`

आगजनीबाट कोशीमा पाँच सय बढी भवनमा क्षति, प्रहरीका ५७ कार्यालय जलाइयो

Nepal One HD ३१ भदौ २०८२ १७:०१
प्रमुख खबर

मोरङ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शननका क्रममा सरकारी र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको विवरण संकलन थालिएको छ । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको मोरङ, सुनसरी झापा, इलाम, उदयपुर लगायतका जिल्लामा बढी तोडफोड र आगजनी भएको थियो ।

प्रदर्शनकारीले गरेको आक्रमणका कारण अधिकांश प्रहरी कार्यालय समेत विस्थापित भएकाले पुनस्र्थापना गरी क्षतिको विवरण संकलन सुरु भएको छ । प्रदर्शन भएको एक साता बित्दा समेत सरकारी निकायहरू विवरण संकलनमै छन् ।आन्दोलनका क्रममा प्रदेशका ५७ वटा प्रहरीका भवनमा आगजनी र तोडफोड भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये २४ वटा भवन आन्दोलनका क्रममा पूर्ण क्षति भएको प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोख्रेलले जानकारी दिए ।

उनका अनुसार ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ । त्यहाँभित्रका फर्निचर, ल्यापटप तथा कागजपत्रहरुको बारेमा अझै विवरण संकलन भइसकेको छैन । आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारी साधनमा पूर्णरूपले क्षति पुगेको छ । तीमध्ये ८ वटा हेभी सवारी साधन छन् ।यस्तै प्रहरीले चढ्दै आएको २२ वटा लाइट भ्यान आन्दोलनका पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।प्रदर्शनका क्रममा अराजक समूहको ढुङ्गा मुढा प्रहारबाट कोशी प्रदेशमा ११४ जना प्रहरी घाइते भएका छन् । घाइते भएका मध्ये ६ जनाको अहिले पनि उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक पोख्रेलले भने, ‘घाइतेमध्ये एक जनाको आइसियुमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्ते छ ।’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय भन्दा मुनिका प्रहरीका कार्यालयहरू विस्थापित भएका थिए । प्रदर्शनकारीले आगजनी, तोडफोड र आक्रमण जारी राखेपछि प्रहरीहरू समेत भागेका थिए ।उनले पुनस्र्थापना भई नसके पनि प्रहरीले सबै युनिटबाट सेवा दिन थालेको बताए । उनले भने, ‘विस्थापित भएका सबै प्रहरीहरू सम्पर्कमा आएका छन् । उनीहरूले तत् तत् स्थान र अवस्थाबाट सेवा दिन थालेका छन् । ’

कति सरकारी भवनमा आगाजनी ?
जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेशमा प्रदर्शनका क्रममा ५ सय भन्दा बढी सरकारी भवनमा क्षति पुगेको छ । प्रदेशका विभिन्न जिल्लाहरूमा सरकारी निजी र पाटी कार्यालय गरेर ५ सय भन्दा बढी सरकारी कार्यालयमा क्षति भएको हो ।

झापा मोरङ, सुनसरी, उदयपुर र इलाममा मात्रै ४ सय ३८ वटा सरकारी भवनमा क्षति पुगेको छ । ती मध्ये आधा जसो पूर्ण र आधा आंशिक क्षति भएका हुन् । पहाडी जिल्लामा भएको क्षतिको भने विवरण आई नसकेको प्रहरीले जनाएको छ। प्रदर्शनका क्रममा झापामा मात्रै १०६ वटा भवनहरूमा आगजनी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार आगजनीबाट १२ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइको छ ।

ती भवन भित्र रहेका सामाग्रीमा पुगेको क्षतिको विवरण अहिले सम्म सङ्कलन भइसकेको छैन । प्रदर्शनका क्रममा झापामा मात्रै ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले सङ्घीय सरकार मातहतमा रहेका १० वटा, प्रदेश सरकार मातहत रहेका ३ वटा भवनमा क्षति पुगेको छ । ती भवनहरूमा आगो लगाइएको छ ।

यस्तै तीन वटा दलको कार्यालयमा समेत आगो लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । आन्दोलनका क्रममा सवारी साधनमा पुगेको क्षतिको बारेमा अझै विवरण संकलन भइसकेको छैन । यसै गरी इलाममा भने २८ वटा भवनमा तोडफोड र आगजनी भएको छ । तोडफोडमा बाट २ वटा स्थानीय तहको भवनमा क्षति पुगेको छ । आगजनी र तोडफोडबाट ९ वटा वडा कार्यालयमा क्षति पुगेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार इलाममा तीन वटा पाटी कार्यालय २ वटा सङ्घ संस्थाका भवनमा क्षति पुगेको छ ।

मोरङमा १५५ वटामा क्षति

मोरङमा भने १५५ वटा सरकारी भवनमा क्षति पुगेको छ । कुन अवस्थाको क्षति भएको भने खुलिसकेको छैन । सरकारी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा समिति गठन भएको थियो सो समितिले मोरङमा क्षति भएका सरकारी भवनहरूको विवरण सार्वजनिक भएको हो ।

कोइरालाले मोरङमा सबै भन्दा बढी वडा कार्यालय भवनमा क्षति पुगेको बताए । उनका अनुसार मोरङमा रहेको विभिन्न ५८ वटा वडा कार्यालय,२१ वटा संघीय सरकार अन्तरगतका भवनमा तोडफोड भएको छ ।

प्रदेश सरकार अन्तरगतका १४ वटा १० वटा पालिका भवन, १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनका अनुसार ८ वटा पाटी कार्यालय, ४ वटा सङ्घ संस्थाका भवन, ३ वटा व्यापारिक कम्प्लेक्स, १७ वटा सशस्त्र जनपद प्रहरीको भवन र ४ वटा सशस्त्र प्रहरीको भवनमा क्षति पुगेको छ ।

प्रदर्शनका क्रममा सुनसरीमा २४ वटा सरकारी भवनमा पूर्ण रूपमा क्षति भएको छ । १२ वटा व्यक्तिको निजी भवनमा क्षति भएको छ । विभिन्न राजनीतिक दलका ८ वटा भवनमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ११ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *