कांग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छ : भण्डारी
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ । सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्षले आफूहरू नै १४औं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराएको छ ।
शुक्रबार बिहान कार्यवाहक सभापति खड्कासहित केन्द्रीय समितिका बहुमत सदस्य स–शरीर निर्वाचन आयोग पुगेका थिए । आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनीहरूले हालै सम्पन्न भनिएको विशेष महाधिवेशन विधानअनुसार नभएको र त्यसबाट चयन गरिएको गगन थापा नेतृत्वको कार्यसमिति अवैध रहेको जिकिर गरे । छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले संविधान, प्रचलित ऐन–कानुन र स्थापित विधि–पद्धतिको परिधिमा रहेर मात्र विषयवस्तुको विश्लेषण गर्ने स्पष्ट पारे ।
‘निर्वाचन आयोग विधि र कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्दैन’, भन्दै उनले निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसारका प्रक्रियामा सहभागी हुन कांग्रेस नेताहरूलाई आग्रह समेत गरे । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको पक्षमा सुरुमा हस्ताक्षर गरेका ८८५ महाधिवेशन प्रतिनिधिले पछि हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै त्यसको प्रमाण आफूहरूसँग रहेको बताए । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले नै विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको उल्लेख गरे ।
उनका अनुसार पार्टी विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ र सोही व्यवस्थाअनुसार देउवा नेतृत्वको समिति वैधानिक रूपमा कायम रहेको छ । ‘हामी नै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति हौं’, खड्काले भने । खड्काले पूर्व महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले समयमै सदस्यता सूची नबुझाएकै कारण नियमित महाधिवेशन हुन नसकेको र वैशाखमा सार्नुपरेको दाबी समेत गरे । साथै गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको र सो निर्णय आयोगलाई जानकारी गराइसकिएको बताए ।
छलफलमा नेता शेखर कोइरालाले पनि आफूहरू नै पार्टीको आधिकारिक केन्द्रीय समिति भएको दाबी दोहोर्याए । ‘सिंगो केन्द्रीय समिति यहाँ उपस्थित छ, केही व्यक्ति मात्र अलग भएर गएको अवस्था हो’, भन्दै उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा संस्था हेरेर निर्णय गर्न आग्रह गरे । विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूसँग सुरक्षित रहेको कोइरालाको भनाइ थियो । निर्वाचन आयोगमा खड्का र कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, नेता मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।
यसअघि गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित भनिएको कार्यसमितिले आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको निवेदन दर्ता गराइसकेको छ । दुवै पक्षबाट दाबी आएपछि कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद थप पेचिलो बनेको छ । अब निर्वाचन आयोगले संविधान र कानुनी व्यवस्थाको आधारमा कुन पक्षलाई आधिकारिक मान्ने भन्ने निर्णय गर्नुपर्ने चुनौती सामना गरिरहेको छ ।
