`

कांग्रेस सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी

Nepal One HD ३० पुष २०८२ ११:५४
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगञ्जमा एक घण्टा वार्ता गरेर फर्के लगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन् । विशेष महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका लागि आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवास बोलाएका थिए । तर महामन्त्रीद्वयको मागअनुरूप देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको थियो ।

सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निक्र्यौल निकाल्न सुझाव दिएका थिए। देउवासँग भएको छलफलबारे कानुन विद्सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *