्रत्यक्षदर्शीहरूले खुला झ्याल र ग्यास क्यानिस्टर प्रयोगको संकेत दिएका छन् । केही युवा आगजनीकर्ताहरूले पेट्रोल बम बाँडिएको र सिफ्टमा काम गरिएको स्वीकार गरेका छन् । घटनासँग सम्बन्धित सूचीहरू अनलाइनमा एक रातअगावै देखिन थालेका थिए । आश्चर्यजनक रूपमा, सुरक्षाकर्मीहरू खासै प्रतिकार नगरी भीडलाई अघि बढ्न दिएको प्रमाण भेटिएको छ । नेपाली सेनालाई हस्तक्षेप नगर्न निर्देशन दिइएको आशंका व्यक्त गरिएको छ । सेनाले तटस्थ भूमिका खेलेको बेला सयौं प्रहरी चौकी पनि आगोको चपेटामा परेका छन् ।

नेपालको विधि विज्ञान प्रयोगशालाले घटनाको वैज्ञानिक विश्लेषण प्रारम्भसम्म नगरेको पुष्टि भएको छ । प्रयोगशालाका प्रमुखका अनुसार, घटनास्थलबाट अहिलेसम्म कुनै नमूना प्राप्त भएको छैन, जसले अनुसन्धानको प्रगति अझै अन्योलमा पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँग सकिएको त्यो दिनले सरकारको संरचना मात्र होइन, राज्यप्रति जनताको विश्वास पनि संकटमा पारेको छ । यद्यपि, कुनै समूहले यो आगजनीको जिम्मेवारी लिएको छैन । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अनुसन्धान आयोग गठन गरेकी छिन्, तर न्यायिक प्रक्रियामा ढिलाइ हुने परम्परा हेर्दा सत्यतथ्य पत्ता लाग्न धेरै वर्ष लाग्न सक्ने देखिन्छ । नेपालको राजनीतिक इतिहासमा आगजनी कुनै नौलो घटना होइन । तर यस पटकको विनाशको परिमाण, तयारी र त्यसको कार्यान्वयन शैलीले यो प्रकरणलाई इतिहासमै सबैभन्दा भयावह बनाएको छ ।

 

आगजनीबाट कोशीमा पाँच सय बढी भवनमा क्षति, प्रहरीका ५७ कार्यालय जलाइयो

मोरङ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शननका क्रममा सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको विवरण संकलन थालिएको छ । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको मोरङ, सुनसरी झापा, इलाम, उदयपुर लगायतका जिल्लामा बढी तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनकारीले गरेको आक्रमणका कारण अधिकांश प्रहरी कार्यालय समेत विस्थापित भएकाले पुनस्र्थापना गरी क्षतिको विवरण संकलन सुरु भएको छ । प्रदर्शन भएको एक साता बित्दा समेत सरकारी निकायहरू विवरण संकलनमै छन् ।आन्दोलनका क्रममा प्रदेशका ५७ वटा प्रहरीका भवनमा आगजनी र तोडफोड भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये २४ वटा भवन आन्दोलनका क्रममा पूर्ण क्षति भएको प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।

उनका अनुसार ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ । त्यहाँभित्रका फर्निचर, ल्यापटप तथा कागजपत्रहरुको बारेमा अझै विवरण संकलन भइसकेको छैन । आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारी साधनमा पूर्णरूपले क्षति पुगेको छ । तीमध्ये ८ वटा हेभी सवारी साधन छन् ।यस्तै प्रहरीले चढ्दै आएको २२ वटा लाइट भ्यान आन्दोलनका पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।प्रदर्शनका क्रममा अराजक समूहको ढुङ्गा मुढा प्रहारबाट कोशी प्रदेशमा ११४ जना प्रहरी घाइते भएका छन् । घाइते भएका मध्ये ६ जनाको अहिले पनि उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक पोख्रेलले भने, ‘घाइतेमध्ये एक जनाको आइसियुमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्ते छ ।’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय भन्दा मुनिका प्रहरीका कार्यालयहरू विस्थापित भएका थिए । प्रदर्शनकारीले आगजनी, तोडफोड र आक्रमण जारी राखेपछि प्रहरीहरू समेत भागेका थिए ।उनले पुनस्र्थापना भई नसके पनि प्रहरीले सबै युनिटबाट सेवा दिन थालेको बताए । उनले भने, ‘विस्थापित भएका सबै प्रहरीहरू सम्पर्कमा आएका छन् । उनीहरूले तत् तत् स्थान र अवस्थाबाट सेवा दिन थालेका छन् । ’

कति सरकारी भवनमा आगाजनी ?
जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेशमा प्रदर्शनका क्रममा ५ सय भन्दा बढी सरकारी भवनमा क्षति पुगेको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा सरकारी निजी र पाटी कार्यालय गरेर ५ सय भन्दा बढी सरकारी कार्यालयमा क्षति भएको हो ।

झापा मोरङ, सुनसरी, उदयपुर र इलाममा मात्रै ४ सय ३८ वटा सरकारी भवनमा क्षति पुगेको छ । ती मध्ये आधा जसो पूर्ण र आधा आंशिक क्षति भएका हुन् । पहाडी जिल्लामा भएको क्षतिको भने विवरण आई नसकेको प्रहरीले जनाएको छ। प्रदर्शनका क्रममा झापामा मात्रै १०६ वटा भवनहरूमा आगजनी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार आगजनीबाट १२ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइको छ ।

ती भवन भित्र रहेका सामाग्रीमा पुगेको क्षतिको विवरण अहिले सम्म सङ्कलन भइसकेको छैन । प्रदर्शनका क्रममा झापामा मात्रै ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले सङ्घीय सरकार मातहतमा रहेका १० वटा, प्रदेश सरकार मातहत रहेका ३ वटा भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइएको छ ।

यस्तै तीन वटा दलको कार्यालयमा समेत आगो लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । आन्दोलनका क्रममा सवारी साधनमा पुगेको क्षतिको बारेमा अझै विवरण संकलन भइसकेको छैन । यसै गरी इलाममा भने २८ वटा भवनमा तोडफोड र आगजनी भएको छ । तोडफोडमा बाट २ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । आगजनी र तोडफोडबाट ९ वटा वडा कार्यालयमा क्षति पुगेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार इलाममा तीन वटा पाटी कार्यालय २ वटा सङ्घ संस्थाका भवनमा क्षति पुगेको छ ।

मोरङमा १५५ वटामा क्षति

मोरङमा भने १५५ वटा सरकारी भवनमा क्षति पुगेको छ । कुन अवस्थाको क्षति भएको भने खुलिसकेको छैन । सरकारी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा समिति गठन भएको थियो सो समितिले मोरङमा क्षति भएका सरकारी भवनहरूको विवरण सार्वजनिक भएको हो ।

कोइरालाले मोरङमा सबै भन्दा बढी वडा कार्यालय भवनमा क्षति पुगेको बताए । उनका अनुसार मोरङमा रहेको विभिन्न ५८ वटा वडा कार्यालय,२१ वटा संघीय सरकार अन्तरगतका भवनमा तोडफोड भएको छ ।

प्रदेश सरकार अन्तरगतका १४ वटा १० वटा पालिका भवन, १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनका अनुसार ८ वटा पाटी कार्यालय, ४ वटा सङ्घ संस्थाका भवन, ३ वटा व्यापारिक कम्प्लेक्स, १७ वटा सशस्त्र जनपद प्रहरीको भवन र ४ वटा सशस्त्र प्रहरीको भवनमा क्षति पुगेको छ ।

प्रदर्शनका क्रममा सुनसरीमा २४ वटा सरकारी भवनमा पूर्ण रूपमा क्षति भएको छ । १२ वटा व्यक्तिको निजी भवनमा क्षति भएको छ । विभिन्न राजनीतिक दलका ८ वटा भवनमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ११ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

भैरहवा विमानस्थलमा आगजनी

काठमाडौं । आन्दोलित प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए । अन्य क्षति भने नभएको उनको दाबी छ ।

 

हिल्टन होटलमा आगजनी

काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी गरिएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

ललितपुरको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेका हुन् । ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गए पनि प्रदर्शनकारीले फर्काएका छन् । ‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ । तर प्रहरी पुग्न सकेको छैन । दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने । ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएप नि जान नसकिएको बताएको छ ।

फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो । ‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्‍यौं । प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने । काठमाडौं सहित देशका विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ । तर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
उनीहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

त्यस्तै, प्रदर्शनकारीहरू नेताहरूको घरमा समेत आगजनी तथा तोडफोड गरेका हुन् । आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन् । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारीको ठूलो भिड भेला भई प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक समेत तोडफोड गरेका छन् । इटहरीमा पनि कफ्र्यु तोड्दै प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । हिजो त्यहाँ भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि इटहरी अहिले पनि तनावग्रस्त बनेको छ । विराटनगरमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाइएको छ ।

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।