`

कांग्रेसमा विशेष महाधिवेशनको मागबारे के भन्छन् कानुनविदहरु ?

काठमाडौं । नेपाली कांग्रेसभित्र हाल विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशन गर्ने भन्नेमा मतभिन्नता छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखेर पार्टी कार्यलयमा निवेदन दर्ता गराएका छन् । कानूनविद् समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले कांग्रेसको विधानले ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको बताए ।

उनकाअनुसार विधानको व्यवस्था बाध्यात्मक (म्यान्डेटरी) हो र यसमा अन्यथा सोच्न नपाइने उनको भनाई छ । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले सोझै र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले एजेण्डासहित विशेष महाधिवेशनको माग गर्नसक्ने जानकारी दिए । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानूनी परामर्शका लागि सोमवार आयोजना गरेको छलफलमा वरिष्ठ अधिवक्ता अधिकारीले विशेष महाधिवेशनको माग भएको ९० दिनभित्र महाधिवेशन बोलाउनुपर्ने बताए । महाधिवेशन कसरी गर्ने भन्ने प्रक्रियाको विस्तृत विवरण भने नियमावली वा निर्देशिकामा नभएको उनको भनाइ छ । यद्यपि केन्द्रिय समितिले सानो कार्यविधि बनाएर त्यसलाई टुंग्याउनसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको विधान छ, विधानले प्रष्ट रुपमा नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्नेछन् भनेको छ । यसमा एजेण्डासहित आउनु पर्छ, एजेण्डासहित आएको प्रस्तावमा केन्द्रिय समितिले ९० दिन भित्रमा विशेष महाधिवेशन बोलाएर त्यसलाई टुंगो लगाउनुपर्ने व्यवस्था छ । यसलाई हामी दायाँबायाँ नगरिकन म्यान्डेटरी व्यवस्था भन्छौँ । यसमा अन्यथा सोच्ने, अन्यथा गर्ने कुरै आउँदैन ।’

उनले भने, ‘यो केन्द्रिय समितिले पनि विशेष महाधिवेशन बोलाउन सक्छ, विशेष अवस्था हेरेर र महाधिवेशन प्रतिनिधिहरुले पनि बोलाउन सक्छन् । केन्द्रिय समितिले सोझै सक्छ, महाधिवेशन प्रतिनिधिहरुले संख्या पुर्‍याएर दर्ता गरेपछि ९० दिन भित्र बोलाउन बाध्यात्मक व्यवस्था छ । यसमा कुनै दायाँबायाँ सोच्न पर्दैन । यो विधानको कुरा हो ।’ उनले थपे, ‘विशेष महाधिवेशन बोलाउने प्रक्रिया, विधि र त्यसलाई टुंगामा पुर्‍याउने तरिका विधानमा लेखिएको छैन । नियमावलीमा लेखिएको छैन, अहिलेसम्म निर्देशिकामा पनि लेखिएको छैन । किनभने त्यो असाधारण अवस्थामा बोलाईने कुरा हो । असाधारण भनेर बोलाईएको अवस्थामा त्यो गर्नको लागी केन्द्रिय समितिले सानो निर्देशिका बनाएर त्यसलाई टुंग्याउन सक्छ । त्यो कुनै ठूलो कुरा भएन । खाली के मात्रै हो भने राजनितिक ईच्छाशक्ति चाहियो ।’

वरिष्ठ अधिवक्ता हरिहर दाहालले ४० प्रतिशत सदस्यले माग गरेपछि विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै अहिले ५४ प्रतिशत प्रतिनिधिले माग गरेकोले ढिलाइ गर्न नहुने बताए । उनले केन्द्रिय समितिले भेला नबोलाए महाधिवेशन प्रतिनिधिहरुले नै विशेष भेला पनि बोलाउन सक्ने बताए । यद्यपि यसले पार्टी विभाजनको जोखिम निम्तिनेतिर ध्यान दिन उनले आग्रह गरे । उनले २०७८ सालमा पार्टिको महाधिवेशन भएकोले २०८२ मंसिरमा नियमित महाधिवेशनको समय पनि आइपुगेको बताए । तर कांग्रेस नियमित र विशेष महाधिवेशन दुवै गर्नेतिर नलागरे अनिर्णयको बन्दी बनेको उनको भनाई छ । दाहालले २०१४ सालमा कांग्रेसले विशेष महाधिवेशन गरेको ऐतिहासिक उदाहरण स्मरण गराउँदै तत्कालीन सभापति सूवर्ण शमशेर जबराले नेतृत्व परिवर्तनको मागलाई लोकतान्त्रिक संस्कारका रूपमा स्वीकार गरेको बताए । त्यसबेला त्याग र तपस्याको संस्कार रहे पनि अहिले त्यस्तो संस्कार हराउँदै गएको उनको भनाई छ ।

उनले भने, ‘४० प्रतिशत सदस्यले माग गरेपछि बोलाउनु पर्छ । बोलाएन भने छुट्टै विशेष भेला पनि बोलाउन सकिन्छ तर फेरि त्यसले पार्टी विभाजनको दिशामा जाला, त्यो गरिहाल्न पनि उचित भएन । त्यो राम्रो सन्देश पनि जाँदैन । तर यदि पार्टीलाई माया गर्ने हो भने एक ढिक्का भएर लाने हो भने त ४० प्रतिशतले माग गर्दा त बोलाउन पर्छ भने यहाँ त ५४ प्रतिशत पुगेको छ ।’ उनले भने, ‘समयको हिसावले भन्ने हो भने २०७८ सालमा महाधिवेशन भएको २०८२ साल मंसिरमा त नियमित महाधिवेशन नै गर्ने बेला भइसक्यो नी । अहिले अनिर्णयको बन्दी कसरी भयो भन्दा न त नियमित महाधिवेशन न त विशेष महाधिवेशन । चुनाव पछि अधिवेशन । यो कुरा किमार्थ हुँदैन भन्ने कुरा भनेर मुलुकभरका साथीहरु उठ्नुपर्ने बेला भएको छ ।’

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले विशेष महाधिवेशनको विषय कानूनीभन्दा पनि राजनीतिक भएको बताए । उनले कांग्रेसको विधानले विशेष महाधिवेशनको बारेमा उल्लेख गरेको भए पनि विस्तृत रुपमा उल्लेख भने नगरेको बताए । उनले विशेष महाधिवेशनको आह्वान भएपछि केन्द्रिय समितिले कार्यविधि बनाउने र सोही कार्यविधिअनुसार प्रक्रिया बढ्ने जानकारी दिए । उनले २०१४ सालदेखि हालसम्म कांग्रेसमा विशेष महाधिवेशन नभएकाले पनि प्रक्रियाका बारेमा केही कन्फ्युजन उत्पन्न भएको बताए । उनले विधानमा विशेष महाविशेनको धेरै परिकल्पना नगरिए पनि हुनेबारे भने बाध्यात्मक व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने, ‘यो विषय कानूनी भन्दा पनि राजनीतिक विषय हो । कानुनी त यति नै हो कांग्रेसको विधानको कुरा गर्ने हो भने अहिले विशेष महाधिवेशनको सन्दर्भमा यसले कार्यविधिको कुरा गर्दैन, नियावालीले पनि कार्यविधिको कुरा गर्दैन, निर्वाचन निर्देशिकाले त गर्ने कुरै भएन, विशेष महाधिवेशनको कुरा । अन्य कुराहरु चाहीँ कसरी जान्छ भन्ने कुरा विशेष महाधिवेशनको कार्यविधि उसले आफै तय गर्छ । जब कन्भिन्स हुन्छ, त्यसपछि उसले आफैं कार्यविधि तय गर्छ ।’

उनले भने, ‘विशेष महाधिवेशन भनेको विशेष अवस्थाकै महाधिवेशन हो । त्यसैले कसरी हुने, यसको के के हुने भन्ने कुरा उसले तय गर्दै जान्छ, प्रस्ताव पास गर्दै जान्छ । केन्द्रिय समितिले विशेष महाधिवेशनको आह्वान गरेर एउटा कार्यविधि बनाउँछ र सोही कार्यविधि अनुसार विशेष महाधिवेशन हुन्छ । २०१४ सालबाट अहिलेसम्म भएको रहेनछ, त्यसलै ठ्याक्कै भन्न सकिएन । यसको धेरै लेखेको पनि रहेनछ । यसको धेरै परिकल्पना गरिएको जस्तो बुझिएन । विधानले केवल के परिकल्पना गरेको जस्तो देखियो भने विशेष महाधिवेशन त हुन्छ । भयो भने त्यतिवेला नै देखा जाला भने जस्तो व्यवस्था गरे जस्तो बुझियो ।’

डेमोक्रेटिक लयर एशोसिएसनका अध्यक्ष सीताराम केसीले पनि विशेष महाधिवेशनको माग महाधिवेशन प्रतिनिधिहरुको अधिकार भएको बताए । उनले विधानको धारा १७ (२) ले विशेष महाधिवेशनलाई म्यान्डेटरी व्यवस्था गरेको दाबी गरे । उनले विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेको महाधिवेशनलाई केन्द्रिय समितिले स्वीकार गर्न ढिलाइ गर्नु गलत भएको बताए ।

उनले विशेष महाधिवेशनको प्रक्रियाका बारेमा कन्फ्युजन राख्नुपर्ने अवस्था नभएको पनि बताए । नियमित महाधिवेशन जस्तै गरी विशेष महाधिवेशन गर्न सकिने उनको भनाई छ । यद्दपि विशेष महाधिवेशनले भने केन्द्रिय समिति मात्रै चयन गर्ने उनले बताए । उनले हाल केन्द्रिय समितिमा विशेष कि नियमित महाधिवेशन भनेर व्यर्थको छलफल भईरहेको पनि बताए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विषश महाधिवेशनको माग राखेर हस्ताक्षर बुझाइसकेपछि केन्द्रिय समितिले पहिले विशेष महाधिवेशनको विषय टुंगो लगाउनुपर्ने बताए । हस्ताक्षरकर्ताहरुलाई विश्वासमा लिएर नियमित महाधिवेशनको मिति तोक्ने बाटो पनि खुला भने रहेको उनको भनाई छ ।

उनले भने, ‘विद्यानको धारा १७ (२) को व्यवस्था म्याण्डेटरी व्यवस्था हो, विशेष अधिवेशन । त्यो महाधिवेशन प्रतिनिधिहरुको अधिकार हो । यसमा कुनै दुविधा रहनु पर्दैन । केन्द्रिय समितिले या ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाउन पाउने स्पष्ट व्यवस्था हो, त्यो । यो विशेष अधिवेशनको मोडालिटी के हुन्छ भने जसरी नियमित महाधिवेशन गर्‍यौँ, विशेष महाधिवेशन पनि त्यसरी नै हुन्छ । तर त्यो चाँही केन्द्रमा मात्रै हुन्छ । अहिले विशेष अधिवेशन कि नियमितमा छलफल भईरहेको छ ।’

उनले भने, ‘कतिबेर छलफल भईरहेको छ भन्दा विशेष अधिवेशनको माग गरेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिईसकेपछि । केन्द्रिय समितिमा यो एजेण्डा प्रवेश गरिसकेपछि पहिला यसको निर्णय गर्नुपर्ने थियो केन्द्रिय समितिले । होइन, हामी विशेष महाधिवेशनमा जान सक्ने अवस्था छैन नियमित महाधिवेशनमा जान्छौँ, ४ वर्षे कार्यकाल सक्किसकेको छ भन्ने हो भने पनि विशेष महाधिवेशनको माग गर्नेहरुसंग छलफल गरेर, सम्झौता गरेर केन्द्रिय समितिबाट निर्णय गरेको भए एउटा बाटो हुनसक्थ्यो ।’

उनले थपे, ‘अहिले केन्द्रिय समितिको बहुमत एकातिर, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि एकातिर, कस्तो कन्फ्युजन भईरहको छ । किन यो भईरहेको छ । हिजो यही महाधिवेशन प्रतिनिधि होइन सभापतिदेखि सदस्य चुन्ने ? तिनैमध्येका ५४ प्रतिशतलाई अहिले किन लत्याईएको छ ? केन्द्रिय समितिमा कहाँ कसको बहुमत छ, त्यो सेकेण्डरी कुरा हो । विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि सर्वस्वीकार्य रुपमा गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपानेले भने कांग्रेसमा विधान र प्रक्रियाका कुरा गर्नु नै ‘बेमौसमी बाजा’ भएको टिप्पणी गरे । उनले कांग्रेसमा प्रजातान्त्रिक मूल्यभन्दा एन्टी कम्युनिष्ट विचारधारा प्रमुख बनेको दाबी गरे । कांग्रेसलाई प्रजातान्त्रिक मापदण्डले नाप्न खोज्दा सिद्धान्त, नीति, विचार र व्यवहारमा कतै नदेखिने उनको भनाई छ । उनले महाधिवेशन र विशेष महाधिवेशनको अन्तर छुट्याउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘कांग्रेसको लागि कसी लगाएर हेर्ने हो भने प्रजातन्त्र सिद्धान्तमा देखिँदैन, नीति र विचारमा भेटिँदैन, पद्धति र प्रक्रियामा पाइँदैन, व्यवहारलाई हेर्दा छैन, देखिँदैन, परिणामलाई अनुभूति नै गर्न पाइएको छैन । महाधिवेशन र महासमितिबीचको फरक के ? निर्वाचनको काम बाहेक सबै काम गर्न सक्षम महासमिति । महाधिवेशन र विशेष महाधिवेशनको फरक के ? हामी यसमा छलफल गर्न पर्ने कि नपर्ने ?’

उनले भने, ‘महासमिति र महाधिवेशन प्रतिनिधीको फरकको बीचमा विद्यानले संक्षिप्त लेखेको छ । महाधिवेशन र विशेष महाधिवेशनको बारेमा विधानले त्यति संक्षिप्त लेखेन । यसको फरक के ? हामीले खोज्नु पर्दैन ? हामीले महाधिवेशनको अल्टरनेटिभ विशेष महाधिवेशन हो भनेर सोच्न मिल्छ कि मिल्दैन । प्रश्न यहाँनेर हो । कही न कही महाधिवेशन र विशेष महाधिवेशनको बीचमा अन्तर छ भन्ने कुरा चाँही एक्नोलेज गर्नु जरुरी छ ।’

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले विशेष महाधिवेशन हुन नसके जिल्ला र प्रदेशको अधिवेशन बाँकी राखेर बाँकी अधिवेशन गर्न सकिने बताए । उनले महाधिवेशनको जिम्मा आफूहरुलाई दिएमा दुई महिनाभित्र कांग्रेसको महाधिवेशन गरिदिने दाबी गरे । नेपाली कांग्रेसका नेता देवराज चालिसेले जनताको भाव बुझेर समयको प्रवाहअनुसार राजनीतिक दलहरु हिड्न सक्नुपर्ने बताए । नेपाली कांग्रेस पार्टीलाई जनतासँग जोड्नको लागि आफूहरुले महाधिवेशनको माग गरेको उनले जानकारी दिए । वर्तमान नेतृत्वले जनताको भावना बुझ्न नसक्ने उनको भनाई छ । कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दो क्रममा रहेको छ । विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भएपछि ९० दिनभित्र महाधिवेशन बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा आन्तरिक असन्तुष्टि चुलिएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।

कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा चर्को बहस चलेको छ । यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्नेबारे पनि बहस चलेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैन : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभूति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताए । देशका १६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको दाबी गरे ।

कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो । करिव ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. शर्माले गरे । सो क्रममा शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थानीयका अनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभइ स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ ।

उनले भने, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्ने हो भने यसरी माला, खादा, तपाईंहरुको प्रेम, सहानुभूति, सद्भाव पाइँदो रहेछ नि । भाग्नुपर्ने, जल्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति वा जनतासँग भेट्न जाँदा प्रहरी वा सेना राखेर जानुपर्ने स्थिति नहुँदो रहेछ । मुलुकको १ सय ६५ क्षेत्रमा मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र हो । कुनै दिन यस्तो दिन पनि आउनसक्छ । अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय रिसर्चरहरुले किन यो क्षेत्रका जनताले छानि छानि विवेक प्रयोग गरेर किन राम्रा मान्छेलाई भोट हाल्दा रहेछन् भनेर अनुसन्धानको विषय बन्नसक्छ ।’

पुल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।

 

 

कांग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतामा जानुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौं । देशको यो संकट कांग्रेसले पार लगाउनेछ ।’ पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गनियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएको दाबी गरे । ‘अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो,’ उनले भने ।

जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकांक्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्याार्पण गरेका थिए ।

 

गगन थापाको भिडियो सन्देश : फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् । उनले आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।

‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘तर, चुनावमा भोटरको रुपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनु होला ।’ भिडियो सन्देशसँगै महामन्त्री थापाले निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचय पत्र बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

हेर्नुस् भिडियो

 

मधेसको सरकार गठन प्रक्रिया निन्दनीय, संघीयताप्रति थप वितृष्णा बढायो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेशमा संविधानको मर्म विपरीत देखिएको राजनीतिक घटनाक्रमले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाएको भन्दै यसलाई ‘अराजनीतिक र निन्दनीय’ भनेका छन् । शर्माले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

उनले संविधानको धारा १६८९२० बमोजिम सरकार गठनको सम्भावना रहँदै गर्दा धारा १६८(३) अनुसार गरिएको नियुक्तिलाई ‘मञ्चन भएको प्रहसन’ भनेर व्याख्या गरेका छन् । शर्माले विश्वास व्यक्त गर्दै भनेका छन्, ‘बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले यो गल्ती सच्याउनेछ ।’

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नयाँ मुख्यमन्त्री यादवले सोमबार नै शपथ ग्रहण गर्दै मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सिफारिसमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कञ्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारी मन्त्री बनेका छन् । यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

‘हाम्रो अहिले त्यस प्रकारको सरकारमा सामेल हुने कुनै कार्यक्रम पनि छैन । त्यो पार्टीको सहमतिमा गरिएको कुरा पनि होइन । तत्काल फिर्ता हुन हामीले निर्देशन पनि दिएका छौं,’ अध्यक्ष लिङ्देनले भने । उनले फेसबुकमा पनि यसबारे लेख्दै निर्देशन पालना नगरे कारबाहीको चेतावनी दिएका छन् । ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो,’ लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।’

 

 

 

विशेष महाधिवेशनको माग वाध्यकारी : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका कारण पार्टी विधानले त्यसलाई ९० दिनभित्र पूरा गर्न निर्देशन दिएको स्मरण गराए ।

शर्माले भने, ‘नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्यसअघि–पछि पनि गर्न सकिन्छ, तर विशेष महाधिवेशन भने ९० दिनभित्र सम्पन्न गर्न विधानको दफा १७ (२) ले स्पष्ट निर्देशन दिएको छ । यो बाध्यात्मक व्यवस्था हो ।’ उनका अनुसार बहुमत प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन अब या त विशेष महाधिवेशन बोलाएर वा सोही अवधिभित्र नियमित महाधिवेशन गरेर मात्रै सम्बोधन गर्न सकिने स्थिति बनेको छ । ‘यस विषयमा कुनै ‘इफ, बट, इन्तु, परन्तु’ होइन, स्पष्ट निर्णय लिनु अपरिहार्य छ,’ उनले लेखेका छन् ।

यसबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिलाई लिएर तीव्र विवाद चर्किएको छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । तर, सो पक्षभित्रै पनि एकमत बन्न सकेको छैन । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहितको समूह भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ ।

 

 

 

 

 

 

चन्द्र भण्डारीको चिन्ता : कति फुर्सद ? के जन्मै गालीका लागि ?

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको गालीगलौजको प्रवृत्तिप्रति गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले यस्ता गतिविधिले समाजलाई कुन दिशामा धकेलिरहेको छ भन्ने प्रश्न समेत उठाएका छन् ।

भण्डारीले आफ्नो फेसबुक स्टाटसमा ‘गाली ! गाली ! गाली !!! कति फुर्सद ? के जन्मै गालीका लागि ? कता जाँदैछ हाम्रो समाज ?’ भन्दै आजको समाजको यथार्थ चित्रण गरेका छन् । उनको भनाइअनुसार, तर्कले तर्क खोज्नुपर्ने र विचारले विचारलाई जन्म दिनुपर्नेमा अहिले गाली र आरोप–प्रत्यारोप मात्र मौलाएको छ ।

नेता भण्डारीले गालीलाई मूर्खताको पहिचानका रूपमा परिभाषित गर्दै मानिसहरूसँगको अन्तरक्रिया र अनुभवबाट प्राप्त हुने ज्ञानलाई जीवनको उत्कृष्ट पाठशाला भनेका छन् । उनले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्व एउटै परिवार हो भन्ने मानव सभ्यताको मूल संस्कारलाई हामीले बिर्सदै गएकोमा दुःख व्यक्त गरेका छन् । ‘मानव सभ्यताको मूल संस्कार ग्रहण गर्न नसक्ने हामी–सभ्य भनिएर पनि असभ्य बन्दैछौ,’ भण्डारीले लेखेका छन् ।

 

कांग्रेस सुधार्न नैनसिंह महरले अघि सारे यस्ता सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी रुपान्तरणका लागि झण्डै तीन दर्जन सुझाव अघि पारेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी रुपान्तरणका लागि लिखित रुपमा पेस गरेको दस्तावेजमा जन भावनाअनुसार काम गर्न संरचनामा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । नयाँ क्रियाशील सदस्यता लिँदा र वीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गर्न सके पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुने उल्लेख छ ।

हेर्नुस् महरका ३४ बुँदे सुझाव

१. एक व्यक्ति एक पद दुई पटक र एक व्यक्ति तीन पटक मात्र सांसदको उम्मेदवार बन्न पाउने व्यवस्था गरिनुपर्छ। पार्टीका सबै तहमा अनिवार्य रूपले एक पदमा बढीमा दुई पटक मात्र रहन पाउने र विजय होस् वा पराजय, तीन पटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्छ। कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ ।

२. तल्लो तहदेखि माथिल्लो तहका कार्यकर्ता तथा नेताहरूलाई जागृत गराउन युवा कांग्रेसको स्थापना गरेर जागरण अभियान सुचारु गर्न आवश्यक छ ।
३. विधानको अक्षरशः पालना हुनुपर्छ ।
४. गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गरौं भन्ने आग्रह गर्दछु ।
५. नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गरौं। यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।
६. वडाध्यक्ष (सभापति) को नेतृत्वमा भ्रातृ संस्थाको एकीकृत टोली निर्माण गरेर ६ हजार ७४३ वडामा जाने ।
७. पार्टी र जनप्रतिनिधिबीच समन्वय गर्ने संयन्त्र बनाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
८. वडाध्यक्ष, वडा सभापतिदेखि केन्द्रमा केन्द्रीय सदस्य, विभागीय प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्मले चौमासिक कार्य प्रगति विवरण पार्टीको तोकिएको निकायमा बुझाउने ।
९. पार्टीका नेता र जनप्रतिनिधिलाई जनताप्रति, घोषणापत्रप्रति उत्तरदायी बनाउन संयन्त्र निर्माण गर्ने ।
१०. कांग्रेसका परिवार (पुराना मतदाता) लाई आफ्नो पक्षमा राख्न नसक्नुको कारण पत्ता लगाई समाधान खोज्ने ।
११. व्यक्तिभन्दा संस्था कसरी बलियो बनाउने भन्ने विषयमा कसैको चासो नभएको हुँदा नेपाली कांग्रेस पार्टी बलियो हुँदा देश र जनता बलियो हुने कुरा तल्लोदेखि माथिल्लो तहमा बहस चलाउने ।
१२. पार्टीभित्र टिकट वितरण गर्दा वडा तहको वडामै र जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा टुङ्ग्याउनु पर्ने ।
१३. पार्टी थिङ्कट्याङ्ङ्क– देश र पार्टीका लागि आवश्यक विषयवस्तु र नीति निर्माण गर्न नेपाली कांग्रेसको अलग्गै थिङ्क ट्याङ्क आवश्यक छ । उक्त थिङ् ङ्कट्याङ्कको विमर्श र छलफलबाट निकालेको निष्कर्ष पार्टीभित्र र सार्वजनिक क्षेत्रका लागि उपयोगी हुन्छ ।
१४. वडाधिवेशनदेखि केन्द्रको महाधिवेशनसम्मका सबै तहको अधिवेशन-महाधिवेशनमा प्रतिनिधि बन्न अनिवार्य रूपले सम्बन्धित तहको निर्वाचन जितेर आउनुपर्ने व्यवस्था मिलाउने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नु पर्दछ । यसबाट केन्द्रको जिम्मेवारी लिने नेता आम कार्यकर्ता र भूगोलप्रति बढी जिम्मेवार हुन्छन् ।
१५. अहिले समाजको मनोविज्ञानमा आएको परिवर्तनलाई ख्याल गरेर नेपाली कांग्रेसले पनि आफूलाई स्वीकार्य बनाउन जरुरी छ । कांग्रेसको सङ्गठनमा काम गर्न समाजका अन्य समुदाय, वर्गबाट जुनसुकै बेला अनुरोध गर्न सक्छन् । जनताको विश्वास र भरोसा कमाएका व्यक्ति यदि कांग्रेसमा रहेर काम गर्न चाहन्छन् भने निश्चित प्रतिशतमा (ल्याटरल इन्ट्री) को प्रबन्ध आवश्यक छ ।
१६. भ्रातृ संस्थाको नियमित महाधिवेशन, अधिवेशन, निर्वाचन र नेतृत्व चयनले लोकतान्त्रिक संस्कृतिमा निखार आउँछ र आन्तरिक लोकतन्त्र संस्थागत हुँदै जान्छ ।
१७. भ्रातृ संस्थाको केन्द्रीय अध्यक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था बनाउनु पर्छ ।
१८. भ्रातृ संस्थाको चौमासिक रिपोर्ट आफूभन्दा माथिल्लो समिति र सम्बन्धित तहको पार्टीमा अनिवार्य बुझाउने ।
१९. जलवायु परिवर्तन र विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणका लागि सरकारी, गैरसरकारी र संस्थाहरूलाई भूमिका प्रदान गर्ने नीति अवलम्बन गरी राष्ट्रिय अभियान सञ्चालन गर्न आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले वडादेखि केन्द्रसम्मका सबै तहमा एक छुट्टै संयन्त्र बनाई परिचालन गर्नुपर्नेछ (कार्यदल बनाउने) । यसलाई प्राकृतिक स्रोतसाधनको व्यवस्थापन तथा परिचालन अभियान पनि भन्न सकिन्छ ।
२०. आचारसंहिताः देश परिवर्तनको अभिभारा बोकेको दलका नेता कार्यकर्ताहरू स्व–अनुशासनमा बस्न र नैतिकताको मापदण्डभित्र बस्नु पर्दछ । जनताको नेता आफ्नो जनताको संस्कृतिसँग मेल खाने गरी सहज, साधारण र सफा जीवनशैलीको हुनु पर्दछ । तडकभडक, उपयोगितावादी चरित्रबाट टाढा रहनु अनिवार्य छ ।
२१. प्रविधिमैत्री पार्टीको निर्माण ।
२२. पार्टीमा ज्ञान व्यवस्थापन र हस्तान्तरण प्रणालीको विकास ।
२३. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने ।
२४. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने।
२५. प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता लिनुभन्दा अघि साधारण सदस्यले नेपाली कांग्रेस पार्टी, राजनीति, अर्थतन्त्र, राष्ट्रियता र समाजलगायतका विषयमा अनिवार्य प्रशिक्षणको व्यवस्था।
२६. अतिआवश्यक कामबाहेक पार्टीका सबै नेता कार्यकर्ताले हिउँदे र वर्षे सिजनमा १०÷१० दिन कृषिमा काम गर्ने, यसबाट श्रमप्रति सम्मान बढ्छ। गाउँ–सहरलाई टेवा पुग्छ ।
२७. जनसम्पर्क समितिः विभिन्न ३७ देशमा रहेका जनसम्पर्क समितिहरूलाई बिनाभेदभाव पार्टीलाई जिम्मा दिनुपर्छ । एनआरएनएको क्लस्टर जस्तै, हरेक महादेशबाट १÷१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्छ ।
२८. कांग्रेसको पालिका अध्यक्ष प्रदेश, केन्द्रको स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ।
२९. ७७ वटै जिल्लाबाट काठमाडौँ बसोबास गरेका पार्टीका साथीहरूले जिल्ला सम्पर्क समितिका माध्यमबाट आफ्ना गतिविधि बढाउनु पर्छ ।
३०. सक्रिय हुन जिल्ला सम्पर्क समितिको अध्यक्ष महाधिवेशन प्रतिनिधि हुने व्यवस्था मिलाउने ।
३१. नेपाली कांग्रेसले आफ्नै साङ्गठनिक तागतमा अबदेखिका निर्वाचनमा एक्लै प्रतिस्पर्धामा होमिने ।
३२. क्रियाशील सदस्यलाई नवीकरण गर्ने र प्रशिक्षणका माध्यमले नेपाली कांग्रेसका सदस्यहरूलाई सशक्तीकरण गर्ने। सबै तहमा युवाको प्रतिनिधित्व कम्तिमा पनि एक तिहाई राख्ने गरि विधानलाई युवामैत्री बनाउने ।
३३. नेपाली कांग्रेसका १३ भ्रातृ र ३६ शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने ।
३४. ३७ नेपाली जनसम्पर्क समितिहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने। उनीहरूका माध्यमले गैरआवासीय नेपालीले राख्दै आएका नागरिकता, मतदानलगायत राजनीतिक अधिकार, लगानीको वातावरण र सहजीकरणलगायत विषयमा विमर्श गर्ने र पार्टीका दूतका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने र ग्लोबल थिङ्कट्याङ्क निर्माण गर्ने।

३५. स्थानीय तहका ७५३ मध्ये ३३२ पालिकामा नेतृत्वमा कांग्रेस रहेको छ । घोषणापत्र कार्यान्वयन, सुशासन र विकासबारे अडिट गर्ने र नागरिकको भरोसा जित्ने ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

बैठक आज (शनिबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

शेखर कोइरालाको प्रस्ताव : नियमित नभए स्वतः विशेष हुन्छ, चुनावअघि महाधिवेशन गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक नेतृत्व परिवर्तनका लागि आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने आफ्नो अडान दोहो¥याएका छन् । आज (शुक्रबार) बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकाका निकटस्थ जिल्ला सभापतिहरूसँगको छलफलमा उनले पुस महिनामै महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

डा. कोइरालाका अनुसार कांग्रेसले पुसको तेस्रो सातासम्म समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेपछि तुरुन्तै महाधिवेशनको तयारी थाल्नु पर्छ । ‘मेरो पहिलो माग निर्वाचनअघि नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने हो’, छलफलमा सहभागी एक जिल्ला सभापतिले कोइरालाको भनाइ उद्धृत गर्दै सुनाए । उनका अनुसार कोइरालाले पुस २५ गतेसम्म बन्दसूची बुझाएर त्यसपछिका दिनमा महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

कोइरालाले आउँदो २१ फागुनमा हुने निर्वाचनमा पार्टीले नयाँ नेतृत्व लिएरै जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । उनका अनुसार यदि वर्तमान केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको निर्णय गर्न असफल भयो भने पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान गर्ने बाध्यता सिर्जना हुनेछ । ‘नियमित महाधिवेशन नभए, विशेष महाधिवेशन स्वतः हुनुपर्ने प्रावधान कार्यान्वयन गर्नैपर्छ’, उनले स्पष्ट पारे ।

डा. कोइरालाले पार्टीमा हाल देखिएको असन्तुष्टिपूर्ण अवस्थालाई संवाद र एकताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा पनि राखेका छन् । ‘पार्टीभित्र संवाद नटुटोस् भन्ने मेरो चाहना हो’, उनले भने, ‘शेरबहादुरजी लगायत मभन्दा सिनियर सबै नेतासँग कुरा गरेर पार्टीलाई मिलाएर लैजान्छु । विरोध भयो भनेर म रिसाउँदिनँ, सबैलाई साथ लिएर अघि बढ्नु पर्छ ।’ उनका अनुसार पार्टीभित्र समानान्तर गतिविधि बढ्दा कांग्रेसलाई ठूलो संकटमा पार्ने सम्भावना छ ।

त्यसैले, उनले केन्द्रीय कार्यसमितिलाई निष्कर्षमा पुग्न आग्रह गरे । छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङ लगायतका जिल्ला सभापतिहरू, केही पूर्व जिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र टेकप्रसाद गुरूङका अनुसार बैठकमा उपस्थित अधिकांश नेताहरूले कोइरालाको प्रस्तावको समर्थन जनाएका थिए । संक्षेपमा, डा. कोइरालाले पार्टीलाई एकजुट बनाएर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याउँदै, महाधिवेशन अब अपरिहार्य भएको सन्देश दिएका छन् ।

 

 

 

गगनलाई उद्धवको चुनौती : हाम्रो नेतृत्वमा भोट नआउने ग्यारेन्टी होस्, राजीनामा दिन्छौं

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् । बत्तीसपुतलीमा जारी संस्थापनपक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताए । उनले कांग्रेसलाई ‘जनताले भोट हाल्दैनन्, जनतामा जान सकिँदैन’ भन्ने भाष्यले पार्टीलाई क्षति गरेको बताए ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ,’ उनले भने, ‘भोट कसले हाल्छन् कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?’ तर, उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकांक्षालाई सम्मान गर्नुपर्ने बताए । ‘मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,’ उनले भने, ‘चुनावबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्छ ।’ अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात् गर्न सकिने उनले तर्क गरे ।

 

कांग्रेसमा महाधिवेशनको ‘किचलो’ : सानेपामा बैठक, बत्तीसपुतलीमा संस्थापन पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा पार्टीको केन्द्रीय समिति बैठक बसिरहँदा बत्तिसपुतलीमा संस्थापन पक्षका नेताहरूले बेग्लै भेला गरेको छ । विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिनको लागि अहिले अनुपम फुडल्यान्डमा संस्थापन पक्षको भेला चलिरहेको छ । महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि संस्थापन पक्षले काउन्टर दिन भेला राखेका हुन्। भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी छन् ।

संस्थापन पक्षका नेता बद्री अर्यालले विशेष महाधिवेशन पार्टीको लागि धोका हुने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भए लगत्तै नेतृत्व छाड्न महामन्त्रीहरूले दबाब दिएको भन्दै आपत्ति जनाए । मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके पूरै कार्यसमिति नै असफल भएको पुष्टि हुने भन्दै सबैले राजीनामा दिनुपर्ने माग गरे ।

मंसिरमा चुनाव सम्भव नहुने उनीहरूको निष्कर्ष छ । महामन्त्रीहरूले चुनावमा केन्द्रित हुनको लागि समेत परिपत्र गरिरहेको भन्दै महाधिवेशनमा लाग्ने कि चुनावमा भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेसभित्र विगतदेखि नै अन्तर्घात हुँदै आएको भन्दै महाधिवेशन गरेर लगत्तै चुनावमा जान नसकिने उनीहरूको साझा बुझाइ छ ।

 

महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्ताव व्यक्तिगत : खड्का

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ । सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए । कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन् । तर सहमहामन्त्रीले प्रस्ताव पेस गरेको र त्यो प्रस्ताव पेस गर्न दिएको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आलोचना भएको थियो ।

आज केन्द्रीय समिति बैठक सुरू हुनासाथ सहमहामन्त्री यादवले पेस गरेको प्रस्तावमाथि अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले नै प्रश्न उठाएका छन् । १४ औं महाधिवेशनमा यादव र मन्सुर दुवै शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए । सहमहामन्त्री मन्सुरले व्यक्तिगत धारणाका रूपमा सहमहामन्त्री यादवको प्रस्ताव आए पनि त्यसलाई सञ्चार माध्यमहरूमा संस्थापन पक्षको प्रस्ताव भनेर आएकोले त्यो आफूलाई स्वीकार्य नहुने बताएका हुन् ।

आफू कुनै पनि गुट भेलामा नगएको र अहिले कुनै पनि गुटमा नरहेको बताएका मन्सुरले यादवले पेस गरेको कार्यतालिकामाथि प्रश्न उठाएका हुन् । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का बोलेका थिए । ‘सहमहामन्त्री महेन्द्र यादवले राख्नु भएको प्रस्ताव उहाँको धारणा हो भनेर मैले भनिसकेको छु । जब अध्यक्षले केन्द्रीय समितिलाई त्यो उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिकाले के समाचार लेखे भनेर यहाँ छलफल गर्नु सान्दर्भिक हुन्न जस्तो लाग्छ, सबैको ध्यानाकर्षण गराएँ,’ कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए ।

कांग्रेस नेता फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाउँ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गरेका छन् । आज (बुधबार) केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको भन्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताएका हुन् ।

‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भाबी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु । उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनु भएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्ष पनि उहाँकै कारण जुटेको हो,’ मन्सुरले भने, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाउँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’

पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने उनले बताए । ‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाएपछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्त्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरले भने, ‘एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको छ । यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्त्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’

गगनलाई ‘थर्काएका’ सिटौलालाई शाहीको जवाफ : तपाई ‘आउटडेटेड’ भइसक्नु भयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले महामन्त्री गगन थापालाई कटाक्ष गर्ने नेता कृष्णप्रसाद सिटौलालाई कडा जवाफ फर्काएका छन् । जारी केन्द्रीय समितिको बैठकमा शाहीले एउटा व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेख्दा देशभरि हंगाामा भएको भन्दै यस्ता कुरालाई हचुवाको रूपमा नलिन आग्रह गरे ।

‘एउटा व्यक्तिले स्टाटस लेख्यो भने देशभरि हंगामा हुन्छ । तहल्का मच्चिन्छ । अनि हाम्रै जिम्मेवार नेता केन्द्रीय समितिको बैठकमा के हो त्यो फेसबुक ? के हो सामाजिक सञ्जाल भनेर भनेर नेतालाई ललकार्नु हुन्छ ? के यस्तो भनेर र अर्कोलाई आरोपित गरेर बस्ने अवस्था छ त ?,’ सिटौलातिर इंगित गर्दै शाहीले भने, ‘इफ यु आर नट अपडेटेड, यु आर आउटडेटेड । हामीले चाहे पनि नचाहे पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैनौं । कतिपयमा दम्भ पनि हुन्छ । हामी नै हौं अरू केही होइन भन्ने छ । यस्तो गलत प्रवृत्तिबाट माथि उठौं ।’

जेनजीले सामाजिक सञ्जालमार्फत् नै आन्दोलनको आँधीबेहरी ल्याएको नबिर्सन पनि उनले नेताहरूलाई आग्रह गरे । मंगलबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री थापामाथि सामाजिक सञ्जाल चलाएर नेताहरूलाई गाली गरेको भन्दै चेतावनी दिएका थिए । महामन्त्रीमाथि अस्वाभाविक लाञ्छना लगाएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सिटौलालाई माफी नै मगाएका थिए । त्यही प्रसंगको सन्दर्भमा शाहीले यस्तै हर्कत देखाइरहे २०६४ सालमा ३७ सिटमा झरे जस्तै यस पटक ७ सिटमा झर्नुपर्ने चेतावनी दिए । ४८ घण्टामा देश तहसनहस भएको भन्दै पार्टीले चाहे नियमित महाधिवेशन जतिखेर पनि गर्न सक्ने उनको भनाइ छ ।

‘एक ठाउँमा उभिउ,ँ नियमित अधिवेशन गरौं । ४८ घण्टामा देश तहसनहस भयो । संसारमा नभएको भयो भनेर हामी नै भन्दैछौं । कांग्रेसले गर्न सक्दैन भन्ने नै होइन । कुनै नेताको अनुहार मन पर्दैन भनेर सोच्नु राम्रो हुँदैन । तर पनि आज होटल होटलमा बैठक बसेका छन् । यहाँ बस्ने बाठाटाठा साथीले महाधिवेशनको कार्यतालिका भनेर प्रस्ताव गर्नुभयो । महामन्त्री पनि प्रस्ताव आयो । सहमतिमा नआएपछि यो विचारमात्रै हो,’ उनले भने, ‘एउटा प्रस्ताव आउनुपथ्र्यो । केन्द्रीय समितिमा छलफल हुनुपथ्र्यो । हामी भोटिङबाट टुंगोमा पुर्याउँथ्यौं । तर एकले अर्कोलाई धाक र धम्की दिने कुरा गरेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ ?’

जतिसुकै हस्ती र जिम्मेवार नेता भने पनि जनताले हराइदिने चेतावनी उनले दिए । ‘हामी सबै अतिवादी भएका छौं । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दा कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्ने छ । बाहिर राम्रो स्थिति छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राम्रो छैन । कमजोर भएका छौं,’ शाहीले भने, ‘बैठक भइरहेको छ । तर समाधानको लागि होइन । टार्न बोलेर हुँदैन जस्तो भएको छ ।’ कार्यवाहक सभापतिलाई कार्यबाहेक बनाउन खोजेको पनि उनले बताए । फागुन २१ मा हुम्लाका हिउँमा चुनाव हुन नसक्ने पनि उनले बताए । ‘हामी हुम्लामा फागुनको चुनाव हिउँले मर्नु छैन । चुनाव हुन्छ हुँदैन एउटा कुरा हो,’ शाहीले भने, ‘तर बसेर नेताहरूले महाधिवेशनबारे एउटा निकास निकाल्नुस् ।’

चन्द्र भण्डारीको प्रस्ताव : संसद् पुनर्स्थापना गरौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘संसद् पुनःस्थापना गरौँ । संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ’ बैठकमा भण्डारीको प्रस्ताव थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो । तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ । फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमालेले भने संसद् पुनःस्थापनालाई हुनुपर्ने निर्णय गरी यसका लागि कानुनी प्रक्रियामा जाने बताइसकेको छ ।

सिटौलाले गगनलाई भने–फेसबुकबाट सभापति छान्ने हो ? पार्टी कब्जा गर्न नखोज्नुस्

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच सवालजवाफ चलेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता सिटौलाले महामन्त्री थापाका गतिविधिबारे प्रश्न उठाएका हुन् । उनले थापा सामाजिक सञ्जालमा सेलिब्रेटी बन्नका लागि पार्टीको महामन्त्री हुँ भन्ने कुरा नै बिर्सेको टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गरेको भन्दै महामन्त्री थापाको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गर्ने भए सचिवालय बन्द गर्ने की नगर्ने भन्दै प्रश्न गरेका थिए । उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले फेसबुकबाट सभापति छान्ने हो ? भन्दै गगनलाई प्रश्न समेत गरेका थिए । नेता सिटौलाले महामन्त्री थापालाई आफ्नो चरित्र सुधार्न र बोल्न मन लागेको कुरा बैठकमा बोल्न आग्रह समेत गरेका छन् । उनले बैठकमा नबोल्ने तर सामाजिक सञ्जालमा लेख्न लगाउने गरेको आरोप समेत लगाए । उनले थापालाई आफू पार्टीको महामन्त्री हुँ भन्ने कुरा थाहा पाइराख्न सुझाव पनि दिए ।

‘महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन’
कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । उनले २२ भदौ अघि र हालको नेपाल एउटै नभएको बताएका छन् । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले गरे । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यस पटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नु परेको बताए ।

महामन्त्री थापाले आन्दोलन कांग्रेस रहेको सरकारका विरुद्ध भएको बताए । ‘हामी एकै पटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’ मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ । थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् ? पार्टीका कमिटीहरू कुरेर बसेका छन् ?’

जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले बताए । सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले बताए । देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’ आफूले नेतृत्व नगरेको कतिपय आन्दोलनको संस्थागत गर्ने नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरे । थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु । हामी छौं, हामीले सम्हाल्छौं भन्नु पर्ने पनि होइन ?’

गगन थापाको महाधिवेशन प्रस्तावविरुद्ध संस्थापन पक्षको ‘काउन्टर’ तालिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मितिको विवाद आधिकारिक रूपमै केन्द्रीय समितिमा प्रवेश भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि ‘काउन्टर’ मा संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले वैशाखको महाधिवेशन तालिका प्रस्ताव राखेका छन् ।

महामन्त्री थापाले पुसको १६ गते देखि १९ गतेसम्मको महाधिवेशन प्रस्ताव राखेका थिए । जुन यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि प्रस्ताव गरिरहेको मिति हो । महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन् ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै त्यसअघि महाधिवेशन गर्न नसकिने अडान राखेको छ । महामन्त्री थापाले प्रस्ताव गरेको पुसको मितिको समयमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय पर्ने देखिन्छ । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव राखे । यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ ।

यो कार्यसमितिको कार्यकाल मंसिरबाट सकिँदै छ। संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने गरी प्रस्ताव राखे । त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ । अहिले दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अडान छ। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन् ।

 

गगनले गरे पुस १६–१९ सम्म नियमित महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । सानेपामा जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् ।

महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दै छन् । उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन् । बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । बानेश्वरमा केही बेरअघिबाट भेला सुरु भएको हो । आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो ।

कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । थप निर्णयका लागि आज केन्द्रीय समिति बैठक बस्दै छ । महामन्त्री थापा र शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए । भेलामा महामन्त्री थापा पक्षधर केन्द्रीय सदस्यहरू समेत सहभागी छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, जुट्ला महाधिवेशन तालिकामा सहमति ?

काठमाडौं । महाधिवेशन मिति तोक्ने विषयको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा नेताहरुबीच अझै सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । नयाँ बानेश्वरमा बसेको भेलाले महाधिवेशनको मिति समेत प्रस्ताव गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा पेस गर्ने ७ बुँदे प्रस्ताव तयार पारेको हो ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रिय रहन आह्वान गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि पौष १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्पन्न गर्न, देशव्यापी घरदैलो अभियान सञ्चालन गर्न र निर्वाचनका लागि जागरण अभियानमार्फत संगठनलाई तयारी अवस्थामा राख्न प्रस्ताव गरिएको छ ।

भेलाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका उम्मेदवारहरूको सिफारिस प्रक्रिया अघि बढाउन समेत सुझाएको छ । भेलाले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०८३ साल वैशाख २५, २६, २७ र २८ गते पार्टीको १५ औं केन्द्रीय महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ।

पार्टीभित्र अवसरको न्यायोचित वितरण हुनुपर्नेमा जोड दिँदै संस्थापन पक्षले समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू बनाउँदा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरू बाहेक, हालसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरूलाई उचित प्रतिनिधित्व गराउन माग गरिएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता छानबिन समिति र विधान संशोधन समिति तत्काल गठन गर्न पनि भेलाले प्रस्ताव गरेको छ ।

केन्द्रीय सदस्य गुरु बरालका अनुसार यी प्रस्तावहरू संस्थापन पक्षको साझा धारणाको रूपमा पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ। संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनु पर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

कांग्रेस संस्थापन पक्ष छुट्टै छलफलमा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको आज छुट्टै भेला गरेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा केन्द्रीय कार्य सम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका हुन् । भेलामा पूर्वमन्त्री समेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । भण्डारीले भने, ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ ।’

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् । यस्तै संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् । नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आह्वान गरिने उनको भनाइ छ ।

‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौँ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’ ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ । तर, बैठकमा प्रस्ताव आएको छैन’, बरालले भने, ‘केन्द्रीय कार्यालयमा दर्ता भएको छ अरे, हामीलाई जानकारी छैन । त्यसकारण त्यो दर्ता के हो र त्यसमा गरिएको हस्ताक्षरको भेरिफाइ गरेर विशेष अधिवेशनको कुरा टुंगो लगाउन पनि हामी माग गर्छौँ ।’

 

 

कांग्रेसका शीर्ष नेताहरु धोबीघाटमा जुट्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (सोमबार) शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ ।

महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने चुनाव अघि महाधिवेशनमा जानु हुँदैन भन्नेमा पूर्व पदाधिकारीको समूह छ । यही बहसका बीच केन्द्रीय समिति बैठक स्थगित गर्दै तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आए पनि सहमति जुट्न सकेको छैन । केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि सारिएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ । साझा एजेण्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।

 

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ । आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न समय पाउनु पर्ने बताएका थिए ।

आज पनि कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए । कार्यवाहक सभापति खड्काले एक दुई दिन समय आवश्यक रहेको बताएका थिए । कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।

गगन–शेखर पक्षको निष्कर्ष : पुस १६ मा नियमित महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बिहान कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए ।

छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो । त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ । विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

पदाधिकारी बैठक बस्नुअघि महाधिवेशनबारे एउटा साझा एजेन्डा बनाउने प्रयास अहिले कांग्रेसभित्र चलिरहेको छ । आफूले विशेष महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न नपाएपछि थापाले हिजोको बैठक नै बहिस्कार गरेका थिए । तर, आज भने कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन् । कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन् । यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन । महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए । तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन् ।

 

शेखरपछि कार्यवाहक सभापति खड्कासँग दुई महामन्त्री छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठकअघि उनीहरू खड्का निवासमा पुगेर छलफलमा जुटेका हुन् । कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि नेताहरू छलफलमा जुटेका हुन् ।

यसअघि नेता शेखर कोइरालाले पनि आज बिहान आफू निकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए । कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । त्यसपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन कोइरालाले छलफल गरेका छन् । कोइराला समूहको छलफलले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘भड्किएका’ गगनसहितका नेतासँग शेखरको छलफल, के विषयमा भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापन इतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए । नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार बद्रीप्रसाद पाण्डेबीच छलफल भएको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो । सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन् । कांग्रेस नेता कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति तयार नभएपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका हुन् ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । उनले विहीवारको बैठक अघोषित बहिष्कार गरे । महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिमा अनुपस्थित रहेका थिए । कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग भइरहेको छ । साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाएका थिए ।

कांग्रेसका जेनजीले मागे सुशासन आयोग

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध जेनजी उमेर समूहका प्रतिनिधिमुलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै जेनजी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राखे ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्ति गर्नुपर्ने उनको भनाइ छ । उनले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रुपमा उभिनुपर्ने बताए । उनले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘मुलुकको सुशासन कायम गर्नु जेनजी प्रदर्शनको मुख्य माग थियो । नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरुको विगतका प्रवृत्तिको समिक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् ।’

उनले भने, ‘भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानविन गरी दोषिलाई कारबाही गर्ने कुरामा नेपाली कांग्रेसको सहयोग रहनु पर्दछ । नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली कांग्रेसले सार्वजनिक गर्नु पर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागित सुनिश्तिता गरियोस् ।’

उनले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । उनले जेनजी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यवद्धता आवश्यक रहेको पनि बताए ।

दुई महामन्त्रीसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठकअघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने र दुई महामन्त्री चुनावअघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् ।

दुई पक्ष आ–आफ्नो अडानमा कायमै रहेको वेला सहमति खोज्न कार्यवाहक सभापति खड्काले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । महामन्त्री थापाले सहमति जुट्न नसक्दा महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सकेका छैनन् । महामन्त्री थापाले २७ देखि २९ मंसिरभित्र महाधिवेशन गर्न सकिने गरी कार्यतालिकाका दुई प्रस्ताव सार्वजनिक गरेका छन् ।

२९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषका लागि उनीहरूले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनावअघि हुन नसक्ने अडानमा छ । २८ असोजबाट सुरु भई कात्तिक १ गतेबाट रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुनः सुरु हुन लागेको छ ।

मंसिरभित्रै महाधिवेशन गर्न खड्कालाई शर्माका चार सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव बुझाएका छन् । आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो । उक्त भेटमा शर्माले विभिन्न विकल्पसहितका प्रस्तावहरू बुझाएका हुन् । पहिलो विकल्प कार्य सम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ ।

मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ । तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको भनाइ छ । विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् । यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न चौथो विकल्प दिएका छन् । महामन्त्रीद्वयसहित इतर पक्षका नेता डा.शेखर कोइरालाले महाधिवेशन मंसिरबाट पर धकेल्न नसक्ने अडान लिइरहेपनि संस्थापन पक्षले फागुन २१ को चुनावअघि गर्न नसक्ने पक्षमा उभिएको छ ।

हिजो कावा सभापति खड्काले आफूनिकटका नेताहरूको गुट भेला गरेर वैशाखमा महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा पनि संस्थापन पक्षका नेताहरू त्यही रणनीतिसाथ प्रस्तुत हुँदै छन् । उनले प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने भएपनि फैसलाको प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा लाग्ने निर्णय गर्नुपर्ने शर्माको प्रस्ताव छ ।

महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिला सहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय पार्टीले गर्नुपर्ने उनको प्रस्ताव छ । राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना गर्नेदेखि जेनजी युवाहरूसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव छ ।

हेर्नुस् शर्माका प्रस्ताव

१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)

(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम ’केन्द्रीय समितिले चाहेमाझ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ ।
३) तेस्रो विकल्प– विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै । (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै ।
४) चौथो विकल्प– थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ । (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको ऐतिहासिक मिति)

बैठकबाट तयारी सम्बन्धमा

१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन

फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ िअन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय ।

फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना ।
– जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन

गगन–विश्वप्रकाशलाई प्रकाशशरणको प्रश्न : उपनिर्वाचन देखेकै हो, कुन नयाँ अनुहार चाहियो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वाय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै मंसिरमा विशेष महाधिवेशन भन्ने रटान छाड्न आग्रह गरेका छन् । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई कुनै अचुक औषधि जस्तो नगर्न आग्रह गरे । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् ।

त्यसबारे उनले भने, ‘अहिले पार्टीमा विशेष महाधिवेशन मंसिरमा भन्ने बहस चलिरहेको छ । त्यो नै अचुक औषधि जस्तो छ । यत्रो राष्ट्रिय संकट छ, हामीमाथि उत्रो प्रहार भएको छ । राष्ट्रलाई नै कमजोर गर्ने प्रयास भइरहेको छ । म नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छ । हामीबाट कमी–कमजोरी भएका छन्, त्यसको गम्भीर छलफल र समीक्षा गरौँला ।’

मंसिरमा विशेष कि नियमित भन्ने बहस छाडेर विधि र प्रक्रिया अनुसार नै क्रियाशील सदस्यताको विषय टुङ्ग्याउनुपर्ने बताए । उनले भने, ‘विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन । भोलिदेखि नै केन्द्रीय समिति बैठक बस्दै छ । विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता र सुनिश्चित हुने गरी मिति तोकौँ न । यथार्थ समय कति लाग्छ । मेरो विचारमा वैशाख, जेठसम्म गर्न सकिन्छ ।’

राजनीतिमा सबै खत्तम र बदमास हुन भन्ने नकारात्मक भाष्य जबरजस्त ढङ्गबाट सामाजिक सञ्जालबाट सम्प्रेषित भइरहेको बताए । अहिले देश संकटमा रहेको बेलामा पार्टीभित्र एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले यसअघि भएको उपनिर्वाचनमा दुई महामन्त्रीहरूको नेतृत्वमा गए पनि कांग्रेसका उम्मेदवार पराजित भएको विषय उठाएका छन् ।

‘पार्टीमा नयाँ अनुहार चाहियो ? कुन अनुहार चाहिने ? कुन चाहियो ?,’ उनले दुई महामन्त्रीलाई लक्षित गर्दै भने, ‘उपनिर्वाचनमा देखेकै हो । यो समय त मिलेर गर्ने होला नि । पार्टीलाई बनाउने र निर्वाचनमा भिड्ने तयारी गर्नुपर्ने होला नि । निर्वाचनमा कसरी जाने भनेर यो केन्द्रीय समिति बैठकले टुंगो लगाउनु प र्‍यो ।’ महतले महामन्त्री थापाले जारी केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको तालिका ल्याउनुपर्छ भनिरहँदा अहिले किन चाहियो ? भन्दै प्रश्न गरेका छन् । ‘तालिका अहिल्यै ल्याऔं भन्नेछ । अहिले नै तालिका किन चाहियो मैले बुझेको छैन,’ उनले भने, ’मेरो त के जान्छ । तर म पार्टीको चिन्ता गर्ने मान्छे हो । धेरैले मलाई बुझ्दैनन् ।’

 

 

 

 

मलाई माया गर्ने थुप्रै जेनजीहरु विश्वभरि छन् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा उद्योगी विनोद चौधरीले राजनीति र उद्योग–व्यवसायमा आफूले निर्वाह गरेको भूमिकाको अन्तिम मूल्यांकन इतिहास र जनताले गर्ने बताएका छन् । गत भदौं २४ गतेको जेनजी आन्दोलनमा क्रममा भएको आगजनीबाट क्षतिग्रस्त पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ बेलहानीस्थित आफ्नो निजी निवासको निरीक्षणपछि प्रतिक्रिया दिँदै चौधरीले घटनाप्रति आफ्नो कसैप्रति गुनासो नरहेको स्पष्ट पारेका हुन् ।

भावुक मुद्रामा प्रस्तुत भएका चौधरीले आफूले जीवनभर राष्ट्रको आर्थिक विकास र रूपान्तरणलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरे । उनले भने, ‘मैले सधैँ आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्छ भन्ने कुराको वकालत गरेँ । सुरुमा व्यावसायिक मञ्चहरूबाट र पछि नीति निर्माण र कार्यान्वयनको तहमा नबसीकन केही नहुने रहेछ भन्ने मान्यताका साथ राजनीतिमा प्रवेश गरेको हुँ ।’

चौधरीले देशमा युवापुस्ता (जेनजी) माझ बढ्दो निराशा र पलायनप्रति गहिरो चिन्ता व्यक्त गरे । ‘दैनिक २५ सय बढी नेपाली युवाहरू देश बाहिरिइरहेका छन् । एक करोड बढी नेपाली देशमै बस्न नसक्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘युवाको मनमा भोलि यो नेपाल बन्छ भन्ने आशा पटक्कै छैन । यो हतोत्साहित मनस्थितितर्फ हामी सबै जिम्मेवार व्यक्तिहरूको ध्यान जानुपर्छ ।’

२०७९ सालको निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको स्मरण गर्दै उनले भने, ‘४५ दिनको छोटो अन्तरालमा म यो क्षेत्रमा आएर एकसेएक महारथीहरूसँग निर्वाचन लडेँ । मलाई लाग्छ, त्यो बेला पनि यो मान्छेले विकासको बाटोमा केही गर्छ भन्ने भावनाले नै यहाँका जनताले मलाई जिताउने काम गर्नुभयो ।’ आफ्नो राजनीतिक यात्रा नाम वा दामका लागि नभएको प्रस्ट पार्दै चौधरीले भने, ‘एउटा सम्पन्न नेपाल नेपालीले हेर्न पाउनु पर्छ, त्यो नेपालीको न्यूनतम अधिकार हो । एउटा युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनु पर्छ र त्यो गर्ने जिम्मेवारी हाम्रो हो ।’

उनले परिवर्तनका लागि आफ्नो प्राणको आहुति दिने युवाहरूको आत्माको चीरशान्तिको कामना समेत गरे । आफ्नो क्षतिग्रस्त घरअगाडि उभिएर उनले भने, ‘जेन–जीको भावनालाई कदर गर्नुपर्छ र त्यसलाई बिथोल्न खोज्नेहरूलाई पाखा लगाउनुपर्छ । यदि नेपालमा नयाँ परिवर्तन आयो भने मभन्दा ठूलो सन्तुष्ट व्यक्ति कोही हुने छैन । यो कुरा म मेरो जलेको घर अगाडि उभिएर भनिरहेको छु ।’

सिंगापुरमा देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन् । देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन् ।

जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन् । सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन् ।

त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए । त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ ।

कसैले धूप हाल्दैमा कांग्रेस फुट्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैले धूप हाल्दैमा नेपाली कांग्रेस नफुट्ने बताएका छन् । आज (सोमबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताए ।

‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ । नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन । नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु–कांग्रेस एक ढिक्का रहन्छ । बद्लिएको परिस्थिति बमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ ।’

उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताएका छन् । ‘पार्टीभित्र ठूलो स्वर भयो, यो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने भइरहेको छ । यो त लोकतन्त्र हो नि, अनि नेपाली कांग्रेस हो नि । जहाँनिर सभापतिले ‘यस’ भन्दा ‘यस’ भनेर गोडाफाट भन्दा ‘यस’ भन्दै उभिने होइन नि त । यहाँ फरक मत आउँछन् फरक विचारहरू आउँछन् । एक भएर अघि बढ्छौं ।’

अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छ : विद्वान गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

उनले दुर्गा प्रसाई, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता–कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ ।’

उनले भने, ‘यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अव यिनीहरूको विरुद्ध सडकमा भिँडने हो । यो भन्दा अव अर्को विकल्प नै छैन । अव आउने दिनमा २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ । जसकारण हामीले यति ठुलो क्षति व्यहोर्न गयौं । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अव नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौँ ।’ अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।

कांग्रेसको विशेष कि नियमित महाधिवेशन ? के भन्छन् कार्यवाहक सभापति खड्का ?

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने बताए । उनले केन्द्रीय कार्यसमिति बैठकले घोषणा भएको निर्वाचन, नियमित अधिवेशनलगायत सबै विषयलाई विचार गरेर निर्णय गर्ने पनि बताएका छन् ।

‘सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ,’ उनले भने ।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै त्यसलाई अनुकूलतामा पुर्‍याउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए । खड्काले देश इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा उभिएको पनि बताए । उनले देश मात्र नभई नेपाली कांग्रेस पार्टी पनि प्रतिकूल अवस्थामै रहेको बताए । संविधानमार्फत नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली, शासनको मालिक जनता हुने पद्दति स्थापना भएको घडीमा ठूलो ध्वंश बेहोर्नु परेको उनको भनाइ छ ।

‘शासनको मालिक जनता हुने पद्दति स्थापना गरेर एउटा राजनीतिक परिवर्तनलाई संस्थागत गरिरहेको घडीमा हामीले अत्यन्त ठूलो ध्वंश बेहोर्नुपरेको छ,’ उनले भने, ‘भदौ २३ गतेको जेनजी युवाको शान्तिपूर्ण आन्दोलन भ्रष्टाचार अन्त्य, सुशासन व्यवस्थाको लागू, सामाजिक सञ्जाल बन्द फिर्ता ३ मागअगाडि सारेर सुरु गरिएको थियो । २३ गते नै होनाहार युवाहरूले अमूल्य गुनाउनु पर्‍यो । जेनजीकै भनाइमा शान्तिपूर्ण आन्दोलनमा ठूलो घुसपैठ हुन पुगेर मुलुकले ठूलो विपत्तिको सामना गर्नुपर्‍यो । २४ गते देशैभरि ४ घण्टामा सिंगो देशमा ध्वंश भयो। मानवीय क्षति भयो । नेपालको इतिहासमा पहिलोचोटी । देशको कार्यपालिका, व्यवस्थापिका, सर्वोच्च प्रणालीमाथि आक्रमण भयो खरानी बनाइयो ।’

उनले ००७ सालको शान्तिको प्रतिक विराटनरस्थित कोइराला निवास, लोकतन्त्रको लागि विगुल फुकेको गणेशमान सिंहको निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रमसहित देशभरका कांग्रेस कार्यालय खरानी भएको चर्चा गरे । उनले जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा पनि गरे । त्यस्तै खड्काले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा पनि गरे ।

‘सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि प्राण लिने गरी आक्रमण भए । देशैभर नेताका घर खरानी बनाइए,’ उनले भने, ‘यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु– अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछ । तरुणहरू संगठित हुनुछ ।’

उनले फेरि एकपटक तरुण दलको झन्डा बोकेर अधिकार रक्षाका लागि, नागरिकको रक्षाका लागि एकताबद्ध हुन आह्वान पनि गरे । यस्तो अवस्थामा हुन सक्ने आकस्मिक खतराबाट सुरक्षित हुने तरिका बोध गरेर अघि बढ्न निर्देशन पनि दिए । जारी केन्द्रीय समिति बैठकको पहिलो दिननै सभापति देउवाले दिएको सन्देश प्रेरणादायी भएको भन्दै उनले भने, ‘उपचार गर्दै गरेको अवस्थामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा प्रेरणासहित सन्देश दिनु भएको छ । त्यो दिनको सन्देशले कांग्रेसलाई ठूलो ऊर्जा दिएको छ ।’ विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै थपे, ‘कमी कमजोरी भए होलान् हामी स्वीकार्छौ । परिवर्तनका लागि अधिकारलाई रक्षा गर्ने कामलाई वृहत एकतासहित अघि बढ्छौँ भन्दै सभापतिले सन्देश दिनु भएको छ ।’ उनले जारी केन्द्रीय समिति बैठकले कांग्रेस एक भएको सन्देश दिने पनि बताए ।

 

 

आज सिंगापुर जाँदै देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।

जेन जी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए । केपी ओली नेतृत्वको निवर्तमान सरकारमा आरजु राणा देउवा परराष्ट्र मन्त्री थिइन् ।

सरकारलाई कांग्रेस नेता महरको प्रश्न : तपाईहरू चुनाव गर्न नसके के गर्न सक्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नगर समिति ,परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाट कार्यक्रममा नेता महरले आपत्कालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताएका हुन्

‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो । जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो । आन्दोलनको आदेश पनि त्यही हो । यसबाट सरकार विचलित नहोस्’, उनले भने ।

सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनावका गर्नु भन्ने नै रहेकाले सरकारलाई कत्ति पनि विचलित नभएर त्यसमा थप सक्रियता बढाउन महरले सुझाएका छन् । ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ ? यो प्रश्न आम जनताको हो । त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

राजनीतिक दलहरूसँग संवाद गरेर, देशी विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वासलाई बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकार ध्यान पुग्न नसकेको महरले टिप्पणी गरेका छन् ।

‘मतदानमा दलहरूले भाग लिनका लागि वातावरण बनाउने र जनतालाई मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने वातावरण मिलाउने काम सरकारले गर्नुपर्छ । त्यो हुँदा निर्वाचन भइहाल्छ । दलहरूले हामी चुनाव बहिष्कार गर्छौं भनेका छैनौँ । हाम्रो माग नै शान्तिपूर्ण र समयमा निर्वाचन होस् भन्ने हो’, उनले भने ।

अहिलेको अवस्थामा सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको उनले आरोप लगाएका छन् ’दलहरूमाथि पूर्वाग्रहीरुपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्यो भन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ । त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ । आफ्नो काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ,’ उनले भने ।

उनले जननिर्वाचित सरकार जस्तो एक महिनाको ’हनीमुन प्रियड’ हेरिरहेझैँ गरिरहेको आरोप लगाएका छन् । आफ्नो अधिकारभन्दा बाहिरका क्षेत्रमा गएर कर्मचारीको सरुवालगायतका क्रियाकलाप गरिरहेकाले उनले उद्देश्य भुलेर सरकारलाई यस्ता गतिविधिमा समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको धारणा पनि सरकार फागुन २१ गते नर्वाचन सम्पन्न गर्ने बाटोमा अर्जुन दृष्टि लगाएर अघि बढोस् भन्ने रहेको उनले प्रस्ट पारेका छन् । कार्तिक १३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा चुनावी वातावरणका पक्षमा कांग्रेसले निर्णय नै गरेर अघि बढ्ने उनले बताए । संसद पुनस्र्थापनाको विषय कुनै विकल्प नबचेको अवस्थामा मात्र सम्भव हुने उनले बताए ।