भदौ २४ को घटना : आकस्मिक दङ्गा कि पूर्व नियोजित विद्रोह ?


काठमाडौं । भदौ २४ मा नेपालभरि भएका आगजनीका घटनाहरू आकस्मिक प्रतिक्रिया नभई एक गम्भीर रूपमा समन्वित र पूर्व नियोजित अभियान भएको न्यूयोर्क टाइम्सको हालै प्रकाशित अनुसन्धानले प्रमाण प्रस्तुत गरेको छ । देशको प्रशासनिक केन्द्रमा गरिएको यस हमलाले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायत सयौं सरकारी र निजी संरचनाहरू ध्वस्त बनायो ।
न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार, भ्रष्टाचार विरोधी प्रदर्शनको क्रममा भदौ २३ मा सुरक्षाकर्मीको गोलीबाट १९ प्रदर्शनकारी मारिएपछि देशभरि फैलिएको हिंसामा योजनाबद्ध तरिकाले आगजनी गरिएका थिए । अनुसन्धानमा संलग्न विशेषज्ञहरू भन्छन–यस्तोस्तरको समन्वय बिना केही घण्टाभित्रै यति ठूलो क्षेत्रफलमा आगजनीको आगो फैलिन असम्भव छ ।
अग्नि विशेषज्ञहरूले घटनास्थलको जाँच, तस्वीर–भिडियो विश्लेषण र प्रत्यक्षदर्शीका आधारमा निष्कर्ष निकालेका छन् कि आगो फैलाउने क्रममा विशेष प्रज्वलनशील रसायनहरूको प्रयोग भएको हुनसक्छ । यस्ता पदार्थहरू सहजै उपलब्ध नहुने र प्रयोग गर्न पूर्व ज्ञान आवश्यक हुने उनीहरूको भनाइ छ ।
त्यस दिन काठमाडौंमा संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार क्रमशः १ः४५ देखि ३ः३० भित्रै जलेर खरानी भए । प्रत्यक्षदर्शीहरूले खुला झ्याल र ग्यास क्यानिस्टर प्रयोगको संकेत दिएका छन् । केही युवा आगजनीकर्ताहरूले पेट्रोल बम बाँडिएको र सिफ्टमा काम गरिएको स्वीकार गरेका छन् । घटनासँग सम्बन्धित सूचीहरू अनलाइनमा एक रातअगावै देखिन थालेका थिए । आश्चर्यजनक रूपमा, सुरक्षाकर्मीहरू खासै प्रतिकार नगरी भीडलाई अघि बढ्न दिएको प्रमाण भेटिएको छ । नेपाली सेनालाई हस्तक्षेप नगर्न निर्देशन दिइएको आशंका व्यक्त गरिएको छ । सेनाले तटस्थ भूमिका खेलेको बेला सयौं प्रहरी चौकी पनि आगोको चपेटामा परेका छन् ।
नेपालको विधि विज्ञान प्रयोगशालाले घटनाको वैज्ञानिक विश्लेषण प्रारम्भसम्म नगरेको पुष्टि भएको छ । प्रयोगशालाका प्रमुखका अनुसार, घटनास्थलबाट अहिलेसम्म कुनै नमूना प्राप्त भएको छैन, जसले अनुसन्धानको प्रगति अझै अन्योलमा पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँग सकिएको त्यो दिनले सरकारको संरचना मात्र होइन, राज्यप्रति जनताको विश्वास पनि संकटमा पारेको छ । यद्यपि, कुनै समूहले यो आगजनीको जिम्मेवारी लिएको छैन । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अनुसन्धान आयोग गठन गरेकी छिन्, तर न्यायिक प्रक्रियामा ढिलाइ हुने परम्परा हेर्दा सत्यतथ्य पत्ता लाग्न धेरै वर्ष लाग्न सक्ने देखिन्छ । नेपालको राजनीतिक इतिहासमा आगजनी कुनै नौलो घटना होइन । तर यस पटकको विनाशको परिमाण, तयारी र त्यसको कार्यान्वयन शैलीले यो प्रकरणलाई इतिहासमै सबैभन्दा भयावह बनाएको छ ।