आजै फेरि बस्ने गरी सकियो कांग्रेसको त्रिपक्षीय वार्ता
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि सुरु भएको त्रिपक्षीय वार्ता सहमतिउन्मुख देखिएको छ । आज (मंगलबार) बिहान लाजिम्पाटमा बसेको पहिलो चरणको छलफलपछि नेताहरूले आ–आफ्नो समूहसँग परामर्श गरेर पुनः बैठक बस्ने निर्णय गरेका छन् । बिहान साढे ८ बजेदेखि करिब तीन घण्टा चलेको वार्तामा संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षका गरी आठ जना नेताहरू सहभागी थिए । छलफलमा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट जीवन परियार र बद्री पाण्डे तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे सहभागी थिए ।
वार्तामा सहभागी एक नेताका अनुसार पहिलो चरणको छलफलमा विवादका मुख्य विषयहरू पहिचान गरिएको छ र दुवै पक्ष सहमतिका लागि अधिकतम लचक हुन तयार देखिएका छन् । ‘सहमतिको प्रयास भइरहेको छ । अहिले छलफलका विषय नेताहरूलाई ब्रिफिङ गरेर धारणा तय गर्ने र फेरि बस्ने समझदारी बनेको छ’, ती नेताले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि देखिएको असन्तुष्टि समाधानका लागि सुरु भएको संवाद सकारात्मक र सौहार्दपूर्ण वातावरणमा भएको रमेश लेखकले बताएका छन् । उनका अनुसार पार्टीलाई एकताबद्ध राख्ने विषयमा सबै पक्ष सहमत छन् र दिउँसो साढे २ बजे पुनः बैठक बस्ने तय भएको छ ।
सहमहामन्त्री जीवन परियारले पनि संवाद सही दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । ‘संवाद जारी छ, आजै सहमतिमा पुग्ने गरी छलफल अगाडि बढ्दैछ’, उनले भने । यसअघि सोमबार सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा संस्थापन पक्ष एकताका लागि लचिलो हुने निष्कर्षमा पुगेको थियो । त्यस लगत्तै विशेष महाधिवेशन पक्षले चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक र महामन्त्रीद्वयबीच भएको छलफलमा पनि पार्टी एकतालाई प्राथमिकतामा राख्दै आ–आफ्नो अडान केही पछाडि हटाउने समझदारी बनेको थियो ।
स्रोतका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार देखिएको छ । विशेष महाधिवेशनबाट भएका व्यवहारिक र नीतिगत निर्णयलाई पार्टीले स्वीकार्ने सहमतिका आधार तयार हुँदैछन् । यसका लागि पुस १८ मा केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय आज बस्ने केन्द्रीय समिति बैठकबाट उल्ट्याउनुपर्ने प्रस्ताव अघि सारिएको छ । त्यसैगरी, आसन्न निर्वाचनमा टिकट वितरणको विषय पनि वार्ताको प्रमुख एजेण्डा बनेको छ । विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापतिको हस्ताक्षर भएको टिकटको व्यवस्था हुनुपर्ने माग राख्दै आएको छ । वर्तमान नेतृत्वको हस्ताक्षर भएको टिकट लिएर चुनाव नलड्ने घोषणा महामन्त्री गगन थापाले गरिसकेका छन् ।
यसबाहेक, आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र टिकट वितरणमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा सुनिश्चित गर्ने प्रस्ताव पनि विशेष महाधिवेशन पक्षको मागमा छन् । यद्यपि, यी सबै प्रस्तावमा तत्कालै सहमति जुट्ने अवस्था नरहे पनि ‘दुवै पक्षले जितेको अनुभूति हुने’ गरी सहमति खोज्ने प्रयास भइरहेको संस्थापन पक्षका नेताहरूको भनाइ छ । कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद समाधानतर्फ वार्ता सकारात्मक मोडमा पुगेको संकेत देखिएसँगै आजको दोस्रो चरणको बैठकलाई निर्णायक मानिएको छ ।
