सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा, भोलि पार्टी कार्यालयमै बैठक
काठमाडौं । लामो समयदेखि देखिएको आन्तरिक विवाद र आधिकारिकताको अन्योलपछि नेपाली कांग्रेसको नयाँ नेतृत्व पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति शुक्रबार पहिलोपटक सानेपामै बैठक बस्न लागेको हो ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि पार्टीभित्रको किचलो र निवर्तमान नेतृत्वको असन्तुष्टिका कारण नयाँ कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन । यस अवधिमा बसेका दुई वटा केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालयबाहिर होटल र पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार सभापति थापासहित केन्द्रीय कार्यसमितिको टोली सानेपा जाने र सोही दिन कार्यालयमै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । ‘सभापति ज्यूको नेतृत्वमा हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं र त्यहीँ केन्द्रीय समिति बैठक बस्छ’, उनले बताए ।
यद्यपि, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अधिकांश केन्द्रीय नेताहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएकाले शुक्रबारको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सदस्यहरू मात्र सहभागी हुनेछन् । विशेष महाधिवेशनलाई लिएर देखिएको विवादका बीच निर्वाचन आयोगले उक्त महाधिवेशनलाई मान्यता दिएपछि थापा नेतृत्वको कार्यसमितिले औपचारिक रूपमा काम गर्न पाउने बाटो खुलेको थियो । आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यसअघि देउवा पक्षधर नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरूले विरोधस्वरूप केही दिन केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । तर, पछिल्लो समय तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबै कार्यकर्तालाई चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएपछि उनीहरूले कार्यालय खाली गरिसकेका छन् । विशेष महाधिवेशनपछि पहिलो पटक सभापति गगन थापाको उपस्थितिमा सानेपामै केन्द्रीय समिति बैठक बस्न लाग्नु कांग्रेसभित्रको शक्ति सन्तुलन र संगठनात्मक गतिविधिमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ ।
