कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिरभित्रै सक्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ। अधिवेशनको ठ्याक्कै मिति भने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने भएको छ।
नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले मंसिरभित्रै सबै बाँकी अधिवेशन सम्पन्न गर्ने जानकारी दिएका हुन्। उनका अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि बस्ने बैठकले अधिवेशनको कार्यतालिका टुंग्याउनेछ।
अधिवेशन छठलगत्तै गर्ने वा मंसिरको अन्तिमतिर गर्ने भन्ने विषयमा छलफल हुन सक्ने भए पनि अन्तिम निर्णय केन्द्रीय समितिबाटै हुने राणाले बताएका छन्।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। त्यसबेला समयको चापका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गर्दै वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशनबाट चयन भएका प्रतिनिधिको सहभागितामा केन्द्रीय महाधिवेशन गरिएको थियो।
महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले एउटा मात्रै निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी ४२ जिल्लामा भने अधिवेशन हुन सकेको छैन।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय समितिले नै निर्धारण गर्ने बताएका छन्। उनका अनुसार अधिवेशनको समयतालिका मंसिरभन्दा पर जाने सम्भावना छैन।
अब केन्द्रीय कार्यसमितिको बैठकले मिति र कार्यतालिका टुंग्याएपछि कांग्रेसका बाँकी जिल्ला तथा प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ्नेछ।
