`

कांग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङग्य : शीतकालको कोइलीझैं मौन बसेको छ

Nepal One HD १३ माघ २०८२ १५:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन् । हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उनले बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरू भए पनि उनीहरुलाई संविधानले पहिचान गर्न नसकेको उल्लेख गरे । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाए । उनले जेन–जी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गरे । जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उनले बताए । तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुन सक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

सांसद मिश्रले राज्य सञ्चालन गर्नेहरूले सिंहदरबार, अदालत लगायका सार्वजनिक सम्पतिमाथि आगजनी गर्ने वास्तविक दोषी पहिचान गर्न नसकेको बताए । सरकारले गठन गरेको छानविन आयोगप्रति समेत उनले प्रश्न उठाए । दोषीलाई कारबाही गर्न भन्दा प्रमाण नष्ट गर्न आयोग गठन गरिएको हो भन्ने आशंका उत्पन्न भएको उनको भनाई । उनले भने, ‘संविधान छैन भनौँ हामी बोलिरहेका छौँ, राष्ट्रिय सभा जीवितै छ । अझ यसको निरन्तरताको लागि निर्वाचन समेत भएर नयाँ सांसदहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुलाई पनि बधाइ छ । प्रदेश र स्थानीय तहहरु काम गरिरहेका छन् । संविधान छ भनौँ, कसरी भनौँ । प्रधानमन्त्री र मन्त्रीहरु त छन्, तर संविधानले पहिचान गर्न सकेको छैन । छ कि छैन म कानुनको ज्ञाता नभएकोले बोल्ने निकायले बोलिदिनु पर्ने हो । सर्वोच्च अदालत तर उ शीतकालको कोइली जस्तै मौन भएर बसेको छ ।’

उनले भने, ‘हामी सानो छँदा पढ्थिम्, मानौँ मौन अवधि हुन्छ, कोइली शीतकालमा, के बोलौँ, के नबोलौँ, खुट्टा कामीरहन्छ । तर मनले मान्दैन, बोल नारायण बोल भन्छ । विदेशीहरुले नेपाल चिन्नको लागि पहिले एभरेन्टको देश भनेर भन्थे, कतिले गौतम बुद्धको भनेर आस्था गर्छन् भने कतिले पशुपतिनाथको देश भन्छन्, अब एउटा कुरा कही थपिन्छ की भन्ने डर छ, विदेशीहरुको क्रिडास्थल देश । जेनजीहरुको नाममा भएको आन्दोलनका केही नकरात्मक, सकारात्मक सन्देशहरु पनि छन् ।’

उनले थपे, ‘जेनजी आन्दोलनले एउटा ठूलो फाइदा देशलाई पुर्‍याएको छ । कतिपय मानिसहरु आफू राजनीतिमा स्थापित हुनको लागि जातीयता र क्षेत्रीयताको भावना खेल्थे, तर यो आन्दोलनले सबै नेपाली एक हौँ भन्ने भावना विस्तार गरेको छ । युवाहरुलाई कर्तव्यवोध गराएको छ । संगसंगै एउटा खराब पराम्पराको विकास हुन्छ की भन्ने चिन्ताले पनि सताईरहेको छ की कसैलाई शासनबाट लखेट्न वैधानिक र बैचारिक बाटोको सट्टा तोडफोड र आगजानी गरिदिने खराब बाटोबाट देश र देशका युवाहरु उद्धत हुन्छन् की भन्ने डरले सताईरहन्छ । हामी हेरिरहेका छौँ, सिंहदरबारको खरानीको थुप्रोमाथि बसेर राज्य सञ्चालन गर्नेहरुले त्यो खरानी गर्नेहरुको पत्तो लगाउन खोजेका छन् की कही त्यसै खरानी भित्र भएका, पत्ता लगाएका प्रमाणहरु नष्ट गर्नको लागि आयोग बनाएका छ होइनन् ? शंका लाग्छ । यो कुरा केही दिनमा घाम जस्तै छर्लङ्ग हुने नै छ । २३ र २४ गतेको घटना कसले घटायो भन्दा पनि त्यसबाट कसले फाइदा लियो ? को राजनीतिमा आधा रातमा सूर्य उदाएझै उदाएका छन् ? को शासनसत्ताको हालीमुहाली गरेर पनि चुनाव ताक्न पनि पछि नपरेका छन् ।’

सांसद मिश्रले भदौ २३ र २४ गतेको घटना कसले गर्‍यो भन्दा पनि त्यसबाट कसले राजनीतिक लाभ लियो भन्ने प्रश्न महत्वपूर्ण भएको उल्लेख गरे । सो घटनापछि को रातारात उदाएको छ, को सत्ता र शासनको बलमा चुनावी तयारीमा जुटेको छ भन्ने कुरा जनताले नियालिरहेको उनको भनाई छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *