गगन–विश्वसँग छलफल गर्ने जिम्मा देउवा र खड्कालाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् । केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।
‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी मीनबहादुर विश्वकर्माले सुनाए, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो । उनले महामन्त्रीहरूसँगको छलफल आजै र चाँडै हुने पनि बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फुटको अवस्थामा जान सक्ने भन्दै पार्टी जोगाउन दबाब दिएका छन् । आज (सोमबार) विशेष महाधिवेशनले आफू नेतृत्वको केन्द्रीय समिति नै भंग गर्ने कार्यविधि ल्याएसँगै देउवाले आफू निकटका पदाधिकारीहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा लागि महाराजगञ्ज पुगेका शेखरले विशेष महाधिवेशनपछि पार्टी सग्लो रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू कोइरालाले देउवालाई बुझाएका छन् । नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका कोइराला देउवासँग आधा घण्टा भेटेर निस्किएका छन् । उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् । उता महाधिवेशनको बन्दसत्रमा सभापति देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने प्रस्ताव पेश भएको छ । शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।
