`

गगन–विश्वप्रकाशलाई निष्काशन गरेको निर्णय सुनाउँदै गर्दा भावुक बने खड्का

Nepal One HD ३० पुष २०८२ १६:१२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद खुला टकरावमा रूपान्तरित हुँदै गएको छ । केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाउँदै पार्टी असहज अवस्थातर्फ धकेलिएको बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशन कार्यतालिका महामन्त्रीद्वयकै सहमतिमा अघि बढाइएको दाबी गरे । तर, प्रक्रिया पूरा गर्न नसकिएको अवस्थामा कार्यतालिका सार्ने समझदारी हुँदाहुँदै पनि उनीहरूले विशेष महाधिवेशनको आह्वान गरेर धोका दिएको उनको आरोप थियो । खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूसँग सल्लाह गरेर नै पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको हो । तर क्रियाशील सदस्यता नवीकरणलगायतका प्रक्रिया समयमा पूरा हुन सकेन । त्यसमा उहाँहरू स्वयंको पनि जिम्मेवारी छ ।’ उनले महामन्त्रीद्वयले आफूहरूबाट कुनै कमजोरी नभए जस्तो गरी विशेष महाधिवेशनतर्फ अगाडि बढेको भन्दै असन्तुष्टि जनाए ।

विशेष महाधिवेशनको माग गर्दै गगन–विश्व पक्षले सार्वजनिक रूपमा गतिविधि बढाएपछि संस्थापन पक्ष र इतर समूहबीच पटक–पटक वार्ता भएको थियो । तर, ती सबै प्रयास असफल भएपछि अन्ततः केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि कारबाही गर्ने निर्णय गरेको छ । कारबाहीको निर्णय सुनाउने क्रममा खड्का भावविह्वल बनेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।

‘सबै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ’, भन्दै खड्काले बैठकमा भावुक अभिव्यक्ति दिएको ती सदस्यको भनाइ छ । उनका अनुसार खड्का निर्णय सुनाउँदा निकै गहिरो तनावमा देखिन्थे । बैठकमा खड्काले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच भएको वार्ताको विवरण पनि प्रस्तुत गरेका थिए । उनले महामन्त्रीद्वयले सहमतिको ‘अन्तिम विकल्प’ भन्दै पठाएका प्रस्तावहरूमध्ये निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नाममा सभापतिको हस्ताक्षर परिवर्तन गर्नेबाहेक अन्य कुनै प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

विशेष गरी गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टी गतिविधिबाट निस्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको खड्काको भनाइ थियो । ‘हामीले एउटा प्रस्तावबाहेक अरू मान्न सकिँदैन भनेर जवाफ दिइसकेका छौं’, खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । विशेष महाधिवेशन पक्षसँग चरणबद्ध छलफल चलिरहेकै कारण बुधबार बिहानका लागि तय गरिएको केन्द्रीय समिति बैठक दिउँसो ढिलो गरी सुरु भएको थियो । यसअघि मंगलबार पनि पटक–पटक बैठक सर्दै राति संक्षिप्त छलफलमा सीमित भएको थियो । कांग्रेसभित्र देखिएको यो तकरारले पार्टीको संगठनात्मक एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ । नेतृत्व तहकै आपसी अविश्वास र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने चासो तीव्र बन्दै गएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *