नयाँ कांग्रेसको पहिलो बैठक पार्टी प्यालेसमा, आजै निर्वाचन आयोग जाँदै
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा काम सुरु गरेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा आज बसेको केन्द्रीय समिति बैठक नयाँ नेतृत्वको पहिलो बैठक हो ।
भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । त्यसलगत्तै थापा नेतृत्वको समूहले पार्टीको भावी रणनीति, संगठनात्मक व्यवस्थापन र कानुनी प्रक्रियाबारे छलफल गर्न पहिलो बैठक आह्वान गरेको हो । बैठक कुपण्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिदेखि जारी रहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।
विशेष महाधिवेशनअघि संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई अनुशासन उल्लङ्घनको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ । यही पृष्ठभूमिमा थापा पक्षले विशेष महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आधिकारिकता दाबी, संगठन सुदृढीकरण र आगामी कदमबारे गहन छलफल भइरहेको जनाइएको छ । बैठकपछि विशेष महाधिवेशनका नतिजा तथा कागजात अद्यावधिक गर्न थापा नेतृत्वको टोली आजै निर्वाचन आयोग जाने तयारीमा छ । अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएकाले पार्टीको अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी गरिएको हो ।
उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग पुग्ने कार्यक्रम तय गरिएको छ । आयोगमा आवश्यक कागजात, निर्णय र अभिलेख दस्तावेजीकरणका लागि कानुनी टोलीले सहजीकरण गरिरहेको छ । गगन थापा नेतृत्वको यो कदमलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ । निर्वाचन आयोगको निर्णय र आगामी राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

