`

सानेपामा देउवा समूहको भेला, गगनले बानेश्वरमा बोलाए कांग्रेसको पहिलो बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र शक्ति संघर्ष तीव्र बनेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई वैधानिक मान्यता दिएसँगै पार्टीभित्र दुई फरक केन्द्रबाट समानान्तर गतिविधि सुरु भएका छन् ।

आयोगबाट शुक्रबार आधिकारिकता पाएपछि थापा नेतृत्वको नव निर्वाचित केन्द्रीय कार्यसमितिले शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा पहिलो बैठक बोलाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन व्यवस्थापन, आगामी रणनीति र विविध विषयमा छलफल हुनेछ । पार्टी कार्यालय सानेपा बाहिर बैठक राखिनु आफैंमा असहज परिस्थिति र आन्तरिक विवादको संकेतका रूपमा हेरिएको छ ।

यता, निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै शेरबहादुर देउवा समूहले पार्टी कार्यालय सानेपामै छुट्टै भेला आह्वान गरेको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको भेलालाई पनि केन्द्रीय कार्यसमितिको बैठककै रूपमा प्रस्तुत गरिएको छ ।बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको वर्तमान अवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयबारे गहन छलफल हुनेछ ।
निर्णयलगत्तै देउवा समूह अझ आक्रामक रणनीतिमा उत्रिएको छ । शुक्रबार राति महाराजगञ्जस्थित देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकले कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने निष्कर्ष निकालेको छ । बैठकमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महतलगायत नेताहरू सहभागी थिए ।

देउवा समूहले शनिबार नै केन्द्रीय कार्यसमितिको बैठकबाट देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आइतबार अदालत जाने तयारी गरेको जनाएको छ । आन्दोलनमा तरुण दललाई सक्रिय पार्ने निर्णय समेत भइसकेको छ । देउवा पक्षले निर्वाचन आयोग सरकार र बाह्य दबाबमा परेको आरोप लगाउँदै आगामी फागुन २१ मा तय निर्वाचन हुन नदिने रणनीति बनाएको बताइएको छ ।

यसअघि सानेपामा आयोजित पत्रकार सम्मेलनमा पूर्णबहादुर खड्काले आयोगले विधान र संविधानविपरीत निर्णय गरे देशभर सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनले १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै समिति आधिकारिक रहेको दाबी दोहोर्‍याएका थिए ।
निर्वाचन आयोगमा भने बहुमतका आधारमा निर्णय भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सुमन शम्शेर राणाले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने पक्षमा मत दिए भने आयुक्त जानकी तुलाधर विपक्षमा उभिएकी थिइन् ।

अब कांग्रेस एकातिर वैधानिक मान्यता पाएको नयाँ नेतृत्वसहित औपचारिक बैठकतर्फ अघि बढिरहेको छ भने अर्कातिर पुरानो नेतृत्व आन्दोलन र अदालतको बाटो रोज्दैछ । एउटै पार्टीभित्र दुई ध्रुव, दुई बैठक र दुई रणनीतिले कांग्रेसको आगामी राजनीतिक यात्रालाई झनै पेचिलो बनाएको छ ।

देउवा पक्षका कसैप्रति ‘गालीगलौज’ नगर्न गगन–विश्वको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेका बेला गगन थापा–विश्वप्रकाश शर्मा समूहले शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तामाथि कुनै पनि प्रकारको गालीगलौज नगर्न स्पष्ट निर्देशन दिएको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म संयम अपनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक सर्कुलर नै जारी गरिसकेको उक्त समूहका एक पदाधिकारीले बताएका छन् ।

उनका अनुसार भविष्यमा पार्टीको आधिकारिकता कसको पक्षमा आए पनि सबैलाई समेटेर अघि बढ्नु पर्ने भएकाले अहिले नै कटु शब्द प्रयोग नगर्न नेतृत्वले सचेत गराएको हो । ‘भोलि हामीले आधिकारिकता पाए पनि पार्टी एकताबद्ध बनाएर लैजानु पर्छ । त्यसैले अहिले अर्को पक्षमा रहेका नेताहरूलाई लक्षित गरेर गालीगलौज नगर्न सभापति र उपसभापतिले निर्देशन दिनु भएको छ,’ ती पदाधिकारीले भने ।

यसअघि देउवा पक्षले भने गगन थापा पक्षका नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमा अपशब्द प्रयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यही विवादका बीच बिहीबार दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्। गगन थापा नेतृत्वको समूह आधिकारिकता दाबी गर्दै आयोगभित्र छलफलमा जुटेको थियो भने शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ता आयोग बाहिर नाराबाजी गर्दै उपस्थित भएका थिए । देउवा समूहले ‘विशेष महाधिवेशन चिन्दैनौं’, ‘शेरबहादुर देउवा जिन्दावाद’ र ‘नेपाली कांग्रेस जिन्दावाद’का नारा लगाएका थिए ।

आयोगभित्र छलफल सकेर गगन थापा समूह बाहिरिँदा उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री प्रदीप पौडेललाई फोन गरेर बाहिरिन आग्रह गरेको बताइएको छ । यद्यपि, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कार्यकर्तालाई आयोग परिसर नछाड्न आग्रह गर्दै गेटमै रोक्न खोजेका थिए । प्रहरीले भने सुरक्षा कारण देखाउँदै परिसर खाली गर्न निर्देशन दिइरहेको थियो ।

निर्वाचन आयोगको कार्यालय र गेट वरिपरि दुवै पक्षका कार्यकर्ताको बाक्लो उपस्थिति भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । पार्टीको आधिकारिकतासम्बन्धी निर्णय निर्वाचन आयोगले गर्ने भएकाले अबको केही समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा थप तनाव र प्रतीक्षा दुवै रहने देखिएको छ ।

 

 

 

 

निर्वाचन आयोगमा देउवा र गगन पक्षधर कांग्रेसको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ । पार्टीको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) र विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) दुवैले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीवार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो ।

त्यसको प्रतिवादमा शुक्रवार बिहानै देउवा पक्षका शिर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो । आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।

आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । नेपाली कांग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् । यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।
तस्वीरहरु : अनुप प्रधान / न्युज एजेन्सी नेपाल

 

 

कांग्रेसको दुई समूहको उपस्थितिले निर्वाचन आयोगमा तनाव, उच्च सुरक्षा सतर्कता

काठमाडौं । नेपाली कांग्रेसको दुई पक्षको उपस्थितिले निर्वाचन आयोग कार्यालय परिसरमा तनाव सिर्जना भएको छ । भर्खरै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेससँग छलफल चलिरहेका बेला सानेपाबाट पत्रकार सम्मेलन आयोजना गरी पुनः निर्वाचन आयोग पुगेको देउवा पक्षीय कांग्रेसका नेता–कार्यकर्ताबीच विवादको अवस्था सिर्जना भएको हो ।

जसका कारण अहिले आयोग कार्यालय परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दुवै पक्षका कांग्रेसले आफू आधिकारिक भएको दावी गर्दै आयोगमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले आज दुबै समूहसँग छलफल गरेको थियो । आयोगले पहिलो चरणमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेससँग पार्टीको आधिकारिकता, चुनाव, चिन्ह र झण्डका विषयमा छलफल गरेको थियो । त्यसपछि उक्त पक्ष आफ्नो पार्टी कार्यालय सानेपा फर्किएको थियो ।

देउवा पक्षीय कांग्रेससँगको छलफलपछि गगन थपा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता आधिकारिकता दावीसहित आयोगमा धलफल गर्न पुगेका थिए । उनीहरुले आफूलाई आधाकारितकता दिनुपर्ने दावी गर्दै धर्ना समेत दिएका थिए । सानेपामा पत्रकार सम्मेलनपछि देउवा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता पुनः आयोग पुगेपछि तनावको अवस्था सिर्जना भएको हो । सानेपाको पत्रकार सम्मेलनमा कांग्रेस कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

 

दुई दिनभित्र १६५ क्षेत्रका उम्मेदवार टुंग्याउँछौं, आयोगले छिटो निर्णय देओस् : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेस (गगन पक्ष) ले आगामी निर्वाचनका लागि १६५ क्षेत्रका उम्मेदवार दुई दिनभित्रै टुंग्याउने तयारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगसँग छिटो निर्णय दिन आग्रह गर्दै कांग्रेसको विषयमा आयोगसँग पूर्ण सहकार्य रहने बताए ।

शर्माले शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफलमा भने, ‘सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरेर चुनावको तयारी सुरु गरिसकेको छ । हामी दुई दिनभित्रै सबै १६५ क्षेत्रका उम्मेदवार टुंग्याउने गरी काम गरिरहेका छौं । निर्धारित समयमा चुनाव हुन आयोगलाई हाम्रो साथ रहन्छ, तर निर्णय ढिला नगरियोस् ।’ कांग्रेसको नियमित महाधिवेशन नहुँदा विधानको धारा १७ अनुसार विशेष महाधिवेशन गर्नु बाध्यकारी रहेको उनले बताए। अर्की उपसभापति पुष्पा भुसालले पनि विशेष महाधिवेशनको निर्णय अनुसार दल अद्यावधिक गर्न आयोगसँग आग्रह गरेकी छन् ।

विशेष महाधिवेशनको मागलाई लिएर हस्ताक्षर फिर्ता हुने विषयमा विवाद छ । शर्माले आयोगमा जानकारी गराए अनुसार, विशेष महाधिवेशन माग गर्ने ९० जनामध्ये हालसम्म २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेका छन् । यसअघि शेरबहादुर देउवा पक्षले भने ८८५ जनाले हस्ताक्षर फिर्ता गरेको दाबी आयोगमा पेश गरेको थियो। शर्माले जवाफ दिँदै भने, ‘कसैले हस्ताक्षर फिर्ता गरे पनि त्यसलाई अन्यथा बुझ्नु हुँदैन । विधि र समयअनुसार मात्र फिर्ता मान्य हुनेछ। माघ ६ गते प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता छ, त्यसअघि फिर्ता भए मात्र मान्य हुन्छ । त्यसपछि फिर्ता भनेको दाबी मान्य हुँदैन ।’

उपसभापति शर्माले स्पष्ट पारे, ‘हाम्रो विशेष महाधिवेशनको समयावधिभित्र फिर्ता गरिएको संख्या २९ जना हो। गाउँ फर्किसकेपछि फिर्ता भनेकालाई मान्न नमिल्ने र दाबी खारेज हुने नियम छ ।’ यो विवाद कांग्रेसभित्रको आन्तरिक संघर्ष र आगामी निर्वाचन तयारीलाई लिएर आयोगसँगको समन्वयमा के कस्तो असर पार्नेछ, भन्ने विषयमा राजनीतिक विश्लेषकहरू ध्यान दिइरहेका छन् ।

 

 

 

 

आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद र आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । उनी विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन् र हाल निर्वाचन आयोगलाई पार्टीको विधान कार्यान्वयनबारे जानकारी गराउन पुगेका थिए ।

उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ दिँदै भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भन्ने कुरा भर्खरै सुन्नु भयो होला । तर हामी विश्वास गर्छौं कि आयोग यस्तो धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन ।’

उनीसँगै गगन थापाले पनि निर्वाचन आयोगमा उपस्थित भई पार्टीको विधान कार्यान्वयन सम्बन्धी अवस्था बुझाएका थिए । उनका अनुसार, पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन नगरेपछि उनीहरूले स्वतन्त्र रूपमा महाधिवेशन आह्वान गर्नु परेको थियो ।

शर्माले आयोगलाई जानकारी दिँदै भने, ‘विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै पार्टीको आधिकारिक प्रतिनिधि हुन् । कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै आह्वान गरेको हो । नियमित महाधिवेशनको तालिका नआएको अवस्थामा विशेष महाधिवेशनको प्रावधान अनुसार अघि बढ्नु स्वाभाविक हो ।’

थापाले पनि स्पष्ट पारे, ‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था विधानमा छ । १५औं महाधिवेशनको तालिका कार्यान्वयन नभएपछि हामी विशेष महाधिवेशन आह्वान गर्न बाध्य भयौं । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरिएको छ र सोहीअनुसार प्रक्रिया अघि बढाइएको छ ।’ विशेष महाधिवेशनको निर्णयले पार्टीमा विवादित कारबाहीको कानुनी पक्षलाई पनि चुनौती दिएको छ । यसले पार्टीभित्रको नेतृत्व र विधान कार्यान्वयनबारे नयाँ बहस सुरु गरेको छ ।

 

 

 

खड्काको चेतावनी : निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए । उनले पार्टीको केन्द्रिय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको जिकिर गरे ।

उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन । प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरुका आधारमा भनेका हौँ ।’ पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।

कार्यकर्तालाई खड्काको निर्देशन : हामीविरुद्ध गलत निर्णय भए प्रतिकारका लागि तयार रहनू

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यकर्तालाई निर्वाचन आयोगको सम्भावित गलत निर्णयको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । खड्काले आयोगले पार्टीको विधान र संविधान विपरित निर्णय गरे आन्दोलन र प्रतिकारको विकल्प खुला रहने स्पष्ट पारेका छन् ।

शुक्रबार बिहान निर्वाचन आयोग पुगेर फर्किएपछि सानेपस्थित पार्टी कार्यालयमा बोल्दै खड्काले भने, ‘पार्टीको विधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ ।’ उनले यसो भनेपछि कार्यकर्तामा सक्रिय प्रतिक्रिया र प्रतिकारका लागि तयारीको संकेत दिएका हुन् । खड्काले विशेष महाधिवेशनको वैधतामा प्रश्न उठाउँदै यसलाई पार्टीको एकतालाई कमजोर पार्ने कदमको रूपमा व्याख्या गरे ।

उनले भने, ‘विशेष महाधिवेशन गर्नु भनेको पार्टी विखण्डनको प्रयास हो । पार्टी संकटमा छ, त्यस्तो भेला आयोजना गर्नु उचित छैन । धेरै कुरा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएको छ । सभापतिले हामी उठाएका सबै कुरा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए, तर अहिले भ्रामक सूचना फैलाइएको छ ।’ उनी विशेष महाधिवेशनको पक्षधरहरूले झुठो प्रचार गरिरहेका दाबी गर्दै पार्टीको विधानको केन्द्र केन्द्रीय समिति नै भएको बताए ।

उनले यसलाई पार्टीलाई क्षति पुर्‍याउने उद्देश्यको भेला भएको बताए । खड्काले पार्टी कार्यकर्तालाई प्रतिकारका लागि पनि तयारी गर्न निर्देशन दिँदै भने, ‘कुनै षड्यन्त्र वा हाम्रोविरुद्ध हुने गलत निर्णय भए विरोधमा जान तयार रहनुहोला । हामी आफ्नो अधिकार र पार्टीको एकतालाई जोगाउन पछि हट्ने छैनौं ।’ उनले आयोगले चुनाव चिह्न र नाम गगन समूहलाई दिनु परेमा त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् । यो कदम नेपाली कांग्रेसभित्रको हालको सत्ता संघर्ष र निर्वाचन आयोगसँगको आधिकारिकता विवादको पृष्ठभूमिमा आएको हो । खड्काको चेतावनीले पार्टीभित्रको विभाजन र विवाद अझ उग्र हुनसक्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।

 

विधान विपरीतको भेलालाई विशेष महाधिवेशन भनियो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधान विपरीत विशेष महाधिवेशनको नाममा भेला आयोजना गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । पार्टीको संस्थापन पक्षको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले विधानले तोकेको प्रक्रिया बाहिर गएर गरिएका गतिविधि अस्वीकार्य हुने स्पष्ट पारे ।

खड्काका अनुसार पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन वा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको छ । केन्द्रीय समितिबाहेक अन्य कुनै पदाधिकारी, समूह वा व्यक्तिलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार विधानले नदिएको उनको दाबी छ । उनले विशेष महाधिवेशनको वैधानिकताबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइसकिएको जानकारी दिँदै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिमा विधानको रक्षा गर्नु अनिवार्य भएको बताए । ‘विधानअनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा जानकारी बिनै स्थगन गरेर विशेष महाधिवेशन आह्वान गर्नु स्पष्ट रूपमा विधान विपरीत हो’, खड्काले भने ।

४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर भए पनि निर्णय केन्द्रको अधिकार
खड्काले पार्टी विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गर्न सकिने व्यवस्था भए पनि त्यसको अन्तिम निर्णय केन्द्रीय कार्यसमितिकै अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारे । विधानमा प्रयोग भएको ‘केन्द्र’ शब्दले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उनको व्याख्या थियो । ‘४० प्रतिशत प्रतिनिधिको माग आए पनि विशेष महाधिवेशन गर्ने वा नगर्ने निर्णय केन्द्रीय कार्यसमितिले मात्रै गर्न सक्छ’, उनले भने, ‘यसलाई व्यक्तिहरूले स्वेच्छाचारी रूपमा प्रयोग गर्न मिल्दैन।’

नियमित महाधिवेशन वैशाखमा, ढिलाइको दोष तत्कालीन महामन्त्रीद्वयलाई
खड्काले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गत मंसिरमै गरिसकेको स्मरण गराउँदै त्यसमा ढिलाइ हुनुको मुख्य कारण तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको विवरण समयमै टुंग्याउन नसक्नु भएको जिकिर गरे। सोही कारण अघिल्लो महाधिवेशन कार्यतालिका प्रभावित भएको उनले बताए । उनका अनुसार नियमित महाधिवेशन अब आगामी वैशाखमा गर्ने गरी सर्वसम्मत कार्यतालिका बनाइएको छ । साथै, पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य नै समाप्त गरिसकेको उनको दाबी छ ।

विधानको रक्षा नै पार्टी एकताको आधार

पत्रकार सम्मेलनमा खड्काले पार्टीभित्र देखिएका विवाद समाधानको एकमात्र आधार विधान र संस्थागत निर्णय प्रक्रिया भएको उल्लेख गरे । ‘नेपाली कांग्रेसलाई जोगाउने हो भने विधानको अक्षरशः पालना गर्नुपर्छ’, उनले भने, ‘विधानभन्दा माथि कोही छैन ।’ उनले अन्त्यमा पार्टीभित्र अनुशासन, विधि र प्रक्रिया कायम राख्दै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गरिने प्रतिबद्धता दोहोर्‍याए ।

 

 

हस्ताक्षर फिर्ता गरे भन्नु ‘प्रोपोगान्डा’ मात्रै, २९ जनाले फिर्ता गरेका हुन् : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले मात्र फिर्ता लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई ‘राजनीतिक प्रपोगाण्डा’ भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको छ ।

‘आफैं उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यवाहक सभापतिले विशेष महाधिवेशनबारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ,’ घिमिरेले उल्लेख गरेका छन्, ‘विशेष महाधिवेशनको माग गर्दा २,४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेको छ ।’

विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरु निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसंग तर्कहीन रहेको पनि उनले बताएका छन् । ‘महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रुपमा नेतृत्व चयन समेत भइसकेपछि यो विषय उठाउनु केवल ‘राजनीतिक प्रोपोगान्डा’ मात्र हो,’ समाजिक सञ्जाल फेसबुमा उनले भनेका छन् ।

तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको ३ महिना पछिको मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य भएको उनको तर्क छ ।

‘तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई ३ महिनासम्म छलफलको विषय नबनाउने र विशेष महाधिवेशन नै औचित्यपूर्ण छैन भनी तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, क्रियाशील नवीकरण, वितरणको कार्य सम्पन्नसमेत नगरिकन बिनासूचना वडा अधिवेशन रोक्ने, त्यसको दुई दिनपछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिनापछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत देखिँदैन । तत्कालीन केन्द्रीय समिति आफैं तत्कालिन कार्यतालिकाको उल्लंघनकर्ता हो,’ उनले भनेका छन् ।

कार्यकाल थपिएको अवधिमा विशेष महाधिवेशन गर्नै मिल्दैन : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल मंसिरमै सकिइसकेको अवस्थामा अब विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट गरेका छन् । उनका अनुसार कार्यकाल सकिएपछि थपिएको अवधिमा बोलाइने महाधिवेशन विशेष हुनै सक्दैन ।

शनिबार निर्वाचन आयोगमा पत्रकारहरूसँग कुरा गर्दै विश्वकर्माले भने, ‘चार वर्षको अवधि मंसिरमै पूरा भइसकेको हो । थप गरिएको एक वर्षमा विशेष महाधिवेशन भन्ने नाम नै जोड्न मिल्दैन । विशेष महाधिवेशन भनेको समयावधि पूरा हुनुअगावै बोलाइने हो । अवधि सकिएपछि ढिलो वा नियमित महाधिवेशन हुन सक्छ, तर विशेष हुँदैन ।’

उनले पार्टी एकता जोगाउन निरन्तर प्रयास भइरहेको पनि बताए । ‘कांग्रेस नफुटोस् भनेर हामीले लगातार अपिल गरिरहेका छौं । तर कसैलाई जबरजस्ती बाँधेर राख्न सकिँदैन । बस्न नसक्ने साथीहरू जान सक्छन् । गएकाहरू पनि फर्केर आउन भनेर कारबाही नगरी राखेका छौं’, उनले भने । विश्वकर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका प्रतिनिधिहरूमध्ये ठूलो संख्याले हस्ताक्षर फिर्ता लिएको दाबी पनि गरे । ‘८३७ जना प्रतिनिधि र ४७ जिल्ला सभापतिले हस्ताक्षर फिर्ता लिइसक्नु भएको छ । अरू पनि आउँदै हुनुहुन्छ’, उनले भने ।

यसैबीच, निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग बढ्दो रूपमा देखिएको भन्दै आयोगलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत कृतिम सर्वेक्षण, नक्कली प्रोफाइल र भ्रामक प्रचारले निर्वाचन शब्दकै उपहास भइरहेको उनको भनाइ छ । ‘सामाजिक सञ्जालमा फलानो प्रधानमन्त्री, फलानो विजेता भनेर कृत्रिम सर्वेक्षण देखाइन्छ । अनुहार देखाएर मान्छेलाई प्रभावित पारिन्छ । यो निर्वाचनको मूल भावनामाथि प्रहार हो’, उनले भने । सूचना प्रविधिको दुरुपयोग नियन्त्रणका लागि साइबर ब्युरोको प्रभावकारी परिचालन र आवश्यक परे अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउन समेत उनले सुझाव दिए ।

उनले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग बढेकोतर्फ पनि ध्यानाकर्षण गराए । ‘सिंहदरबार जलाउँदा, सर्वोच्च अदालत जलाउँदा, राष्ट्रपतिमाथि आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा प्रयोग गरिएको देखिन्छ । राष्ट्रिय झण्डालाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाउन दिनु हुँदैन’, उनले जोड दिए । अर्को सन्दर्भमा, विश्वकर्माले भृकुटीमण्डपमा भएको भनिएको विशेष महाधिवेशनबारे पार्टीले औपचारिक निर्णय नगरेको स्पष्ट पारे । बिहीबार निर्वाचन आयोगमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘त्यो कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला सभापतिले गर्नु भएको हो । केन्द्रीय सभापति, कार्यवाहक सभापति, उपसभापति वा महामन्त्रीले नगरेको महाधिवेशन विशेष कसरी हुन्छ ? सम्भवतः त्यो काठमाडौं जिल्ला अधिवेशन हुन सक्छ ।’

भृकुटीमण्डपमा गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको दाबी भए पनि पार्टीका आधिकारिक संरचनाले त्यसलाई विशेष महाधिवेशनका रूपमा स्वीकार नगरेको विश्वकर्माको भनाइ छ। उनले विगतमा २०१४ सालमा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशनको उदाहरण दिँदै त्यतिबेला पनि जिल्ला सभापतिले सभापतित्व गरे पनि त्यो पार्टीको औपचारिक निर्णयअनुसार भएको स्मरण गराए ।

 

निर्वाचन आयोगमा कांग्रेसका दुई दाबी : गगन–देउवा पक्ष आमने–सामने

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकताबारे विवाद निर्वाचन आयोगसम्म पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएपछि कांग्रेसका दुई पक्ष—गगन थापा र शेरबहादुर देउवा नेतृत्वका समूह-लगातार आयोग धाइरहेका छन् ।

शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका पदाधिकारी निर्वाचन आयोग पुगेका थिए । उनीहरूले शेरबहादुर देउवा नेतृत्वकै नेपाली कांग्रेस आधिकारिक पार्टी भएको दाबी गर्दै आवश्यक कागजात पेश गरेका थिए । त्यसको केही घण्टामै गगन थापा नेतृत्वको कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोग जाने तयारीमा छन् ।

आयोगले शुक्रबार दिउँसो २ बजे गगन नेतृत्वको कांग्रेसका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएको थापा निकट स्रोतले जनाएको छ । छलफलमा आगामी निर्वाचनका लागि चुनाव चिह्न, पार्टीको आधिकारिकता र महाधिवेशनसम्बन्धी कागजातमाथि केन्द्रित रहने बताइएको छ । यसअघि बिहीबार गगन थापा स्वयं पदाधिकारीसहित आयोग पुगेर विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी गराइसकेका थिए । आज भने आयोगले सबै केन्द्रीय सदस्यलाई समेत उपस्थित हुन निर्देशन दिएको हो ।

२,६५२ प्रतिनिधिको हस्ताक्षर आयोगमा
गगन थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनमा सहभागी भएको भन्दै २ हजार ६ सय ५२ प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार यो संख्या कांग्रेसको कुल ४ हजार ६ सय ३८ प्रतिनिधिमध्ये ५७ दशमलव १७ प्रतिशत हो । घिमिरेले असोज २८ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने संख्या ५४ प्रतिशत पुगेको र त्यसपछि २४ जनाले हस्ताक्षर फिर्ता लिएको दाबीलाई ‘राजनीतिक प्रोपागान्डा’ भनेका छन् । उनका अनुसार आयोगमा बुझाइएको आधिकारिक कागजातमा २६५२ जनाको हस्ताक्षर स्पष्ट रूपमा प्रमाणित छ ।

‘हस्ताक्षर फिर्ता भयो भनेर भ्रम फैलाइएको छ । हामी सबै हस्ताक्षरकर्ताको सनाखत गर्न सक्छौं’, घिमिरेले भने । उनले विशेष महाधिवेशनपछि हस्ताक्षर नगरेका थप एक हजारभन्दा बढी प्रतिनिधिले पनि नयाँ नेतृत्वप्रति प्रतिबद्धता जनाएको दाबी गरे । पुस २७ देखि माघ १ सम्म चलेको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । त्यसपछि कांग्रेसभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ । अब निर्वाचन आयोगले दुवै पक्षका दाबी, हस्ताक्षर र प्रक्रिया अध्ययन गरेर निर्णय गर्नेछ । आयोगको निर्णयले नेपाली कांग्रेसको नेतृत्व, चुनाव चिह्न र आगामी राजनीतिक दिशालाई निर्णायक रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

कांग्रेस नेताहरु भन्छन्, ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरुले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे ।

कांग्रेसको आधिकारिकता आफूहरुले पाउने र छुट्टिएर गएकाहरु पनि मूलधारमा नै फर्किने नेताहरुको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुने गरी निर्णय गर्न नहुने बताए । उनले कांग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताए । सिन्धुपाल्चोकमा आफूहरुले चुनावी सभा समेत थालेको उनको भनाई छ ।

यस्तो स्थितिमा आयोगले संविधान विपरित, कांग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै विथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाई छ । उनले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गरे । उनले भने, ‘निर्वाचन हुने की नहुने भनेर कोलाहल मच्चाईरहेको छ, यतिसम्म की जसले सरकार बनायो, जेन–जी कै मान्छेहरुले चुनाव हुँदैन भनिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावको लागि तयार भएर पूर्ण आफ्नो आफ्नो जिल्लामा खटिइसकेको अवस्था, खटाईसकेको अवस्थामा छ । सिन्धुपाल्चोकमा त हामीले चुनावी सभा पनि गर्‍यौँ, अन्यत्र पनि शुरु भएको छ ।’

उनले भने, ‘त्यो स्थितिमा निर्वाचन आयोगले गरेको निर्णयको कारण, जुन निर्णय संविधान विपरित, नेपाली कांग्रेसको विधान विपरित भएको खण्डमा भोलि देशमा निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ । यदि अहिलेको परिस्थितिमा सारा निर्वाचनमा विथोल्ने भनेर विभिन्न पार्टीहरुले अस्वीकार गरिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावमा होमिईसकेको अवस्थामा यो पार्टीलाई कसैको बहकावमा लागेर वा कसैको प्रेसरमा, कसैको स्वार्थमा गलत निर्णय हुन खोज्यो भने त्यो राज्यको लागि दुर्भाग्य हुन्छ । निर्वाचन आयोगलाई पनि त्यसको दोष लाग्छ ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनितिमा पनि ठूलो असर पर्ने उल्लेख गरे । उनले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाएजस्तै नेपाली काँग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरु लागिरहेको आरोप लगाए । यसमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘कांग्रेसको विभाजनले निर्वाचनमा असर पर्छ । राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन तर समग्रतामा हामी मिलेर जानको लागी हाम्रो कोशिस अन्तिमसम्म थियो । निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार निर्णय गर्ने विश्वास हामीले लिएका छौँ । अरु कुरा हेर्दै जानुहोला, नेपालको राजनीतिमा सिंह दरबार जल्यो, संसद भवन जल्यो, सवोच्च अदालत जल्यो । अझै काँग्रेस नजलाई केही हुँदैन भनेर कोही लागेका छन् र प्रजातन्त्रलाई नै समाप्त गर्न लागेका छन् भने यसको असर धेरै ठूलो पर्नसक्छ, यसमा हामी बुझेर लाग्नुपर्छ ।’

नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागी देउवाले नै टिकट बाढ्ने दाबी गरे । उनले शनिवारबाट नै सभापति देउवाले टिकट बाँड्न शुरु गर्ने जानकारी दिए । उनले कांग्रेस पार्टी विभाजन नभएको पनि बताए । गगन थापा, विश्वप्रकाश शर्माहरुले अर्को पार्टी गठन नगरेकोले उहाँहरु पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलीबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बाँड्नु हुन्छ । नेपाली कांग्रेस पार्टी फुटेको छैन । उहाँहरु (गगन–विश्व) ले अर्को पार्टी गठन गर्नु भएको छैन । उहाँहरु पनि भोलि आएर टिकट लिएर चुनाव लड्न जानु हुन्छ ।’ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोईराला लगायतका नेताहरु पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए ।

 

 

 

 

मिडियाले होइन, ऐन कानुनले जे भन्छ, त्यो महत्वपूर्ण : खम्मबहादुर खाती

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले कांग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको कांग्रेसलाई अधिकार नै नरहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका कांग्रेस नेताहरुसँग आयोगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाँै भनेर हस्तक्षरसहित फर्किएको बताए । उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए । १६७ जनामध्ये १२३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदि विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा जुन प्रतिनिधिहरुले सही गरेका थिए, उनीहरुले फिर्ता भएर आउनु भएको प्रमाणसहितको कागजात बुझाएका छौँ । संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनु हुनेछ भन्ने विश्वास छ । भ्रमपूर्ण रुपमा जुन प्रचारप्रसारहरु बाहिर आएको छ : निर्वाचन आयोगले सत्यतथ्यमा आधारित भएर र प्रमाण कागजहरुको मूल्यांकन गरेर जुन निर्णय गर्नुपर्नेछ, त्यसमा हाम्रो प्रतिवाद गर्नुपर्ने अवस्था बाँकी नै छ ।’ उनले भने, ‘अद्यावधिकको नाममा जुन दर्ता ५१ को प्रयोग गरेर यहाँ आएको छ, सिंगो नेपाली काँग्रेसको ट्रुथ अफ मेजोरेटी अहिलेसम्म यसमा रही रहेको कुरा जगजाहेर छ । १६७ जनामध्ये झन्डै १२३ जनाको सही अहिले पनि छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भएमा त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट छ । हामी ढुक्क छौँ । मिडियाले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन, संविधान, ऐन कानूनले जे भन्छ, त्यो कुरा महत्वपूर्ण हो ।’ उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताए । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।

 

निर्वाचन आयोगमा खड्काले भने–कोही व्यक्ति र समूहले महाधिवेशन डाक्न पाउँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको वैधताबारे विवाद तीव्र बन्दै गएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान र कानुन विपरीत कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न नपाउने स्पष्ट दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिकता माग गरेका छन् ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति तथा शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसको कार्यवाहक सभापतिको हैसियतमा आयोग पुगेका खड्काले लोकतन्त्र, संविधान र राजनीतिक दलसम्बन्धी ऐनमाथि गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाए । उनका अनुसार पार्टीको विधानले केन्द्रीय कार्यसमितिबाहेक अरू कुनै निकाय, व्यक्ति वा समूहलाई महाधिवेशन वा कुनै पनि तहको अधिवेशन गर्ने अधिकार दिएको छैन ।

‘कुनै व्यक्तिले पार्टीको नाममा भेला गर्ने, पदाधिकारीले महाधिवेशनको नाम दिने र त्यसैलाई कानुनी विषय बनाइने हो भने पार्टीका विधान, मुलुकको संविधान र दलसम्बन्धी ऐनको औचित्य के रहन्छ ?’ खड्काले प्रश्न गरे । खड्काले सभापति देउवाको नेतृत्वमा रहेको १४औं महाधिवेशनबाट निर्वाचित सिङ्गो केन्द्रीय कार्यसमिति मात्र होइन, प्रदेशदेखि गाउँ–पालिका तहसम्मका पार्टी संरचना आफूहरूसँगै रहेको दाबी गरे । उनका अनुसार हालसम्म पार्टीको कुनै नयाँ महाधिवेशन नै भएको छैन ।

यसैबीच, विशेष महाधिवेशनको दाबीलाई खड्काले थप कमजोर भएको बताएका छन् । विशेष महाधिवेशनमा सहभागी हुने भनिएका हस्ताक्षरकर्तामध्ये ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिँदै त्यसबाट अलग भएको जानकारी पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको उनको भनाइ छ । ‘५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरिएको दाबी गरियो, तर तीमध्ये ८८५ जनाले लिखित रूपमा हस्ताक्षर फिर्ता लिएका छन्’, खड्काले भने, ‘भेला हुनुअघि र पछि दुवै अवस्थाका हस्ताक्षर प्रमाण हामीसँग छन्, मुख्यसचिवमार्फत कार्यालयमा दर्ता भइसकेको छ ।’

उता, गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशनमार्फत केन्द्रीय कार्यसमिति चयन गरिसकेको दाबी गरिरहेको छ । तर खड्काको पक्षले त्यसलाई पूर्ण रूपमा अवैधानिक भन्दै निर्वाचन आयोगमा आधिकारिकताको लडाइँ अघि बढाएको छ । कांग्रेसभित्रको यो टकरावले पार्टीको नेतृत्व, विधान र वैधतासम्बन्धी विवादलाई निर्णायक मोडमा पुर्‍याएको देखिन्छ । अब निर्वाचन आयोगको निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने संकेत देखिएको छ ।

 

 

कांग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छ : भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ । सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्षले आफूहरू नै १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराएको छ ।

शुक्रबार बिहान कार्यवाहक सभापति खड्कासहित केन्द्रीय समितिका बहुमत सदस्य स–शरीर निर्वाचन आयोग पुगेका थिए । आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनीहरूले हालै सम्पन्न भनिएको विशेष महाधिवेशन विधानअनुसार नभएको र त्यसबाट चयन गरिएको गगन थापा नेतृत्वको कार्यसमिति अवैध रहेको जिकिर गरे । छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले संविधान, प्रचलित ऐन–कानुन र स्थापित विधि–पद्धतिको परिधिमा रहेर मात्र विषयवस्तुको विश्लेषण गर्ने स्पष्ट पारे ।

‘निर्वाचन आयोग विधि र कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्दैन’, भन्दै उनले निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसारका प्रक्रियामा सहभागी हुन कांग्रेस नेताहरूलाई आग्रह समेत गरे । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको पक्षमा सुरुमा हस्ताक्षर गरेका ८८५ महाधिवेशन प्रतिनिधिले पछि हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै त्यसको प्रमाण आफूहरूसँग रहेको बताए । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले नै विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको उल्लेख गरे ।

उनका अनुसार पार्टी विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ र सोही व्यवस्थाअनुसार देउवा नेतृत्वको समिति वैधानिक रूपमा कायम रहेको छ । ‘हामी नै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति हौं’, खड्काले भने । खड्काले पूर्व महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले समयमै सदस्यता सूची नबुझाएकै कारण नियमित महाधिवेशन हुन नसकेको र वैशाखमा सार्नुपरेको दाबी समेत गरे । साथै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको र सो निर्णय आयोगलाई जानकारी गराइसकिएको बताए ।

छलफलमा नेता शेखर कोइरालाले पनि आफूहरू नै पार्टीको आधिकारिक केन्द्रीय समिति भएको दाबी दोहोर्‍याए । ‘सिंगो केन्द्रीय समिति यहाँ उपस्थित छ, केही व्यक्ति मात्र अलग भएर गएको अवस्था हो’, भन्दै उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा संस्था हेरेर निर्णय गर्न आग्रह गरे । विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूसँग सुरक्षित रहेको कोइरालाको भनाइ थियो । निर्वाचन आयोगमा खड्का र कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेता मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।

यसअघि गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित भनिएको कार्यसमितिले आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको निवेदन दर्ता गराइसकेको छ । दुवै पक्षबाट दाबी आएपछि कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद थप पेचिलो बनेको छ । अब निर्वाचन आयोगले संविधान र कानुनी व्यवस्थाको आधारमा कुन पक्षलाई आधिकारिक मान्ने भन्ने निर्णय गर्नुपर्ने चुनौती सामना गरिरहेको छ ।

कांग्रेस आधिकारिकता विवाद : निर्वाचन आयोग पुगे देउवा पक्षमा नेता–कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरु डा. शशांक कोइराला, मिन विश्वकर्मा, नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति छ । यसअघि बिहीवार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रिय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

गगन थापा सभापतिसहितका नव निर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ । दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन् ।

 

महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दा पार्टी फुटेको नहुने उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शर्मा र सभापति गगन थापा निर्वाचन आयोग पुगेका थिए र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि बुझाएका छन् ।

उपसभापति शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको छ । हामीले लिखित तथा मौखिक रूपमा निर्वाचन आयोगलाई जानकारी दिएका छौँ । आधिकारिक रूपमा कुनै प्रश्न उठ्ने अवस्था छैन ।’ उनले पार्टी विभाजनको प्रश्नको जवाफमा भने, ‘कहाँ विभाजन भयो त पार्टी ? नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्छ ।’ शर्मा अनुसार, महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि पार्टीभित्रको एकता स्पष्ट भएको छ ।

यस अघि बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो । तर त्यसपछि भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो, जसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । शर्माले भने, ‘महाधिवेशनमा कोही सहभागी भए होलान्, भएनन् होला, त्यो आफ्नो ठाउँमा छ । तर नेपाली कांग्रेसको महाधिवेशनले नेतृत्व र नीतिको अद्यावधिक सुनिश्चित गरेको छ ।’ उक्त घटनाक्रमले स्पष्ट देखाउँछ कि पार्टीको नेतृत्वमा परिवर्तन भए पनि पार्टी फुटेको छैन र आगामी दिनमा कांग्रेस एकताबद्ध रूपमा अघि बढ्ने प्रयासमा छ ।

 

कांग्रेसको नयाँ नेतृत्व आयोगमा, गगनले गरे छिटो निर्णयको माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व निर्वाचन आयोगमा अद्यावधिक गराउन सभापति गगनकुमार थापा नेतृत्वको टोली सोमबार आयोग पुगेको छ । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएपछिका सबै पदाधिकारी विवरण अद्यावधिक गर्नुपर्ने भएकाले आयोगमा निवेदन बुझाइएको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अन्य आयुक्तसँग भेटेर टोलीले छिटो निर्णय गर्न आग्रह गरेको छ । सभापति थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘हामीले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न गरेका छौं र आवश्यक सबै तथ्य–प्रमाणसहित नेतृत्व परिवर्तनको विवरण आयोगमा बुझाएका छौं । निर्वाचन आयोगले छिटो निर्णय दिने विश्वास राख्छौं ।’

तल्लो तहको समितिसम्मको विवरणसहित आयोग पुगेको टोलीमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र यदुनाथ खनाल रहेका थिए । सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र अन्य नेताहरू पनि उपस्थित थिए । आयोगले निवेदन स्वीकार गरेको तर अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

थापाले भने, ‘विशेष महाधिवेशनको निर्णय पार्टीको सर्वोपरी हुने भएकाले यसमा कुनै विवाद हुन सक्दैन । ६ गते उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुन लागेको छ, त्यसैले ढिलोमा पर्सीसम्ममा अद्यावधिक टुङ्गिन्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले यस अवसरमा पूर्व सभापति शेरबहादुर देउवाको हस्ताक्षर हटाएर नयाँ नेतृत्वको विवरण अद्यावधिक गराउन आयोगमा बुझाएको समेत बताए । थापाले विशेष महाधिवेशनपछि देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको जानकारी आयोगलाई पहिले नै गराइसकेको उल्लेख गरे । नेपाली कांग्रेसको नयाँ नेतृत्व अद्यावधिक भएपछि आगामी निर्वाचन र आन्तरिक प्रक्रियाहरू सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

विद्यार्थी राजनीति–कांग्रेस नेतृत्वको केन्द्रमा : गुरू–गगन, विश्वप्रकाश र प्रदीपको अद्भुत संयोग

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कांग्रेस नेतृत्वमा नयाँ युगको सुरुवात गरेको छ, जहाँ नेविसंघबाट उठेका विद्यार्थी नेताहरू पार्टीको बागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् । यस पटकको नेतृत्वमा केही रोचक र अनौठा संयोग देखिएका छन् ।

नव निर्वाचित सभापति गगनकुमार थापा र महामन्त्री गुरुराज घिमिरे दुवै २०५९ सालमा नेविसंघको एउटै कार्यकालमा पदाधिकारी थिए । त्यतिबेला गुरुराज सभापति र गगन महामन्त्री थिए । २ दशकपछि, अब पार्टीको नेतृत्वमा गगन सभापति र गुरुराज महामन्त्री बनेका छन् । गुरु–गगन जोडीले २०६२–६३ को दोस्रो जनआन्दोलनमा राजतन्त्रविरुद्धको संघर्षमा अग्रणी भूमिका खेलेका थिए । तत्कालीन सूर्यबहादुर थापा सरकारले गणतन्त्रको पक्षमा नारा लगाएकोमा गगनलाई जेल हाल्दा उनी विद्यार्थी राजनीतिमा चर्चित बने । गुरुराज पनि त्यही आन्दोलनमा राजद्रोहको मुद्दा खेपेका थिए । त्यस आन्दोलनले नेपालको राजतन्त्र अन्त्य गरी गणतन्त्रको उदय सुनिश्चित गर्‍यो ।

गुरुराज घिमिरे त्यसपछि राजनीतिको मुख्यधाराबाट केही समय ओझेलमा परे। तर उनी पार्टीको नीति, विचार र दिशा तय गर्न सक्ने अध्ययनशील नेताको रूपमा चिनिएका थिए । २०७८ सालको १४औं महाधिवेशनमा कोशी प्रदेश कार्यसमिति सभापतिका लागि पराजित भए पनि, यस विशेष महाधिवेशनमा उनीलाई राजनीतिक केन्द्रमा ल्याइएको छ । महामन्त्रीमा निर्वाचित अर्का नेता प्रदीप पौडेल पनि नेविसंघबाट उदाएका हुन् ।

उनी पनि २०६२–६३ को आन्दोलनमा सहभागी भएर राजकाजको मुद्दा खेपेका थिए । विद्यार्थीकालमै अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका पौडेल अहिले पार्टीका महत्वपूर्ण पदाधिकारी बनेका छन् । उनीहरू चारै—गगन, गुरुराज, विश्वप्रकाश शर्मा र प्रदीप–नेविसंघमा एकै समय राजनीतिमा सक्रिय थिए र अहिले पार्टी नेतृत्वको केन्द्रमा उभिएका छन् । यो विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वसम्मको यात्रामा अनौठो र अद्भुत संयोग मान्न सकिन्छ । विशेष महाधिवेशनले कांग्रेसभित्रको वैचारिक बहस र नेतृत्व परिवर्तनको नयाँ चरणको संकेत दिएको छ । गगन–गुरु–पौडेल–विश्वप्रकाशको संयोजनले पार्टीलाई नयाँ ऊर्जा र अनुभव दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

 

पदाधिकारी लिएर निर्वाचन आयोग पुगे गगन {तस्वीरहरु}

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न आवश्यक कागजातसहित उनीहरू बिहीबार दिउँसो कान्तिपथस्थित आयोग पुगेका हुन् । पदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि आयोग पुगेका छन् । ललितपुरको कुपण्डोलमा पहिलो केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्तावेज लिएर उनीहरू आयोग पुगेका हुन् ।

हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाइनेछ । काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् । केही बेरअघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको थियो । तर शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ ।

 

 

 

 

 

 

समानुपातिक सूची संशोधन र दस्तखत आवधिक गर्ने गगन कांग्रेसको निर्णय

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले संगठन र निर्वाचन तयारीलाई एकसाथ अघि बढाउने निर्णय गर्दै औपचारिक प्रक्रिया तीव्र बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको घोषणा पत्र निर्माण, निर्वाचन परिचालन, अभिलेख अद्यावधिक र समानुपातिक सूची संशोधनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।

ललितपुरस्थित एक होटलमा बिहीबार बसेको बैठकले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता देवराज चालिसेले बदलिँदो राजनीतिक परिवेशअनुसार सच्चिएको र सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित घोषणा पत्र तयार गरिने बताए । उनका अनुसार आगामी निर्वाचनलाई केन्द्रमा राख्दै देशभरका पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

साथै दोस्रो विशेष महाधिवेशनपछि पार्टीका पुराना अभिलेखलाई प्रतिस्थापन गर्दै नयाँ आवधिक अभिलेख तयार गर्ने, उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत अद्यावधिक गर्ने र समानुपातिक सूची संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रवक्ता चालिसेले बैठक अझै निरन्तर रहने जानकारी दिँदै विशेष महाधिवेशनमा सहभागी कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरिएको बताए । ‘संस्थापक नेताहरूले देखाएको बाटो, शहीदहरूको बलिदान र वर्तमान आवश्यकता समेट्दै काँग्रेसलाई निर्वाचनमा अझ सक्षम बनाउने निर्णयहरू भएका छन्’, उनले भने ।

यसैबीच, पार्टीको नयाँ नेतृत्वले औपचारिक मान्यता लिन निर्वाचन आयोग जाने तयारी समेत पूरा गरेको छ । महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतासम्बन्धी पत्र प्राप्त भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गरिने स्पष्ट पारे । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकपछि प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘हामी आजै निर्वाचन आयोग जान्छौं । आवश्यक कागजात प्राप्त भएपछि सानेपा जान्छौं ।’

बैठकले विधान पारित भएको प्रमाण, चुनावी प्रयोजनका लागि हस्ताक्षर परिवर्तन, समानुपातिक सूची अद्यावधिकसम्बन्धी निवेदन तथा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै कांग्रेसले संगठनात्मक पुनर्संरचना र निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाएको स्पष्ट संकेत दिएको छ ।

 

 

 

 

शेखर कोइरालाको आह्वान : जित–हार कसैको छैन, सबै घर फर्कौ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र असहमतिको अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई कांग्रेसभित्रै फर्किन आह्वान गरेका छन् । उनले हालको परिस्थितिलाई जित–हारको रूपमा नभई साझा उत्तरदायित्व र भविष्य निर्माणको अवसरका रूपमा बुझ्न आग्रह गरेका छन् ।

बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले पार्टीलाई एकतावद्ध राख्न गरिएको प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको स्वीकार गरेका छन् । पार्टीभित्र देखिएका आन्तरिक कमजोरी, दृश्य तथा अदृश्य अन्तरविरोध र जटिल राजनीतिक परिस्थितिका कारण कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसकेको यथार्थलाई उनले ‘नियतिको कठोर सत्य’ का रूपमा व्याख्या गरेका छन् ।

उनले राजधानी केन्द्रित राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका षड्यन्त्र र कांग्रेसलाई कमजोर पार्न चाहने शक्तिहरूको चलखेललाई पनि संकेत गर्दै ती प्रयासलाई प्रभावकारी रूपमा रोक्न नसकिएको स्वीकार गरेका छन् । ‘हामी सबै कहीँ न कहीँ चुकेका छौं’, भन्दै उनले आत्मालोचना समेत गरेका छन् । यद्यपि, डा. कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।

उनले सुधार, आत्मसमीक्षा र संगठन सुदृढीकरण कांग्रेसको निरन्तर एजेण्डा भएको उल्लेख गर्दै अब सबैले व्यक्तिगत असन्तुष्टि थाती राखेर सामूहिक लक्ष्यतर्फ अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनको वक्तव्यमा भनिएको छ, ‘म आह्वान गर्छु– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जित–हार कसैको छैन । सबैका लागि विन–विनको अवस्थामा हामी अगाडि बढ्न सक्छौं ।’ आगामी चुनावलाई केन्द्रमा राख्दै उनले कांग्रेसका नेता–कार्यकर्तालाई एकढिक्का भएर जनतामा जाने र पार्टीलाई पुनः बलियो बनाउने अभियानमा जुट्न आग्रह गरेका छन् । डा. कोइरालाको यो अपिललाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि र गुटगत तनावबीच एकता कायम गर्ने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।

 

 

 

 

गुट भन्दा विधान रोजेकी पुष्पा : शैलाजापछि कांग्रेसको दोस्रो महिला उपसभापति

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा लामो समयसम्म सभापति शेरबहादुर देउवा निकट मानिएकी पुष्पा भुसाल अहिले पार्टी रूपान्तरणको धारमा उभिँदै केन्द्रीय उपसभापतिमा उदाएकी छन् । बुधबार सम्पन्न विशेष महाधिवेशनले उनलाई शैलजा आचार्यपछि कांग्रेसको दोस्रो महिला उपसभापति बनाएको छ ।

विशेष महाधिवेशनमार्फत उदाएको यो नेतृत्व परिवर्तन केवल पदको फेरबदल मात्र होइन, कांग्रेसभित्रको शक्ति सन्तुलन र राजनीतिक दिशाको संकेत पनि हो । कुनै समय देउवा समूहभित्रै रहेर केन्द्रीय सदस्य, सांसद र प्रतिनिधिसभाकी उपसभामुख बनेकी भुसाल पछिल्लो चरणमा संस्थापन पक्षबाट अलग हुँदै गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको पार्टी रूपान्तरणको एजेण्डामा उभिइन् ।

जेन–जी आन्दोलनपछिको राजनीतिक दबाब, चुनाव घोषणापछि उठेको पार्टी सुधारको बहस र विधानअनुसार महाधिवेशन हुनुपर्ने मागले कांग्रेसभित्र स्पष्ट दुई धार बनायो । यही सन्दर्भमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि बढ्दा देउवा पक्षका केन्द्रीय सदस्यहरूको एउटा समूहको नेतृत्व पुष्पा भुसालले नै गरिन् । अन्ततः देउवा समूह महाधिवेशनमा नआउने निश्चित भएपछि उनी विशेष महाधिवेशनमा सहभागी भइन् र नयाँ नेतृत्व टिमको उपसभापतिमा निर्वाचित भइन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्रमै उनले पार्टी विधानभन्दा माथि कोही नहुने स्पष्ट सन्देश दिएकी थिइन् । ‘अब कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ’, भन्ने उनको अभिव्यक्तिले उनको राजनीतिक मोडलाई स्पष्ट पारेको थियो । उपसभापतिमा निर्वाचित भएपछि पनि उनले शैलजा आचार्यलाई सम्झँदै कांग्रेसलाई ‘दुबोसरी फैलिने, जनताको पार्टी’ बनाउने प्रतिबद्धता दोहोर्‍याइन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–पोखराथोकमा जन्मिएकी पुष्पा भुसालको जीवन कथा नेपाली कांग्रेसकै उतारचढावसँग गाँसिएको छ । २०१७ साल फागुन १ गते जन्मिएकी उनी बीपी कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् । पञ्चायतकालमा परिवारसहित भारत निर्वासन जानुपरेको अनुभवले उनको राजनीतिक चेतना सानैदेखि निर्माण भयो ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष अध्यापन गरिन् । वरिष्ठ अधिवक्ताका रूपमा कानुनी अभ्यास गर्दै सामाजिक न्याय, महिला अधिकार र समावेशिताका पक्षमा उनको निरन्तर संलग्नता रह्यो । २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी महिला संघकी महासचिव, पार्टीको कानुन विभाग सदस्य हुँदै केन्द्रीय राजनीतिमा स्थापित भइन् ।

२०६४ सालमा अर्घाखाँचीबाट संविधानसभा सदस्य निर्वाचित भई अन्तरिम संविधान र संविधान मस्यौदा समितिमा काम गर्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड बन्यो । २०७० र २०७९ मा प्रत्यक्ष चुनाव पराजित भए पनि उनी राजनीतिबाट अलग भइनन् । २०७४ मा समानुपातिक सांसद बनेर प्रतिनिधिसभाकी उपसभामुखको जिम्मेवारी सम्हालिन् ।

लगातार हार–जितका बीच पनि ५० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएकी भुसालले ‘महिला नेताहरू हारपछि हराउँछन्’ भन्ने भाष्यलाई चुनौती दिएकी छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा उदाउँदै उनले कांग्रेसलाई युवा र महिलामैत्री बनाउने, वैदेशिक पलायन र महिला हिंसाका मुद्दामा स्पष्ट हस्तक्षेप गर्ने संकल्प सार्वजनिक गरेकी छन् । देउवा निकटताबाट अलग हुँदै पार्टी रूपान्तरणको केन्द्रमा पुगेकी पुष्पा भुसाल अब नेपाली कांग्रेसको आगामी राजनीतिक दिशामा निर्णायक भूमिकामा देखिने छिन् ।

 

 

 

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमूल्लाहको नाम

काठमाडौं । नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमूल्लाह मन्सुरको नाम हटाइएको छ । बिहीबार बिहानै तीनै जनाको नाम वेबसाइटबाट हटाइएको हो । तीनै जनाको नाम रहेको स्थान खाली छोडिएको छ । यसअघि वेबसाइटमा उपभासपतिको तल महामन्त्रीमा थापा र शर्माको नाम रहेको थियो ।

त्यस्तै, आठ जना सहमहामन्त्रीको सुरुवातमै मन्सुरको नाम रहेको थियो । अहिले तीनै जनाको नाम र तस्बिर हटाएर महामन्त्री र सहमहामन्त्री मात्रै राखिएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। कांग्रेसले कारबाही गरेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

देउवा कांग्रेससँग फेसबुक, गगनसँग एक्स
नेपाली कांग्रेस बुधबारदेखि फुटेको छ । एउटा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र अर्को बुधबार सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वको । दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । देउवा कांग्रेसले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

त्यति मात्रै होइन पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको तस्बिर र नाम पनि हटाइएको छ । उता सामाजिक सञ्जाल फेसबुक पनि देउवा कांग्रेसको पहुँचमा छ । सोहीकारण थापासहितलाई कारबाही गरिएको निर्णय त्यहाँ पोस्ट गरिएको छ । यता गगन नेतृत्वको कांग्रेसको पहुँचमा एक्स छ । त्यहाँ विशेष महाधिवेशनको सूचनाहरू राखिएको छ ।

 

 

‘नयाँ कांग्रेस’ को प्रवक्तामा देवराज चालिसे

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपण्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो । बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् ।

चालिसे केन्द्रीय सदस्य चयन भएका थिए । बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ।

गगनको दावी : कांग्रेसका १० लाखमध्ये नौं लाख ८० हजार सदस्य हाम्रो पक्षमा छन्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले पार्टीका अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिएको दाबी गरेका छन् । निर्वाचन आयोगले चाहे सदस्यहरूको वास्तविक अवस्था परीक्षण गरेर हेर्न सक्ने भन्दै उनले १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य आफूहरूको पक्षमा रहेको बताएका हुन् ।

सभापति चयन भएपछि भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन नै पार्टी विधानले व्यवस्था गरेको सबैभन्दा ठूलो संरचना भएको स्पष्ट पारे । पार्टी सदस्यहरू कता उभिएका छन् भन्ने विषय नै निर्णायक हुने उल्लेख गर्दै उनले भने, ‘पुरानो र नयाँ गरेर करिब १० लाख क्रियाशील सदस्य छन् । धेरै भन्दिनँ, निर्वाचन आयोगले हेर्न चाहेको दिन नेपाली कांग्रेसले आह्वान गर्दा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यसबेला प्रश्न उठाऔंला ।’

थापाले निर्वाचन आयोगले कानुन, पार्टी विधान र विशेष महाधिवेशनको उपस्थितिलाई आधार मानेर निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास हामीलाई छ’, उनले भने, ‘आयोगले प्रचलित कानुन, विधान र यहाँको उपस्थितिलाई हेरेर निर्णय गर्छ ।’

यसैबीच, सभापति निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले कांग्रेस विभाजित नभएको दाबी गरे । उनले यसअघि शेरबहादुर देउवालाई सभापति निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूले नै आफूलाई पनि सभापति चुनेको बताए । विशेष महाधिवेशन सम्पन्न भइसकेको र केही दिनमै नयाँ कार्य समिति आउने विषयमा निर्वाचन आयोगलाई लिखित जानकारी दिइसकिएको उनको भनाइ थियो ।

थापाले कांग्रेसको आधिकारिकताबारे कुनै अन्योल नरहने दाबी गर्दै आयोगले विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोग जानकार छ, कानुनसम्मत निर्णय गर्छ’, उनले भने, ‘त्यसैले कांग्रेसको वैधानिकतामाथि कुनै विवाद रहँदैन ।’ विशेष महाधिवेशनपछि पार्टीभित्रको नेतृत्व र वैधानिकताबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै थापाले संगठनात्मक बल र सदस्यहरूको समर्थन नै आफ्नो मुख्य आधार भएको सन्देश दिएका छन् ।

 

 

 

नयाँ कांग्रेसको पहिलो बैठक पार्टी प्यालेसमा, आजै निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा काम सुरु गरेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय समिति बैठक नयाँ नेतृत्वको पहिलो बैठक हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । त्यसलगत्तै थापा नेतृत्वको समूहले पार्टीको भावी रणनीति, संगठनात्मक व्यवस्थापन र कानुनी प्रक्रियाबारे छलफल गर्न पहिलो बैठक आह्वान गरेको हो । बैठक कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिदेखि जारी रहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशनअघि संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई अनुशासन उल्लङ्घनको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ । यही पृष्ठभूमिमा थापा पक्षले विशेष महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आधिकारिकता दाबी, संगठन सुदृढीकरण र आगामी कदमबारे गहन छलफल भइरहेको जनाइएको छ । बैठकपछि विशेष महाधिवेशनका नतिजा तथा कागजात अद्यावधिक गर्न थापा नेतृत्वको टोली आजै निर्वाचन आयोग जाने तयारीमा छ । अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी गरिएको हो ।

उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग पुग्ने कार्यक्रम तय गरिएको छ । आयोगमा आवश्यक कागजात, निर्णय र अभिलेख दस्तावेजीकरणका लागि कानुनी टोलीले सहजीकरण गरिरहेको छ । गगन थापा नेतृत्वको यो कदमलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । निर्वाचन आयोगको निर्णय र आगामी राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

 

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक आज बस्दैछ । युवा नेता गगन थापा पार्टीको सभापतिमा निर्वाचित भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

पार्टी सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार नयाँ कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा बिहान ११ बजेपछि बस्ने गरी तय गरिएको छ । बुधबार राति मात्रै थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन भएका थिए । आजको बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारी रहेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई कसरी अगाडि बढाउने र निर्वाचनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा आजैबाट प्रारम्भिक छलफल सुरु हुनेछ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएकाले कानुनी प्रक्रिया पूरा गर्नका लागि बैठकले ठोस निर्णय लिनेछ ।

निर्वाचन आयोगमा देउवा र गगन–विश्वको छुट्टाछुट्टै पत्र, आधिकारिकता कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा विवाद चुलिँदै जाँदा निर्वाचन आयोगमा दुई पक्षबाट फरक–फरक पत्र पुगेका छन् । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वबाट निर्वाचित समिति नै आधिकारिक कांग्रेस हुने दाबी गरेका छन् भने अर्कोतिर पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई कारबाही गरिएको निर्णय आयोगमा पठाएका छन् ।

विशेष महाधिवेशन पक्षका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन् । पत्रमा विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने उल्लेख गरिएको छ । साथै, यसअघि रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी पनि उनीहरूले गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गर्दै अहिले ती पत्र राजनीतिक शाखामा अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार आयोगले कानुनी र प्रक्रियागत आधारमा विषयको परीक्षण गर्नेछ ।

यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै कडा कदम चालेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसहित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा औपचारिक पत्र पठाइसकेका छन् ।

कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ अन्तर्गत उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाउँदै कारबाही गरिएको उनको भनाइ छ ।

यसबीच, भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेस सभापतिका लागि गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । आजै राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ ।

दुवै पक्षले आफू नै वैधानिक र आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याएपछि अब आयोगको निर्णयले कांग्रेसको भावी दिशा तय गर्ने देखिएको छ । पार्टीभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत ठूलो असर पार्ने आंकलन गरिएको छ ।

 

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गर्दै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाएको बताएका छन् । देउवा पक्षबाट आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भए लगत्तै विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने स्पष्ट पारे । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं । यो कुरा सिंगो देशले सुनिरहेको छ ।’

उनले कांग्रेसको यही अभ्यास नै पार्टीको लोकतान्त्रिक चरित्र भएको उल्लेख गर्दै देशभरका कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूले यो प्रक्रियालाई नियालिरहेको बताए । थापाले विशेष महाधिवेशनमा सहभागी नेता–कार्यकर्ता नै बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको दाबी गरे । ‘बीपी र गणेशमानका परिवारका सदस्यहरू यहाँ नहुन सक्छन्, तर हामी उनीहरूको विचार बोक्ने सन्तान हौं’, उनले भने, ‘जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै वास्तविक सन्तान हुन् ।’

निर्वाचन आयोगलाई मान्यता दिन आग्रह
विशेष महाधिवेशनको वैधानिकताबारे बोल्दै थापाले निर्वाचन आयोगले महाधिवेशनबाट गरिएका निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरे । बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा निर्णय भएकाले आयोगले यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘हामीले अन्तिम समयसम्म मिलनको प्रयास ग¥यौं । निर्वाचन आयोग, कानुन र संस्थाप्रति मेरो विश्वास छ । विशेष महाधिवेशनबाट आएको निर्णयलाई आयोगले मान्यता दिनुपर्छ ।’ उनले देउवा पक्षले नै आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गर्दै पनि अन्तिमसम्म सहमति नजुटेको बताए । ‘कोही ‘आइज’ भनेर आएको थियो, तर ‘जा’ भनेर जान सकेन’, थापाको टिप्पणी थियो ।

‘गाली होइन, एकताको राजनीति’
थापाले कार्यकर्ता तथा समर्थकहरूलाई संयमित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र सबैलाई सँगै लैजानु पर्ने आवश्यकता औंल्याउँदै उनले कसैप्रति गालीगलौज नगर्न अनुरोध गरे । ‘गाउँठाउँमा जाँदा वा सामाजिक सञ्जालमा लेख्दा कसैको पनि गाली नगरिदिनु होला’, उनले भने, ‘हामी सबैलाई सँगै लिएर जानुछ ।’

आफ्नो सम्बोधनको अन्त्यतिर थापाले राजनीतिक सौहार्दको सन्देश दिँदै विशेष महाधिवेशनपछि पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताए । ‘केही दिनपछि कांग्रेसले नयाँ निर्णय सुनाउँछ । दुई दिनपछि त नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु छँदैछ’, उनले भने । विशेष महाधिवेशनमार्फत कांग्रेसभित्रको शक्ति संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दै थापाको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।

गगन–विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । केन्द्रीय समिति वैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि कांग्रेसको विशेष महाधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । त्यस लगत्तै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले ‘तानाशाही निर्णय मुर्दावाद !’ भन्दै नाराबाजी गरेका हुन् ।

कारवाहीपछि गगनको चुनौती : कांग्रेस तिनको प्राइभेट कम्पनी हो हामीलाई निकाल्न ?

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले चुनौतीसहित भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले भने, ‘मैले समाचार सुनें नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो । तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ? तपाईंको घरबाट निकाल्नु भएको हो ? महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए ।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’ उनले अहिलेको चिन्ता आफूहरूको बारेमा मात्रै नभएको बताए । ‘हाम्रोबारेमा चिन्ता नै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने ।

 

 

 

 

 

कारबाहीपछि गगन थापा : हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झण्डा हामीसँग छ

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद थप चर्किदै जाँदा शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले गरेको कारबाहीपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै पार्टीको आधिकारिक धार भएको दाबी गरेका छन् । देउवा समूहले थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरे लगत्तै थापाले विशेष महाधिवेशनमार्फत वैधानिक रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

थापाका अनुसार पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ । ‘अब हामी अन्योलमा बसिरहनुपर्ने अवस्था रहेन’, उनले भने, ‘विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको छ, नामावली सार्वजनिक हुँदैछ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पद छोडेर प्रक्रिया सहज बनाउन आग्रह गरिएको पनि स्पष्ट पारे । ‘असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापतिले सम्बोधन गरेर कार्यवाहक जिम्मेवारी दिएर जानु भएको थियो, त्यो सम्मानजनक नै थियो’, थापाले भने, ‘हामीले विधि र विधान अनुसारको बाटो रोजेका हौँ ।’

पार्टीको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले विशेष महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन हुने पक्ष नै वास्तविक कांग्रेस भएको दाबी गरे । ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ’, उनले भने, ‘यही नै नेपाली कांग्रेस हो ।’ थापाका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइनेछ । ‘निर्वाचन प्रक्रिया सकिएपछि आयोगलाई औपचारिक जानकारी दिन्छौँ’, उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा हामीसँगै छ। कांग्रेस भनेकै हामी हौँ ।’

देउवासँगको अन्तिम संवादबारे बोल्दै थापाले सभापतिले ‘वैशाखमा स्वतः अलग हुन्छु’ भनेको स्मरण गरे। तर अहिले नै निष्क्रिय बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । ‘प्रश्न पर्खिन नसकेको होइन’, उनले स्पष्ट पारे, ‘देश, समाज र कार्यकर्ताले अब कुर्न नसक्ने अवस्था भयो ।’ थापाले भदौ २३ मा भएको घटनालाई पनि यही असन्तोषको परिणामको रूपमा व्याख्या गरे । ‘यदि कार्यकर्ताको आवाज समयमै स्वीकार गरिएको भए भदौ २३ को घटना हुने थिएन’, उनले भने । कांग्रेसभित्रको यो विवादले अब पार्टीको आधिकारिकता, चुनाव चिह्न र वैधानिक नेतृत्वबारे कानुनी तथा राजनीतिक बहसलाई थप तीव्र बनाउने संकेत देखिएको छ ।

 

 

 

 

 

गगन–विश्वप्रकाशलाई निष्काशन गरेको निर्णय सुनाउँदै गर्दा भावुक बने खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद खुला टकरावमा रूपान्तरित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउँदै पार्टी असहज अवस्थातर्फ धकेलिएको बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशन कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा अघि बढाइएको दाबी गरे । तर, प्रक्रिया पूरा गर्न नसकिएको अवस्थामा कार्यतालिका सार्ने समझदारी हुँदाहुँदै पनि उनीहरूले विशेष महाधिवेशनको आह्वान गरेर धोका दिएको उनको आरोप थियो । खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको हो । तर क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया समयमा पूरा हुन सकेन । त्यसमा उहाँहरू स्वयंको पनि जिम्मेवारी छ ।’ उनले महामन्त्रीद्वयले आफूहरूबाट कुनै कमजोरी नभए जस्तो गरी विशेष महाधिवेशनतर्फ अगाडि बढेको भन्दै असन्तुष्टि जनाए ।

विशेष महाधिवेशनको माग गर्दै गगन–विश्व पक्षले सार्वजनिक रूपमा गतिविधि बढाएपछि संस्थापन पक्ष र इतर समूहबीच पटक–पटक वार्ता भएको थियो । तर, ती सबै प्रयास असफल भएपछि अन्ततः केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ । कारबाहीको निर्णय सुनाउने क्रममा खड्का भावविह्वल बनेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘सबै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ’, भन्दै खड्काले बैठकमा भावुक अभिव्यक्ति दिएको ती सदस्यको भनाइ छ । उनका अनुसार खड्का निर्णय सुनाउँदा निकै गहिरो तनावमा देखिन्थे । बैठकमा खड्काले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताको विवरण पनि प्रस्तुत गरेका थिए । उनले महामन्त्रीद्वयले सहमतिको ‘अन्तिम विकल्प’ भन्दै पठाएका प्रस्तावहरूमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नाममा सभापतिको हस्ताक्षर परिवर्तन गर्नेबाहेक अन्य कुनै प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

विशेष गरी गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टी गतिविधिबाट निस्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको खड्काको भनाइ थियो । ‘हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जवाफ दिइसकेका छौं’, खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षसँग चरणबद्ध छलफल चलिरहेकै कारण बुधबार बिहानका लागि तय गरिएको केन्द्रीय समिति बैठक दिउँसो ढिलो गरी सुरु भएको थियो । यसअघि मंगलबार पनि पटक–पटक बैठक सर्दै राति संक्षिप्त छलफलमा सीमित भएको थियो । कांग्रेसभित्र देखिएको यो तकरारले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ । नेतृत्व तहकै आपसी अविश्वास र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने चासो तीव्र बन्दै गएको छ ।

 

 

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि निष्काशन गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

गगन–विश्वप्रकाश कांग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसमा चलिरहेको विशेष महाधिवेशन विवादले आज निर्णायक मोड लियो । पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

तर, पार्टी अध्यक्ष शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरूले तीन चरणको छलफलपछि विवाद समाधान गर्ने प्रयास गरेका थिए । मंगलबार र बुधबारसम्म चल्ने छलफलमा पनि दुई महामन्त्री पक्ष र पार्टी नेतृत्वबीच सहमति जुट्न सकेन । विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूले बन्द सत्रको निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा गगन थापाको सभापति पदका लागि नाम दर्ता गरिएको छ भने अन्य पदाधिकारीका उम्मेदवारहरूको मनोनयन पनि सम्पन्न भइसकेको छ ।

पार्टीले स्पष्ट पारेको छ कि नियम विपरीत विशेष महाधिवेशन आह्वान गर्ने कदमले पार्टीको आन्तरिक अनुशासनमा गम्भीर असर पुर्‍याएको छ । निष्काशित तीनै महामन्त्रीले अब पाँच वर्षसम्म पार्टीको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् । विशेषज्ञहरूका अनुसार, यस घटनाले नेपाली कांग्रेसभित्रको नेतृत्व अस्थिरता र भित्री विवादलाई अझ स्पष्ट बनाएको छ । आगामी समयमा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व प्रतिष्पर्धा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान रहेको छ ।

 

 

कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ । बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन् । जसअनुसार ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५ः०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै उम्मेदवारी फिर्ताको समय ५ः०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।

देउवा भेटेर सानेपा पुगेका शेखर भन्छन्, ‘पार्टी यत्तिकै फुट्छ ?’

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद गहिरिँदै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा संकट व्यवस्थापन प्रयासहरू तीव्र बनेका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता डा. शेखर कोइरालाले पार्टी तत्काल फुट्ने स्थिति नरहेको दाबी गरेका छन् ।

सानेपामा बुधबार दिउँसो पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘यत्तिकै पार्टी फुट्छ ?’ उनले हिजो र आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेका छन् । सानेपामा बस्ने बैठक विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको समयमा भएको हो । संस्थापन पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने तयारीमा रहेको बेला कोइरालाको सानेपा उपस्थितिले राजनीतिक सन्तुलन कायम राख्ने संकेत दिएको देखिन्छ ।

यसैबीच, पार्टीको आन्तरिक विवादमा महासचिव मोहनबहादुर बस्नेतले गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरेका छन् । भ्रष्टाचार मुद्दा खेपिरहेका बस्नेतले पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘यस्ता नौटङ्कीबाजलाई मेरो समर्थन छैन । त्यस्ता आलाकाँचाले कांग्रेस जस्तो पार्टी चलाउन सक्छन् ?।’ भावी प्रधानमन्त्री बन्न चाहेको उम्मेदवारको निर्वाचन क्षेत्र नै स्पष्ट नभएको उल्लेख गर्दै गगन–विश्व समूहको नेतृत्व क्षमता प्रश्न गरेका छन् । त्यसैगरी, विशेष महाधिवेशन आयोजना गर्नेमध्येका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग पठाएको ८ बुँदे प्रश्नको जवाफ नआएपछि भृकुटीमण्डपमा पनि अन्योलता छाएको छ ।

निर्वाचन प्रक्रिया सुरु भइसकेको र उम्मेदवारको मनोनयन सकिएको अवस्थामा जवाफ नआउँदा विशेष महाधिवेशन स्थलमा अनिश्चितता बढेको छ । यसले विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने योजना समेत ढिलाइमा परेको देखिएको छ । विशेषज्ञहरूले नेपाली कांग्रेसको यो विवादलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको संवेदनशील परीक्षणको रूपमा व्याख्या गरेका छन् । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको तनाब अझै केही दिन जारी रहन सक्ने सम्भावना देखिन्छ ।

देउवालाई पठाइयो गगनलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्नेसहित आठ बुँदे नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक रस्साकस्सीलाई सहमतिमा टुंग्याउने प्रयास तीव्र बनेको छ । पार्टीको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि आठ बुँदे नयाँ प्रस्ताव अघि सारेको छ । जसमा महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने प्रमुख प्रस्ताव समेटिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि तयार पारिएको प्रस्ताव पठाएका हुन् । खड्काको कार्यकक्षमा उक्त प्रस्तावमाथि गम्भीर छलफल भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र देखिएको विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए । उनीहरूले आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको प्रक्रिया कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।

त्यसैगरी, सभापति देउवाले आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुपर्ने र विशेष महाधिवेशनले गरेका निर्णयलाई औपचारिक मान्यता दिनुपर्ने माग पनि उठाइएको थियो । जवाफमा देउवाले वैशाखमा तय भएको १५औं महाधिवेशनपछि आफू स्वतः नेतृत्वबाट बाहिरिने भन्दै तीन महिना कुर्न आग्रह गरेका थिए । यद्यपि, चुनाव नलड्ने विषयमा उनले स्पष्ट प्रतिबद्धता जनाएका थिएनन् ।

संस्थापन पक्षले अन्य मागका हकमा भने केही लचकता देखाएको नेताहरू बताउँछन् । विशेष गरी, आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ । यही आधारलाई केन्द्रमा राख्दै महामन्त्री शर्माले सहमतिका लागि नयाँ प्रस्ताव तयार पारेर पठाएका हुन् । विशेष महाधिवेशन पक्षको आठ बुँदे प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र भावी राजनीतिक दिशाबारे सहमति खोजिएको छ ।

त्यसमध्ये सबैभन्दा चासोको विषय गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव हो । यसले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई अघि सार्ने सन्देश दिने नेताहरूको तर्क छ । कांग्रेसभित्र चलिरहेको यो संवाद र प्रस्तावमाथिको छलफलले पार्टीको आगामी महाधिवेशन, निर्वाचन रणनीति र नेतृत्व संरचनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सहमति जुटेमा कांग्रेस आन्तरिक विवादबाट बाहिर निस्कँदै एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने संकेत देखिएको छ ।

हेर्नुस् आठ बुँदे नयाँ प्रस्ताव

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने ।
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने ।
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने ।
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने ।
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने ।
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने ।
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने ।
–विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने ।