`

मधेश कांग्रेसको जन्मभूमि हो, जेठो छोरा भएर सेवा गर्न म झरें : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशप्रति विगतमा भएका कमजोरी र चुक सुधार्ने दृढ संकल्पसहित आफू मधेशमा आएको बताएका छन् । सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश कांग्रेसको जन्मभूमि मात्रै नभई पार्टीलाई हुर्काउने, सम्हाल्ने र टिकाउने मुख्य शक्ति भएको स्पष्ट पारे ।

सभापति थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरेको तर कांग्रेसले मधेशप्रति गर्नुपर्ने सबै जिम्मेवारी समयमै पूरा गर्न नसकेको स्वीकार गरे । मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा देखिएको यही खालीपनका कारण पछिल्ला वर्षहरूमा थुप्रै नयाँ तथा मधेश केन्द्रित राजनीतिक दलहरू उदाएको उनको भनाइ थियो । ‘म कसैलाई दोष लगाउन चाहन्नँ’, उनले भने, ‘तर मधेश हाम्रो जननी हो, हाम्रो आमा हो । हामी यसको जेठो छोरा हौं । आमाको सेवा गर्नु, हक–अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । कतिपय सन्दर्भमा हामीले उठाउनुपर्ने जिम्मेवारी समयमा नउठाएको चुक भएको छ ।’

त्यही गल्ती सुधार्ने प्रतिबद्धतासहित नेपाली कांग्रेसले आफ्नो सभापतिलाई नै ‘मधेशको उम्मेदवार’ का रूपमा अघि सारेको उनले बताए । ‘सिङ्गो मधेशमा हामी यो सन्देश लिएर आएका छौं कि मधेशको जिम्मा कांग्रेसले लिन्छ, मधेशका माग कांग्रेसले पूरा गर्छ’, थापाले भने । आफ्नो सम्बोधनमा सभापति थापाले आगामी पाँच वर्षलाई देशका लागि निर्णायक समयको रूपमा चित्रण गरे ।

उनले यो समय आर्थिक प्रगति, कृषकको जीवनस्तर सुधार, बेरोजगार युवालाई रोजगारी, तथा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बदल्ने अवसर भएको उल्लेख गरे । ‘यो समय नेपालले खेर फाल्न सक्दैन’, उनले जोड दिए । कांग्रेसले यही पाँच वर्षको सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई सबैभन्दा ठूलो शक्ति मधेशबाटै चाहिएको बताए । ‘किनभने मधेश नै कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाउने, हुर्काउने, बलियो बनाउने र टिकाइराख्ने यही धर्ती हो’, उनले भने ।

सभापति थापाले आफू सर्लाहीको एउटा निर्वाचन क्षेत्रबाट मात्र नभई सिङ्गो सर्लाही र मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउने जिम्मेवारी लिएर मधेश झरेको बताए । मधेशवासीको साथ र समर्थन लिएर कांग्रेसले आगामी पाँच वर्ष देश र मधेश दुवैको सेवा गर्ने ऐतिहासिक कर्तव्य पूरा गर्ने उनको दाबी थियो । उनले कार्यकर्तालाई कांग्रेसको यो सन्देश घर–घरमा पुर्‍याउन आग्रह गरे । ‘मधेशको सेवा गर्ने संकल्पसहित हामी यहाँ आएका छौं’, उनले भने, ‘अब यो भरोसा जनतासम्म पुर्‍याउने जिम्मेवारी तपाईंहरुकै हो ।’

 

बालेनलक्षित कांग्रेस सांसद भट्टको टिप्पणी : देश जलाउनेहरुबाट कुनै अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे ।

सांसद भट्टले भने, ‘देशलाई खरानी बनाउनेहरुले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ? आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने । आफू एउटा मिडिया हाउसको सबभन्दा ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकी तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरु बदनाम हुँदै जाने ।’

उनले भने, ‘पुरानाका नाममा म उहाँहरुलाई भन्न चाहन्छु–बुबाआमा पनि पुराना भए होलान । बुबाले कमाएको सम्पति पनि पुरानो भयो होला । त्यो सम्पत्ति पुरानो भयो होला । त्यो सबे फाल्नुस । र, आफूले कमाएर आफै आफ्नो खुट्टामा उभिएर देखाउनुस । अर्कोले बनाएको संविधान, अर्काले रगत बनाएको संविधानमा उभिएर आज तपाई जसलाई अर्ति उपदेश दिँदै हुनुहुन्छ । अनुरोध गर्न चाहन्छु–सुध्रिनुहोस । यो राष्ट्र र राष्ट्रियता कसैको बाउको वपौती होइन ।’ सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनु पर्ने अवस्था आएको बताए ।

 

 

गगन थपालाई सघाउन भन्दै सांसदका उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउन सर्लाही क्षेत्र नं ४ का प्रदेश सांसदका उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।

बहुजन पार्टीबाट सर्लाही–४ (२) प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका–१ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । त्यस्तै बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । यसअघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

 

 

तपाईंहरुले जिताइसक्नु भयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै : नेता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्णरुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनु पर्ने बताएका हुन् । उनले अब युवा कांग्रेस, विपी कोइरालाले कल्पना गरेको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए ।

उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे । बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए । उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए ।

उनले भने, ‘मत मलाई दिनु हुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नु पर्छ । मत बढाइ दिनुपर्छ । पहिला तीन नम्बर बनाई दिनु भयो अब एक नम्बर बनाई दिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरुले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरुले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् ।’

उनले भने, ‘अब बदलिएको कांग्रेस, युवा कांग्रेस, विपी कोइरालाले परिकल्पना गर्नु भएको कांग्रेस, समावेशी कांग्रेस, लोकतान्त्रिका कांग्रेस, डेमोक्रेटिक कांग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसीहाँसीकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरुका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरुले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरुको बीचमा छ ।’ उनले युवा कांग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे ।

चुनावमा हाम्रो पुरानै पार्टीसँग प्रतिस्पर्धा हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले घोषणामा मात्रै सीमित हुने घोषणापत्र नबनाउने बताए । उनले कांग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

नेपालको राजनीतिमा काम कम कुरा धेरै गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले कांग्रेसले गर्नसक्ने कामको आधारमा मात्रै घोषणापत्र तयार गर्ने बताए । उनले गर्नसक्ने जति कामको मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गरे । उनले निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने बताए ।

उनले सबै एकजुट भएर निर्वाचनमा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा कांग्रेसको सरकार बन्नेगरी तयारी गर्न आग्रह गरे । प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताए । उनले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जानकारी दिए ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

उनले भने, ‘केही समयपछि नै पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दैछ । स्थानीय रुपमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणा पत्र तयार गर्नेछन् । घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनिय कार्यक्रम । घोषणाको लागी घोषणा होईन की विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ ।’

उनले भने, ‘किनकी कुरा धेरै गर्ने काम कम हुने नेपालको राजनितिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौ र बोलेको कुरा पुरा गर्छौ । यो आधारमा हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरुको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ । पुर्ण एकता छ काँग्रेस पार्टीमा । एक भएर, एक ढिक्का भएर हामीले आफ्नो उम्मेद्वारलाई विजयी बनाएर नेपाली काँग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडी बढेका छौँ।’

प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा स्तरसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले पार्टीले निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गर्ने र पार्टीले पनि आन्तरिक आचारसंहिता बनाएर कडाइका साथ लागू गरेको बताए । उनले पार्टीले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने पनि जानकारी दिए । कांग्रेसले समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । माघ १६ गते शहीद दिवसको अवसरबाट यो कार्यक्रम शुरु गर्न लागिएको उनले जानकारी दिए ।

कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा, ५९ पुराना उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १०६ नयाँ अनुहार चुनावी मैदानमा उतारेको जनाएको छ । कांग्रेस देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्दा नयाँलाई विशेष प्राथमिकता दिएको हो ।मंगलबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस पटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए । प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए ।

‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ’, उनले भने । उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।

‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ’, उनले भने, ‘साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ ।’ कांग्रेसले यस पटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत् मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने चालिसेको भनाइ छ ।

चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे । ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्’, उनले भने, ‘अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।’ कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेले बताए ।

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नु भयो : सांसद श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एक मात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनीतिक दलहरुको चाहना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनले आरोप लगाए ।

निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफै चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनको भनाई छ । उनले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताए । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भए पनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उनको भनाई छ । उनले भने, ‘रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनीतिक दलहरु निर्वाचनमा होमिएका छौँ । अब यो निर्वाचनमा होमिँदै गर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरु मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नु भएको छ ।’

उनले भने, ‘विस्तारै पर्दा खोलिँदैछ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरु अझ भोलि खोलिँदै जालान् । मन्त्रीहरु आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ ? हिजो मन्त्री पदमा बस्ने, सपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ । मन्त्री पदमा बस्दा दिएका उहाँहरुका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ । राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरुको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन् ।’ उनले मन्त्री बनेकाहरु नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथीको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’ हरु विस्तारै खुल्न थालेको बताए ।

कांग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङग्य : शीतकालको कोइलीझैं मौन बसेको छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन् । हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उनले बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरू भए पनि उनीहरुलाई संविधानले पहिचान गर्न नसकेको उल्लेख गरे । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाए । उनले जेन–जी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गरे । जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उनले बताए । तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुन सक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

सांसद मिश्रले राज्य सञ्चालन गर्नेहरूले सिंहदरबार, अदालत लगायका सार्वजनिक सम्पतिमाथि आगजनी गर्ने वास्तविक दोषी पहिचान गर्न नसकेको बताए । सरकारले गठन गरेको छानविन आयोगप्रति समेत उनले प्रश्न उठाए । दोषीलाई कारबाही गर्न भन्दा प्रमाण नष्ट गर्न आयोग गठन गरिएको हो भन्ने आशंका उत्पन्न भएको उनको भनाई । उनले भने, ‘संविधान छैन भनौँ हामी बोलिरहेका छौँ, राष्ट्रिय सभा जीवितै छ । अझ यसको निरन्तरताको लागि निर्वाचन समेत भएर नयाँ सांसदहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुलाई पनि बधाइ छ । प्रदेश र स्थानीय तहहरु काम गरिरहेका छन् । संविधान छ भनौँ, कसरी भनौँ । प्रधानमन्त्री र मन्त्रीहरु त छन्, तर संविधानले पहिचान गर्न सकेको छैन । छ कि छैन म कानुनको ज्ञाता नभएकोले बोल्ने निकायले बोलिदिनु पर्ने हो । सर्वोच्च अदालत तर उ शीतकालको कोइली जस्तै मौन भएर बसेको छ ।’

उनले भने, ‘हामी सानो छँदा पढ्थिम्, मानौँ मौन अवधि हुन्छ, कोइली शीतकालमा, के बोलौँ, के नबोलौँ, खुट्टा कामीरहन्छ । तर मनले मान्दैन, बोल नारायण बोल भन्छ । विदेशीहरुले नेपाल चिन्नको लागि पहिले एभरेन्टको देश भनेर भन्थे, कतिले गौतम बुद्धको भनेर आस्था गर्छन् भने कतिले पशुपतिनाथको देश भन्छन्, अब एउटा कुरा कही थपिन्छ की भन्ने डर छ, विदेशीहरुको क्रिडास्थल देश । जेनजीहरुको नाममा भएको आन्दोलनका केही नकरात्मक, सकारात्मक सन्देशहरु पनि छन् ।’

उनले थपे, ‘जेनजी आन्दोलनले एउटा ठूलो फाइदा देशलाई पुर्‍याएको छ । कतिपय मानिसहरु आफू राजनीतिमा स्थापित हुनको लागि जातीयता र क्षेत्रीयताको भावना खेल्थे, तर यो आन्दोलनले सबै नेपाली एक हौँ भन्ने भावना विस्तार गरेको छ । युवाहरुलाई कर्तव्यवोध गराएको छ । संगसंगै एउटा खराब पराम्पराको विकास हुन्छ की भन्ने चिन्ताले पनि सताईरहेको छ की कसैलाई शासनबाट लखेट्न वैधानिक र बैचारिक बाटोको सट्टा तोडफोड र आगजानी गरिदिने खराब बाटोबाट देश र देशका युवाहरु उद्धत हुन्छन् की भन्ने डरले सताईरहन्छ । हामी हेरिरहेका छौँ, सिंहदरबारको खरानीको थुप्रोमाथि बसेर राज्य सञ्चालन गर्नेहरुले त्यो खरानी गर्नेहरुको पत्तो लगाउन खोजेका छन् की कही त्यसै खरानी भित्र भएका, पत्ता लगाएका प्रमाणहरु नष्ट गर्नको लागि आयोग बनाएका छ होइनन् ? शंका लाग्छ । यो कुरा केही दिनमा घाम जस्तै छर्लङ्ग हुने नै छ । २३ र २४ गतेको घटना कसले घटायो भन्दा पनि त्यसबाट कसले फाइदा लियो ? को राजनीतिमा आधा रातमा सूर्य उदाएझै उदाएका छन् ? को शासनसत्ताको हालीमुहाली गरेर पनि चुनाव ताक्न पनि पछि नपरेका छन् ।’

सांसद मिश्रले भदौ २३ र २४ गतेको घटना कसले गर्‍यो भन्दा पनि त्यसबाट कसले राजनीतिक लाभ लियो भन्ने प्रश्न महत्वपूर्ण भएको उल्लेख गरे । सो घटनापछि को रातारात उदाएको छ, को सत्ता र शासनको बलमा चुनावी तयारीमा जुटेको छ भन्ने कुरा जनताले नियालिरहेको उनको भनाई छ ।

 

 

फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुन्न : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले चुनावी राजनीतिमा देखिँदै आएको ‘आए–गए’ प्रवृत्तिलाई अस्वीकार गर्दै सर्लाहीलाई आफ्नो कर्मथलो बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन् । सर्लाही पुगेका थापाले मतदाता र कार्यकर्तासँगको अन्तरक्रियामा आफू फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुने नेता नभएको बताएका हुन् ।

बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘चुनाव आयो, हेलिकप्टर चढेर आयो, फोटो खिचायो, हात हल्लायो र जितेपछि हरायो– यस्तो राजनीति म गर्दिनँ ।’ उनले आफू पार्टीको जिम्मेवारीका कारण अन्य क्षेत्रमा जानु परे पनि सकेसम्म बढी समय सर्लाहीमै बसेर जनतासँग घुलमिल हुने बताए ।

थापाले आफूलाई ‘पाहुना नेता’ का रूपमा नहेर्न मतदातासँग आग्रह गरे । ‘म मत माग्न मात्रै आएको होइन, यहाँका जनतासँग दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ’, उनले भने, ‘जति समय लाग्छ, म यहीँ बसेर तपाईंहरूकै मान्छे बन्न चाहन्छु ।’
कार्यक्रममा केही सहभागीले स्थानीय भाषामा दुई–चार शब्द बोलेर सम्बोधन गर्न सुझाव दिए पनि थापाले त्यसलाई सस्तो लोकप्रियताको अभ्यास भन्दै अस्वीकार गरे । ‘रातभरि रटेर दुई लाइन बोलेर नाटक गर्न मलाई आउँदैन’, उनले स्पष्ट पारे, ‘म ६ महिना, ८ महिना वा एक वर्ष समय लगाएर भाषा सिक्छु, अनि माइक समातेर यहीँको भाषामा आत्मविश्वासका साथ बोल्छु ।’

आफ्नो संसदीय अनुभव स्मरण गर्दै थापाले काठमाडौंमा गैरनेवार भएर पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वसँग आफू कसरी घुलमिल भएको उदाहरण प्रस्तुत गरे । ‘जसरी काठमाडौंमा सबै समुदायको विश्वास जितें, त्यसैगरी सर्लाहीका जनताले पनि मलाई आफ्नै छोरा, भाइ वा साथीका रूपमा स्वीकार गर्ने वातावरण बनाउनेछु’, उनले विश्वास व्यक्त गरे ।

नौटङ्की र चटके भाषणभन्दा जिम्मेवार नेतृत्वमा आफू विश्वास गर्ने थापाको भनाइ छ । उनले आगामी दिनमा वडागत छलफलमार्फत कार्ययोजना बनाइने र त्यसको कार्यान्वयनमा सबैलाई सहभागी गराइने बताए । ‘अब भाषणभन्दा कामको समय हो’, उनले भने, ‘फागुन २१ सम्म हामी व्यवस्थित छलफल गरेर स्पष्ट कार्ययोजनामा जान्छौँ ।’ थापाले चुनावी अभियानका क्रममा केही दिन निरन्तर सर्लाहीमै बसेर घरदैलो कार्यक्रम गर्ने र काठमाडौंका अपरिहार्य पार्टी काम सकेर पुनः यही क्षेत्र फर्किने योजना समेत सुनाएका छन् । उनका अनुसार सर्लाही–४ का जनताको अभिभावक बनेर जिम्मेवारी निर्वाह गर्नु नै आफ्नो राजनीतिक लक्ष्य हो ।

 

उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, मधेसलाई काठमाडौंसँग जोड्छु : गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भइसकेका थापाले यस पटक मधेस झर्ने निर्णयलाई केवल निर्वाचन रणनीति नभई ‘देश जोड्ने राजनीतिक यात्रा’ का रूपमा व्याख्या गरेका छन् ।

सर्लाही प्रस्थान गर्नुअघि सोमबार भिडियो सन्देशमार्फत काठमाडौं–४ का मतदातालाई धन्यवाद दिँदै थापाले आफूले सधैं परिवार जस्तै माया पाएको क्षेत्र छोड्नु सजिलो निर्णय नभएको बताए । ‘मैले जीवनका महत्वपूर्ण चरणहरू यही क्षेत्रमा बिताएँ । यहाँका मतदाताबाट पाएको विश्वास र माया मेरो लागि अमूल्य छ’, उनले भने । थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएपछि सोमबार नै सर्लाही पुगेर चुनावी गतिविधि सुरु गरेका छन् ।

सर्लाही पुगेकै दिन सार्वजनिक भिडियो सन्देशमा उनले मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित नराख्ने स्पष्ट पारे । ‘म मधेस जाँदैछु, किनकी म देश जोड्न चाहन्छु’, भन्दै उनले पहाड, काठमाडौँ र मधेसलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्ने आकांक्षा व्यक्त गरे । उनका अनुसार कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले काठमाडौँ नछोड्न सुझाव दिएका थिए । सभापति भइसकेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु उपयुक्त नहुने धारणा पनि आएको उनले स्वीकार गरे । तर, मधेससँगको सम्बन्ध अझ गहिरो बनाउनु राजनीतिक र राष्ट्रिय आवश्यकता भएको थापाको भनाइ छ ।

‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्किएको म, अब सिंगो देशको हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि मधेसको माटो ढोग्नुपर्छ, त्यहीँ टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ र त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने लाग्यो ।’ थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने पनि दोहोर्‍याए । अधिकारको कुरा गर्दा विभाजन होइन, एकताको बाटो खोज्नु पर्ने उनको धारणा छ । मधेसका मुद्दा काठमाडौँमा सशक्त रूपमा उठाउने र काठमाडौँका सवाल मधेसमा स्पष्ट रूपमा राख्ने पुलको भूमिका निर्वाह गर्न चाहेको उनले बताए ।

‘मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका समस्या बुझ्दा, त्यो केवल मधेसको मात्रै होइन, सिंगो नेपालको समाधानतर्फको बाटो हुन सक्छ’, थापाले भने । मधेससँग चुनावी सम्बन्ध गाँसेर त्यस क्षेत्रलाई नजिकबाट बुझ्ने र राष्ट्रिय राजनीतिको केन्द्रसँग जोड्ने उनको उद्देश्य रहेको प्रष्ट देखिन्छ । काठमाडौँ–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै थापाले आफू जहाँ रहे पनि त्यो सम्बन्ध भावनात्मक रूपमा कायम रहने बताए । सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा ‘भूगोलभन्दा माथि उठेर देश सोच्ने प्रयास’ का रूपमा हेरिएको छ ।

 

मधेश झरे गगन, सिमरामा कार्यकर्ताको उत्साहपूर्ण स्वागत

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित सभापति तथा प्रधानमन्त्रीका घोषित उम्मेदवार गगन थापा मधेश केन्द्रित चुनावी अभियानका लागि सिमरा आइपुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा अवतरण गरेका थापालाई कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरूले फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थापा सिमराबाट सोही निर्वाचन क्षेत्रतर्फ अगाडि बढिसकेको कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीले जानकारी दिए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर चुनाव लड्दै आएका थापा यस पटक मधेशको सर्लाहीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

अबका केही दिन थापाले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा, कार्यकर्ता भेटघाट र प्रचारप्रसार कार्यक्रम गर्ने तालिका रहेको छ । सर्लाही ४ मा उनको मुख्य प्रतिष्पर्धा कांग्रेसकै पृष्ठभूमिबाट आएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग हुने देखिएको छ । यद्यपि उक्त क्षेत्रमा एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि चुनावी प्रतिष्पर्धा थापा र सिंहबीच नै केन्द्रित हुने अनुमान गरिएको छ । यसैबीच, कांग्रेसले धनुषाको जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभा निर्वाचन आयोगद्वारा आचारसंहिता लागू भएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

यसअघि रास्वपाले भने जनकपुरमै चुनावी सभा सम्पन्न गरिसकेको थियो । राजनीतिक सरगर्मी बढिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि छिट्टै मधेश यात्रामा निस्कने तयारीमा रहेको जानकारी पार्टी स्रोतले जनाएको छ । मधेशमा शीर्ष नेताहरूको बाक्लो उपस्थिति बढ्दै जाँदा आगामी निर्वाचन थप चासोपूर्ण बन्ने संकेत देखिएको छ ।

सर्लाही हिंडे कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही प्रस्थान गरेका छन् । थापा आफ्नो चुनावी क्षेत्र सर्लाही ४ जाँदैछन् । माघ ६ गते वारेसमार्फत् थापाले सर्लाही ४ मा उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दिएपछि पहिलो पटक सभापति थापा सर्लाही जान लागेका हुन् ।

राजेन्द्र बजगाई भन्छन्–कांग्रेससँगको आबद्धता समाप्त गर्ने सोंचमा पुगेको छु

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीसँगको आबद्धता समाप्त गर्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले केही व्यक्तिका कारण आफूले निर्दोष कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

बजगाईंले लेखेका छन्, ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु ।’ उनले आफ्नो राजनीतिक र सामाजिक यात्रामा धेरै पटक मृत्युको मुखबाट जोगिएको, धेरैलाई सन्तानको सुख दिलाएको तथा कैयौँको जीवन जोगाएको उल्लेख गरेका छन् । तर, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’ भन्दै उनले पार्टीभित्रकै केही व्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हेर्नुस् बजगाईको स्टाटस

धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी–गरिदिएँ, कैयौंको जीवन जोगाई दिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो ।

 

 

युवाको माग र मुद्दामा मैले केही कन्जुस्याइँ गरिनँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताएका हुन् ।

जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानमा लागेको बताएका छन् । जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लस्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।’

युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौँ महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’

फागुन २१ पछि गगन प्रधानमन्त्री, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछ : सहमहामन्त्री रसाइली

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरे । उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँँदै आन्तरिक समीकरण मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताए ।

अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने गरी अघि बढिरहेको पनि बताए । सहमहामन्त्री रसाइलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रिय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टी सभापति गगनकुमार थापा र श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरु देशभर एक ठाउँमा छौँ। हामीले पार्टीको आन्तरिक समीकरण मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ ।’

उनले भने, ‘कांग्रेसले केन्द्रिय समितिको बैठकबाट कांग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराकासाथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उहाँको नेतृत्वमा हामी चुनावमा जान्छाैं । हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली काँग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ ।’

सहमहामन्त्री स्नेहीले भने, ‘हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरुको सुशसानको मुद्दालाई सम्बोधन गर्छौं । विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्नसक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रश्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली कांग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ । कांग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व ग¥यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरुको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रुपमा मिलाएर लैजान सक्नु हुन्छ ।’ उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरु सबैले न्याय पाएको बताए ।

नयाँ दलहरुप्रति नेता शर्माको कटाक्ष : राजनीतिमा कोरोना महामारी छ अहिले

मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए । उनले सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ ।

नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गरे । ७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरुले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताए ।

उनले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरुले जिताएर पठाई दिनुस् । यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ । यो पनि कोरोना नै हो । यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना । हाम्रा नेताहरुको लुटपाट भएको कोरोना । कोरोनै महामारी छ नि त अहिले । यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ । ७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ । मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ । कानुनहरु जनताका लागि परिवर्तन गर्न सकिन्छ । क्षेत्र नम्बर ३ को आवाज ठूलो हुन्छ । त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’ नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए ।

 

सर्लाही–४ बन्यो चुनावी केन्द्रबिन्दु : गगन थापालाई अग्नीपरीक्षा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुरक्षित मानिने काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ रोज्नु केवल उम्मेदवारी परिवर्तन होइन, उनको राजनीतिक यात्राकै सबैभन्दा ठूलो जोखिमपूर्ण निर्णय बनेको छ । मधेसलाई राष्ट्रिय राजनीतिसँग अझ गहिरो रूपमा जोड्नुपर्ने आवश्यकता महसुस गर्दै आफूले सर्लाही–४ रोजेको थापाको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले काठमाडौंमै चुनाव लडे सहज जित निकाल्न सक्ने अवस्था हुँदाहुँदै पनि जानाजानी सर्लाही रोजेको बताए । ‘म तीन पटक चुनाव जितिसकेको व्यक्ति हुँ । काठमाडौं कि सर्लाही भन्ने टुंगो नलागेसम्म अन्य दलहरूले समेत उम्मेदवार तय गर्न सकेका थिएनन्’, उनले भने, ‘मधेस जान मन थियो, यस पटक आँट गरेर आएको हुँ ।’

थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको स्पष्ट पारे । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको सन्दर्भमा सर्लाही–४ को चुनावलाई राष्ट्रिय राजनीतिले विशेष चासोका साथ हेर्न थालेको छ ।

तर थापाको आगमनसँगै सर्लाही–४ निर्वाचन क्षेत्र सुरक्षा र प्रतिस्पर्धाका हिसाबले पनि संवेदनशील बनेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका कुल ३ सय १२ मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढीलाई संवेदनशील र अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कांग्रेस सभापति थापा उम्मेदवार बनेको क्षेत्र नम्बर ४ का ८१ मतदानस्थल संवेदनशील वा अति संवेदनशील सूचीमा परेका छन् । २०७९ को निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारीका कारण चर्चामा आएको यो क्षेत्र यस पटक थापाको उम्मेदवारीसँगै झनै राजनीतिक बहसको केन्द्रमा छ ।

२०७९ मा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन्, जसले प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिकका मतदानस्थल, विगतमा भएका दलगत झडप तथा अपराधिक गतिविधिका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मतदानस्थलमा कडा सुरक्षा व्यवस्था गरी भयरहित वातावरणमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिए ।

यसअघि जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र रहेकामा यसपटक ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मधेसमा कांग्रेसको राजनीतिक प्रभाव विस्तार गर्ने थापाको महत्वाकांक्षा, प्रतिस्पर्धी उम्मेदवारको बलियो उपस्थिति र उच्च सुरक्षा संवेदनशीलताबीच सर्लाही–४ को चुनावले यसपटक राष्ट्रिय राजनीतिमा निर्णायक संकेत दिने अपेक्षा गरिएको छ ।

आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताएका हुन् ।

उनले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्मेदवार छान्ने दाबी गरे । यस पटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उनको भनाई छ । उनले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताए ।

उनले भने, ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेद्वारी चयन गर्ने प्रक्रिया टुगिनु पर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखि कांग्रेसको उम्मेद्वार यसरी चयन हुँदैन । उम्मेद्वार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ । तर यो पटक हामीसंग त्यो समयको सुविधा थिएन ।’

उनले भने, ‘हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेद्वारी दर्ताको समय थियो । अब हामी फर्केर प्राईमरी गर्छौ भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरुमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्न सक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसँग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौ ।’ उनले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको कांग्रेस बदलिनै पर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताए ।

 

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा अघि सारेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिँदै उपसभापति शर्माकै प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको बताए । विगतमा निर्वाचन सम्पन्न भएपछि संसदीय दलको नेता चयन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक मतदातालाई स्पष्ट सन्देश दिन र निर्णय गर्न सहज बनाउने उद्देश्यले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उनले स्पष्ट पारे ।

कांग्रेसले यस निर्णयलाई केवल राजनीतिक रणनीति मात्र नभई मतदातामैत्री अभ्यासका रूपमा व्याख्या गरेको छ । ‘कुन पार्टीलाई मत दिँदा कसलाई नेतृत्व सुम्पिँदैछ भन्ने कुरा मतदाताले पहिले नै थाहा पाउनु पर्छ’, शर्माले भने, ‘यसले लोकतान्त्रिक अभ्यासलाई अझ पारदर्शी बनाउँछ ।’

पाँच मापदण्डमा गगन थापा चयन
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा पाँचवटा मुख्य मापदण्ड तय गरेको जनाएको छ । ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, पार्टी र देशप्रति योगदान, योग्यता तथा दीर्घकालीन भिजन रहेका छन् ।

उपसभापति शर्माका अनुसार यी सबै सूचकमा गगन थापा अन्य समकालीन उम्मेदवारभन्दा अब्बल देखिएकाले पार्टीले उनलाई अघि सारेको हो । ‘अहिले विभिन्न दलबाट प्रधानमन्त्रीका नाम सार्वजनिक भइरहेका छन्, तर कांग्रेसले अघि सारेको उम्मेदवार सबै हिसाबले सक्षम र भरोसायोग्य हुनुहुन्छ’, उनले दाबी गरे ।

राजनीतिक प्रतिष्पर्धाको नयाँ चरण
प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने होडमा अन्य दलहरू पनि देखिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी नेतृत्वको रूपमा प्रस्तुत गरेको छ । यस्तो अवस्थामा कांग्रेसको निर्णयलाई आगामी निर्वाचनमा स्पष्ट नेतृत्वको एजेन्डासहित मैदानमा उत्रिने प्रयासका रूपमा हेरिएको छ । सभापति गगन थापा आगामी प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसको यो कदमले चुनावी बहसलाई नीतिगत र नेतृत्व केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।

कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउँँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नु पर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’ उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भए पनि परिस्थिति नमिलेको बताए । नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।

 

सानेपाका कांग्रेस केन्द्रिय कार्यसमिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रिय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो भने निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको छ ।

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेण्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि संस्थापन पक्षका युवाहरू पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोली सानेपा प्रवेश गरेको हो । पार्टीभित्रको आन्तरिक विवाद र सुधारका एजेण्डालाई सम्बोधन गर्दै थापा नेतृत्वको कार्यसमितिले नयाँ गति लिने विश्वास गरिएको छ ।

कांग्रेस सभापतिको कुर्सीमा गगन, कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसको नव निर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् ।सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापा शुक्रवार पार्टी कार्यलय सानेपामा पुगेका हुन् । थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए ।

साथै उनीहरुले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रिय समिति बैठक बस्नेछ ।

 

राजनीतिक दलहरुले राष्ट्रिय भावनाको विकास हुने गरी निर्वाचनको प्रचार गर्नु पर्दछ : सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरुले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने उनको भनाई थियो ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवशनमा बोल्दै नेता सिटौलाले राजनीतिक दलहरु, सांसदहरुबीच एकता कायम नहुने हो भने मुलुक दिन प्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताए । उनले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

नेता सिटौलाले भने, ‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरु, सबै सांसदहरु मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिन प्रतिदिन कमजोर हुँदै जानेछ भन्ने मेरो विचार हो । हरेक राजनीतिक दलहरुभित्र पनि एकता चाहिएको छ । र समग्र राजनीतिक दलहरुका बीचमा पनि एकता चाहिएको छ ।’

उनले भने, ‘जसले मेची महाकाली, तराई, पहाड, हिमाल सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग, पेशा व्यवसायमा रहेका तमाम नेपालीहरुलाई एकतावद्ध गर्न सकोस् । एउटा सामूहिक राष्ट्रिय भावनाको विकास हुन सकोस् । त्यो उद्देश्यअनुसार राजनीतिक दलहरु जनताको बीचमा प्रस्तुत होउन । एकले अर्कालाई धेरै गाली गर्ने भन्दा पनि निर्वाचनमा जाने सबै राजनीतिक दल र तीनका उम्मेदवारलाई मेरो हार्दिक आग्रह पनि छ–जनतामा व्यग्रता र निराशा दुवै व्यक्त नगर्नुस् । देश बनाउने विचार प्रस्तुत गरेर जनताको मन जित्ने प्रयास गर्नुस् ।’ नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गरे ।

कांग्रेसको आजको निर्णयले देशभर नयाँ तरङ्ग सिर्जना गर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे ।

उनले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिए । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिए । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए । कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उनको दाबी छ ।

संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उनको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउने उनले बताए । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उनले बताए ।

उनले भने, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस, ऐतिहासिक निर्णयहरु गर्दैछ । आज केन्द्रिय कार्यसमितिले गर्ने निर्णयले देशभरि एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ । निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्नको लागि आजको निर्णय महत्वपूर्ण हुनेछ । नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक विधिवत् रुपमा नेपाली कांग्रेसले निर्वाचन लक्षित गरेर निर्णय गर्दैछ । खासगरि हामीले विशेष महाधिवेशनमा नै प्रतिवद्धता गरेका थियौँ । हामी नेतृत्व पनि परिवर्तन गर्नेछौँ, नीति पनि परिवर्तन गर्नेछौँ । काँग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्ने गरि काँग्रेसले नयाँ प्रश्ताव ल्याउनेछ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौँ ।’

उनले भने, ‘त्यही संकल्प बमोजिम कांग्रेस त परिवर्तन भयो, कांग्रेस त नयाँ भयो । अब कांग्रेसको नेतृत्वलाई देशले नयाँ बनाउनको निम्ति कांग्रेसको तर्फबाट कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनमार्फत नेपाली कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्नेछ । नेपाली काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भनेर छनोट गर्ने अवसर विधिवत रुपमा निर्णय गरेर प्रदान गर्दैछ । यो एकदमै लोकतान्त्रिक पद्धतीको विकास काँग्रेसले प्रक्रियागत ढंगले शुरु गर्दैछ ।’

उनले भने, ‘यो चाँही आवधिक निर्वाचन हुनु अगाडि प्रधानमन्त्री घोषणा गर्ने प्रणालीतिर जाने संकेत हो । यो अरु कुनै खालको संकेत होइन । खासगरि संसदीय निर्वाचनमा पार्टीको वारेस लिएर जो उम्मेद्वार हुन्छ । त्यो उम्मेद्वारले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा मत प्राप्त गर्ने स्थिति बन्नुपर्छ । त्यसैले अहिले नेपाली काँग्रेसको उम्मेद्वारहरुले जित्दै गर्दा उहाँहरुले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि मतदाताले थाहा पाउने स्थिति हामीले बनाउन खोजेका हौँ । हामी प्रतिस्पर्धा गर्दा हाम्रो प्रधानमन्त्रीसहित प्रतिष्पर्धा गर्न हामीले खोजेका हौँ । यो अभ्यासको विकास गर्न खोजेका हौँ । त्यसैले एउटा प्रतिनिधिसभाको सदस्य मात्रै निर्वाचित हुँदैन, आम मतदातादे निर्वाचित गरेको आफ्नो क्षेत्रको प्रतिनिधि सभाको सदस्यले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा अथवा प्रधानमन्त्री नै नागरिकले छनौट गर्न पाउने विधि स्थापित गर्नको लागि हामीले यो प्रणालीको शुरुवात गरेका हौँ ।’

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिए । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गरे । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उनले जानकारी दिए । उनले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताए ।

सानेपा पुग्दै गगनसहित कांग्रेस पदाधिकारी, कार्यकर्ताको भीड

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिले आज (शुक्रबार) पदबहाली गर्दैछ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।

दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए । नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् । यस्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन भनेको छ । बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति आएपछि कांग्रेसमा विवाद छ । यो विवाद सर्वोच्च अदालत पुगेको छ । शेरबहादुर देउवा र पूर्णबहादुर खड्का लगायतले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै अन्तरिम आदेशको मागसहित अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

‘आजको निर्णयले देशभर नयाँ तरङ्ग ल्याउँछ’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग आउने दाबी गरेका छन् । बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नीति र नेतृत्व दुवै परिवर्तन गरेर आजबाट चुनावमा होमिने बताए ।

उनले विधिवत् रूपमा देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर जनतालाई दिनको लागि भावी प्रधानमन्त्री तोकेर जान लागेको बताए । उनले भने, ‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरू गर्दैछ ।’ उनले नेपालको जग मधेश भएकाले सभापति गगन थापाले सर्लाही रोजेको बताए ।

उनले भने, ‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पको साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि सभापतिलाई सर्लाही ४ मा अघि सारेका छौँ ।’ सभापति मधेशबाट निर्वाचित भएर आएपछि मधेशका मुद्दाहरूले प्राथमिकता पाउने उनले बताए ।

 

 

 

 

 

मैदान फेरेका गगनलाई सर्लाही–४ मा अमरेश चुनौती, नेता कि समीकरण निर्णायक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै आएका गगन थापाले आफ्नो बलियो राजनीतिक आधार मानिएको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएपछि यो निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । लगातार तीन पटक यही क्षेत्रबाट जितिसकेका अमरेशकुमार सिंहसँगको सीधा प्रतिष्पर्धाले सर्लाही–४ लाई यस पटक सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनाएको छ ।

गगन थापाको सर्लाही प्रवेशलाई कसैले साहसी राजनीतिक प्रयोग भनेका छन् भने कसैले काठमाडौं असुरक्षित भएपछि मधेसमा सुरक्षित अवतरण खोजेको टिप्पणी गरेका छन् । तर यथार्थ के हो भने सर्लाही–४ राजनीतिक रूपमा जटिल, बहुपक्षीय शक्ति सन्तुलन भएको क्षेत्र हो, जहाँ जित कुनै एक दलको संगठनात्मक बलले मात्र सुनिश्चित हुँदैन ।

कांग्रेसको परम्परागत पकड, तर छैन एकल वर्चस्व
सर्लाही–४ ऐतिहासिक रूपमा नेपाली कांग्रेसको बलियो क्षेत्र मानिँदै आएको छ । २०४८ देखि २०५६ सम्म महन्थ ठाकुरले लगातार तीन निर्वाचन जितेपछि यो क्षेत्र कांग्रेसको गढका रूपमा चिनिएको थियो । पछि महन्थ ठाकुर कांग्रेसबाट अलग भएपछि अमरेशकुमार सिंह यही क्षेत्रको मुख्य अनुहार बने । उनले २०७० र २०७४ मा कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरे ।

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि कांग्रेस कमजोर छैन । ५१ वडामध्ये कांग्रेसले १९ वडा जितेको छ, जुन सबै दलमध्ये सबैभन्दा धेरै हो । वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अग्रस्थानमा छ । तर स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबीच मतको प्रवृत्ति भने फरक देखिएको छ । स्थानीय तहमा २३ हजारभन्दा बढी मत पाएको कांग्रेसले २०७९ को समानुपातिकतर्फ १६ हजार मतमै सीमित हुनुपरेको थियो ।

अमरेशको व्यक्तिगत पकड र रास्वपाको नयाँ रंग
अमरेशकुमार सिंहको शक्ति भने संगठनभन्दा बढी व्यक्तिगत राजनीतिक सम्बन्ध र निरन्तर जनप्रतिनिधित्वबाट बनेको छ । तीन पटक लगातार जितेका उनी २०७९ मा कांग्रेसकै उम्मेदवारलाई हराएर स्वतन्त्र रूपमा विजयी भएका थिए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट मैदानमा उत्रिएका सिंहले ‘जेनजी आन्दोलन’ र बालेन साहको लोकप्रियतालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति लिएका छन् ।
उनको दाबी स्पष्ट छ–स्थानीय जनताले बाहिरबाट आएका उम्मेदवारभन्दा आफूलाई बढी विश्वास गर्छन् । २०७९ मा २० हजार बढी मत ल्याएर जितेको इतिहास र अहिले पार्टीको संरचना जोडिएकाले आफू अझ बलियो भएको उनको दाबी छ ।

यादव मतको विभाजन र एमालेको चुनौती
यस निर्वाचन क्षेत्रमा यादव समुदायको मत निर्णायक मानिन्छ । यही आधारमा एमालेका उम्मेदवार अमनिशकुमार यादवलाई पनि कमजोर आँक्न मिल्दैन । उनी पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् । शिवपूजनको परिवारिक राजनीतिक विरासत, छोरी मधुमालाले २०७९ मा ल्याएको १४ हजार बढी मत, र स्थानीय तहमा छोराको जित-यी सबैले एमाले उम्मेदवारलाई मजबुत आधार दिन्छन् । तर यस पटक यादव जातिकै अन्य उम्मेदवारहरू-नेकपाबाट रजनीश राय यादव र जसपा नेपालबाट रामेश्वर राय यादव-उठेकाले यादव मत विभाजित हुने देखिन्छ। यो विभाजनले कसलाई फाइदा पुग्छ भन्ने कुरा नै चुनावको निर्णायक पाटो बन्नेछ ।

स्थानीय तहको समीकरण : कसको कहाँ पकड ?
बलरा र रामनगरमा माओवादी प्रभाव बलियो देखिन्छ भने धनकौल र विष्णु गाउँपालिकामा कांग्रेसको संगठनात्मक पकड राम्रो छ । गोडैता नगरपालिकामा लोसपा÷जसपाको प्रभाव छ भने बरहथवामा एमाले बलियो देखिन्छ । बसबरियामा जसपाको उपस्थिति उल्लेखनीय छ । यसरी हेर्दा सर्लाही–४ कुनै एक दलको ‘सेफ सीट’ होइन, बरु प्रतिष्पर्धी शक्तिहरूको मिश्रित मैदान हो ।

सर्लाही–४ को चुनाव गगन–अमरेशको मात्र कथा होइन । कांग्रेसको परम्परागत संगठन, अमरेशको व्यक्तिगत प्रभाव, एमाले–यादव विरासत, माओवादी र मधेसी दलहरूको स्थानीय पकड—सबै मिसिएको यो निर्वाचन बहुकोणात्मक प्रतिष्पर्धा हो ।

गगन थापाका लागि यो चुनाव राजनीतिक विश्वसनीयता र राष्ट्रिय नेताको हैसियत प्रमाणित गर्ने अवसर हो भने अमरेश सिंहका लागि आफ्नो अपराजित छवि जोगाउने लडाइँ । अन्तिम निर्णय भने सर्लाही–४ का मतदाताले गर्नेछन्, जहाँ पार्टीभन्दा पनि व्यक्ति, जातीय समीकरण, स्थानीय सम्बन्ध र पछिल्लो राजनीतिक तरलताले निर्णायक भूमिका खेल्ने देखिन्छ ।

गगन सानेपा भित्रिनु अघि नै कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।२०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए । नव निर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन् । सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले जानकारी दिए । विजयकुमार गच्छदारको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा कांग्रेसमा विलय हुँदा दुलाललाई पार्टी सचिव बनाइएको थियो । पार्टी कार्यालयका सचिव विशेष महाधिवेशनको पक्षमा दुलाल खुलेर लागेका थिए ।

मोरङ–३ मा सुनिल शर्माको घरदैलो अभियान, के छ मतदाताको प्रतिक्रिया ?

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् ।

नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा. शर्मा डा. शेखर कोइराला समूहका नेता हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यस पटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् । निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् । स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् ।

एक स्थानीय मतदाताले भने, ‘उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नु भएको छ । गरिब दुःखीलाई सहयोग गर्ने उहाँ जस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन ।’ डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन् ।

कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । भोलि (शुक्रबार) सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ । उनले भने, ‘भोलि हामी सानेपा भएर पार्टीको बैठक बस्दै छ, बैठकले निर्वाचनको तयारीबारे आवश्यक निर्णय गर्छ ।’

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ । त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौं ।’ सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे । थापन नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसे भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ ।’ उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।

 

कांग्रेस नफुटोस् भनेर विशेष महाधिवेशनबाट टाढा बसें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण कांग्रेस विभाजनको जोखिममा नपरोस् भनेर आफूले विशेष महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पारेका छन् । पार्टी एकता जोगाउनकै लागि मध्यमार्गी भूमिका निर्वाह गरेको उनको दाबी छ ।

मोरङ–६ अन्तर्गत सुन्दरहरैंचामा आफ्ना समर्थकहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टीभित्र फरक–फरक धार सक्रिय रहेकाले परिस्थिति संवेदनशील बनेको बताए । एक समूह विशेष महाधिवेशनको पक्षमा उभिएको र अर्को समूह नियमित प्रक्रियाको वकालत गरिरहेको अवस्थामा आफूले कुनै एक धार समात्दा कांग्रेस दुई टुक्रा हुने खतरा रहेको उनको भनाइ थियो ।

‘एउटा समूह विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित महाधिवेशनमै जोड दिने अवस्था थियो’, उनले भने, ‘यस्तो परिस्थितिमा म त्यो हलमा गएको भए कांग्रेस विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजें ।’
पार्टी एकताका लागि लिएको यही भूमिकाका कारण आफूलाई ‘ढुलमुले’ भन्ने गरिएकोप्रति उनले असन्तुष्टि पनि जनाए । ‘पार्टी बचाउन खोज्दा ढुलमुले भनिन्छ भने त्यो स्वीकार्य हुँदैन’, उनले भने, ‘म त्यहाँ गएको भए सभापति बन्थेँ वा बन्दिनथेँ, त्यो अर्को कुरा हो, तर पार्टी भने निश्चित रूपमा दुई टुक्रा हुन्थ्यो ।’

डा. कोइरालाले अब विगतका मतभेदलाई थाँती राखेर कांग्रेस एकताबद्ध भएर आगामी चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । आन्तरिक द्वन्द्वले होइन, साझा एजेन्डा र सहकार्यले मात्र पार्टीलाई बलियो बनाउन सकिने उनको निष्कर्ष थियो । उनले कार्यकर्ता र नेताहरूलाई संयमित, जिम्मेवार र एकतामुखी भूमिका खेल्न आग्रह गर्दै कांग्रेसको दीर्घकालीन हित पार्टी एकतामै रहेको धारणा व्यक्त गरे ।

 

 

 

 

सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा, भोलि पार्टी कार्यालयमै बैठक

काठमाडौं । लामो समयदेखि देखिएको आन्तरिक विवाद र आधिकारिकताको अन्योलपछि नेपाली कांग्रेसको नयाँ नेतृत्व पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति शुक्रबार पहिलोपटक सानेपामै बैठक बस्न लागेको हो ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि पार्टीभित्रको किचलो र निवर्तमान नेतृत्वको असन्तुष्टिका कारण नयाँ कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन । यस अवधिमा बसेका दुई वटा केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालयबाहिर होटल र पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार सभापति थापासहित केन्द्रीय कार्यसमितिको टोली सानेपा जाने र सोही दिन कार्यालयमै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । ‘सभापति ज्यूको नेतृत्वमा हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं र त्यहीँ केन्द्रीय समिति बैठक बस्छ’, उनले बताए ।

यद्यपि, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अधिकांश केन्द्रीय नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएकाले शुक्रबारको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सदस्यहरू मात्र सहभागी हुनेछन् । विशेष महाधिवेशनलाई लिएर देखिएको विवादका बीच निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिएपछि थापा नेतृत्वको कार्यसमितिले औपचारिक रूपमा काम गर्न पाउने बाटो खुलेको थियो । आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

यसअघि देउवा पक्षधर नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले विरोधस्वरूप केही दिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । तर, पछिल्लो समय तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबै कार्यकर्तालाई चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएपछि उनीहरूले कार्यालय खाली गरिसकेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति गगन थापाको उपस्थितिमा सानेपामै केन्द्रीय समिति बैठक बस्न लाग्नु कांग्रेसभित्रको शक्ति सन्तुलन र संगठनात्मक गतिविधिमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ ।

 

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वान आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछिमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिने अस्वीकार गरेको थियो ।

त्यसपछि आज थापाको प्रतिक्रिया आएको हो । थापाले भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सभापति थापाले पार्टीपंक्तिलाई यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै छन् । उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँदै छ।

गगनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश दिने / नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए ।

त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ । त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।

कांग्रेस महामन्त्री पौडेलको काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्दी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिष्पर्धा हुनेछ ।

कांग्रेसमा व्यापक फेरबदल : सबै क्षेत्रको लाग्यो उम्मेदवार टुंगो (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार छनोट प्रक्रिया जारी राख्दै आएको कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवार तय गर्न बाँकी राखेको छ । पार्टीका अनुसार काठमाडौंका १० मध्ये ४ निर्वाचन क्षेत्र (काठमाडौं–१, २, ३ र ७) मा अझै उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस्तै भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ ।

नयाँ नेतृत्वको प्रभाव, पुराना अनुहारहरू बाहिर
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएको कांग्रेसले यसपटक उम्मेदवार छनोटमा ठूलो पुनर्संरचना गरेको देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणादेखि लिएर देउवा र डा. शेखर कोइराला पक्षसँग जोडिएका करिब ३५ प्रभावशाली नेताहरू चुनावी मैदानबाट बाहिरिएका छन् ।

कांग्रेस नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको शक्ति सन्तुलन फेरिँदा संसदीय राजनीतिका ‘भेट्रान’ मानिने नेताहरूलाई टिकट नदिइएको हो । पार्टीको आधिकारिता विवाद सर्वोच्च अदालतसम्म पुगेको पृष्ठभूमिमा निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्काले नैतिक कारण देखाउँदै उम्मेदवारी नदिँदा सुर्खेत–१ खाली भएको छ ।

पूर्व उपसभापति, महामन्त्रीदेखि कोषाध्यक्षसम्म बाहिर
यस निर्वाचनमा कांग्रेसका तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकटबाट वञ्चित भएका छन् । यस्तै, पार्टीका संस्थापक नेता बीपी कोइरालाका पुत्र तथा पूर्व महामन्त्री शशांक कोइरालाले पनि नवलपुर–१ बाट टिकट पाएनन्, जहाँ उनी लगातार तीन पटक निर्वाचित भइसकेका थिए । निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि यस पटक चुनावी मैदानमा छैनन् । पाण्डेले स्वयं उम्मेदवार नबन्ने घोषणा गरेका थिए भने परियार र चौधरी सभापति थापाको प्राथमिकतामा पर्न सकेनन् ।

काठमाडौं र अन्य जिल्लामा अनुभवी नेताको विदाइ

काठमाडौं–१ बाट लगातार निर्वाचित हुँदै आएका पूर्व उपसभापति प्रकाशमान सिंहलाई पनि टिकट नदिइएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । यस्तै, बलबहादुर केसी (सोलुखुम्बु), डा. नारायण खड्का (उदयपुर–१), राजेन्द्रकुमार केसी (काठमाडौं–१०), हृदयराम थानी (सुर्खेत–२) लगायत नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन् । चार पटक कञ्चनपुर–३ बाट चुनाव लडेका रमेश लेखक, रुपन्देही–३ का बालकृष्ण खाँण, कैलाली–५ की आरजु राणा, मोरङ–२ की सुजाता कोइराला र तेह्रथुमकी सीता गुरुङले पनि टिकट पाएनन् ।

देउवा पक्ष केन्द्रित असन्तुष्टि
यस पटक टिकट नपाउने वा चुनाव नलड्ने अधिकांश नेता देउवा पक्षसँग जोडिएका छन् । कांग्रेसले दोलखा, सिरहा, सिन्धुपाल्चोक, कैलाली, ललितपुर, ओखलढुंगा, संखुवासभा, सिन्धुली, भक्तपुर र काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा समेत स्थापित अनुहारहरूलाई प्रतिस्थापन गरेको छ ।

पार्टी नेतृत्वले यसलाई ‘नयाँ पुस्ता र नयाँ राजनीतिक सन्देश’ को रूपमा व्याख्या गरे पनि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढ्ने संकेत देखिएको छ । अब बाँकी ९ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएपछि कांग्रेसको अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ, जसले पार्टीको नयाँ राजनीतिक दिशा अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् उम्मेदवार सूची

कांग्रेसबाट गगनको काठमाडौं–४ मा सचिन तिमल्सिना बने उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । युथ कंग्रेसका संस्थापक सभापति समेत रहेका तिमल्सिना काठमाडौं–४ कै स्थानीय बासिन्दा हुन् ।

उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए । सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन् ।

कांग्रेसमा टिकटको चहलपहल : कतै टुंगो, कतै बिद्रोह र असन्तुष्टि (सूचीसहित)

काठमाडौं । उम्मेदवारी दर्ताको समय सुरु भइसक्दा पनि नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेताहरूबीचको समन्वय र असन्तुष्ट समूहलाई मिलाउने प्रयासका बीच कांग्रेसले केही जिल्लामा भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ ।

पार्टी सभापति गगन थापाको सक्रियतामा शेरबहादुर देउवा र शेखर कोइराला समूहलाई समेट्दै टिकट वितरण प्रक्रिया तीव्र पारिएको कांग्रेस नेताहरू बताउँछन् । काठमाडौं उपत्यका र आसपासका केही क्षेत्रबाहेक अधिकांश जिल्लामा उम्मेदवारको निर्णय भइसकेको जनाइएको छ ।

कञ्चनपुर–३ मा रमेश लेखक बाहिर, हरि बोहरा मैदानमा
कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा महत्वपूर्ण निर्णय गरेको छ। पूर्वगृहमन्त्री तथा प्रभावशाली नेता रमेश लेखकलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गर्दै पार्टीले हरि बोहरालाई टिकट दिएको हो । २०७९ सालको आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित लेखक पुनः उम्मेदवार बन्ने प्रबल दाबेदार मानिएका थिए । तर, संसदीय बोर्डको पछिल्लो निर्णयले उनलाई प्रतिस्पर्धाबाट बाहिर राखेको छ । टिकट पाएपछि हरि बोहराले पार्टी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा जुटिसकेको बताएका छन् ।

मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार तय
पूर्वी नेपालको महत्वपूर्ण जिल्ला मोरङमा भने कांग्रेसले सबै छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार अन्तिम सूची यसप्रकार छ ः

मोरङ–१ : खड्ग फागो

मोरङ–२ : डा. मिनेन्द्र रिजाल

मोरङ–३ : डा. सुनील शर्मा

मोरङ–४ : गुरुराज घिमिरे

मोरङ–५ : फुलकुमार लालवानी

मोरङ–६ : डा. शेखर कोइराला

क्षेत्र नम्बर ६ बाट वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाइनुले पार्टीभित्र र बाहिर राजनीतिक चर्चा बढाएको छ । यस्तै, पूर्वमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल र डा. सुनील शर्मालाई पनि टिकट दिइएको छ ।

कैलाली–४ मा बलायरको बहिस्कार घोषणा

सुदूरपश्चिममा भने कांग्रेसभित्र असन्तुष्टिको स्वर खुलेर आएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी नदिने घोषणा गरेका छन् । टिकट पाउँदा पनि चुनाव नलड्ने उनको निर्णयले पार्टीभित्र तरंग सिर्जना गरेको छ ।

बलायरले संविधानअनुसार बनेको संसद विघटन गरी फेरि निर्वाचन गरिनु निरर्थक भएको दाबी गर्दै आफू निर्वाचन प्रक्रियाबाट अलग रहने बताएका छन् । २०७९ मा सोही क्षेत्रबाट एमालेका लेखराज भट्टलाई पराजित गरेका बलायर देउवानिकट नेता मानिन्छन् । देउवा र रमेश लेखकलाई टिकट नदिइएको विषयसँगै उनको उम्मेदवारी फिर्ता निर्णय जोडेर हेरिएको छ ।

कांग्रेसभित्र मिलन र मनमुटाव दुवै

कांग्रेसले धेरै जिल्लामा उम्मेदवार टुंग्याए पनि केही क्षेत्रमा असन्तुष्टि र बहिस्कारका स्वर देखिन थालेका छन् । एकातिर मोरङ जस्ता जिल्लामा सर्वसम्मत निर्णय भएको छ भने अर्कोतिर कैलाली र कञ्चनपुरका घटनाले पार्टीभित्रको आन्तरिक राजनीतिलाई सतहमा ल्याइदिएको छ । अब बाँकी निर्वाचन क्षेत्रमा कांग्रेसले कसरी सहमति जुटाउँछ र असन्तुष्ट नेताहरूलाई कसरी समेट्छ भन्ने विषय आगामी दिनमा झनै चासोको केन्द्र बन्ने देखिन्छ ।

 

३४ वर्षपछि डडेलधुरामा कांग्रेसको पुस्तान्तरण, देउवाको ठाउँमा नयनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा डडेलधुराबाट एक ऐतिहासिक अध्याय टुंगिएको छ । २०४८ सालदेखि निरन्तर प्रतिनिधिसभा निर्वाचन जित्दै आएका कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक चुनावी मैदानमा नउत्रिने भएका छन् । उनको स्थानमा कांग्रेसले युवा नेता नयनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले डडेलधुराबाट महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपि अन्तिम औपचारिक सूची सार्वजनिक हुन बाँकी रहे पनि देउवाको सचिवालयले उनी आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरिसकेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘शेरबहादुर देउवा ज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ ।’ डडेलधुरामा कांग्रेसका लागि देउवा केवल उम्मेदवार मात्र होइन, राजनीतिक पहिचान नै बनेका थिए । २०४८ सालको निर्वाचनमा पहिलो पटक सांसद बनेका देउवाले त्यसयता भएका सात वटै निर्वाचनमा अपराजित रहँदै संसदीय यात्रा निरन्तरता दिएका थिए । पाँच पटक प्रधानमन्त्री बनेका देउवाको यो निर्णयसँगै उनको ३४ वर्ष लामो संसदीय उपस्थितिमा विराम लागेको छ ।

पार्टीभित्रको बदलिँदो शक्ति सन्तुलन र हालै सम्पन्न विशेष महाधिवेशनपछि देखिएको ‘पुस्तान्तरण’ को सन्देशले देउवालाई टिकट नदिने वातावरण बनेको विश्लेषण गरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा समूहको प्रभाव बढेसँगै देउवा समूह दबाबमा परेको थियो । स्रोतका अनुसार, टिकट निश्चित नदेखिएपछि देउवाले आफैं चुनावी दौडबाट बाहिरिने निर्णय लिएका हुन् । देउवाको स्थानमा अघि सारिएका नयनसिंह महर कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी पार्टीको शिक्षा विभाग प्रमुख रहँदै आएका छन् भने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् ।

पार्टीभित्र युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका महरलाई देउवाको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी दिइएको छ । डडेलधुरा कांग्रेस कार्यसमितिले भने सुरुआतमा देउवाकै नाम एकल सिफारिस गरेको थियो । तर केन्द्रको निर्णयले स्थानीय सिफारिस उल्टिएको छ । देउवासँगै यस पटक उनकी पत्नी आरजु राणा देउवाले पनि टिकट पाइनन् । कैलाली–५ बाट सिफारिस भएकी आरजुको स्थानमा पार्टीले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र उठेको ‘जेनेरेशन सिफ्ट’ को बहस, पछिल्लो समय देउवा दम्पतीमाथि भएको आलोचना तथा युवा नेतृत्वप्रति बढ्दो आकर्षणले यो निर्णयमा भूमिका खेलेको देखिन्छ ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी साहसी र अडान लिने नेताका रूपमा परिचित थिए । ‘ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ भन्ने उनको चर्चित अभिव्यक्तिसँगै पुनः प्रधानमन्त्री बन्ने आकांक्षामा पनि अब पूर्णविराम लागेको छ । अब डडेलधुराको राजनीतिक मैदानमा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । देउवाको स्थानमा नयनसिंह महरलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने प्रश्न आगामी निर्वाचनले जवाफ दिनेछ । तर, यति भने स्पष्ट छ–डडेलधुरामा कांग्रेसको ३४ वर्ष पुरानो एउटा युग समाप्त भई नयाँ अध्याय सुरु भएको छ ।

 

 

कांग्रेस–सुमना श्रेष्ठ संवादमा, गगन थापा काठमाडौं–४ छोड्न तयार हुन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता नजिकिँदै गर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीचको संवादले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । कांग्रेस नेतृत्वसँग उनको निरन्तर छलफलले सम्भावित पार्टी प्रवेश वा चुनावी सहकार्यको ढोका खुला भएको संकेत दिएको छ ।

कांग्रेस सभापति गगन थापासहितका नेताहरूसँग सुमनाको संवाद तीव्र बनेको छ । स्रोतका अनुसार गगन थापा काठमाडौं क्षेत्र नम्बर–४ छाड्न तयार देखिएका छन् । यदि थापाले उक्त क्षेत्र छाडे भने सुमना श्रेष्ठ काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । गगन थापा भने काठमाडौं–१ वा सर्लाही क्षेत्रबाट उम्मेदवार बन्न सक्ने सम्भावनामा छलफल गरिरहेका छन् । उनले सर्लाहीका स्थानीय नेता–कार्यकर्तासँग पनि १ वा ४ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने संकेत दिइसकेका छन् ।

कांग्रेसभित्र उम्मेदवार छनोटको रस्साकस्सी चर्किरहेका बेला सुमनासँगको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका पक्षबाट आएका उम्मेदवार सूची एकै ठाउँमा राखेर टुंगो लगाउने प्रयास भइरहँदा सुमनाको सम्भावित प्रवेशले समीकरण थप जटिल बनेको छ । सभापति थापा निकट एक नेताका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना श्रेष्ठसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको पुष्टि भएको छ । यद्यपि उनी कांग्रेस प्रवेश गर्ने कि चुनावी सहकार्यमा सीमित रहने भन्ने विषय अझै खुलिसकेको छैन ।

सुमना श्रेष्ठले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् । नख्खु कारागारबाट रवि लामिछाने जबर्जस्ती निकालिएको घटनालाई लिएर उनले सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी थिइन् । रास्वपा छाडेपछि सुमना काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह निकट समूहसँग नजिक देखिइन् ।

उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । केही समय बालेन्द्र साहको समूह हुँदै पुनः रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना अन्त्य भएको बताइन्छ । अब कांग्रेससँगको संवादले सुमनाको राजनीतिक यात्रामा नयाँ मोड आउने संकेत देखिएको छ । अन्तिम निर्णय उम्मेदवारी दर्ताअघि नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । कांग्रेस र सुमना श्रेष्ठबीचको यो सम्भावित सहकार्यले काठमाडौंको चुनावी प्रतिष्पर्धा झनै रोचक बनाउने निश्चित देखिन्छ ।

 

 

 

 

 

 

 

 

कांग्रेसबाट मोरङ–३ मा सुनिल शर्मालाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ–३ को टिकट पाएका हुन् । विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नु पर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।