`

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक आज बस्दैछ । युवा नेता गगन थापा पार्टीको सभापतिमा निर्वाचित भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

पार्टी सहमहामन्त्री उदयशम्शेर जबराका अनुसार नयाँ कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा बिहान ११ बजेपछि बस्ने गरी तय गरिएको छ । बुधबार राति मात्रै थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन भएका थिए । आजको बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारी रहेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई कसरी अगाडि बढाउने र निर्वाचनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा आजैबाट प्रारम्भिक छलफल सुरु हुनेछ । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएकाले कानुनी प्रक्रिया पूरा गर्नका लागि बैठकले ठोस निर्णय लिनेछ ।

निर्वाचन आयोगमा देउवा र गगन–विश्वको छुट्टाछुट्टै पत्र, आधिकारिकता कसलाई ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा विवाद चुलिँदै जाँदा निर्वाचन आयोगमा दुई पक्षबाट फरक–फरक पत्र पुगेका छन् । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वबाट निर्वाचित समिति नै आधिकारिक कांग्रेस हुने दाबी गरेका छन् भने अर्कोतिर पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई कारबाही गरिएको निर्णय आयोगमा पठाएका छन् ।

विशेष महाधिवेशन पक्षका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन् । पत्रमा विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने उल्लेख गरिएको छ । साथै, यसअघि रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी पनि उनीहरूले गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गर्दै अहिले ती पत्र राजनीतिक शाखामा अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार आयोगले कानुनी र प्रक्रियागत आधारमा विषयको परीक्षण गर्नेछ ।

यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै कडा कदम चालेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसहित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा औपचारिक पत्र पठाइसकेका छन् ।

कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ अन्तर्गत उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाउँदै कारबाही गरिएको उनको भनाइ छ ।

यसबीच, भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेस सभापतिका लागि गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । आजै राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ ।

दुवै पक्षले आफू नै वैधानिक र आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याएपछि अब आयोगको निर्णयले कांग्रेसको भावी दिशा तय गर्ने देखिएको छ । पार्टीभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत ठूलो असर पार्ने आंकलन गरिएको छ ।

 

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गर्दै विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाएको बताएका छन् । देउवा पक्षबाट आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भए लगत्तै विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन समितिमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने स्पष्ट पारे । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब हामी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने प्रक्रियामा छौं । यो कुरा सिंगो देशले सुनिरहेको छ ।’

उनले कांग्रेसको यही अभ्यास नै पार्टीको लोकतान्त्रिक चरित्र भएको उल्लेख गर्दै देशभरका कार्यकर्ता, शुभेच्छुक र नागरिकहरूले यो प्रक्रियालाई नियालिरहेको बताए । थापाले विशेष महाधिवेशनमा सहभागी नेता–कार्यकर्ता नै बीपी कोइराला र गणेशमान सिंहका सच्चा अनुयायी भएको दाबी गरे । ‘बीपी र गणेशमानका परिवारका सदस्यहरू यहाँ नहुन सक्छन्, तर हामी उनीहरूको विचार बोक्ने सन्तान हौं’, उनले भने, ‘जसले बीपी र गणेशमानका विचार बोकेका छन्, उनीहरू नै वास्तविक सन्तान हुन् ।’

निर्वाचन आयोगलाई मान्यता दिन आग्रह
विशेष महाधिवेशनको वैधानिकताबारे बोल्दै थापाले निर्वाचन आयोगले महाधिवेशनबाट गरिएका निर्णयलाई मान्यता दिनुपर्ने तर्क गरे । बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा निर्णय भएकाले आयोगले यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘हामीले अन्तिम समयसम्म मिलनको प्रयास ग¥यौं । निर्वाचन आयोग, कानुन र संस्थाप्रति मेरो विश्वास छ । विशेष महाधिवेशनबाट आएको निर्णयलाई आयोगले मान्यता दिनुपर्छ ।’ उनले देउवा पक्षले नै आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गर्दै पनि अन्तिमसम्म सहमति नजुटेको बताए । ‘कोही ‘आइज’ भनेर आएको थियो, तर ‘जा’ भनेर जान सकेन’, थापाको टिप्पणी थियो ।

‘गाली होइन, एकताको राजनीति’
थापाले कार्यकर्ता तथा समर्थकहरूलाई संयमित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र सबैलाई सँगै लैजानु पर्ने आवश्यकता औंल्याउँदै उनले कसैप्रति गालीगलौज नगर्न अनुरोध गरे । ‘गाउँठाउँमा जाँदा वा सामाजिक सञ्जालमा लेख्दा कसैको पनि गाली नगरिदिनु होला’, उनले भने, ‘हामी सबैलाई सँगै लिएर जानुछ ।’

आफ्नो सम्बोधनको अन्त्यतिर थापाले राजनीतिक सौहार्दको सन्देश दिँदै विशेष महाधिवेशनपछि पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताए । ‘केही दिनपछि कांग्रेसले नयाँ निर्णय सुनाउँछ । दुई दिनपछि त नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानु छँदैछ’, उनले भने । विशेष महाधिवेशनमार्फत कांग्रेसभित्रको शक्ति संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दै थापाको अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।

गगन–विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । केन्द्रीय समिति वैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिएपछि कांग्रेसको विशेष महाधिवेशनस्थलमा कार्यकर्ताले नाराबाजी गरेका छन् । बुधबार बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । त्यस लगत्तै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले ‘तानाशाही निर्णय मुर्दावाद !’ भन्दै नाराबाजी गरेका हुन् ।

कारवाहीपछि गगनको चुनौती : कांग्रेस तिनको प्राइभेट कम्पनी हो हामीलाई निकाल्न ?

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले चुनौतीसहित भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले भने, ‘मैले समाचार सुनें नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो । तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ? तपाईंको घरबाट निकाल्नु भएको हो ? महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए ।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं । हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन् । माया गरेकै छन् । हाम्रोबारेमा चिन्ता हो र ?’ उनले अहिलेको चिन्ता आफूहरूको बारेमा मात्रै नभएको बताए । ‘हाम्रोबारेमा चिन्ता नै होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ थापाले भने ।

 

 

 

 

 

कारबाहीपछि गगन थापा : हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झण्डा हामीसँग छ

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद थप चर्किदै जाँदा शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले गरेको कारबाहीपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै पार्टीको आधिकारिक धार भएको दाबी गरेका छन् । देउवा समूहले थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरे लगत्तै थापाले विशेष महाधिवेशनमार्फत वैधानिक रूपमा नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

थापाका अनुसार पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व संकट समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ । ‘अब हामी अन्योलमा बसिरहनुपर्ने अवस्था रहेन’, उनले भने, ‘विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको छ, नामावली सार्वजनिक हुँदैछ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पद छोडेर प्रक्रिया सहज बनाउन आग्रह गरिएको पनि स्पष्ट पारे । ‘असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापतिले सम्बोधन गरेर कार्यवाहक जिम्मेवारी दिएर जानु भएको थियो, त्यो सम्मानजनक नै थियो’, थापाले भने, ‘हामीले विधि र विधान अनुसारको बाटो रोजेका हौँ ।’

पार्टीको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले विशेष महाधिवेशनमार्फत वैधानिक नेतृत्व चयन हुने पक्ष नै वास्तविक कांग्रेस भएको दाबी गरे । ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ’, उनले भने, ‘यही नै नेपाली कांग्रेस हो ।’ थापाका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइनेछ । ‘निर्वाचन प्रक्रिया सकिएपछि आयोगलाई औपचारिक जानकारी दिन्छौँ’, उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा हामीसँगै छ। कांग्रेस भनेकै हामी हौँ ।’

देउवासँगको अन्तिम संवादबारे बोल्दै थापाले सभापतिले ‘वैशाखमा स्वतः अलग हुन्छु’ भनेको स्मरण गरे। तर अहिले नै निष्क्रिय बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । ‘प्रश्न पर्खिन नसकेको होइन’, उनले स्पष्ट पारे, ‘देश, समाज र कार्यकर्ताले अब कुर्न नसक्ने अवस्था भयो ।’ थापाले भदौ २३ मा भएको घटनालाई पनि यही असन्तोषको परिणामको रूपमा व्याख्या गरे । ‘यदि कार्यकर्ताको आवाज समयमै स्वीकार गरिएको भए भदौ २३ को घटना हुने थिएन’, उनले भने । कांग्रेसभित्रको यो विवादले अब पार्टीको आधिकारिकता, चुनाव चिह्न र वैधानिक नेतृत्वबारे कानुनी तथा राजनीतिक बहसलाई थप तीव्र बनाउने संकेत देखिएको छ ।

 

 

 

 

 

गगन–विश्वप्रकाशलाई निष्काशन गरेको निर्णय सुनाउँदै गर्दा भावुक बने खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद खुला टकरावमा रूपान्तरित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउँदै पार्टी असहज अवस्थातर्फ धकेलिएको बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशन कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा अघि बढाइएको दाबी गरे । तर, प्रक्रिया पूरा गर्न नसकिएको अवस्थामा कार्यतालिका सार्ने समझदारी हुँदाहुँदै पनि उनीहरूले विशेष महाधिवेशनको आह्वान गरेर धोका दिएको उनको आरोप थियो । खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको हो । तर क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया समयमा पूरा हुन सकेन । त्यसमा उहाँहरू स्वयंको पनि जिम्मेवारी छ ।’ उनले महामन्त्रीद्वयले आफूहरूबाट कुनै कमजोरी नभए जस्तो गरी विशेष महाधिवेशनतर्फ अगाडि बढेको भन्दै असन्तुष्टि जनाए ।

विशेष महाधिवेशनको माग गर्दै गगन–विश्व पक्षले सार्वजनिक रूपमा गतिविधि बढाएपछि संस्थापन पक्ष र इतर समूहबीच पटक–पटक वार्ता भएको थियो । तर, ती सबै प्रयास असफल भएपछि अन्ततः केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ । कारबाहीको निर्णय सुनाउने क्रममा खड्का भावविह्वल बनेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘सबै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ’, भन्दै खड्काले बैठकमा भावुक अभिव्यक्ति दिएको ती सदस्यको भनाइ छ । उनका अनुसार खड्का निर्णय सुनाउँदा निकै गहिरो तनावमा देखिन्थे । बैठकमा खड्काले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताको विवरण पनि प्रस्तुत गरेका थिए । उनले महामन्त्रीद्वयले सहमतिको ‘अन्तिम विकल्प’ भन्दै पठाएका प्रस्तावहरूमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नाममा सभापतिको हस्ताक्षर परिवर्तन गर्नेबाहेक अन्य कुनै प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

विशेष गरी गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टी गतिविधिबाट निस्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको खड्काको भनाइ थियो । ‘हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जवाफ दिइसकेका छौं’, खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षसँग चरणबद्ध छलफल चलिरहेकै कारण बुधबार बिहानका लागि तय गरिएको केन्द्रीय समिति बैठक दिउँसो ढिलो गरी सुरु भएको थियो । यसअघि मंगलबार पनि पटक–पटक बैठक सर्दै राति संक्षिप्त छलफलमा सीमित भएको थियो । कांग्रेसभित्र देखिएको यो तकरारले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ । नेतृत्व तहकै आपसी अविश्वास र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने चासो तीव्र बन्दै गएको छ ।

 

 

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सुर पनि निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि निष्काशन गरेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो ।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

गगन–विश्वप्रकाश कांग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसमा चलिरहेको विशेष महाधिवेशन विवादले आज निर्णायक मोड लियो । पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

पार्टीका वरिष्ठ नेताहरूको भनाइअनुसार, तीनै महामन्त्रीले कांग्रेसको नियमित कार्यविधि उल्लंघन गर्दै विशेष महाधिवेशन आह्वान गरेका थिए । यही कदमले पार्टी भित्रको ऐक्यबद्धतालाई चुनौती दिएको ठहर गर्दै केन्द्रीय कार्यसमितिले उनीहरूमाथि कारबाही अघि बढाएको हो । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका थिए । उनीहरूको तर्क अनुसार, पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति बैठकले गरेको निर्णय पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको थियो ।

तर, पार्टी अध्यक्ष शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरूले तीन चरणको छलफलपछि विवाद समाधान गर्ने प्रयास गरेका थिए । मंगलबार र बुधबारसम्म चल्ने छलफलमा पनि दुई महामन्त्री पक्ष र पार्टी नेतृत्वबीच सहमति जुट्न सकेन । विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूले बन्द सत्रको निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा गगन थापाको सभापति पदका लागि नाम दर्ता गरिएको छ भने अन्य पदाधिकारीका उम्मेदवारहरूको मनोनयन पनि सम्पन्न भइसकेको छ ।

पार्टीले स्पष्ट पारेको छ कि नियम विपरीत विशेष महाधिवेशन आह्वान गर्ने कदमले पार्टीको आन्तरिक अनुशासनमा गम्भीर असर पुर्‍याएको छ । निष्काशित तीनै महामन्त्रीले अब पाँच वर्षसम्म पार्टीको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन् । विशेषज्ञहरूका अनुसार, यस घटनाले नेपाली कांग्रेसभित्रको नेतृत्व अस्थिरता र भित्री विवादलाई अझ स्पष्ट बनाएको छ । आगामी समयमा पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व प्रतिष्पर्धा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान रहेको छ ।

 

 

कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधनसहित सार्वजनिक भएको छ । बिहान ११ बजे नै मनोनयन दर्ता सम्पन्न भए पनि त्यसपछिको निर्वाचन कार्यक्रम निर्धारण भएको थिएन । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार दिउँसो निर्वाचन कार्यक्रमको संशोधित कार्यतालिका सार्वजनिक गरेका हुन् । जसअनुसार ४ बजे उम्मेदवारको प्रथम नामावली सार्वजनिक हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५ः०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै उम्मेदवारी फिर्ताको समय ५ः०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । त्यसपछि बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।

देउवा भेटेर सानेपा पुगेका शेखर भन्छन्, ‘पार्टी यत्तिकै फुट्छ ?’

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद गहिरिँदै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा संकट व्यवस्थापन प्रयासहरू तीव्र बनेका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता डा. शेखर कोइरालाले पार्टी तत्काल फुट्ने स्थिति नरहेको दाबी गरेका छन् ।

सानेपामा बुधबार दिउँसो पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘यत्तिकै पार्टी फुट्छ ?’ उनले हिजो र आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समेत छलफल गरेका छन् । सानेपामा बस्ने बैठक विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको समयमा भएको हो । संस्थापन पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने तयारीमा रहेको बेला कोइरालाको सानेपा उपस्थितिले राजनीतिक सन्तुलन कायम राख्ने संकेत दिएको देखिन्छ ।

यसैबीच, पार्टीको आन्तरिक विवादमा महासचिव मोहनबहादुर बस्नेतले गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरेका छन् । भ्रष्टाचार मुद्दा खेपिरहेका बस्नेतले पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘यस्ता नौटङ्कीबाजलाई मेरो समर्थन छैन । त्यस्ता आलाकाँचाले कांग्रेस जस्तो पार्टी चलाउन सक्छन् ?।’ भावी प्रधानमन्त्री बन्न चाहेको उम्मेदवारको निर्वाचन क्षेत्र नै स्पष्ट नभएको उल्लेख गर्दै गगन–विश्व समूहको नेतृत्व क्षमता प्रश्न गरेका छन् । त्यसैगरी, विशेष महाधिवेशन आयोजना गर्नेमध्येका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवासँग पठाएको ८ बुँदे प्रश्नको जवाफ नआएपछि भृकुटीमण्डपमा पनि अन्योलता छाएको छ ।

निर्वाचन प्रक्रिया सुरु भइसकेको र उम्मेदवारको मनोनयन सकिएको अवस्थामा जवाफ नआउँदा विशेष महाधिवेशन स्थलमा अनिश्चितता बढेको छ । यसले विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने योजना समेत ढिलाइमा परेको देखिएको छ । विशेषज्ञहरूले नेपाली कांग्रेसको यो विवादलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको संवेदनशील परीक्षणको रूपमा व्याख्या गरेका छन् । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षबीचको तनाब अझै केही दिन जारी रहन सक्ने सम्भावना देखिन्छ ।

देउवालाई पठाइयो गगनलाई प्रधानमन्त्री घोषणा गरेर जानुपर्नेसहित आठ बुँदे नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक रस्साकस्सीलाई सहमतिमा टुंग्याउने प्रयास तीव्र बनेको छ । पार्टीको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि आठ बुँदे नयाँ प्रस्ताव अघि सारेको छ । जसमा महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने प्रमुख प्रस्ताव समेटिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका लागि सानेपा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि तयार पारिएको प्रस्ताव पठाएका हुन् । खड्काको कार्यकक्षमा उक्त प्रस्तावमाथि गम्भीर छलफल भइरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र देखिएको विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए । उनीहरूले आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको प्रक्रिया कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।

त्यसैगरी, सभापति देउवाले आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुपर्ने र विशेष महाधिवेशनले गरेका निर्णयलाई औपचारिक मान्यता दिनुपर्ने माग पनि उठाइएको थियो । जवाफमा देउवाले वैशाखमा तय भएको १५औं महाधिवेशनपछि आफू स्वतः नेतृत्वबाट बाहिरिने भन्दै तीन महिना कुर्न आग्रह गरेका थिए । यद्यपि, चुनाव नलड्ने विषयमा उनले स्पष्ट प्रतिबद्धता जनाएका थिएनन् ।

संस्थापन पक्षले अन्य मागका हकमा भने केही लचकता देखाएको नेताहरू बताउँछन् । विशेष गरी, आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर रहने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ । यही आधारलाई केन्द्रमा राख्दै महामन्त्री शर्माले सहमतिका लागि नयाँ प्रस्ताव तयार पारेर पठाएका हुन् । विशेष महाधिवेशन पक्षको आठ बुँदे प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र भावी राजनीतिक दिशाबारे सहमति खोजिएको छ ।

त्यसमध्ये सबैभन्दा चासोको विषय गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव हो । यसले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई अघि सार्ने सन्देश दिने नेताहरूको तर्क छ । कांग्रेसभित्र चलिरहेको यो संवाद र प्रस्तावमाथिको छलफलले पार्टीको आगामी महाधिवेशन, निर्वाचन रणनीति र नेतृत्व संरचनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सहमति जुटेमा कांग्रेस आन्तरिक विवादबाट बाहिर निस्कँदै एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने संकेत देखिएको छ ।

हेर्नुस् आठ बुँदे नयाँ प्रस्ताव

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने ।
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने ।
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने ।
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने ।
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने ।
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने ।
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने ।
–विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने ।

 

अब पार्टी फुटतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : खड्का

काठमाडौं । नेपाली कांग्रेस गहिरो आन्तरिक संकटको मोडमा पुगेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला घटनाक्रमले कांग्रेस फुटतर्फ अघि बढेको संकेत गरेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्ना कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई हालसम्म भएका वार्ताबारे जानकारी गराउँदै परिस्थिति गम्भीर बनेको स्पष्ट पारे ।

खड्काका अनुसार सभापति पक्षबाट अधिकतम लचकता देखाइए पनि महामन्त्रीहरू सहमतिमा नआएको र विशेष महाधिवेशनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले पार्टी विभाजनको बाटोमा पुगेको हो । ‘अब हिजो जस्तै बैठक रोकिँदैन’, खड्काको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘पार्टी जोगाउने वा अगाडि बढाउने आवश्यक निर्णय केन्द्रीय कार्य समितिले गर्छ ।’

यसैबीच, केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै खड्काले पार्टी जोगाउन प्रयास जारी रहेको बताएका छन् । कांग्रेस मिल्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘कोशिस चलिरहेको छ ।’ विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता भइसकेको विषयमा भने उनले कुनै टिप्पणी गरेनन् । हाल विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन् भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । कांग्रेस विधानअनुसार दुई महामन्त्री रहने व्यवस्था छ ।

उता, संस्थापन पक्षले भने आन्तरिक छलफललाई निर्णायक मोडमा लैजान केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन कांग्रेसका शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।
पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि उम्मेदवारी दर्ता र समानान्तर गतिविधिले कांग्रेसको भविष्यलाई अनिश्चित बनाएको छ । अब केन्द्रीय कार्यसमितिको निर्णयले कांग्रेस एकतर्फ फर्कने कि औपचारिक विभाजनतर्फ जाने भन्ने स्पष्ट हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । अहिलेसम्म दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा यसअघि नै गगन थापाले उम्मेदवारी दिएका थिए । सभापतिमा थापाको एकल उम्मेदवारी परेको हो । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

फुटको संघारमा कांग्रेस, दुई महामन्त्रीलाई कारवाहीको तयारी

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक सत्ता संघर्षको निर्णायक मोडमा पुगेको छ । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका तत्काल नछाड्ने अडान लिएपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ भने अर्कोतर्फ संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्ने तयारी थालेको छ ।

सोमबारदेखि निरन्तर चलेका छलफलहरू सहमतिमा नपुगेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको संकेत देखिएको छ । आज सानेपामा बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कारबाही प्रस्ताव लैजाने तयारी भएको एक केन्द्रीय नेताले जानकारी दिए । उता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गगन थापाले सभापति पदका लागि उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् ।

देउवा–महामन्त्री वार्ता असफल
विशेष महाधिवेशन अघि आज बिहान महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास पुगेका थिए । बालकृष्ण खाँण र रमेश लेखक समेत सहभागी छलफल करिब एक घण्टा चले पनि सहमति जुट्न सकेन । महामन्त्रीद्वयले पार्टीलाई ‘हाईकमाण्ड’ प्रणालीमार्फत सञ्चालन गर्दै सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा सीमित राख्ने प्रस्ताव गरेका थिए । उनीहरूको तर्क थियो–नेतृत्व बदलिएको स्पष्ट सन्देश नदिँदासम्म विशेष महाधिवेशनको औचित्य रहँदैन ।

तर देउवाले आफू तीन महिनापछि १५ औं महाधिवेशनबाट नेतृत्व छाड्न तयार रहेको भन्दै तत्काल कार्यकारी भूमिका छाड्न अस्वीकार गरे । उनले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार पार्टीका अन्य नेताहरूलाई दिन सकिने संकेत गरे पनि सभापति पद नछाड्ने अडान कायम राखे । भावुक हुँदै उनले महामन्त्रीद्वयलाई पार्टी नफुटाउन आग्रह समेत गरेका थिए।

निर्वाचन, टिकट र वैधताको बहस
महामन्त्रीद्वयले अहिलेको राजनीतिक परिस्थिति, जेनजी पुस्ताको भावनाअनुसार पार्टीले सन्देश दिनुपर्ने र आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न सक्ने नेतृत्व आवश्यक भएको तर्क अघि सारे । ‘निर्वाचन नभएको भए यो अवस्था आउने थिएन’, भन्दै उनीहरूले नेतृत्व परिवर्तनलाई समयको मागका रूपमा प्रस्तुत गरेका थिए ।

संस्थापन पक्षका नेता रमेश लेखकले भने टिकटमा सभापतिको हस्ताक्षर नहुने विषयमा समेत सहमतिको बाटो खुलेको दाबी गरे । निर्वाचन आयोगसँग परामर्शपछि कानुनी रूपमा सम्भव भए हस्ताक्षर फिर्ता लिन सभापति तयार रहेको उनको भनाइ थियो । तर विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यो प्रस्ताव अस्वीकार गरे ।

‘नेतृत्व बदलिएको सन्देश’ बिना औचित्य छैन
केन्द्रीय सदस्य प्रदीप पौडेलले कार्यबाहक सभापति, महामन्त्रीद्वय र शेखर कोइरालासहितको हाईकमाण्ड बनाएर पार्टी सञ्चालन गर्ने प्रस्ताव अस्वीकार भएपछि नयाँ नेतृत्व चयनमा जानु बाहेक विकल्प नरहेको बताए । ‘दुई महिनापछि नेतृत्व छाड्ने भनिए पनि अहिले नै स्पष्ट सन्देश नदिँदा विशेष महाधिवेशनको औचित्य सकिन्छ’, उनको भनाइ थियो । यता केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको एकता प्रयास ‘भेन्टिलेटर’ मा पुगेको टिप्पणी गरेका छन्। ‘अन्तिम प्रयास होला, तर धेरै आशा गर्ने अवस्था छैन’, उनले भने।

एकातिर भृकुटीमण्डपमा विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतर्फ सानेपामा केन्द्रीय कार्यसमितिबाट महामन्त्रीद्वयमाथि कारबाहीको तयारी भइरहेको छ । यही द्वन्द्वले नेपाली कांग्रेसलाई फुटको संघारमा पुर्‍याएको विश्लेषण पार्टीभित्रै हुन थालेको छ । अब कांग्रेस कुन बाटो रोज्छ-सम्झौतामार्फत एकता जोगाउने कि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै विभाजनको जोखिम मोलेर अघि बढ्ने-यसको फैसला केही घण्टा र दिनमै हुने देखिन्छ ।

 

कांग्रेस सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगञ्जमा एक घण्टा वार्ता गरेर फर्के लगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन् । विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका लागि आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास बोलाएका थिए । तर महामन्त्रीद्वयको मागअनुरूप देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको थियो ।

सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निक्र्यौल निकाल्न सुझाव दिएका थिए। देउवासँग भएको छलफलबारे कानुन विद्सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

देउवाको गगन–विश्वप्रकाशलाई आग्रह : पार्टी नफुटाऊ

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किंदै गएको आन्तरिक विवादका बीच सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भावुक अपिल गर्दै पार्टी नफुटाउन आग्रह गरेका छन् । बुधबार बिहान आफ्नै निवास महाराजगञ्जमा करिब एक घण्टा चलेको छलफलमा देउवाले आफू अत्यन्त उदार बन्न तयार रहेको उल्लेख गर्दै हस्ताक्षर अधिकारदेखि नेतृत्व हस्तान्तरणसम्मका विषयमा लचकता देखाएका थिए । तर महामन्त्रीद्वयले तत्काल नेतृत्व छाड्नु पर्ने अडान नछाडेपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।

वार्तामा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवाले निकै भावुक शैलीमा पार्टी एकतामै रहनुपर्ने धारणा राखेका थिए । ‘पार्टी फुट्नु हुँदैन । म अब सभापति हुने पनि होइन । वैशाखमा तपाईं जो कोही पनि सभापति हुन सक्नु हुन्छ’, देउवाको भनाइ उद्धृत गर्दै महतले सुनाए । देउवाले पार्टीको निर्वाचन प्रक्रियामा हस्ताक्षरको अधिकार आफूले मात्र प्रयोग गर्नुपर्ने भन्ने अडान नरहेको स्पष्ट पारेका थिए । ‘हस्ताक्षरको विषय समस्या हो भने, म पार्टीका जुनसुकै नेतालाई त्यो अधिकार दिन तयार छु’, उनले भनेको महतले जानकारी दिए । समानुपातिक र राष्ट्रिय सभाको हकमा आफ्नै हस्ताक्षर प्रयोग भइसकेको र प्रत्यक्ष निर्वाचनमा पनि निर्वाचन आयोगलाई समस्या नपरे अन्य नेताले हस्ताक्षर गर्न सक्ने उनको भनाइ थियो ।

‘मलाई चुनावै लड्न नदिने भन्या हो ?’
वार्ताका क्रममा देउवाले महामन्त्रीहरूसँग अर्को चासो पनि राखेका थिए । पार्टीभित्र आफूलाई चुनाव लड्न नदिने तयारी भइरहेको चर्चा सत्य हो कि होइन भनेर उनले प्रत्यक्ष प्रश्न गरेका थिए । ‘सभापति ज्यूले ‘तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ?’ भनेर सोध्नु भयो’, प्रवक्ता महतले संवाद उद्धृत गर्दै सुनाए । महामन्त्रीद्वयले त्यस्तो नसोचेको स्पष्ट पारे पनि उनीहरूले देउवालाई ‘संरक्षक’ भूमिकामा बस्न सुझाव दिएको महतले बताए । महामन्त्रीहरूको तर्क थियो–सभापतिले औपचारिक रूपमा ‘छाड्नुस्’ भन्नु पर्ने अवस्था नरहे पनि अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुनुपर्छ । तर देउवाको बुझाइमा आफू अहिले पनि संरक्षककै भूमिकामा रहेको र त्यसलाई अनावश्यक विवादको विषय बनाइएको थियो ।

विशेष महाधिवेशनले बढायो तनाव
कांग्रेसभित्रको विवाद केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णयसँगै चर्किएको हो । उक्त निर्णय अस्वीकार गर्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि पार्टी औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ । पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन अहिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ । यही प्रक्रियाले पार्टी विभाजनको खतरा बढेको भन्दै देउवाले ‘पार्टी बचाउन’ अन्तिम प्रयासस्वरूप वार्ता गरेको नेताहरूको बुझाइ छ ।

निष्कर्षविहीन भेट
लामो छलफलका बाबजुद महामन्त्रीद्वयले तत्काल कुनै निष्कर्ष दिन नसक्ने भन्दै ‘अन्य नेताहरूसँग सल्लाह गरेर फर्किने’ बताएका थिए । त्यसपछि वार्ता टुंगिएको थियो । सभापति देउवाले आफू हिजोदेखि नै उदार भएर अघि बढिरहेको दाबी गर्दै ‘किन यस्तो भइरहेको छ ? पार्टी नफुटोस्, कांग्रेस बचोस्’ भन्ने नै आफ्नो मूल चाहना भएको बताएका थिए । तर नेतृत्वको प्रश्नमा सहमति नजुट्दा कांग्रेसभित्रको संकट थप गहिरिने संकेत देखिएको छ । वार्तामा सहभागी कांग्रेसका प्रवक्ता प्रकाशरण महतले भने, ‘हामी पनि थियौँ, उहाँले पूरै भावुक भएर कुरा राख्नु भएको छ ।’

देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘पार्टी फुट्नु हुँदैन । म उदार हुन तयार छु । हस्ताक्षरको समस्या हो भने त्यसलाई समस्याका रूपमा लिनु पर्दैन । जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु । केन्द्रीय समितिको निर्णअनुसार पहिला मेरै हस्ताक्षरमा गयो । समानुपातिक सूचीमा पनि गइसक्यो । अहिले प्रत्यक्ष निर्वाचनको बाँकी हो । त्यसमा चाहिँ निर्वाचन आयोगलाई समस्या छैन भने म पार्टीका जुनसुकै नेतालाई हस्ताक्षरको अधिकार दिन तयार छ ु। पार्टी नफुटाऊ। म अब (सभापति) हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नु हुन्छ । किन यसो गर्नुहुन्छ, नगर्नुस् ।’

तर महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्न जिकिर गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको प्रवक्ता महतले बताए । बुधबार बिहान देउवा निवासमा उनीहरूबिच १ घण्टाजति वार्ता भएको थियो । केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ । पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।

 

देउवा निवासमा जुटेन सहमति, वार्ताबाट बाहिरिए गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनलाई लिएर चर्किएको विवाद सहमतिमा टुंगिन नसकेपछि पार्टी विभाजनको संघारमा पुगेको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान देउवा निवास महाराजगन्जमा भएको करिब एक घण्टे वार्ता बिना निष्कर्ष सकिएपछि महामन्त्रीद्वय वार्तास्थलबाट बाहिरिएका छन् ।

वार्तामा सभापति देउवाले आगामी वैशाखमा हुने १५औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने भएकाले अहिल्यै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । यद्यपि, उनले प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरणमा आफ्नो हस्ताक्षर अधिकार अन्य नेताहरूलाई दिन तयार रहेको प्रस्ताव राखेका थिए । तर महामन्त्रीद्वयले नेतृत्व परिवर्तन नै मूल मुद्दा भएको भन्दै सभापतिले तत्काल जिम्मेवारी छाड्नुपर्ने अडान लिएपछि सहमति जुट्न सकेन ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतका अनुसार टिकट वितरणका लागि हस्ताक्षर हस्तान्तरण गर्न देउवा तयार भए पनि सभापति पद त्याग्नुपर्ने माग आएपछि कुरा नमिलेको हो । ‘कानुनी रूपमा मिलाएर प्रत्यक्षतर्फ हस्ताक्षर अधिकार दिन तयार छु भन्ने उहाँको भनाइ थियो’, महतले भने ।

दुई धार, दुई बाटो
सहमति असफल भएसँगै कांग्रेसभित्र संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच दूरी झन् बढेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म निरन्तर चलेका संवादहरू पनि निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढिसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तनका लागि तीन विकल्प अघि सारेका थिए—
१) विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन ।
२) सभापतिको राजीनामा र नेतृत्वमा मात्रै निर्वाचन ।
३) अन्तरिम सभापति वा ‘हाइकमाण्ड’ मार्फत पार्टी सञ्चालन ।

यी कुनै विकल्पमा पनि संस्थापन पक्ष सहमत नहुँदा संवाद टुटेको विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ । गुरुराज घिमिरेका अनुसार सभापतिलाई सेरेमोनियल भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र वरिष्ठ नेताहरू सम्मिलित ‘हाइकमान्ड’ प्रस्तावसमेत अस्वीकार गरिएको थियो ।

‘पछि हट्न होइन, फुट्न तयार’

संस्थापन पक्षका नेताहरूका अनुसार देउवाले आफूलाई अपमानित गर्ने खालका प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘तीन महिनापछि महाधिवेशन हुँदैछ, यही बीचमा नेतृत्व परिवर्तन गर्नु सभापतिको अपमान हुन्छ’, वार्तामा सहभागी एक नेताले भने ।
उता, विशेष महाधिवेशन पक्षधर नेताहरू भने वर्तमान नेतृत्वकै निरन्तरतामा प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने अडानमा छन् । उनीहरूका अनुसार पार्टीको भविष्य जोगाउन अहिले नै निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको छ।

विशेष महाधिवेशनको एजेण्डा स्पष्ट
सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवारी मनोनयन र निर्वाचन तालिका समेत तय भइसकेको छ । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हलले अनुमोदन गर्ने सहमति मात्रै स्वीकार्य हुने स्पष्ट पारेका छन् । ‘सहमति भएन भने विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन हुन्छ’, उनको चेतावनी छ ।

संशोधित विधान पारित, नीति परिवर्तनमा एकमत
यता, विधान महाधिवेशनको बन्द सत्रले महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन र संशोधित विधान सर्वसम्मतिले पारित गरेको छ । संशोधित विधानले उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ मार्फत गर्ने, समानुपातिकमा एक पटक मात्रै अवसर दिने, पद र कार्यकालमा सीमा तोक्ने, युवा सहभागिता २० प्रतिशत सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण व्यवस्था समेटेको छ । बन्द सत्रको समापनमा गगन थापाले विशेष महाधिवेशनलाई ‘आन्तरिक लोकतन्त्रका लागि विद्रोह’ को संज्ञा दिए । ‘प्रश्न गर्नु नै विद्रोह हो, मौनता मृत्युसरह हो’, उनले भने । अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनले पार्टी नफुट्ने, बरु अझ मजबुत हुने दाबी गरे ।

कांग्रेसको निर्णायक मोड
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग आएको सन्दर्भमा सुरु भएको यो विवाद अब निर्णायक चरणमा पुगेको छ । सहमति भए पार्टी एकता जोगिने, नभए विशेष महाधिवेशनबाट नयाँ नेतृत्व उदाउने सम्भावना बलियो बनेको छ । अब कांग्रेसको भविष्य सहमति वा प्रतिस्पर्धा–दुवैमध्ये कुन बाटो रोजिन्छ भन्नेमा निर्भर देखिन्छ ।

 

कांग्रेस विशेष महाधिवेशन : मतदान भोलि बिहान मात्रै

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि विहान मात्र मतदान हुने भएको छ । विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने जानकारी दिए ।

‘साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ,’ उनले भने, ‘राति मतदान हुँदैन । भोलि बिहानबाट कार्यक्रमहरूलाई निरन्तरता दिन्छौँ ।’
९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ । बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ । आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र सकिनेछ । यसैबीच पार्टीभित्रको विवाद समाधानका लागि त्रिपक्षीय वार्ता समेत भइरहेको छ ।

विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, तीन जनाले लगे सभापतिको फाराम

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । पार्टी संस्थापन पक्षसँग सहमतिका लागि निरन्तर संवाद भइरहे पनि भृकुटीमण्डपमा भने निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता र अन्य प्रक्रिया तीव्र बनाइएको छ ।

विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आज उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो । सुरुमा तोकिएको समय परिमार्जन गर्दै निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ७ः३० बजेसम्मको समय दिएको जनाएको छ । मनोनयन फाराम वितरणका क्रममा सभापति पदका लागि मात्रै तीन जनाले फाराम लगेका छन् । यद्यपि, फाराम बुझाएपछि मात्र औपचारिक रूपमा उम्मेदवारको नाम सार्वजनिक हुने निर्वाचन समितिले स्पष्ट पारेको छ ।

संस्थापन पक्षसँग सहमतिमा महाधिवेशन अघि बढाउने प्रयास भइरहे पनि वार्ता अपेक्षित रूपमा टुंगोमा नपुगेपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया समानान्तर रूपमा अघि बढाएका हुन् । विशेष महाधिवेशन पक्षधर समूहले महामन्त्री गगन थापालाई सभापति बनाइनु पर्ने दबाब दिँदै आएको सन्दर्भमा राजनीतिक गतिविधि थप चर्किएको देखिन्छ ।

महाधिवेशनमा साबिकको विधानअनुसार सबै पदाधिकारीका लागि निर्वाचन हुने व्यवस्था गरिएको छ । यसअनुसार एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन् । कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी चुनावबाट चयन गरिनेछ । त्यस्तै, सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायबाट आठ जना चयन हुने व्यवस्था छ । खुला तर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित गरिनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको नामावली आज साँझ साढे ४ बजे प्रकाशन गरिनेछ । मतदान कार्यक्रम भने मंगलबार राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म सञ्चालन हुने तय भएको छ ।

उम्मेदवारी दर्ताका लागि शुल्क पनि निर्धारण गरिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्री पदका लागि समान २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ । विशेष महाधिवेशनले पदाधिकारी र केन्द्रीय समितिको चयनमार्फत पार्टीको भावी नेतृत्व र राजनीतिक दिशानिर्देश तय गर्ने भएकाले कांग्रेसभित्रको आन्तरिक राजनीति थप निर्णायक मोडमा पुगेको विश्लेषण भइरहेको छ ।

 

 

कांग्रेस विवाद मिलाउन त्रिपक्षीय टोली फेरि वार्तामा, सानेपाको बैठकमा ढिलाइ

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि पार्टीका तीनै पक्षको टोली फेरि वार्तामा जुटेका छन् । संस्थापन, नेता डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दोस्रो चरणको वार्ता दिउँसो ३ बजेबाट सुरु भएको छ । यो वार्ता पहिलो चरणको सकारात्मक छलफलपछि तय गरिएको हो ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट नेता रमेश लेखक र बालकृष्ण खाँण, नेता कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय पक्षबाट नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् । छलफलमा पार्टीभित्रको मतभेद र आगामी विशेष महाधिवेशनको प्रक्रिया समेटेर एकता कायम गर्ने विषयमा विचार–विमर्श भइरहेको छ ।

त्रिपक्षीय वार्ता जारी राखिएको बीच सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक पनि बस्दै छ । तर बैठक निर्धारित समय दिउँसो १ बजेबाट सुरु हुनुपर्ने भए पनि ४ः२० बजेसम्म सुरु भएको छैन । बैठकमा केन्द्रीय सदस्यहरू शीर्ष नेताको आगमनको पर्खाइमा रहेका छन् भने शीर्ष नेताहरू छुट्टै छलफलमा व्यस्त छन् । यस छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालगायत सहभागी छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी नेतृत्वका कारण पार्टी विभाजन नहुने विश्वास व्यक्त गर्दै भने, ‘पार्टी नेतृत्व वा हाम्रो कारण पार्टी फुट्दैन । यो नेपाली जनता र नेपालको हितमा पनि होइन । हामी अत्यन्तै लचकताका साथ पार्टी एकजुट बनाउन लागिरहेका छौं । हाम्रो कारणबाट पार्टी कमजोर वा विभाजन हुने कुरा छैन ।’ महतले विशेष महाधिवेशन पक्षधरलाई पनि सहमतिमा उदारताका साथ आउनु पर्ने बताए ।

उनले भने, ‘हामी जसरी उदारताका साथ प्रस्तुत भइरहेका छौं, उनीहरू पनि पार्टी एकताका लागि सहमतिमा आउनु पर्छ ।’ पार्टी विवाद समाधान र आगामी विशेष महाधिवेशनको तयारीबीच कांग्रेस नेतृत्व र सदस्यहरू एकताको खोजीमा सक्रिय देखिएका छन्। कार्यवाहक सभापति खड्का र नेता कोइरालाले भृकुटीमण्डस्थित विशेष महाधिवेशन स्थलमा पुगेर सम्बोधन गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ। नेपाली कांग्रेसभित्रको यो संवाद र प्रयासले पार्टीभित्रको विभाजन र आन्तरिक विवादलाई सुल्झाउने सम्भावना अझ बलियो बनाएको छ ।

 

 

विशेष महाधिवेशनले पार्टीलाई विभाजनतिर धकेल्यो : विजयकुमार गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् । मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू विशेष महाधिवेशनको विरोधी नभए पनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको बताए । उनले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनु पर्नेमा जोड दिए ।

उनले भने, ‘विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मैले मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रो हुन्थ्यो । तर त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पुर्‍याउनु हुँदैन । विभाजनमा पुर्‍याउनु हुँदैन, रोकिनु पर्छ ।’ केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमवार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।

साँझ ५ बजेसम्मलाई थपियो उम्मेदवारी मनोनयनको समय, शुल्क नगदै बुझाउनु पर्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयनको समय थपिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले मनोनयनको समय थप गर्दै साँझ ५ बजेसम्मलाई कायम गरेको हो । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार दिउँसो ३ बजेसम्मका लागि समय दिइएकोमा अहिले साँझ ५ बजेसम्मका लागि थप भएको छ । कांग्रेसका संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचन कार्यक्रम अघि बढाइएको हो ।

संस्थापन पक्षबीच भएका छलफलले सार्थकता पाउन नसकेपछि महाधिवेशनले निर्वाचनको प्रक्रिया अघि बढाएको छ । विभिन्न १३ जना पदाधिकारी र १३३ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सकिने जनाइएको छ । यसैबीच उम्मेदवारी मनोनयनका लागि फारम लैजानेको संख्या सिट भन्दा धेरै भएपछि सर्वसम्मत बनाउने प्रयास भएको हो । ‘हामी सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं,’ कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले भने ।

अहिले उम्मेदवारी मनोनयन दर्ताको क्रम धमाधम चलिरहेको छ । भृकुटीमण्डपमा आइतबारदेखि जारी महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । मतदान नै गर्नुपरेको खण्डमा आज बेलुका ९ बजेदेखि राति १ बजेसम्मका लागि समय छुट्ट्याइएको छ । मतदाताको नामावली प्रकाशन भइसकेको छ । यसअघि कायम रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या १०५ रहेकाले ४६३८ मतदाताको नामावली प्रकाशन भएको हो ।

निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेहरूलाई मनोनयन शुल्क नगदै लिएर आउन पनि भनेको छ । उम्मेदवारी दर्ता ५ बजेपछि मात्रै हुने जानकारी दिँदै समितिका कर्मचारीले भने, ‘दर्ता शुल्क नगदै ल्याउनु पर्छ क्युआर चल्दैन ।’ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । आइतबारदेखि विशेष महाधिवेशन जारी छ । उता संस्थापन समूहका नेताहरू भने केन्द्रीय समिति बैठकमा छन् । त्यस्तै सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीचको वार्ता पनि सुरु हुँदैछ ।

तरुण दलको चेतावनी : पार्टी विभाजन भइ गए पनि, कार्यालय कब्जा गर्न दिंदैनौं

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरुले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् । उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्न सक्ने भएकाले उनीहरुलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भईरहेको समेत बताए ।

अध्यक्ष गुरुङले भने, ‘अहिले नेपाली कांग्रेस जटिल अवस्थामा छ । एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ । अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ । उता पनि बन्द सत्र भइराखेको छ । नेपाली कांग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरुका बीचमा अहिले पनि संवाद भइराखेको छ । हामीलाई आशा छ–यो चुनौतिको घडीमा नेपाली काँग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

उनले भने, ‘नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरु नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा जम्मा भएका छौँ । पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दवाव पनि दिईरहेका छौ । यदि पार्टी एकता भएन र पार्टी विभाजन भएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस् भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ ।’

गुरुङले भने, ‘हामीलाई के विश्वास छ भने गगन थापा नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौ । त्यस्तो खालको दवाव पनि छ । विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरु पनि पार्टीलाई फुट्न दिनु हुँदैन भन्ने दवाव दिईरहनु भएको छ । निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ । महामन्त्री ज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईले पक्कै पहल गर्नु हुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ । उहाँकै कारण आज यो वार्ता भइरहेको हो ।’ नेपाल तरुण दलका नेता, कार्यकर्ताहरुले पार्टी विभाजन भए पनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन् ।

 

कांग्रेस विशेष महाधिवेशन : तोकियो उम्मेदवारी शुल्क, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै उम्मेदवारी दर्ता, मतदान र सुरक्षा व्यवस्था समेत अघि बढाइएको छ । निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसअघि खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको थियो । निर्वाचन केन्द्रीय समितिका पदहरूका लागि हुने जनाइएको छ ।

निर्वाचन तालिका सार्वजनिक भएसँगै महाधिवेशनस्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरीले माइकिङ गर्दै महाधिवेशन प्रतिनिधि बाहेक अन्य व्यक्तिलाई बाहिर पठाएको छ भने प्रतिनिधिहरूलाई हलभित्र प्रवेश गराइएको छ । बन्द सत्रस्थल आसपास अन्य नेता–कार्यकर्तालाई टाढा राखिएको छ ।

यता, भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा कांग्रेसको संस्थापन पक्षका नेता–कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएका छन् । तरुण दलका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको सानेपामा उनीहरूले ‘हामी यहाँ छौं’ भन्ने सन्देश दिन आफूहरू त्यहाँ पुगेको बताएका छन् । दुवै पक्षबीच विशेष महाधिवेशनको विषयमा वार्ता समिति बनाएर निरन्तर छलफल भइरहेको भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन ।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आजै मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । नामावलीमाथिको दाबी–विरोध र छलफल साढे १ बजेसम्म हुने उल्लेख छ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ । मतदान समय आज साँझ ९ बजेका लागि तोकिएको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने दिशामा औपचारिक रूपमा प्रवेश गरेसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चर्किएको छ ।

 

 

 

 

नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो । विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग कुनै भागबण्डाको कुरा नगरेको प्रष्टीकरण दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले भागबण्डाको राजनीति अन्त्य गर्न आफूहरूले खोजेको बताएका छन् ।

उनले भने, ‘वार्ता जाने साथीहरूलाई हामीले आफ्नो टाइमलाइन क्लियर गरेका छौं । अहिले भ्रमपूर्ण प्रचार हुँदैछ, हाम्रो माग भागबण्डाका लागि होइन, विधिको सर्वोच्चताको लागि हो । उहाँहरूले लेनदेनको राजनीति गरिराख्नु होला । गरिराख्नुस्, त्यसमा हाम्रो असहमति छ ।’ वार्तामा जानेहरूलाई भागबण्डाको विषय राख्ने कुनै म्याण्डेट नदिएको स्पष्ट पारे । उनले सभापतिले सम्पूर्ण जिम्मेवारी छाड्नु पर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनमा देउवा लड्न नहुने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने बताएका छन् ।

 

 

 

पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔं : डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताएका छन् । विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइ दिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरुका कारण आजको परिस्थिति सिर्जना भएको बताए ।

उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए । नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गरे । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो ।’

उनले भने, ‘वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ ।’

उनले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको छ । कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरुलाई आग्रह गरे । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पु¥याउन आग्रह गरे ।

 

 

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, कति बजे मतदान ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।

दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ । पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ । खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।

हेर्नुस् निर्वाचन तालिका

आजै फेरि बस्ने गरी सकियो कांग्रेसको त्रिपक्षीय वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि सुरु भएको त्रिपक्षीय वार्ता सहमतिउन्मुख देखिएको छ । आज (मंगलबार) बिहान लाजिम्पाटमा बसेको पहिलो चरणको छलफलपछि नेताहरूले आ–आफ्नो समूहसँग परामर्श गरेर पुनः बैठक बस्ने निर्णय गरेका छन् । बिहान साढे ८ बजेदेखि करिब तीन घण्टा चलेको वार्तामा संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षका गरी आठ जना नेताहरू सहभागी थिए । छलफलमा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र बद्री पाण्डे तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे सहभागी थिए ।

वार्तामा सहभागी एक नेताका अनुसार पहिलो चरणको छलफलमा विवादका मुख्य विषयहरू पहिचान गरिएको छ र दुवै पक्ष सहमतिका लागि अधिकतम लचक हुन तयार देखिएका छन् । ‘सहमतिको प्रयास भइरहेको छ । अहिले छलफलका विषय नेताहरूलाई ब्रिफिङ गरेर धारणा तय गर्ने र फेरि बस्ने समझदारी बनेको छ’, ती नेताले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि देखिएको असन्तुष्टि समाधानका लागि सुरु भएको संवाद सकारात्मक र सौहार्दपूर्ण वातावरणमा भएको रमेश लेखकले बताएका छन् । उनका अनुसार पार्टीलाई एकताबद्ध राख्ने विषयमा सबै पक्ष सहमत छन् र दिउँसो साढे २ बजे पुनः बैठक बस्ने तय भएको छ ।

सहमहामन्त्री जीवन परियारले पनि संवाद सही दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । ‘संवाद जारी छ, आजै सहमतिमा पुग्ने गरी छलफल अगाडि बढ्दैछ’, उनले भने । यसअघि सोमबार सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा संस्थापन पक्ष एकताका लागि लचिलो हुने निष्कर्षमा पुगेको थियो । त्यस लगत्तै विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक र महामन्त्रीद्वयबीच भएको छलफलमा पनि पार्टी एकतालाई प्राथमिकतामा राख्दै आ–आफ्नो अडान केही पछाडि हटाउने समझदारी बनेको थियो ।

स्रोतका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार देखिएको छ । विशेष महाधिवेशनबाट भएका व्यवहारिक र नीतिगत निर्णयलाई पार्टीले स्वीकार्ने सहमतिका आधार तयार हुँदैछन् । यसका लागि पुस १८ मा केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय आज बस्ने केन्द्रीय समिति बैठकबाट उल्ट्याउनुपर्ने प्रस्ताव अघि सारिएको छ । त्यसैगरी, आसन्न निर्वाचनमा टिकट वितरणको विषय पनि वार्ताको प्रमुख एजेण्डा बनेको छ । विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापतिको हस्ताक्षर भएको टिकटको व्यवस्था हुनुपर्ने माग राख्दै आएको छ । वर्तमान नेतृत्वको हस्ताक्षर भएको टिकट लिएर चुनाव नलड्ने घोषणा महामन्त्री गगन थापाले गरिसकेका छन् ।

यसबाहेक, आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र टिकट वितरणमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा सुनिश्चित गर्ने प्रस्ताव पनि विशेष महाधिवेशन पक्षको मागमा छन् । यद्यपि, यी सबै प्रस्तावमा तत्कालै सहमति जुट्ने अवस्था नरहे पनि ‘दुवै पक्षले जितेको अनुभूति हुने’ गरी सहमति खोज्ने प्रयास भइरहेको संस्थापन पक्षका नेताहरूको भनाइ छ । कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद समाधानतर्फ वार्ता सकारात्मक मोडमा पुगेको संकेत देखिएसँगै आजको दोस्रो चरणको बैठकलाई निर्णायक मानिएको छ ।

 

 

 

कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्रदेखि नयाँ नेतृत्व र हिन्दू राष्ट्रसम्मका प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा पार्टीको भावी दिशा, नेतृत्व र वैचारिक पहिचानबारे तीव्र बहस देखिएको छ । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्र पुनर्बहालीको प्रस्ताव अघि सारेसँगै महाधिवेशन हलमा गणतन्त्र, हिन्दू राष्ट्र, नेतृत्व चयन र पार्टी सुधारका विषयमा व्यापक छलफल सुरु भएको छ ।

गण्डकी प्रदेशको तर्फबाट धारणा राख्दै सभापति शर्माले मुलुकमा देखिएको गहिरो राजनीतिक, आर्थिक र सामाजिक संकट समाधानका लागि कांग्रेसले नयाँ वैचारिक बाटो लिनुपर्ने बताए । उनले देशमा क्रियाशील सबै राजनीतिक शक्तिसँग संवाद र छलफल गरेर संवैधानिक राजतन्त्र पुनर्बहालीको वातावरण बनाउनु पर्नेमा जोड दिए । साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल मूल्यसँगै सनातन धार्मिक स्वतन्त्रता सहित हिन्दू धर्मको पुनर्बहाली हुनुपर्ने उनको धारणा थियो ।

‘अहिले देश र जनता जोगाउनु नै मुख्य कार्यभार हो । नेपाली कांग्रेस बचाउनु पहिलो प्राथमिकता हो’, शर्माले भने, ‘देशमाथि परेको संकट समाधानका लागि जनताले फेरि पनि कांग्रेसकै नेतृत्व खोजिरहेका छन्, त्यसैले परिमार्जित र जनसेवामा समर्पित नेतृत्व विशेष महाधिवेशनबाट चयन हुनुपर्छ ।’ उनले विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउँदै पार्टीको स्पष्ट वैचारिक मार्गचित्र कोर्नुपर्ने आवश्यकता औंल्याए । गणतन्त्रलाई नै आत्मसात् गर्ने अवस्थामा पनि प्रतिक्रियावादी शक्तिले टाउको उठाउन नसक्ने गरी व्यवस्था सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

समूहगत छलफलमा नेतृत्व र सुधारको माग
महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रस्तावमाथि समूहगत छलफलपछि प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका छन् । छलफलको केन्द्रमा नयाँ नेतृत्व चयन, आन्तरिक लोकतन्त्र, समावेशिता र वैचारिक स्पष्टता देखिएको छ । मधेश प्रदेशका वीरेन्द्र साहले पार्टीभित्र दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूको सार्वजनिक सम्पत्तिको छानबिन हुनुपर्ने, उम्मेदवार चयनमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने र कारबाहीमा परेका व्यक्तिलाई न्यूनतम एक वर्ष निलम्बन गर्नुपर्ने सुझाव दिए । साथै संघीय बजेट जनसंख्याको आधारमा बाँडिनुपर्ने र प्रदेशमा क्लस्टर प्रणाली लागू गर्नुपर्ने उनको माग थियो ।

लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले पार्टीमा तल्लो तहबाटै नेतृत्वमा पुग्न पाउने अवसर सुनिश्चित गर्नुपर्ने बताए । उनले कांग्रेसमा सधैं माथिल्लो तहकै व्यक्तिहरू सार्वजनिक पदमा जाने प्रवृत्तिले पार्टी कमजोर हुँदै गएको टिप्पणी गरे । गण्डकी प्रदेश सभापति शर्माले फेरि धारणा राख्दै कांग्रेसले अरूको ‘वैशाखी’ टेकेर होइन, आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनका क्रममा भएका घटनाप्रति क्षमा माग्दै उनले अब पार्टीले नयाँ शिराबाट यात्रा सुरु गर्नुपर्ने बताए । ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा पनि संस्थापन पक्षले नसुनेको गुनासो गर्दै उनले गुमेका विरासत फर्काउन पहल गर्नुपर्ने र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग दोहोर्‍याए ।

नैतिकता, समावेशिता र महिला सहभागितामा जोड
कर्णाली प्रदेशका हर्ष बमले राजनीतिमा नैतिकताको अभाव भए शासक तानाशाह बन्ने चेतावनी दिए । ‘जसको नीति हुन्छ, उसैको नेतृत्व हुनुपर्छ । हलबाटै नेतृत्व चयन हुनुपर्छ’, उनले भने, ‘अँध्यारो कोठामा हुने जालझेल अब स्वीकार्य छैन ।’ बागमती प्रदेशकी सीता मिजारले साङ्गठनिक प्रतिवेदनमा दलित समुदायका विषय छुटेको भन्दै संविधान र पार्टी संरचनामा परिमार्जन गर्नुपर्ने माग गरिन् । उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा भूगोलको आधार नछुट्याए दलितहरूलाई चुनाव लड्न गाह्रो हुने बताइन् ।

पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनबाटै नेता र नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन् । चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति बनाउनुपर्ने, आन्तरिक निर्वाचन कमिटी गठन गर्नुपर्ने र जेनजी पुस्ताको भावना आत्मसात् गर्दै युवाको सहभागिता बढाउनुपर्ने उनले बताए । लुम्बिनी प्रदेशकी अनिता शाहले पार्टीभित्र लोकतन्त्र र पारदर्शिताका विषय स्पष्ट रूपमा लेखिनुपर्ने बताइन् । उनले महिलाको सहभागिता ४० प्रतिशत पुर्‍याउनु पर्ने, महिलालाई नेतृत्वमा पुर्‍याउने ठोस योजना बनाउनुपर्ने र केन्द्रीय समिति सानो, चुस्त र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।

कांग्रेसको भविष्यबारे निर्णायक मोड
विशेष महाधिवेशनमा उठेका यी बहस र प्रस्तावहरूले नेपाली कांग्रेस वैचारिक र संगठनात्मक रूपमा निर्णायक मोडमा पुगेको संकेत गरेका छन् । संवैधानिक राजतन्त्रदेखि गणतन्त्र सुदृढीकरण, हिन्दू राष्ट्र, नयाँ नेतृत्व, समावेशिता र आन्तरिक लोकतन्त्रसम्मका विषयमा भइरहेको खुला बहसले कांग्रेसको आगामी दिशा र भूमिकाबारे गहिरो प्रश्न खडा गरेको छ । अब विशेष महाधिवेशनले यी बहसलाई कसरी निष्कर्षमा पुर्‍याउँछ भन्नेमा पार्टीको भविष्य निर्भर रहने देखिन्छ ।

 

कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा देखिएको छ । एकातिर विशेष महाधिवेशन पक्षधरले दोस्रो विशेष महाधिवेशनलाई निरन्तरता दिइरहेका छन् भने अर्कोतिर पार्टी संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । दुवै गतिविधि आज एकै दिन परेका छन् ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइए पनि विशेष महाधिवेशन पक्षका नेताहरूले बहिष्कार गर्ने जानकारी दिएका हुन् । उनीहरूका अनुसार विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिमा संस्थापन पक्षले बोलाएको बैठक वैधानिक नभएको ठहर गरिएको छ ।

यता, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आज बिहान ९ बजेदेखि सुरु गरेका छन् । पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गर्दै मंगलबारसम्म लम्ब्याइएको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार समय अभावका कारण कार्यक्रम परिमार्जन गरिएको हो ।

आज पनि महाधिवेशन प्रतिनिधिको दर्ता जारी रहने र हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने तयारी गरिएको छ । बन्द सत्रमा निर्वाचन समिति, अनुशासन समिति, केन्द्रीय समिति लगायतका संरचना भङ्ग गरी नयाँ नेतृत्व र नीति तय गर्ने तयारी विशेष महाधिवेशन पक्षको छ ।

अर्कोतर्फ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै पार्टीको आधिकारिक निर्णय प्रक्रिया केन्द्रीय कार्यसमितिबाटै हुने अडान लिएको छ ।

यसैबीच, पार्टीभित्र बढ्दो विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने भनिए पनि त्यसको समय र स्थान भने सार्वजनिक गरिएको छैन । कांग्रेसभित्र समानान्तर गतिविधि र बैठकहरूले पार्टीको आन्तरिक कलह अझ गहिरिँदै गएको संकेत देखिएको छ ।

विभाजनको जोखिममा कांग्रेस, विशेष महाधिवेशन–संस्थापन पक्षबीच वार्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र गहिरिँदै गएको आन्तरिक विवाद समाधानको निर्णायक प्रयासस्वरूप विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुने भएको छ । नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका छन् ।

विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुनेछन् । संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ । वार्ताको समय र स्थान भने अन्तिम रूपले तोकिएको छैन, तर मंगलबार छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने सन्देश दिँदै आएका छन् । यद्यपि, पार्टी विभाजनको जोखिम बढ्दै गएपछि संस्थापन पक्ष संवादतर्फ अघि बढेको हो । देउवाले आफूपक्षीय नेताहरूसँग परामर्शपछि वार्ताका लागि खड्का र लेखकलाई जिम्मेवारी दिएका छन् ।

विशेष महाधिवेशन पक्षले आफूहरूसँग ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गर्दै आएको छ । संस्थापन पक्षले बेवास्ता गरे आजैदेखि नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिइएको छ । विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार यो प्रक्रिया पार्टी विधानअनुसार भएकाले वैधानिकतामा समस्या नहुने उनीहरूको अडान छ ।

वार्ता समितिका सदस्य देवराज चालिसेले भने, ‘हामी संवादका लागि पूर्ण रूपमा तयार छौं । सभापति देउवा पक्ष हठ त्यागेर आएमा पार्टीलाई एकताबद्ध राख्न अधिकतम लचकता अपनाउँछौं ।’ उनले वार्ताका लागि वार्ता मात्र होइन, विधानको सर्वोच्चता, राजनीतिक समाधान र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखिने स्पष्ट पारे ।

यसैबीच, कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक पनि बोलाएको छ । उता विशेष महाधिवेशन पक्षले समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । दुवै पक्ष पार्टी फुटको पक्षमा नरहेकाले संवादबाट निकास खोज्ने प्रयास तीव्र बनेको देखिन्छ ।

आइतबार उद्घाटन सत्र र सोमबार बन्द सत्र सम्पन्न भइसकेको विशेष महाधिवेशनले अब नेतृत्व चयनको मोड लिने कि सहमतिमार्फत पार्टी एकताबद्ध रहने भन्ने प्रश्न आजको वार्ताले टुंगो लगाउने अपेक्षा गरिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्ष अब निर्णायक घडीमा पुगेको छ ।

गगन–विश्वसँग छलफल गर्ने जिम्मा देउवा र खड्कालाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् । केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।

‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी मीनबहादुर विश्वकर्माले सुनाए, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो । उनले महामन्त्रीहरूसँगको छलफल आजै र चाँडै हुने पनि बताए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फुटको अवस्थामा जान सक्ने भन्दै पार्टी जोगाउन दबाब दिएका छन् । आज (सोमबार) विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय समिति नै भंग गर्ने कार्यविधि ल्याएसँगै देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा लागि महाराजगञ्ज पुगेका शेखरले विशेष महाधिवेशनपछि पार्टी सग्लो रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू कोइरालाले देउवालाई बुझाएका छन् । नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका कोइराला देउवासँग आधा घण्टा भेटेर निस्किएका छन् । उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् । उता महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ । शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।

लम्बियो कांग्रेस विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिएका छन् ।

मंगलबार नै नेतृत्व चयन समेत थालिने उनले बताएका छन् । ‘महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ,’ उनले भने, ‘यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी छ ।

कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् । उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाई छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याए । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नु पर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधान अनुसार त्यसलाई मान्नु पर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’ उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।

कांग्रेसको एकतामा असर पर्ने कुनै गतिविधि नगर्न खड्काको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई निर्देशन दिएका छन् । कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहेका बेला कावा सभापति खड्काले विज्ञप्ति जारी गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपिल गरेका हुन् । विशेष महाधिवेशनमा सहभागीलाई अपिल गर्दै खड्काले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
हेर्नुस् खड्काको अपिलः

देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा कार्यविधि प्रस्तुत भएपछि देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । ‘सभापतिले दिउँसो ३ बजे महाराजगञ्जमा छलफलका लागि बोलाउनुभएको छ,’ एक नेताले भने ।

संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि गरेको अपिलका बाबजुद देशभरका बहुमत महाधिवेशन प्रतिनिधि कार्यक्रममा सहभागी बनेका छन् । १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचित पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाहलगायतका नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी छन् । तीन महिनाअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष, अवैधानिक भन्न नसक्ने गगनको दावी

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकताबारे तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशन अवैधानिक भएको निष्कर्ष निकालेको छ भने महामन्त्री गगन थापाले यसलाई पूर्णतः वैधानिक भन्दै कानुनी चुनौती आउन नसक्ने दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको ठहर गरेको हो । बैठकमा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्न निर्देशन दिएका छन् । सोही निर्देशनअनुसार खड्का केहीबेरमै औपचारिक आह्वान गर्ने तयारीमा छन् ।

संस्थापन पक्षको निष्कर्षपछि कांग्रेसभित्र आन्तरिक विवाद थप सतहमा आएको छ । सभापति देउवाले आजै आफ्ना निकट केन्द्रीय सदस्यहरूसँग छुट्टै छलफल गर्दै पार्टीको आगामी रणनीति तय गर्ने तयारीसमेत गरेका छन् । यता, काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री गगन थापाले संस्थापन पक्षको निष्कर्षलाई अस्वीकार गरेका छन् । उनले विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानअनुसार र पूर्णतः वैधानिक रहेको दाबी गरे ।

थापाका अनुसार कांग्रेसको विधान निर्वाचन आयोगबाट प्रमाणित भइसकेको छ र सोही विधानका आधारमा विशेष महाधिवेशन आयोजना गरिएको हो । ‘संविधान र राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था हेर्दा निर्वाचन आयोगले हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन’, उनले महाधिवेशन प्रतिनिधिहरूलाई ढाडस दिँदै भने ।

विशेष महाधिवेशनको वैधानिकताबारे आफूले कानुन व्यवसायीसँग समेत छलफल गरिसकेको उल्लेख गर्दै थापाले कुनै पनि कानुनी चुनौती सामना गर्न नपर्ने दाबी गरे । ‘ढुक्क भएर बस्नुस्, कानुनी रूपमा हामी सुरक्षित छौँ’, उनले प्रतिनिधिहरूलाई आश्वस्त पारे। विशेष महाधिवेशनलाई लिएर देखिएको यो दोहोरो धारणा कांग्रेसभित्र शक्ति संघर्षको नयाँ चरणको संकेतका रूपमा हेरिएको छ । अब कार्यवाहक सभापति खड्काको आह्वान र सभापति देउवाको थप राजनीतिक परामर्शले पार्टीको आन्तरिक समीकरण कुन दिशामा जान्छ भन्ने चासो बढेको छ ।

 

रवि–बालेन लक्षित गर्दै गगनले भने–पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत रहौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पपुलिजम र अराजकतावादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर सचेतना आवश्यक रहेको बताएका छन् । पार्टीको जारी विशेष महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले लोकतान्त्रिक मूल्य, उदारवाद र बहुलवादी सिद्धान्तमाथि चुनौती बढिरहेको उल्लेख गरे ।

थापाका अनुसार विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको प्रभाव नेपालमा पनि देखिन थालेको छ । प्रतिवेदनमा लोकतान्त्रिक प्रणालीलाई संस्थागत रूपमा बलियो बनाउनेभन्दा पनि ‘चमत्कारबाट देश बदलिन्छ’ भन्ने भ्रम फैलाउने पात्र र प्रवृत्तिहरू सक्रिय हुँदै गएको उल्लेख छ । उनले यस्ता सोच र गतिविधिले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने चेतावनी दिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र कुनै जादु वा चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रियाको निरन्तर अभ्यास हो ।’ लोकतन्त्र मजबुत हुन लोकतान्त्रिक संस्था सक्षम, सबल र उत्तरदायी हुनुपर्नेमा जोड दिइएको छ । सरकार र राजनीतिक दल जनताप्रति जिम्मेवार भए मात्र विधि र पद्धतिको विकास हुने र त्यसबाट प्रणाली सुदृढ हुने थापाको धारणा छ । महामन्त्री थापाले लोकतन्त्रलाई केवल शासन प्रणालीको रूपमा मात्र नभई जीवन पद्धतिको रूपमा बुझ्नुपर्ने बताए । लोकतन्त्र विधिसम्मत, प्रक्रियामुखी र संस्थाप्रधान हुने स्पष्ट पार्दै उनले उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संरक्षण र प्रवद्र्धन नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गरे ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहतर्फ संकेत गर्दै थापाले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत रहन आग्रह गरे । लोकतन्त्र र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको आह्वान छ । यसैबीच, महामन्त्री थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले सशक्त भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्य तथा सफल बनाउन सक्रिय रूपमा लागिपर्ने बताए । उनले फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि सरकारलाई पनि जिम्मेवार भूमिका खेल्न सचेत गराए । ‘नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्ध छ र सोही अनुरूप निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँछ’, थापाले भने । उनले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन संरचनागत परिवर्तन र सुधार अपरिहार्य भएको धारणा राखे ।

 

देउवालाई गगनको आग्रह : विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा उनले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनः आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा सहभागिता जनाउनका लागि देशभरका नेता–कार्यकर्ताहरुले आफूसँग सम्पर्क गरिरहेको भए पनि नेताहरुसँग डराएर आउन नसकेको जिकिर समेत गरे । महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबी समेत गरे ।

उनले भने, ‘हामी बन्द सत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईहरुको सहभागिता अहिले पनि हामीले अनुरोध गरिरहेका छौ । यो भनिरहँदा अहिले थुप्रै साथीहरुले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोही भित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नु भएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरुसँग डराउनु भएको छ ।’ महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि कांग्रेस जागेर अघि बढ्नुपर्ने बताए ।