कार्यकाल थपिएको अवधिमा विशेष महाधिवेशन गर्नै मिल्दैन : मीन विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल मंसिरमै सकिइसकेको अवस्थामा अब विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट गरेका छन् । उनका अनुसार कार्यकाल सकिएपछि थपिएको अवधिमा बोलाइने महाधिवेशन विशेष हुनै सक्दैन ।
शनिबार निर्वाचन आयोगमा पत्रकारहरूसँग कुरा गर्दै विश्वकर्माले भने, ‘चार वर्षको अवधि मंसिरमै पूरा भइसकेको हो । थप गरिएको एक वर्षमा विशेष महाधिवेशन भन्ने नाम नै जोड्न मिल्दैन । विशेष महाधिवेशन भनेको समयावधि पूरा हुनुअगावै बोलाइने हो । अवधि सकिएपछि ढिलो वा नियमित महाधिवेशन हुन सक्छ, तर विशेष हुँदैन ।’
उनले पार्टी एकता जोगाउन निरन्तर प्रयास भइरहेको पनि बताए । ‘कांग्रेस नफुटोस् भनेर हामीले लगातार अपिल गरिरहेका छौं । तर कसैलाई जबरजस्ती बाँधेर राख्न सकिँदैन । बस्न नसक्ने साथीहरू जान सक्छन् । गएकाहरू पनि फर्केर आउन भनेर कारबाही नगरी राखेका छौं’, उनले भने । विश्वकर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका प्रतिनिधिहरूमध्ये ठूलो संख्याले हस्ताक्षर फिर्ता लिएको दाबी पनि गरे । ‘८३७ जना प्रतिनिधि र ४७ जिल्ला सभापतिले हस्ताक्षर फिर्ता लिइसक्नु भएको छ । अरू पनि आउँदै हुनुहुन्छ’, उनले भने ।
यसैबीच, निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग बढ्दो रूपमा देखिएको भन्दै आयोगलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत कृतिम सर्वेक्षण, नक्कली प्रोफाइल र भ्रामक प्रचारले निर्वाचन शब्दकै उपहास भइरहेको उनको भनाइ छ । ‘सामाजिक सञ्जालमा फलानो प्रधानमन्त्री, फलानो विजेता भनेर कृत्रिम सर्वेक्षण देखाइन्छ । अनुहार देखाएर मान्छेलाई प्रभावित पारिन्छ । यो निर्वाचनको मूल भावनामाथि प्रहार हो’, उनले भने । सूचना प्रविधिको दुरुपयोग नियन्त्रणका लागि साइबर ब्युरोको प्रभावकारी परिचालन र आवश्यक परे अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउन समेत उनले सुझाव दिए ।
उनले निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग बढेकोतर्फ पनि ध्यानाकर्षण गराए । ‘सिंहदरबार जलाउँदा, सर्वोच्च अदालत जलाउँदा, राष्ट्रपतिमाथि आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झण्डा प्रयोग गरिएको देखिन्छ । राष्ट्रिय झण्डालाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाउन दिनु हुँदैन’, उनले जोड दिए । अर्को सन्दर्भमा, विश्वकर्माले भृकुटीमण्डपमा भएको भनिएको विशेष महाधिवेशनबारे पार्टीले औपचारिक निर्णय नगरेको स्पष्ट पारे । बिहीबार निर्वाचन आयोगमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘त्यो कार्यक्रमको सभापतित्व काठमाडौं जिल्ला सभापतिले गर्नु भएको हो । केन्द्रीय सभापति, कार्यवाहक सभापति, उपसभापति वा महामन्त्रीले नगरेको महाधिवेशन विशेष कसरी हुन्छ ? सम्भवतः त्यो काठमाडौं जिल्ला अधिवेशन हुन सक्छ ।’
भृकुटीमण्डपमा गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको दाबी भए पनि पार्टीका आधिकारिक संरचनाले त्यसलाई विशेष महाधिवेशनका रूपमा स्वीकार नगरेको विश्वकर्माको भनाइ छ। उनले विगतमा २०१४ सालमा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशनको उदाहरण दिँदै त्यतिबेला पनि जिल्ला सभापतिले सभापतित्व गरे पनि त्यो पार्टीको औपचारिक निर्णयअनुसार भएको स्मरण गराए ।
