`

राजेन्द्र बजगाई भन्छन्–कांग्रेससँगको आबद्धता समाप्त गर्ने सोंचमा पुगेको छु

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीसँगको आबद्धता समाप्त गर्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले केही व्यक्तिका कारण आफूले निर्दोष कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।

बजगाईंले लेखेका छन्, ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु ।’ उनले आफ्नो राजनीतिक र सामाजिक यात्रामा धेरै पटक मृत्युको मुखबाट जोगिएको, धेरैलाई सन्तानको सुख दिलाएको तथा कैयौँको जीवन जोगाएको उल्लेख गरेका छन् । तर, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’ भन्दै उनले पार्टीभित्रकै केही व्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हेर्नुस् बजगाईको स्टाटस

धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी–गरिदिएँ, कैयौंको जीवन जोगाई दिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो ।

 

 

युवाको माग र मुद्दामा मैले केही कन्जुस्याइँ गरिनँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताएका हुन् ।

जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानमा लागेको बताएका छन् । जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लस्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।’

युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौँ महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’

फागुन २१ पछि गगन प्रधानमन्त्री, कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछ : सहमहामन्त्री रसाइली

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाइलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरे । उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँँदै आन्तरिक समीकरण मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताए ।

अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने गरी अघि बढिरहेको पनि बताए । सहमहामन्त्री रसाइलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रिय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टी सभापति गगनकुमार थापा र श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरु देशभर एक ठाउँमा छौँ। हामीले पार्टीको आन्तरिक समीकरण मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ ।’

उनले भने, ‘कांग्रेसले केन्द्रिय समितिको बैठकबाट कांग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराकासाथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई कांग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ । उहाँको नेतृत्वमा हामी चुनावमा जान्छाैं । हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली काँग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ ।’

सहमहामन्त्री स्नेहीले भने, ‘हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरुको सुशसानको मुद्दालाई सम्बोधन गर्छौं । विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्नसक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रश्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली कांग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ । कांग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व ग¥यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरुको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रुपमा मिलाएर लैजान सक्नु हुन्छ ।’ उनले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरु सबैले न्याय पाएको बताए ।

नयाँ दलहरुप्रति नेता शर्माको कटाक्ष : राजनीतिमा कोरोना महामारी छ अहिले

मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए । उनले सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ ।

नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गरे । ७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरुले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताए ।

उनले भने, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरुले जिताएर पठाई दिनुस् । यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ । यो पनि कोरोना नै हो । यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना । हाम्रा नेताहरुको लुटपाट भएको कोरोना । कोरोनै महामारी छ नि त अहिले । यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ । ७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ । मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ । कानुनहरु जनताका लागि परिवर्तन गर्न सकिन्छ । क्षेत्र नम्बर ३ को आवाज ठूलो हुन्छ । त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’ नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए ।

 

सर्लाही–४ बन्यो चुनावी केन्द्रबिन्दु : गगन थापालाई अग्नीपरीक्षा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुरक्षित मानिने काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ रोज्नु केवल उम्मेदवारी परिवर्तन होइन, उनको राजनीतिक यात्राकै सबैभन्दा ठूलो जोखिमपूर्ण निर्णय बनेको छ । मधेसलाई राष्ट्रिय राजनीतिसँग अझ गहिरो रूपमा जोड्नुपर्ने आवश्यकता महसुस गर्दै आफूले सर्लाही–४ रोजेको थापाको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले काठमाडौंमै चुनाव लडे सहज जित निकाल्न सक्ने अवस्था हुँदाहुँदै पनि जानाजानी सर्लाही रोजेको बताए । ‘म तीन पटक चुनाव जितिसकेको व्यक्ति हुँ । काठमाडौं कि सर्लाही भन्ने टुंगो नलागेसम्म अन्य दलहरूले समेत उम्मेदवार तय गर्न सकेका थिएनन्’, उनले भने, ‘मधेस जान मन थियो, यस पटक आँट गरेर आएको हुँ ।’

थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको स्पष्ट पारे । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको सन्दर्भमा सर्लाही–४ को चुनावलाई राष्ट्रिय राजनीतिले विशेष चासोका साथ हेर्न थालेको छ ।

तर थापाको आगमनसँगै सर्लाही–४ निर्वाचन क्षेत्र सुरक्षा र प्रतिस्पर्धाका हिसाबले पनि संवेदनशील बनेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका कुल ३ सय १२ मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढीलाई संवेदनशील र अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कांग्रेस सभापति थापा उम्मेदवार बनेको क्षेत्र नम्बर ४ का ८१ मतदानस्थल संवेदनशील वा अति संवेदनशील सूचीमा परेका छन् । २०७९ को निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारीका कारण चर्चामा आएको यो क्षेत्र यस पटक थापाको उम्मेदवारीसँगै झनै राजनीतिक बहसको केन्द्रमा छ ।

२०७९ मा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन्, जसले प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिकका मतदानस्थल, विगतमा भएका दलगत झडप तथा अपराधिक गतिविधिका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मतदानस्थलमा कडा सुरक्षा व्यवस्था गरी भयरहित वातावरणमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिए ।

यसअघि जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र रहेकामा यसपटक ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मधेसमा कांग्रेसको राजनीतिक प्रभाव विस्तार गर्ने थापाको महत्वाकांक्षा, प्रतिस्पर्धी उम्मेदवारको बलियो उपस्थिति र उच्च सुरक्षा संवेदनशीलताबीच सर्लाही–४ को चुनावले यसपटक राष्ट्रिय राजनीतिमा निर्णायक संकेत दिने अपेक्षा गरिएको छ ।

आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताएका हुन् ।

उनले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्मेदवार छान्ने दाबी गरे । यस पटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उनको भनाई छ । उनले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताए ।

उनले भने, ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेद्वारी चयन गर्ने प्रक्रिया टुगिनु पर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखि कांग्रेसको उम्मेद्वार यसरी चयन हुँदैन । उम्मेद्वार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ । तर यो पटक हामीसंग त्यो समयको सुविधा थिएन ।’

उनले भने, ‘हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेद्वारी दर्ताको समय थियो । अब हामी फर्केर प्राईमरी गर्छौ भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरुमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्न सक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसँग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौ ।’ उनले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको कांग्रेस बदलिनै पर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताए ।

 

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा अघि सारेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिँदै उपसभापति शर्माकै प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको बताए । विगतमा निर्वाचन सम्पन्न भएपछि संसदीय दलको नेता चयन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक मतदातालाई स्पष्ट सन्देश दिन र निर्णय गर्न सहज बनाउने उद्देश्यले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उनले स्पष्ट पारे ।

कांग्रेसले यस निर्णयलाई केवल राजनीतिक रणनीति मात्र नभई मतदातामैत्री अभ्यासका रूपमा व्याख्या गरेको छ । ‘कुन पार्टीलाई मत दिँदा कसलाई नेतृत्व सुम्पिँदैछ भन्ने कुरा मतदाताले पहिले नै थाहा पाउनु पर्छ’, शर्माले भने, ‘यसले लोकतान्त्रिक अभ्यासलाई अझ पारदर्शी बनाउँछ ।’

पाँच मापदण्डमा गगन थापा चयन
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा पाँचवटा मुख्य मापदण्ड तय गरेको जनाएको छ । ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, पार्टी र देशप्रति योगदान, योग्यता तथा दीर्घकालीन भिजन रहेका छन् ।

उपसभापति शर्माका अनुसार यी सबै सूचकमा गगन थापा अन्य समकालीन उम्मेदवारभन्दा अब्बल देखिएकाले पार्टीले उनलाई अघि सारेको हो । ‘अहिले विभिन्न दलबाट प्रधानमन्त्रीका नाम सार्वजनिक भइरहेका छन्, तर कांग्रेसले अघि सारेको उम्मेदवार सबै हिसाबले सक्षम र भरोसायोग्य हुनुहुन्छ’, उनले दाबी गरे ।

राजनीतिक प्रतिष्पर्धाको नयाँ चरण
प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने होडमा अन्य दलहरू पनि देखिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी नेतृत्वको रूपमा प्रस्तुत गरेको छ । यस्तो अवस्थामा कांग्रेसको निर्णयलाई आगामी निर्वाचनमा स्पष्ट नेतृत्वको एजेन्डासहित मैदानमा उत्रिने प्रयासका रूपमा हेरिएको छ । सभापति गगन थापा आगामी प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसको यो कदमले चुनावी बहसलाई नीतिगत र नेतृत्व केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।

कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउँँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नु पर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’ उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भए पनि परिस्थिति नमिलेको बताए । नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।

 

सानेपाका कांग्रेस केन्द्रिय कार्यसमिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रिय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो भने निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको छ ।

बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्वपूर्ण एजेण्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि संस्थापन पक्षका युवाहरू पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोली सानेपा प्रवेश गरेको हो । पार्टीभित्रको आन्तरिक विवाद र सुधारका एजेण्डालाई सम्बोधन गर्दै थापा नेतृत्वको कार्यसमितिले नयाँ गति लिने विश्वास गरिएको छ ।

कांग्रेस सभापतिको कुर्सीमा गगन, कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसको नव निर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् ।सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापा शुक्रवार पार्टी कार्यलय सानेपामा पुगेका हुन् । थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए ।

साथै उनीहरुले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रिय समिति बैठक बस्नेछ ।

 

राजनीतिक दलहरुले राष्ट्रिय भावनाको विकास हुने गरी निर्वाचनको प्रचार गर्नु पर्दछ : सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरुले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने उनको भनाई थियो ।

शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवशनमा बोल्दै नेता सिटौलाले राजनीतिक दलहरु, सांसदहरुबीच एकता कायम नहुने हो भने मुलुक दिन प्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताए । उनले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

नेता सिटौलाले भने, ‘फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सकोस् । सबै राजनीतिक दलहरु, सबै सांसदहरु मिलेर नीतिगत तहमा एकता नगर्ने हो भने नेपाल दिन प्रतिदिन कमजोर हुँदै जानेछ भन्ने मेरो विचार हो । हरेक राजनीतिक दलहरुभित्र पनि एकता चाहिएको छ । र समग्र राजनीतिक दलहरुका बीचमा पनि एकता चाहिएको छ ।’

उनले भने, ‘जसले मेची महाकाली, तराई, पहाड, हिमाल सबै वर्ग, क्षेत्र, जाति, लिङ्ग, पेशा व्यवसायमा रहेका तमाम नेपालीहरुलाई एकतावद्ध गर्न सकोस् । एउटा सामूहिक राष्ट्रिय भावनाको विकास हुन सकोस् । त्यो उद्देश्यअनुसार राजनीतिक दलहरु जनताको बीचमा प्रस्तुत होउन । एकले अर्कालाई धेरै गाली गर्ने भन्दा पनि निर्वाचनमा जाने सबै राजनीतिक दल र तीनका उम्मेदवारलाई मेरो हार्दिक आग्रह पनि छ–जनतामा व्यग्रता र निराशा दुवै व्यक्त नगर्नुस् । देश बनाउने विचार प्रस्तुत गरेर जनताको मन जित्ने प्रयास गर्नुस् ।’ नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गरे ।

कांग्रेसको आजको निर्णयले देशभर नयाँ तरङ्ग सिर्जना गर्छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे ।

उनले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिए । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिए । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए । कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उनको दाबी छ ।

संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उनको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउने उनले बताए । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उनले बताए ।

उनले भने, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस, ऐतिहासिक निर्णयहरु गर्दैछ । आज केन्द्रिय कार्यसमितिले गर्ने निर्णयले देशभरि एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ । निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्नको लागि आजको निर्णय महत्वपूर्ण हुनेछ । नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक विधिवत् रुपमा नेपाली कांग्रेसले निर्वाचन लक्षित गरेर निर्णय गर्दैछ । खासगरि हामीले विशेष महाधिवेशनमा नै प्रतिवद्धता गरेका थियौँ । हामी नेतृत्व पनि परिवर्तन गर्नेछौँ, नीति पनि परिवर्तन गर्नेछौँ । काँग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्ने गरि काँग्रेसले नयाँ प्रश्ताव ल्याउनेछ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौँ ।’

उनले भने, ‘त्यही संकल्प बमोजिम कांग्रेस त परिवर्तन भयो, कांग्रेस त नयाँ भयो । अब कांग्रेसको नेतृत्वलाई देशले नयाँ बनाउनको निम्ति कांग्रेसको तर्फबाट कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनमार्फत नेपाली कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्नेछ । नेपाली काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भनेर छनोट गर्ने अवसर विधिवत रुपमा निर्णय गरेर प्रदान गर्दैछ । यो एकदमै लोकतान्त्रिक पद्धतीको विकास काँग्रेसले प्रक्रियागत ढंगले शुरु गर्दैछ ।’

उनले भने, ‘यो चाँही आवधिक निर्वाचन हुनु अगाडि प्रधानमन्त्री घोषणा गर्ने प्रणालीतिर जाने संकेत हो । यो अरु कुनै खालको संकेत होइन । खासगरि संसदीय निर्वाचनमा पार्टीको वारेस लिएर जो उम्मेद्वार हुन्छ । त्यो उम्मेद्वारले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा मत प्राप्त गर्ने स्थिति बन्नुपर्छ । त्यसैले अहिले नेपाली काँग्रेसको उम्मेद्वारहरुले जित्दै गर्दा उहाँहरुले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि मतदाताले थाहा पाउने स्थिति हामीले बनाउन खोजेका हौँ । हामी प्रतिस्पर्धा गर्दा हाम्रो प्रधानमन्त्रीसहित प्रतिष्पर्धा गर्न हामीले खोजेका हौँ । यो अभ्यासको विकास गर्न खोजेका हौँ । त्यसैले एउटा प्रतिनिधिसभाको सदस्य मात्रै निर्वाचित हुँदैन, आम मतदातादे निर्वाचित गरेको आफ्नो क्षेत्रको प्रतिनिधि सभाको सदस्यले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा अथवा प्रधानमन्त्री नै नागरिकले छनौट गर्न पाउने विधि स्थापित गर्नको लागि हामीले यो प्रणालीको शुरुवात गरेका हौँ ।’

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिए । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गरे । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उनले जानकारी दिए । उनले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताए ।

सानेपा पुग्दै गगनसहित कांग्रेस पदाधिकारी, कार्यकर्ताको भीड

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिले आज (शुक्रबार) पदबहाली गर्दैछ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।

दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए । नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् । यस्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन भनेको छ । बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति आएपछि कांग्रेसमा विवाद छ । यो विवाद सर्वोच्च अदालत पुगेको छ । शेरबहादुर देउवा र पूर्णबहादुर खड्का लगायतले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै अन्तरिम आदेशको मागसहित अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

‘आजको निर्णयले देशभर नयाँ तरङ्ग ल्याउँछ’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग आउने दाबी गरेका छन् । बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नीति र नेतृत्व दुवै परिवर्तन गरेर आजबाट चुनावमा होमिने बताए ।

उनले विधिवत् रूपमा देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर जनतालाई दिनको लागि भावी प्रधानमन्त्री तोकेर जान लागेको बताए । उनले भने, ‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरू गर्दैछ ।’ उनले नेपालको जग मधेश भएकाले सभापति गगन थापाले सर्लाही रोजेको बताए ।

उनले भने, ‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पको साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि सभापतिलाई सर्लाही ४ मा अघि सारेका छौँ ।’ सभापति मधेशबाट निर्वाचित भएर आएपछि मधेशका मुद्दाहरूले प्राथमिकता पाउने उनले बताए ।

 

 

 

 

 

मैदान फेरेका गगनलाई सर्लाही–४ मा अमरेश चुनौती, नेता कि समीकरण निर्णायक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै आएका गगन थापाले आफ्नो बलियो राजनीतिक आधार मानिएको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएपछि यो निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । लगातार तीन पटक यही क्षेत्रबाट जितिसकेका अमरेशकुमार सिंहसँगको सीधा प्रतिष्पर्धाले सर्लाही–४ लाई यस पटक सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनाएको छ ।

गगन थापाको सर्लाही प्रवेशलाई कसैले साहसी राजनीतिक प्रयोग भनेका छन् भने कसैले काठमाडौं असुरक्षित भएपछि मधेसमा सुरक्षित अवतरण खोजेको टिप्पणी गरेका छन् । तर यथार्थ के हो भने सर्लाही–४ राजनीतिक रूपमा जटिल, बहुपक्षीय शक्ति सन्तुलन भएको क्षेत्र हो, जहाँ जित कुनै एक दलको संगठनात्मक बलले मात्र सुनिश्चित हुँदैन ।

कांग्रेसको परम्परागत पकड, तर छैन एकल वर्चस्व
सर्लाही–४ ऐतिहासिक रूपमा नेपाली कांग्रेसको बलियो क्षेत्र मानिँदै आएको छ । २०४८ देखि २०५६ सम्म महन्थ ठाकुरले लगातार तीन निर्वाचन जितेपछि यो क्षेत्र कांग्रेसको गढका रूपमा चिनिएको थियो । पछि महन्थ ठाकुर कांग्रेसबाट अलग भएपछि अमरेशकुमार सिंह यही क्षेत्रको मुख्य अनुहार बने । उनले २०७० र २०७४ मा कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरे ।

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि कांग्रेस कमजोर छैन । ५१ वडामध्ये कांग्रेसले १९ वडा जितेको छ, जुन सबै दलमध्ये सबैभन्दा धेरै हो । वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अग्रस्थानमा छ । तर स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबीच मतको प्रवृत्ति भने फरक देखिएको छ । स्थानीय तहमा २३ हजारभन्दा बढी मत पाएको कांग्रेसले २०७९ को समानुपातिकतर्फ १६ हजार मतमै सीमित हुनुपरेको थियो ।

अमरेशको व्यक्तिगत पकड र रास्वपाको नयाँ रंग
अमरेशकुमार सिंहको शक्ति भने संगठनभन्दा बढी व्यक्तिगत राजनीतिक सम्बन्ध र निरन्तर जनप्रतिनिधित्वबाट बनेको छ । तीन पटक लगातार जितेका उनी २०७९ मा कांग्रेसकै उम्मेदवारलाई हराएर स्वतन्त्र रूपमा विजयी भएका थिए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट मैदानमा उत्रिएका सिंहले ‘जेनजी आन्दोलन’ र बालेन साहको लोकप्रियतालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति लिएका छन् ।
उनको दाबी स्पष्ट छ–स्थानीय जनताले बाहिरबाट आएका उम्मेदवारभन्दा आफूलाई बढी विश्वास गर्छन् । २०७९ मा २० हजार बढी मत ल्याएर जितेको इतिहास र अहिले पार्टीको संरचना जोडिएकाले आफू अझ बलियो भएको उनको दाबी छ ।

यादव मतको विभाजन र एमालेको चुनौती
यस निर्वाचन क्षेत्रमा यादव समुदायको मत निर्णायक मानिन्छ । यही आधारमा एमालेका उम्मेदवार अमनिशकुमार यादवलाई पनि कमजोर आँक्न मिल्दैन । उनी पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् । शिवपूजनको परिवारिक राजनीतिक विरासत, छोरी मधुमालाले २०७९ मा ल्याएको १४ हजार बढी मत, र स्थानीय तहमा छोराको जित-यी सबैले एमाले उम्मेदवारलाई मजबुत आधार दिन्छन् । तर यस पटक यादव जातिकै अन्य उम्मेदवारहरू-नेकपाबाट रजनीश राय यादव र जसपा नेपालबाट रामेश्वर राय यादव-उठेकाले यादव मत विभाजित हुने देखिन्छ। यो विभाजनले कसलाई फाइदा पुग्छ भन्ने कुरा नै चुनावको निर्णायक पाटो बन्नेछ ।

स्थानीय तहको समीकरण : कसको कहाँ पकड ?
बलरा र रामनगरमा माओवादी प्रभाव बलियो देखिन्छ भने धनकौल र विष्णु गाउँपालिकामा कांग्रेसको संगठनात्मक पकड राम्रो छ । गोडैता नगरपालिकामा लोसपा÷जसपाको प्रभाव छ भने बरहथवामा एमाले बलियो देखिन्छ । बसबरियामा जसपाको उपस्थिति उल्लेखनीय छ । यसरी हेर्दा सर्लाही–४ कुनै एक दलको ‘सेफ सीट’ होइन, बरु प्रतिष्पर्धी शक्तिहरूको मिश्रित मैदान हो ।

सर्लाही–४ को चुनाव गगन–अमरेशको मात्र कथा होइन । कांग्रेसको परम्परागत संगठन, अमरेशको व्यक्तिगत प्रभाव, एमाले–यादव विरासत, माओवादी र मधेसी दलहरूको स्थानीय पकड—सबै मिसिएको यो निर्वाचन बहुकोणात्मक प्रतिष्पर्धा हो ।

गगन थापाका लागि यो चुनाव राजनीतिक विश्वसनीयता र राष्ट्रिय नेताको हैसियत प्रमाणित गर्ने अवसर हो भने अमरेश सिंहका लागि आफ्नो अपराजित छवि जोगाउने लडाइँ । अन्तिम निर्णय भने सर्लाही–४ का मतदाताले गर्नेछन्, जहाँ पार्टीभन्दा पनि व्यक्ति, जातीय समीकरण, स्थानीय सम्बन्ध र पछिल्लो राजनीतिक तरलताले निर्णायक भूमिका खेल्ने देखिन्छ ।

गगन सानेपा भित्रिनु अघि नै कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।२०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए । नव निर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन् । सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले जानकारी दिए । विजयकुमार गच्छदारको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा कांग्रेसमा विलय हुँदा दुलाललाई पार्टी सचिव बनाइएको थियो । पार्टी कार्यालयका सचिव विशेष महाधिवेशनको पक्षमा दुलाल खुलेर लागेका थिए ।

मोरङ–३ मा सुनिल शर्माको घरदैलो अभियान, के छ मतदाताको प्रतिक्रिया ?

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । डा. शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् ।

नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा. शर्मा डा. शेखर कोइराला समूहका नेता हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यस पटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् । निर्वाचन क्षेत्रका मतदाताहरूले डा. शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् । स्थानीयहरूका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् ।

एक स्थानीय मतदाताले भने, ‘उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नु भएको छ । गरिब दुःखीलाई सहयोग गर्ने उहाँ जस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन ।’ डा. शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । डा. शर्माले मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै विकास र समृद्धिको एजेण्डा अघि सारेका छन् ।

कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । भोलि (शुक्रबार) सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ । उनले भने, ‘भोलि हामी सानेपा भएर पार्टीको बैठक बस्दै छ, बैठकले निर्वाचनको तयारीबारे आवश्यक निर्णय गर्छ ।’

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ । त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौं ।’ सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे । थापन नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसे भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ ।’ उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।

 

कांग्रेस नफुटोस् भनेर विशेष महाधिवेशनबाट टाढा बसें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण कांग्रेस विभाजनको जोखिममा नपरोस् भनेर आफूले विशेष महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पारेका छन् । पार्टी एकता जोगाउनकै लागि मध्यमार्गी भूमिका निर्वाह गरेको उनको दाबी छ ।

मोरङ–६ अन्तर्गत सुन्दरहरैंचामा आफ्ना समर्थकहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टीभित्र फरक–फरक धार सक्रिय रहेकाले परिस्थिति संवेदनशील बनेको बताए । एक समूह विशेष महाधिवेशनको पक्षमा उभिएको र अर्को समूह नियमित प्रक्रियाको वकालत गरिरहेको अवस्थामा आफूले कुनै एक धार समात्दा कांग्रेस दुई टुक्रा हुने खतरा रहेको उनको भनाइ थियो ।

‘एउटा समूह विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित महाधिवेशनमै जोड दिने अवस्था थियो’, उनले भने, ‘यस्तो परिस्थितिमा म त्यो हलमा गएको भए कांग्रेस विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजें ।’
पार्टी एकताका लागि लिएको यही भूमिकाका कारण आफूलाई ‘ढुलमुले’ भन्ने गरिएकोप्रति उनले असन्तुष्टि पनि जनाए । ‘पार्टी बचाउन खोज्दा ढुलमुले भनिन्छ भने त्यो स्वीकार्य हुँदैन’, उनले भने, ‘म त्यहाँ गएको भए सभापति बन्थेँ वा बन्दिनथेँ, त्यो अर्को कुरा हो, तर पार्टी भने निश्चित रूपमा दुई टुक्रा हुन्थ्यो ।’

डा. कोइरालाले अब विगतका मतभेदलाई थाँती राखेर कांग्रेस एकताबद्ध भएर आगामी चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । आन्तरिक द्वन्द्वले होइन, साझा एजेन्डा र सहकार्यले मात्र पार्टीलाई बलियो बनाउन सकिने उनको निष्कर्ष थियो । उनले कार्यकर्ता र नेताहरूलाई संयमित, जिम्मेवार र एकतामुखी भूमिका खेल्न आग्रह गर्दै कांग्रेसको दीर्घकालीन हित पार्टी एकतामै रहेको धारणा व्यक्त गरे ।

 

 

 

 

सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा, भोलि पार्टी कार्यालयमै बैठक

काठमाडौं । लामो समयदेखि देखिएको आन्तरिक विवाद र आधिकारिकताको अन्योलपछि नेपाली कांग्रेसको नयाँ नेतृत्व पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति शुक्रबार पहिलोपटक सानेपामै बैठक बस्न लागेको हो ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि पार्टीभित्रको किचलो र निवर्तमान नेतृत्वको असन्तुष्टिका कारण नयाँ कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन । यस अवधिमा बसेका दुई वटा केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालयबाहिर होटल र पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार सभापति थापासहित केन्द्रीय कार्यसमितिको टोली सानेपा जाने र सोही दिन कार्यालयमै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । ‘सभापति ज्यूको नेतृत्वमा हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं र त्यहीँ केन्द्रीय समिति बैठक बस्छ’, उनले बताए ।

यद्यपि, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अधिकांश केन्द्रीय नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएकाले शुक्रबारको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सदस्यहरू मात्र सहभागी हुनेछन् । विशेष महाधिवेशनलाई लिएर देखिएको विवादका बीच निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिएपछि थापा नेतृत्वको कार्यसमितिले औपचारिक रूपमा काम गर्न पाउने बाटो खुलेको थियो । आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

यसअघि देउवा पक्षधर नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले विरोधस्वरूप केही दिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । तर, पछिल्लो समय तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबै कार्यकर्तालाई चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएपछि उनीहरूले कार्यालय खाली गरिसकेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति गगन थापाको उपस्थितिमा सानेपामै केन्द्रीय समिति बैठक बस्न लाग्नु कांग्रेसभित्रको शक्ति सन्तुलन र संगठनात्मक गतिविधिमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ ।

 

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाका नेतृन्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वान आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछिमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिने अस्वीकार गरेको थियो ।

त्यसपछि आज थापाको प्रतिक्रिया आएको हो । थापाले भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सभापति थापाले पार्टीपंक्तिलाई यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं ।’ सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै छन् । उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँदै छ।

गगनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश दिने / नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए ।

त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ । त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।

कांग्रेस महामन्त्री पौडेलको काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा यसअघिकै प्रतिद्वन्दी नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलसँग उनको प्रतिष्पर्धा हुनेछ ।

कांग्रेसमा व्यापक फेरबदल : सबै क्षेत्रको लाग्यो उम्मेदवार टुंगो (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार छनोट प्रक्रिया जारी राख्दै आएको कांग्रेसले अब ९ वटा निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवार तय गर्न बाँकी राखेको छ । पार्टीका अनुसार काठमाडौंका १० मध्ये ४ निर्वाचन क्षेत्र (काठमाडौं–१, २, ३ र ७) मा अझै उम्मेदवार टुंगो लाग्न सकेको छैन । यस्तै भक्तपुर–१, चितवन–१, पर्सा–२ र कैलाली–४ मा पनि कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ ।

नयाँ नेतृत्वको प्रभाव, पुराना अनुहारहरू बाहिर
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा आएको कांग्रेसले यसपटक उम्मेदवार छनोटमा ठूलो पुनर्संरचना गरेको देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणादेखि लिएर देउवा र डा. शेखर कोइराला पक्षसँग जोडिएका करिब ३५ प्रभावशाली नेताहरू चुनावी मैदानबाट बाहिरिएका छन् ।

कांग्रेस नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको शक्ति सन्तुलन फेरिँदा संसदीय राजनीतिका ‘भेट्रान’ मानिने नेताहरूलाई टिकट नदिइएको हो । पार्टीको आधिकारिता विवाद सर्वोच्च अदालतसम्म पुगेको पृष्ठभूमिमा निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्काले नैतिक कारण देखाउँदै उम्मेदवारी नदिँदा सुर्खेत–१ खाली भएको छ ।

पूर्व उपसभापति, महामन्त्रीदेखि कोषाध्यक्षसम्म बाहिर
यस निर्वाचनमा कांग्रेसका तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकटबाट वञ्चित भएका छन् । यस्तै, पार्टीका संस्थापक नेता बीपी कोइरालाका पुत्र तथा पूर्व महामन्त्री शशांक कोइरालाले पनि नवलपुर–१ बाट टिकट पाएनन्, जहाँ उनी लगातार तीन पटक निर्वाचित भइसकेका थिए । निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि यस पटक चुनावी मैदानमा छैनन् । पाण्डेले स्वयं उम्मेदवार नबन्ने घोषणा गरेका थिए भने परियार र चौधरी सभापति थापाको प्राथमिकतामा पर्न सकेनन् ।

काठमाडौं र अन्य जिल्लामा अनुभवी नेताको विदाइ

काठमाडौं–१ बाट लगातार निर्वाचित हुँदै आएका पूर्व उपसभापति प्रकाशमान सिंहलाई पनि टिकट नदिइएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । यस्तै, बलबहादुर केसी (सोलुखुम्बु), डा. नारायण खड्का (उदयपुर–१), राजेन्द्रकुमार केसी (काठमाडौं–१०), हृदयराम थानी (सुर्खेत–२) लगायत नेताहरूले चुनाव नलड्ने घोषणा गरेका छन् । चार पटक कञ्चनपुर–३ बाट चुनाव लडेका रमेश लेखक, रुपन्देही–३ का बालकृष्ण खाँण, कैलाली–५ की आरजु राणा, मोरङ–२ की सुजाता कोइराला र तेह्रथुमकी सीता गुरुङले पनि टिकट पाएनन् ।

देउवा पक्ष केन्द्रित असन्तुष्टि
यस पटक टिकट नपाउने वा चुनाव नलड्ने अधिकांश नेता देउवा पक्षसँग जोडिएका छन् । कांग्रेसले दोलखा, सिरहा, सिन्धुपाल्चोक, कैलाली, ललितपुर, ओखलढुंगा, संखुवासभा, सिन्धुली, भक्तपुर र काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा समेत स्थापित अनुहारहरूलाई प्रतिस्थापन गरेको छ ।

पार्टी नेतृत्वले यसलाई ‘नयाँ पुस्ता र नयाँ राजनीतिक सन्देश’ को रूपमा व्याख्या गरे पनि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढ्ने संकेत देखिएको छ । अब बाँकी ९ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिएपछि कांग्रेसको अन्तिम उम्मेदवार सूची सार्वजनिक हुनेछ, जसले पार्टीको नयाँ राजनीतिक दिशा अझ स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

हेर्नुस् उम्मेदवार सूची

कांग्रेसबाट गगनको काठमाडौं–४ मा सचिन तिमल्सिना बने उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । युथ कंग्रेसका संस्थापक सभापति समेत रहेका तिमल्सिना काठमाडौं–४ कै स्थानीय बासिन्दा हुन् ।

उनी क्रिकेट कमेन्टेटर पनि हुन् । सभापति थापा भने यस पटक सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए । सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन् ।

कांग्रेसमा टिकटको चहलपहल : कतै टुंगो, कतै बिद्रोह र असन्तुष्टि (सूचीसहित)

काठमाडौं । उम्मेदवारी दर्ताको समय सुरु भइसक्दा पनि नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेताहरूबीचको समन्वय र असन्तुष्ट समूहलाई मिलाउने प्रयासका बीच कांग्रेसले केही जिल्लामा भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ ।

पार्टी सभापति गगन थापाको सक्रियतामा शेरबहादुर देउवा र शेखर कोइराला समूहलाई समेट्दै टिकट वितरण प्रक्रिया तीव्र पारिएको कांग्रेस नेताहरू बताउँछन् । काठमाडौं उपत्यका र आसपासका केही क्षेत्रबाहेक अधिकांश जिल्लामा उम्मेदवारको निर्णय भइसकेको जनाइएको छ ।

कञ्चनपुर–३ मा रमेश लेखक बाहिर, हरि बोहरा मैदानमा
कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा महत्वपूर्ण निर्णय गरेको छ। पूर्वगृहमन्त्री तथा प्रभावशाली नेता रमेश लेखकलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गर्दै पार्टीले हरि बोहरालाई टिकट दिएको हो । २०७९ सालको आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित लेखक पुनः उम्मेदवार बन्ने प्रबल दाबेदार मानिएका थिए । तर, संसदीय बोर्डको पछिल्लो निर्णयले उनलाई प्रतिस्पर्धाबाट बाहिर राखेको छ । टिकट पाएपछि हरि बोहराले पार्टी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा जुटिसकेको बताएका छन् ।

मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार तय
पूर्वी नेपालको महत्वपूर्ण जिल्ला मोरङमा भने कांग्रेसले सबै छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार अन्तिम सूची यसप्रकार छ ः

मोरङ–१ : खड्ग फागो

मोरङ–२ : डा. मिनेन्द्र रिजाल

मोरङ–३ : डा. सुनील शर्मा

मोरङ–४ : गुरुराज घिमिरे

मोरङ–५ : फुलकुमार लालवानी

मोरङ–६ : डा. शेखर कोइराला

क्षेत्र नम्बर ६ बाट वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाइनुले पार्टीभित्र र बाहिर राजनीतिक चर्चा बढाएको छ । यस्तै, पूर्वमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल र डा. सुनील शर्मालाई पनि टिकट दिइएको छ ।

कैलाली–४ मा बलायरको बहिस्कार घोषणा

सुदूरपश्चिममा भने कांग्रेसभित्र असन्तुष्टिको स्वर खुलेर आएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी नदिने घोषणा गरेका छन् । टिकट पाउँदा पनि चुनाव नलड्ने उनको निर्णयले पार्टीभित्र तरंग सिर्जना गरेको छ ।

बलायरले संविधानअनुसार बनेको संसद विघटन गरी फेरि निर्वाचन गरिनु निरर्थक भएको दाबी गर्दै आफू निर्वाचन प्रक्रियाबाट अलग रहने बताएका छन् । २०७९ मा सोही क्षेत्रबाट एमालेका लेखराज भट्टलाई पराजित गरेका बलायर देउवानिकट नेता मानिन्छन् । देउवा र रमेश लेखकलाई टिकट नदिइएको विषयसँगै उनको उम्मेदवारी फिर्ता निर्णय जोडेर हेरिएको छ ।

कांग्रेसभित्र मिलन र मनमुटाव दुवै

कांग्रेसले धेरै जिल्लामा उम्मेदवार टुंग्याए पनि केही क्षेत्रमा असन्तुष्टि र बहिस्कारका स्वर देखिन थालेका छन् । एकातिर मोरङ जस्ता जिल्लामा सर्वसम्मत निर्णय भएको छ भने अर्कोतिर कैलाली र कञ्चनपुरका घटनाले पार्टीभित्रको आन्तरिक राजनीतिलाई सतहमा ल्याइदिएको छ । अब बाँकी निर्वाचन क्षेत्रमा कांग्रेसले कसरी सहमति जुटाउँछ र असन्तुष्ट नेताहरूलाई कसरी समेट्छ भन्ने विषय आगामी दिनमा झनै चासोको केन्द्र बन्ने देखिन्छ ।

 

३४ वर्षपछि डडेलधुरामा कांग्रेसको पुस्तान्तरण, देउवाको ठाउँमा नयनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा डडेलधुराबाट एक ऐतिहासिक अध्याय टुंगिएको छ । २०४८ सालदेखि निरन्तर प्रतिनिधिसभा निर्वाचन जित्दै आएका कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक चुनावी मैदानमा नउत्रिने भएका छन् । उनको स्थानमा कांग्रेसले युवा नेता नयनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले डडेलधुराबाट महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपि अन्तिम औपचारिक सूची सार्वजनिक हुन बाँकी रहे पनि देउवाको सचिवालयले उनी आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरिसकेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘शेरबहादुर देउवा ज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ ।’ डडेलधुरामा कांग्रेसका लागि देउवा केवल उम्मेदवार मात्र होइन, राजनीतिक पहिचान नै बनेका थिए । २०४८ सालको निर्वाचनमा पहिलो पटक सांसद बनेका देउवाले त्यसयता भएका सात वटै निर्वाचनमा अपराजित रहँदै संसदीय यात्रा निरन्तरता दिएका थिए । पाँच पटक प्रधानमन्त्री बनेका देउवाको यो निर्णयसँगै उनको ३४ वर्ष लामो संसदीय उपस्थितिमा विराम लागेको छ ।

पार्टीभित्रको बदलिँदो शक्ति सन्तुलन र हालै सम्पन्न विशेष महाधिवेशनपछि देखिएको ‘पुस्तान्तरण’ को सन्देशले देउवालाई टिकट नदिने वातावरण बनेको विश्लेषण गरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा समूहको प्रभाव बढेसँगै देउवा समूह दबाबमा परेको थियो । स्रोतका अनुसार, टिकट निश्चित नदेखिएपछि देउवाले आफैं चुनावी दौडबाट बाहिरिने निर्णय लिएका हुन् । देउवाको स्थानमा अघि सारिएका नयनसिंह महर कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी पार्टीको शिक्षा विभाग प्रमुख रहँदै आएका छन् भने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् ।

पार्टीभित्र युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका महरलाई देउवाको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी दिइएको छ । डडेलधुरा कांग्रेस कार्यसमितिले भने सुरुआतमा देउवाकै नाम एकल सिफारिस गरेको थियो । तर केन्द्रको निर्णयले स्थानीय सिफारिस उल्टिएको छ । देउवासँगै यस पटक उनकी पत्नी आरजु राणा देउवाले पनि टिकट पाइनन् । कैलाली–५ बाट सिफारिस भएकी आरजुको स्थानमा पार्टीले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र उठेको ‘जेनेरेशन सिफ्ट’ को बहस, पछिल्लो समय देउवा दम्पतीमाथि भएको आलोचना तथा युवा नेतृत्वप्रति बढ्दो आकर्षणले यो निर्णयमा भूमिका खेलेको देखिन्छ ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी साहसी र अडान लिने नेताका रूपमा परिचित थिए । ‘ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ भन्ने उनको चर्चित अभिव्यक्तिसँगै पुनः प्रधानमन्त्री बन्ने आकांक्षामा पनि अब पूर्णविराम लागेको छ । अब डडेलधुराको राजनीतिक मैदानमा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । देउवाको स्थानमा नयनसिंह महरलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने प्रश्न आगामी निर्वाचनले जवाफ दिनेछ । तर, यति भने स्पष्ट छ–डडेलधुरामा कांग्रेसको ३४ वर्ष पुरानो एउटा युग समाप्त भई नयाँ अध्याय सुरु भएको छ ।

 

 

कांग्रेस–सुमना श्रेष्ठ संवादमा, गगन थापा काठमाडौं–४ छोड्न तयार हुन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता नजिकिँदै गर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीचको संवादले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । कांग्रेस नेतृत्वसँग उनको निरन्तर छलफलले सम्भावित पार्टी प्रवेश वा चुनावी सहकार्यको ढोका खुला भएको संकेत दिएको छ ।

कांग्रेस सभापति गगन थापासहितका नेताहरूसँग सुमनाको संवाद तीव्र बनेको छ । स्रोतका अनुसार गगन थापा काठमाडौं क्षेत्र नम्बर–४ छाड्न तयार देखिएका छन् । यदि थापाले उक्त क्षेत्र छाडे भने सुमना श्रेष्ठ काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । गगन थापा भने काठमाडौं–१ वा सर्लाही क्षेत्रबाट उम्मेदवार बन्न सक्ने सम्भावनामा छलफल गरिरहेका छन् । उनले सर्लाहीका स्थानीय नेता–कार्यकर्तासँग पनि १ वा ४ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने संकेत दिइसकेका छन् ।

कांग्रेसभित्र उम्मेदवार छनोटको रस्साकस्सी चर्किरहेका बेला सुमनासँगको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका पक्षबाट आएका उम्मेदवार सूची एकै ठाउँमा राखेर टुंगो लगाउने प्रयास भइरहँदा सुमनाको सम्भावित प्रवेशले समीकरण थप जटिल बनेको छ । सभापति थापा निकट एक नेताका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना श्रेष्ठसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको पुष्टि भएको छ । यद्यपि उनी कांग्रेस प्रवेश गर्ने कि चुनावी सहकार्यमा सीमित रहने भन्ने विषय अझै खुलिसकेको छैन ।

सुमना श्रेष्ठले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् । नख्खु कारागारबाट रवि लामिछाने जबर्जस्ती निकालिएको घटनालाई लिएर उनले सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी थिइन् । रास्वपा छाडेपछि सुमना काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह निकट समूहसँग नजिक देखिइन् ।

उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । केही समय बालेन्द्र साहको समूह हुँदै पुनः रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना अन्त्य भएको बताइन्छ । अब कांग्रेससँगको संवादले सुमनाको राजनीतिक यात्रामा नयाँ मोड आउने संकेत देखिएको छ । अन्तिम निर्णय उम्मेदवारी दर्ताअघि नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । कांग्रेस र सुमना श्रेष्ठबीचको यो सम्भावित सहकार्यले काठमाडौंको चुनावी प्रतिष्पर्धा झनै रोचक बनाउने निश्चित देखिन्छ ।

 

 

 

 

 

 

 

 

कांग्रेसबाट मोरङ–३ मा सुनिल शर्मालाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ–३ को टिकट पाएका हुन् । विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए । निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नु पर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।

 

 

गगनले बाँड्न थाले टिकट : शेखर भन्छन्–कहाँ बसेर बाँड्दै छन् थाहा छैन

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । तर, टिकट वितरण प्रक्रियामा भ्रम र दलभित्रको अन्तरद्वन्द्व कायमै रहेको छ । पार्टी सभापति गगन थापाले धमाधम उम्मेदवार टुङ्ग्याउन थालेका छन् । प्यूठानबाट डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाइएको छ । योजना आयोगको पूर्व उपाध्यक्ष र अर्थविद् पोखरेल नेता शेखर कोइरालाको निकट मानिन्छन् । यस्तै, सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाइएको छ ।

सदस्यहरूको सहमतिमा उम्मेदवार टुङ्ग्याउने क्रममा सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र कोइरालानिकट नेताहरूसँग पनि संवाद गरेका छन् । नयाँ सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ । अन्य जिल्लाको पनि करिब मिल्ने क्रममा छ । अब अन्य पक्षसँग छलफल गरी अन्तिम निर्णय गर्नेछौं ।’

तर, टिकट वितरण प्रक्रियामा शेखर कोइरालाको सचिवालयले असमञ्जस्यता व्यक्त गरेको छ । सचिवालयले जानकारी गराएको छ कि, ‘देशभरबाट टिकट माग्न आउने नेताहरूको भीड लागेको छ तर कहाँ बसेर, कसरी र कुन मापदण्डमा टिकट बाँडिँदैछ भन्ने थाहा छैन । सभापति गगन थापा र शेखर कोइरालाले मिलेर जाने भन्ने समाचारमा सत्यता छैन । आजसम्म केन्द्रीय समितिका कसैले पनि कोइरालासँग सम्पर्क गरेका छैनन् ।’

यसले स्पष्ट गर्दछ कि कांग्रेसको भित्री शक्ति सन्तुलन अझै चुनौतीपूर्ण छ । टिकट वितरणमा सभापति थापाको प्रभाव छ तर शेखर कोइरालाको पक्ष पनि आफ्नो दाबीमा अडिग छ । पार्टीले संसदीय बोर्ड बनाएर टिकट बाँड्न थालेको छ र हरेक जिल्लामा अन्तिम निर्णयको प्रक्रिया अझै चलिरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याउनु कांग्रेसका लागि रणनीतिक सफलता हो, तर पार्टीभित्रको असमञ्जस्यता र सञ्चारको अभावले मतदाता र कार्यकर्तामा अनिश्चितता सिर्जना गर्न सक्छ ।

 

 

 

 

 

 

 

 

गगनको हातबाट टिकट लिएर पूर्णबहादुर खड्का चुनाव नलड्ने, प्रचारमा जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्रको पछिल्लो घटनाक्रम र रणनीतिक विचारविमर्शपछि उनले २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि सिफारिसमा परेका थिए । तर, निकट स्रोतले पुष्टि गरे अनुसार, उनले चुनाव नलड्ने भए पनि देशभर पार्टीको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने छन् । एक निकट नेताले भने, ‘पूर्ण दाइ चुनाव लड्नु हुन्न, तर पार्टीलाई जिताउन देशभर प्रचारमा जानुहुन्छ । अदालतको निर्णय जुनसुकै भए पनि पार्टीलाई एकढिक्का बनाउन आफ्नो निकट नेताहरूसँग तयारीमा छन् ।’
उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको नतिजा अनुसार दुवै पक्षलाई एकढिक्का राख्ने रणनीति तय गरेका छन् ।

एक नेताले भने, ‘यदि अदालतले गगनजीको पक्षमा निर्णय गर्‍यो भने सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने, संस्थापनको पक्षमा आयो भने गगनजीहरूलाई पनि समेटेर पार्टी एकढिक्का बनाइन्छ ।’ यसैबीच समानुपातिक उम्मेदवार सूचीमा नेपाली कांग्रेसका ११० जना उम्मेदवार सार्वजनिक भएका छन् । निर्वाचन आयोगले आइतबार राति बन्दसूची जारी गरेको हो । सूची अनुसार विभिन्न जात, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

सूचीमा सबै जातीय, समुदायिक र लैंगिक प्रतिनिधित्व सुनिश्चित गरिएको हुँदा आगामी निर्वाचनमा पार्टीको समानुपातिक रणनीति स्पष्ट देखिन्छ । पूर्णबहादुर खड्काको चुनाव नलड्ने निर्णय र समानुपातिक सूचीको सार्वजनिक भएपछि कांग्रेसको रणनीति अब प्रचार र संगठन सुदृढीकरणतर्फ केन्द्रित हुने देखिन्छ ।
प्रमुख क्लस्टर र पहिलो नम्बरका उम्मेदवारहरु

 

 

 

 

देउवाको विडम्बना र गगनको उदय : कांग्रेसको नयाँ मोड

काठमाडौं । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक आन्दोलनको प्रमुख धरोहर हो । २००६ सालमा स्थापित यो दलले राणाशासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ को जनआन्दोलन र २०६२(६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । तर पार्टीको यो गौरवपूर्ण इतिहास गुटबन्दी, व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक द्वन्द्वले कलंकित पनि बनेको छ ।

विशेषगरी बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिको उत्तरार्द्ध (२०४७ यता) मा यी द्वन्द्वहरूले प्रमुख नेताहरूको पार्टी परित्याग, निष्काशन र ठूला विभाजनको रूप लिएका छन् । गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा परिवारवादले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई अलग बनायो । शेरबहादुर देउवा आफैं निष्काशित भएर अलग दल बनाएर फर्किए । अब, २०८२ मा गगन थापा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि देउवा पक्ष लगभग निष्काशित जस्तै भएको छ । यो संकटको श्रृंखलाले कांग्रेसको एकता र प्रजातान्त्रिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।

पार्टीको प्रारम्भिक विभाजनहरूको पृष्ठभूमि
कांग्रेसको इतिहासमा विभाजन नौलो होइन । स्थापनाको छोटो समयमै २००९ सालमा मातृकाप्रसाद कोइराला र वीपी कोइरालाबीचको मतभेदले पार्टी चार टुक्रा भएको थियो । मातृकाले अलग दल गठन गरे तर ती दलहरू लामो समय टिकेनन् । वीपीको नेतृत्व बलियो रह्यो । यो विभाजन मुख्यतः संविधानसभा निर्वाचन र दरबारसँगको सम्बन्धमा केन्द्रित थियो । तर बहुदलीय व्यवस्थापछिका विभाजनहरू व्यक्तिगत गुटगत द्वन्द्व, परिवारवाद र नेतृत्वको एकलकाँटे शैलीमा बढी आधारित भए । गिरिजाप्रसाद कोइरालाको प्रभुत्वकालमा कोइराला परिवारको प्रभावले धेरै वरिष्ठ नेताहरूलाई असन्तुष्ट बनायो । जसको परिणाम उत्तरार्द्धमा प्रमुख नेताहरूको पार्टी परित्याग भयो ।

गणेशमान सिंहको पार्टी परित्याग : नैतिक विद्रोहको प्रतिक
नेपाली कांग्रेसका ‘लौह पुरुष’ गणेशमान सिंह २०४६ को जनआन्दोलनका सर्वोच्च नेता थिए । उनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन आफैं पछि हटेका थिए । तर २०४८ मा कोइराला सत्ता र पार्टीमा प्रभुत्व जमाएपछि परिवारवाद, भ्रष्टाचार र निरंकुश शैली बढ्यो । सिंहले यी प्रवृत्तिलाई प्रजातन्त्रको लागि खतरा ठाने । उनले पार्टीका नेताहरू व्यक्तिगत लाभ र आर्थिक समृद्धिमा लागेको, जनता गरिबीमा रहेको आरोप लगाए ।

२०५१ सालमा गणेशमान सिंहले नेपाली कांग्रेसबाट औपचारिक राजीनामा दिए । यो राजीनामा नैतिक विद्रोहको रूपमा चिनिन्छ । राजीनामा दिएपछि उनी सक्रिय राजनीतिबाट अलग भए र २०५४ मा देहान्त भए । उनको यो कदमले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कमजोरी उजागर ग¥यो र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि ठूलो प्रश्न उठायो । गणेशमानले पार्टी छोडे पनि उनको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ । तर उनको परित्यागले उत्तराद्र्धको संकटको शुरुवात भएको मानिन्छ ।

कृष्णप्रसाद भट्टराईको अलगाव : सन्त नेता र गुट द्वन्द्वको शिकार
कृष्णप्रसाद भट्टराई (किशुनजी) वीपी कोइरालाका निकटतम सहयोगी थिए । उनी २०४७ मा पहिलो निर्वाचित प्रधानमन्त्री बने र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेले । सरल जीवन र नैतिकताका लागि प्रसिद्ध भट्टराईलाई ‘सन्त नेता’ भनिन्थ्यो । तर गिरिजाप्रसाद कोइरालासँगको द्वन्द्व र परिवारवादका कारण उनले पार्टीबाट अलग भएको घोषणा गरे ।

२०५६ को चुनावमा कांग्रेसले बहुमत ल्याएपछि भट्टराई दोस्रो पटक प्रधानमन्त्री बने । तर कोइराला पक्षको दबाब र गुटबन्दीले ९ महिनामै राजीनामा दिन बाध्य भए । कोइरालाले उनलाई हटाएर आफैं सत्ता सम्हाले । यसपछि भट्टराईले पार्टी बैठकहरूमा भाग लिन छोडे र अलगै बस्ने निर्णय लिए । उनी २०६७ मा देहान्त भए । भट्टराईको यो अलगावले कांग्रेसको आन्तरिक द्वन्द्वलाई थप उजागर गर्‍यो र उत्तराद्र्धमा नेताहरूको पार्टी परित्यागको प्रवृत्तिलाई बलियो बनायो ।

शेरबहादुर देउवाको निष्काशन र अलग दल गठन
शेरबहादुर देउवा यो क्रममा फरक छन् । २०५९ मा गिरिजाप्रसाद कोइराला सभापति रहँदा प्रधानमन्त्री देउवाले संसद् विघटन गरे । पार्टीले यो निर्णयलाई परामर्श नगरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्‍यो । देउवाले आफू स्वेच्छिक रूपमा होइन, पार्टीबाट हटाइएर अलग भएको दाबी गर्छन् । यसपछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । यो पार्टीको दोस्रो ठूलो विभाजन थियो । २०६४ मा जनआन्दोलनपछि एकीकरण भएर देउवा मूल पार्टीमा फर्किए र सभापति बने । अन्य नेताहरू जस्तै खुमबहादुर खड्का, विजयकुमार गच्छदार पनि विभिन्न समयमा अलग भए वा निष्काशित भए ।

हालको विभाजन : गगन थापाको उदय र देउवाको संकट
२०८२ पुसमा कांग्रेसभित्रको द्वन्द्व चरमोत्कर्षमा पुग्यो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पार्टी सुधार, पुस्तान्तरण र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आह्वान गरे । पार्टी विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनु पर्ने प्रावधान थियो । जसमा ५४–६० प्रतिशत हस्ताक्षर संकलन भएको थियो ।

पुसमा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन ग¥यो । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल लगायत नयाँ कार्यसमिति घोषणा भयो । यसअघि देउवा पक्षले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि निष्काशन गरेको थियो । जसलाई विशेष महाधिवेशनले खारेज गर्‍यो । दुवै पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिए । माघ २ गते आयोगले पार्टी विधान, बहुमत र विशेष महाधिवेशनको वैधानिकताका आधारमा गगन थापा पक्षलाई आधिकारिक मान्यता दियो । आयोगका आयुक्तहरू विभाजित भए । बहुमतले थापा पक्षको पक्षमा निर्णय गर्‍यो ।

यससँगै पार्टीको नाम, चुनाव चिन्ह (रुख), झण्डा र सानेपा कार्यालय थापा पक्षलाई प्राप्त भयो । देउवा पक्षले यो निर्णयलाई ‘पूर्वाग्रही र गैरकानूनी’ भन्दै अस्वीकार गरेको छ । पूर्णबहादुर खड्का जस्ता नेताले विरोध प्रदर्शन गरे र कानुनी लडाइँ (सर्वोच्च अदालतसम्म) को घोषणा गरेका छन् । आयोग परिसरमा दुवै पक्षका धर्ना र नाराबाजी भयो । यो पार्टीको इतिहासको तेस्रो ठूलो विभाजन हो । देउवाको वर्तमान परिस्थिति विडम्बनापूर्ण छ । २०५९ मा आफैं निष्काशित भएर अलग भएका देउवा अहिले निष्काशन गर्ने पक्षमा थिए । तर आयोगको निर्णयले उनी लगभग निष्काशित जस्तै बनेका छन् । देउवा पक्षले अलग दल गठन गर्ने वा अदालतबाट निर्णय उल्टाउने प्रयास गर्न सक्छ । तर आधिकारिक चिन्ह र संरचना गुमाएकाले चुनावी चुनौती ठूलो छ ।

यो प्रवृत्तिको कारण र प्रभाव
कांग्रेसको उत्तराद्र्धको यो इतिहासले व्यक्तिगत महत्वाकांक्षा, परिवारवाद र आन्तरिक लोकतन्त्रको अभावले पार्टी बारम्बार कमजोर बनेको देखाउँछ । गणेशमान र भट्टराईको नैतिक परित्यागदेखि देउवाको निष्काशन र हाल गगन पक्षको मान्यतासम्म–इतिहास दोहोरिएको छ । यस्ता विभाजनले पार्टीको एकता कमजोर बनाएको छ । चुनावी प्रदर्शनमा असर पारेको छ र प्रजातान्त्रिक मूल्यहरूमाथि प्रश्न उठाएको छ ।

अबको यात्रा : अनिश्चितता र नयाँ सम्भावना
फागुन २१, २०८२ को संसदीय निर्वाचन नजिकिँदै छ । गगन थापा पक्षले युवा नेतृत्व, सुधार र एकताको नारासहित निर्वाचन घोषणापत्र समिति गठन गरेर तयारी थालेका छन् । उनीहरूले गुट अन्त्य भएको र पार्टी आम सदस्यको चाहनाले चल्ने दाबी गरेका छन् । देउवा पक्षले मत विभाजन गरे अन्य दललाई फाइदा हुनसक्छ ।

दीर्घकालमा गगन पक्षले पार्टीमा नयाँ जोश ल्याउन सक्छ । तर पुराना नेताहरूको प्रतिरोध रहनेछ । इतिहासले देखाए जस्तै एकीकरण हुनसक्छ । तर अहिलेको रिसरागले कठिन छ । यदि कांग्रेसले आन्तरिक लोकतन्त्र बलियो बनाएन भने यो संकटको श्रृंखला जारी रहनेछ । देउवाको संकटले उनलाई अन्य नेताहरूको जस्तै पार्टी परित्यागको इतिहासमा जोड्छ । अबको यात्रा निर्वाचन परिणाम, कानूनी फैसला र नेताहरूको समझदारीमा निर्भर छ । कांग्रेसले यो संकटबाट पाठ सिकेर बलियो बन्नु नै आवश्यक छ ।

 

 

कांग्रेस एक ढिक्का बनाउने प्रयास जारी छ, टिकट वितरण न्यायपूर्ण हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता कायम राख्दै उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । भिडियो सन्देशमार्फत उनले निर्वाचनका लागि उम्मेदवार तय गर्ने काम समयको चापका बीच भइरहेको स्पष्ट पारेका छन् । थापाका अनुसार पार्टीका तल्ला तहदेखि नै उम्मेदवारहरूको सिफारिस भइसकेकाले अहिले ती सिफारिसकै आधारमा निर्णय गर्नुपर्ने बाध्यता रहेको छ ।

‘विशेष परिस्थितिमा आइपुगेकाले हात बाँधिएको अवस्था छ’, भन्दै उनले समय र प्रक्रियागत सीमाका कारण सबै अपेक्षा पूरा गर्न कठिन भएको स्वीकार गरे । उनले उम्मेदवार छनोटमा नयाँ र अनुभवी दुवै खाले नेताहरूलाई समेट्ने प्रयास भइरहेको बताएका छन् । पार्टीभित्र समावेशिता र सन्तुलन कायम राख्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले भने, ‘नयाँ र पुरानो दुवैको संयोजन गरेर सक्षम उम्मेदवार अघि सार्ने प्रयासमा छौं ।’

निर्वाचन आयोग र अदालतसँग सम्बन्धित विषयले पनि उम्मेदवार छनोटमा ढिलाइ भएको उनको भनाइ थियो । पार्टीको जिम्मेवारी सम्हालेपछि आफू निरन्तर निर्वाचन आयोग धाइरहेको उल्लेख गर्दै उनले पार्टीभित्रै केही नेताहरूले कानुनी परीक्षणको बाटो रोजेकाले प्रक्रिया थप जटिल बनेको बताए । ‘चित्त नबुझेका साथीहरूलाई पनि सँगै लिएर अघि बढ्ने प्रयास हिजो साँझसम्म जारी थियो’, थापाले भने, ‘तर समय अत्यन्तै सीमित भएकाले अब आजै सबै विषय टुङ्ग्याउनु पर्ने अवस्थामा पुगेका छौं ।’

उनले पार्टीभित्र देखिएका असहमतिका बाबजुद संवाद र समझदारीमार्फत एकता कायम गर्न कठिन प्रयास भइरहेको पनि बताए । उम्मेदवार छनोटपछि कांग्रेस आधिकारिक उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता र नेताहरू एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । ‘सबैको चाहना पूरा नहुन सक्छ’, भन्दै थापाले अपिल गरे, ‘तर पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउने अभियानमा कुनै मनमुटाव नराखी जुट्नु अहिलेको आवश्यकता हो ।’ उनले कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर निर्वाचनमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

 

सर्वोच्चको निर्णय स्वीकार्य हुनेछ, रूख चिह्न बाहेक अन्यथा कल्पना गर्न सकिन्न : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन, नयाँ दल दर्ता वा स्वतन्त्र उम्मेदवारीको कुनै विकल्प आफूहरूको एजेण्डामा नरहेको स्पष्ट पारेका छन् । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको टुंगो अदालतले लगाउने र त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गर्ने खड्काको भनाइ छ ।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको पहिचानका रूपमा रहेको रूख चुनाव चिह्नबाहेक अन्य कुनै विकल्प कल्पनै गर्न नसकिने बताएका छन् । उनले पछिल्लो समय चलाइएका ‘नयाँ पार्टी खोल्ने’ वा ‘स्वतन्त्र उम्मेदवारी दिने’ जस्ता हल्लाप्रति पार्टी पंक्तिलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

खड्काका अनुसार विवादको समाधान संस्थागत र कानुनी प्रक्रियाबाटै हुनुपर्छ । ‘निर्वाचन आयोगको निर्णयविरुद्ध हामी सर्वोच्च अदालत गएका छौं । अदालतले जे फैसला गर्छ, त्यसैलाई हामी स्वीकार गर्छौं’, उनले लेखेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उत्पन्न विवाद चुलिएको हो ।

उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू आइतबार सर्वोच्च अदालत पुगेका थिए । खड्काले आन्तरिक असहमति भए पनि कांग्रेसको ऐतिहासिक चिन्ह र संस्थागत निरन्तरतामाथि कुनै सम्झौता नहुने संकेत दिएका छन् । पार्टीभित्रका सबै पक्षलाई संयम र एकतामा रहन आग्रह गर्दै उनले कानुनी निकास नै स्थायी समाधान हुने धारणा दोहोर्‍याएका छन् ।

 

 

कांग्रेस विवाद टुंगो नलागेसम्म निर्वाचन कार्यतालिका स्थगन गर्न देउवा पक्षको निवेदन

काठमाडौं । नेपाली कांग्रेसको विवाद सर्वोच्च अदालतले टुंगो नलगाएसम्म प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता मिति स्थगन गर्न माग गर्दै शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरे लगत्तै देउवा पक्षले निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका छन् ।

रिट निवेदनमा कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ । ‘निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडि गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्तसमेत विपरीत छ, त्यसउपर आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेशसमेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेसीसमेत तोकी पाएको हुँदा,’ निवेदनमा भनिएको छ, ’उक्त मुद्दाको सम्बन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मनोनयनलगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनि निवेदन लिई उपस्थित भएको छु ।’

‘निर्वाचन आयोगमो गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो,’ अधिवक्ता जोशीले भने । ‘नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको निरुपण नगरी पदाधिकारीको विवरण अध्यावधिक गरी पाउँ भन्ने कथित निवेदनको आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गनै नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, कांग्रेसका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाइको मौकासमेत नदिई माग २ गतेको आयोगको निर्णयले कांग्रेसलाई निर्वाचनमा जान बञ्चित गरेको देखिन आयो ।’ प्रतिनिधिसभा निर्वाचनका लागि यही माघ ६ गतेका लागि मनोनयन दर्ता समय तोकिएको छ ।

 

शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्ने सहमति भइसक्यो : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कांग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।

नेता शर्माले कांग्रेस पार्टीका लागि सर्वस्वहरणमा परेको कोइराला परिवारका कुनै पनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । उनले वरिष्ठ नेता कोइरालाले निर्वाचन आयोगले आधिकारिता दिएको कांग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताए ।

नेता शर्माले भने, ‘शेखर दाइहरु गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । के बुझ्नु होला भने–शेखर कोइरालाहरुलाई अथवा कोइराला फ्यामिलीलाई यो पार्टी फुटेको मन परेको होला ? होइन । उहाँहरुको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ । सर्वस्वहरण भएको छ । आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भएपनि शेखर कोइरालाले पार्टी बचाई दिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनु पर्छ । पार्टी बचाउन लागि रहनु भएको छ ।’ नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताए । उनले निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

छुट्टै रणनीति बनाउन शेखर समूह छलफलमा, गएन सर्वोच्च अदालत

काठमाडौँ । नेपाली कांग्रेसको भित्रभित्रको शक्ति संघर्ष अझै तातिरहेको छ । पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतसँग सम्बन्धित मुद्दामा कांग्रेस नेता डा. शेखर कोइरालाको समूहले छुट्टै रणनीति अघि बढाएको देखिएको छ ।

कांग्रेस नेता कोइरालाले आफ्ना निकटका नेताहरूसँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक डाकेर पछिल्लो राजनीतिक घटनाक्रममा छलफल गरेका छन् । पूर्व सहमहामन्त्री जीवन परियारले भने, ‘हाम्रो समूहका नेताहरु रुख चिन्ह र झन्डा जहाँ छ, त्यहाँ रहनेछौं । छुट्टै पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी उठ्ने कुरा हुने छैन। शेखर दाई यसबारेमा सबैसँग परामर्श गरिरहेका छन् ।’

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधता दिएको थियो । देउवा पक्षका नेताहरू यस निर्णयको विरोध गर्दै कानुनी लडाइँ अघि बढाउने तयारीमा छन् । बुधबार सर्वोच्च अदालत पुगेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मा जस्ता नेताहरू आयोगको निर्णय खारेज माग गर्दै रिट दायर गरेका थिए ।

तर, शेखर कोइरालाको समूह सर्वोच्च अदालतमा उपस्थित भएन । यसको सट्टा उनीहरूले आफ्नै नेताहरूको बैठक बोलाएर रणनीति तय गर्न लागेको बुझिएको छ । डा. कोइरालाले दिउँसो १ बजे बैठक बोलाएका थिए । यसअघि हिजोको बैठकमा पनि उनीसहितका नेताहरू उपस्थित थिएनन् ।

विश्लेषकहरूका अनुसार, कोइराला समूहले कांग्रेसको मूलधारबाट अलग नहुने सन्देश दिँदै पनि आफ्नै रणनीति तयार पार्ने क्रममा रहेको देखिन्छ । पार्टीभित्रको विभाजनको सम्भावना कायमै रहे पनि, कोइरालाले आफूहरूको समूह र पार्टीको एकता कायम राख्ने दिशामा छलफल गरिरहेको बुझिन्छ । यस घटनाक्रमले नेपाली कांग्रेसमा नेतृत्व र वैधताको सवाल अझै संवेदनशील बन्न पुगेको छ । सर्वोच्च अदालतले सुनुवाई आगामी ६ गते तोकेको छ, जसपछि राजनीतिक परिस्थितिमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।

 

 

 

सर्वोच्च अदालतमा रिट दर्ता गर्दा देउवा पक्षका यस्ता छन् तीन माग

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको विशेष महाधिवेशन र निर्वाचन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट निवेदन निवर्तमान सभापति देउवाको नाममा वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको हो । आइतबार बिहान देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू सर्वोच्च पुगेका थिए र तत्काल सुनुवाइको माग गरेका थिए । सर्वोच्च प्रशासनले कानुनअनुसार तत्काल सुनुवाइ नमिल्ने जानकारी दिएको छ । रिटको पेसी मंगलबार, माघ ६ गते तोकिएको छ ।

रिटमा देउवा समूहले मुख्यतः तीन माग प्रस्तुत गरेका छन् :

विशेष महाधिवेशन अवैधानिक ठहरः देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भंग गर्न माग गरेका छन् । निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकः प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते तोकिएको उम्मेदवारी मनोनयन रोक्न माग गरिएको छ । यदि मनोनयन भइसकेको छ भने स्थगित गरी नयाँ मिति घोषणा गर्नुपर्ने माग पनि रिटमा राखिएको छ ।

निर्वाचन आयोगको निर्णय बदरः निर्वाचन आयोगले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको निर्णय बदर गर्न माग गरिएको छ । रिटमा निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विपक्षी बनाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता भएको र पेसी माघ ६ गते तोकिएको पुष्टि गरेका छन् । रिट दायर भए पनि कानुनी प्रक्रियाअनुसार सुनुवाइ तत्काल हुने छैन । यो घटनाले नेपाली कांग्रेसमा चलिरहेको नेतृत्व विवादलाई अझै उग्र बनाउने सम्भावना देखिन्छ । देउवा समूह र गगन थापा समूहबीचको राजनीतिक टकराव आगामी निर्वाचन र पार्टीको आन्तरिक व्यवस्थापनमा निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ ।

 

 

गगनतिर नेताहरु खुल्दै जाँदा कमजाेर बनेकाे देउवा समूह सर्वाेच्चमा

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै आएको आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसविरुद्ध पूर्व सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । आयोगको निर्णय बदर र अन्तरिम आदेश माग गर्दै देउवा पक्षका नेताहरूले रिट दायर गरेका हुन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायत नेताहरूको अगुवाइमा दर्ता गरिएको रिटमा आयोगको निर्णय संविधान, प्रचलित कानुन, स्थापित नजिर र पार्टी विधानविपरीत भएको दाबी गरिएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ कानुनविद्हरूको परामर्शमा रिटको मस्यौदा तयार गरिएको देउवा पक्षले जनाएको छ । शनिबार बसेको सानेपास्थित देउवा पक्षीय बैठकले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ ठहर गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

अदालतको प्रतीक्षामा देउवा–शेखर धार
देउवा पक्षभित्रै अब दुईथरी धार देखिन थालेको छ । एकथरी नेताहरू अदालतको आदेश नआएसम्म कुनै निर्णय नलिने पक्षमा छन् भने अर्कोथरी भने पार्टीको रुख र चारतारे झण्डा जहाँ छ, त्यहीं कांग्रेस रहेको तर्क गर्दै मूल प्रवाहमै फर्कनुपर्ने मत राखिरहेका छन् । शेखर कोइराला भने आयोगको निर्णयलाई लिएर कानुनी उपचार खोज्न सकिने भए पनि सडक आन्दोलन र संघर्षको पक्षमा नरहेको बताउँदै आएका छन् । उनीनिकट नेताहरू अदालतको आदेशपछि मात्र थप कदम चालिने संकेत गरिरहेका छन् ।

पूर्व केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा, दिनेश कोइरालालगायत नेताहरूले भने आयोगको निर्णय स्विकारेर अघि बढ्न आह्वान गरेका छन् । ‘परिवर्तनलाई डर होइन, आत्मसात् गर्नुपर्छ’, भन्दै उनीहरूले नयाँ नेतृत्वलाई स्वीकार गरी एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

गगन थापा नेतृत्वको सन्देश : सम्मान र एकता
यता, आयोगबाट मान्यता पाएपछि बानेश्वरमा बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पूर्व सभापति शेरबहादुर देउवालाई ‘अभिभावकीय भूमिका’ मा बस्न आग्रह गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैठकपछि जारी वक्तव्यमा देउवाको लामो योगदानको सम्मान गर्दै अग्रज नेताहरूको साथ र मार्गदर्शनमा पार्टी अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसलाई टोलदेखि केन्द्रसम्म एकताबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिइएको छ । पार्टीभित्र रहेका सबै धार र समूहसँग संवाद गरेर एकताको वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

चुनावी तयारी तीव्र, टिकटमा ‘भागबण्डा’ अन्त्यको संकेत
कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी थालेको छ । सभापति गगन थापाको नेतृत्वमा रहेको संसदीय बोर्डले यसअघि क्षेत्रबाट सिफारिस भएका आकांक्षीहरूबाट ‘सर्ट लिस्ट’ तयार गर्ने काम अघि बढाएको छ । देउवा पक्षलाई समेट्ने प्रयास भइरहेकाले हाल थप सदस्य नियुक्त नगरी आवश्यकताअनुसार परामर्शका आधारमा टिकट वितरण प्रक्रिया अघि बढाइएको छ । नेताहरूले यस पटक टिकट वितरणमा विगतको ६०-४० जस्तो भागबण्डा नदोहोर्‍याउने संकेत दिएका छन् । ‘नाता, दाता र धनका आधारमा होइन, जित्न सक्ने र काम गर्ने उम्मेदवारलाई मौका दिनुपर्छ’, भन्ने आवाज पार्टीभित्र बलियो बन्दै गएको छ ।

पार्टी कार्यालय विवाद र समानान्तर गतिविधि
निर्वाचन आयोगको मान्यता पाए पनि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ नेतृत्वले बैठक बस्न सकेको छैन । कार्यालय पूर्वसभापति देउवा पक्षको नियन्त्रणमा रहेको आरोप गगन पक्षको छ । देउवा पक्षले भने भवन मर्मत र सुरक्षाका कारण कार्यालय प्रयोगमा ल्याउन नसकिएको स्पष्ट पारेको छ । यसबीच, भ्रातृसंस्थाका नेतृत्व र पुरानो संस्थापनका नेताहरूसँग संवाद तीव्र पारिएको छ । तेस्रो तहका धेरै नेता–कार्यकर्ता मूल कांग्रेसमै फर्कन इच्छुक देखिएका छन् ।

कांग्रेसको भविष्य अदालत र राजनीतिले तय गर्ने
अब नेपाली कांग्रेसको औपचारिक नेतृत्व र आगामी राजनीतिक दिशा सर्वोच्च अदालतको आदेशमा धेरै हदसम्म निर्भर हुने देखिएको छ । अदालतले दिने आदेशपछि देउवा, शेखर र अन्य धारहरूको रणनीति स्पष्ट हुनेछ । तर, गगन थापा नेतृत्वको कांग्रेस भने कानुनी प्रक्रियासँगै चुनावी मैदानमा एकताबद्ध भएर उत्रने तयारीमा जुटिसकेको छ । कांग्रेसभित्रको यो संघर्ष केवल नेतृत्वको मात्र नभई पार्टीको भावी चरित्र, पुस्तान्तरण र राजनीतिक संस्कृतिको परीक्षा पनि बनेको छ। अदालतको फैसला र त्यसपछि देखिने एकताको स्वरूपले नै कांग्रेसको आगामी यात्रा तय गर्नेछ ।

 

 

 

कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, गगन थापा प्रधानमन्त्री बन्छन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र बहुमत हासिल गरेर गगन थापालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकार गर्नु अब सबैका लागि बाध्यकारी रहेको बताए । निर्वाचन आयोगले आधिकारिकता दिइसकेको नेतृत्वलाई नस्वीकार्ने कुनै विकल्प नभएको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई मिलाएर अघि बढ्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको स्पष्ट पारे ।

उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन आवश्यक परेको हो । ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु बाहेक अर्को विकल्प छैन’, उनले भने, ‘नेताहरूले आफ्नो व्यक्तिगत इगो त्यागेर कांग्रेसलाई एकढिक्का बनाउनु पर्छ ।’

शर्माले आगामी आमनिर्वाचनमा कांग्रेसको ठूलो प्रतिस्पर्धी नदेखिएको दाबी गर्दै नयाँ नेतृत्वको टिमले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरे । ‘कांग्रेस गठबन्धनमा जाँदैन । १६५ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुन्छन् । दुविधा छैन, गगन थापालाई प्रधानमन्त्री बनाएर जाने हो’, उनले भने।

उनले सभापति थापा, उपसभापतिसहितको नयाँ नेतृत्वले संस्थापन पक्षका नेताहरूलाई पनि समेटेर पार्टीलाई एकतामा ल्याउने विश्वास व्यक्त गरे । पार्टी फुटेको नभई अधिवेशन वैधानिक भइसकेकाले असन्तुष्ट नेताहरूलाई संवादमार्फत मिलाइने उनको भनाइ थियो ।

‘नेतृत्वमा अहिले जो आउनु भएको छ, उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ, विगतमा लामो समय नेतृत्वमा रहेकाहरू पनि अनुभवी र बुद्धिमान छन्’, शर्माले भने, ‘सबैले इगो त्यागेर पार्टीलाई एकढिक्का बनाएर लगे भने आगामी निर्वाचनमा कांग्रेसको प्रतिष्पर्धी नै हुँदैन । हामी स्वीप गर्छौं।’ उनका अनुसार पार्टीभित्रको एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो र त्यसलाई कायम राख्न सके कांग्रेसले एक्लै बहुमत ल्याएर सरकार बनाउने निश्चित छ ।

कांग्रेसले एक्लै चुनाव लड्ने, अप्राकृतिक गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि अप्राकृतिक चुनावी गठबन्धन नगरी एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिने स्पष्ट निर्णय गरेको छ । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले सत्ता केन्द्रित सम्झौता र अवसरवादी गठबन्धनलाई पूर्ण रूपमा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस अब आफ्नै शक्ति, नीति र संगठनको भरोसामा जनतामाझ जाने बताए । उनका अनुसार पार्टीले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने र जेन–जी (नयाँ पुस्ता) को आकांक्षा तथा जनअपेक्षालाई प्रतिनिधित्व गर्ने राजनीतिक एजेण्डालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको औपचारिक प्रशंसा गर्दै आगामी दिनमा उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेको छ । ‘देउवाजीले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो, त्यस योगदानको कदर गर्दै हामी हार्दिक आभार व्यक्त गर्छौं’, प्रवक्ता चालिसेले भने ।

केन्द्रीय समिति बैठकमा पार्टीभित्र देखिएका मतभेदलाई स्वाभाविक भन्दै त्यसलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गरिने पनि स्पष्ट गरिएको छ। देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने तयारीमा रहेको चर्चा चलिरहेका बेला कांग्रेस नेतृत्वले चुनावको मुखमा पार्टीलाई संकटमा पार्ने कुनै कदम नचालिने विश्वास व्यक्त गरेको छ ।

‘असहमति हुनु स्वाभाविक हो, तर कांग्रेस सबैको साझा पार्टी हो’, चालिसेले भने, ‘विगतका घटनाका आधारमा कुनै आग्रह–पूर्वाग्रह नराखी असहमत मतको सम्मान गरिन्छ । टिकट वितरणलगायतका विषयमा पनि विगतको अन्याय दोहोरिन दिइँदैन ।’

कांग्रेसले अब पार्टी एकता, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई मुख्य आधार बनाएर निर्वाचनमा जाने संकेत दिएको छ । अप्राकृतिक गठबन्धनबाट टाढा रहँदै आफ्नै राजनीतिक पहिचान र जनसमर्थन बलियो बनाउने यो निर्णयले आगामी चुनावी राजनीतिमा कांग्रेसको रणनीति स्पष्ट रूपमा नयाँ दिशातर्फ मोडिएको देखिन्छ ।