`

देउवा नेतृत्वमाथि प्रश्न, नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी नेतृत्व र भावी राजनीतिक दिशाबारे गहिरो बहसलाई औपचारिक रूप दिएको छ । विशेष महाधिवेशनको कार्यसूचीमा समावेश गरिएको मौजुदा सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ सभापति तथा केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि प्रतिनिधिहरूबाट पारित भएसँगै कांग्रेस राजनीतिमा ठूलो तरङ्ग आएको छ ।

१४ औं महाधिवेशन (२०७८) बाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल समाप्त भइसकेको ठहर गर्दै त्यसलाई बिघटन गर्ने प्रस्ताव पारित भएको हो । कार्यविधि कार्यान्वयनमा गएमा १५औं महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ । यससँगै विधानअनुसार गठन भएका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिसमेत विघटन हुनेछन् ।

आफ्नै मतदाताबाट देउवामाथि दबाब
चार वर्षअघि ६० प्रतिशत मतसहित सभापति बनेका देउवा अहिले त्यही बहुमत प्रतिनिधिको विपक्षमा परेका छन् । विशेष महाधिवेशनमा सहभागी ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको एजेण्डासहित उपस्थित भएको दाबी गरिएको छ । देउवाका प्रतिष्पर्धी शेखर कोइराला संस्थापन पक्षमै रहे पनि प्रतिनिधिहरूको असन्तुष्टि नेतृत्व केन्द्रित बनेको देखिन्छ ।

महामन्त्री गगन थापा नेतृत्व परिवर्तनबिना चुनावमा नजाने अडानमा छन् । उनले देउवाकै हस्ताक्षरमा प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने घोषणा गरिसकेका छन् । उता देउवा भने विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे निकट नेताहरूसँग निरन्तर परामर्शमा छन् । आइतबार रातिसम्म २ हजार ६ सय ६२ प्रतिनिधि नाम दर्ता भइसकेका छन् । कुल प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ रहेकामा ६० प्रतिशतभन्दा बढी सहभागिता हुने आयोजकको दाबी छ ।

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने’ प्रस्ताव
विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले विगतका राजनीतिक अभ्यासमाथि आत्मसमीक्षा गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेका छन् । पछिल्लो डेढ दशकमा प्रधानमन्त्री फेरिए पनि अनुहार उही रहने प्रवृत्तिले जनअसन्तुष्टि र नेतृत्वको अलोकप्रियता बढाएको उनको तर्क छ ।

उनले यो नीतिलाई संविधानमै लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिने उल्लेख गरेका छन् । साथै, विगतका गल्ती सच्याउँदै आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव पनि पेश गरिएको छ । चुनावी गठबन्धनले मतदाताको स्वतन्त्र विवेक र पार्टी कार्यकर्ताको सम्मानमा असर पारेको निष्कर्ष प्रस्तावमा समेटिएको छ ।

जेनजी आन्दोलनप्रति सन्तुलित दृष्टिकोण
महामन्त्री शर्माले जेनजी आन्दोलनका सन्दर्भमा पनि आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन् । भदौ २३ गते भएको अत्यधिक बल प्रयोगबाट युवाहरूको ज्यान गएको घटनालाई गम्भीर अपराध भन्दै निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने उनले दोहो¥याए। साथै भदौ २४ गते भएको आगजनी र ध्वंसका घटनालाई पनि बेवास्ता गर्न नहुने उल्लेख गर्दै दुवै घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए । उनले ०४२ सालको सत्याग्रह स्थगनको उदाहरण दिँदै, जेनजी आन्दोलनका अगुवाहरूले पनि आफ्नो आह्वान र कर्मअनुसार जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन् ।

सिद्धान्तमा अडिग, एजेण्डामा लचक
प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक चरित्रलाई स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा अटल रहँदै समयअनुसार एजेण्डामा लचकता अपनाउँदै आएको दाबी गरिएको छ । सुशासन, सद्भाव र समुन्नतिलाई आजको नेपालको प्रमुख तीन एजेण्डा ठहर गर्दै विशेष महाधिवेशनले यही आधारमा आगामी राजनीतिक कार्यदिशा तय गर्ने निष्कर्ष निकाल्ने संकेत दिएको छ ।

०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई सुरक्षित राख्दै पछिल्ला असन्तुष्टिको भावनालाई सम्बोधन गर्नुपर्नेमा कांग्रेस नेतृत्व सचेत देखिएको छ । विशेष महाधिवेशन कांग्रेसका लागि केवल संगठनात्मक अभ्यास होइन, नेतृत्व, नीति र राजनीतिक संस्कृतिमा ‘रीसेट’ गर्ने प्रयासको रूपमा उभिएको छ । देउवा नेतृत्वको भविष्य, नयाँ नेतृत्व चयन र पार्टीको चुनावी रणनीतिले कांग्रेसको आगामी राजनीतिक यात्रा कुन मोड लिन्छ भन्ने कुरा अब यही विशेष महाधिवेशनका निर्णयले निर्धारण गर्नेछ ।

 

 

 

अब कांग्रेसको सभापति शेखर कोइराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमवार काठमाडौंमा डा. शेखर कोइराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शीर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् ।

यता डा. कोइराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।

उनले भने, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’ उनले डा. शेखर कोइराला कांग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला कांग्रेसको सभापति बन्ने बताए ।

 

आफू विष पिएर भए पनि पार्टी विभाजन हुन दिन्नँ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए । उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिवद्धता छ ।

उनले भने, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन र म फुट्न दिन्नँ । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’ आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफलमा आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताएका हुन् ।

पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । उनले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहरेको छु। तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन ।’ उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए । छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू–शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसकेका छन् । सोमवारबाट बन्द सत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।

 

पार्टी विभाजन हुन नदिन लागिपरेका छौं : दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरु लागिपर्ने बताएका छन् । सोमवार बिहान नेता डा. शेखर कोइराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको बताए । महामन्त्री र संस्थापन पक्षधरहरुसँग छलफल गरेर आफूहरु अघि बढ्ने निर्णयमा पुगेको पनि जानकारी दिए । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरुले मुद्दा उठाउँदै आएको बताए । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरुसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौँ । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोईरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नु भएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔँ ।’ उनले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा. कोइरालाले दुवै पक्षका नेताहरुसँग संवाद गर्ने पनि बताए ।

बन्द सत्रमा विश्वप्रकाशको प्रस्ताव : बदलिएको समयअनुसार कांग्रेस पुनर्निर्माण अपरिहार्य

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । बन्द सत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा सांगठनिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका छन् ।

बन्द सत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका थिए । प्रस्ताव पेश गर्दै महामन्त्री शर्माले नेपाली समाज, राजनीति र जनअपेक्षामा आएको परिवर्तनलाई आत्मसात् नगरी कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट सन्देश दिएका छन् । उनले कांग्रेसको भावी यात्रालाई ‘सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ का रूपमा परिभाषित गर्दै पार्टीभित्र आत्मविश्वास र समाजमा विश्वास दुवै पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । प्रस्ताव प्रस्तुत गर्ने क्रममा शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ भने अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्ने सकारात्मक सन्देश प्रवाह गर्नेछ । विश्वास र आत्मविश्वासको यही अठोट र अभियान आजको हाम्रो प्रधान कार्यभार हो ।’

उनले बदलिँदो समय, प्रविधि, चेतना र जनताको अपेक्षासँग कांग्रेसको संगठन, कार्यशैली र राजनीतिक व्यवहार अझै सुदृढ र आधुनिक बनाउनुपर्ने धारणा राखेका छन् । प्रस्तावमा पार्टीको सांगठनिक संरचना, कार्यकर्ता व्यवस्थापन, नेतृत्व विकास र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने विषय समेटिएको छ । प्रस्तावको अन्त्यतिर महामन्त्री शर्माले आत्मालोचनासहित कांग्रेस रूपान्तरणको संकल्प व्यक्त गरेका छन् ।

उनले भने, ‘हामी जान्दछौँ, जो बदलिन सक्छ, उसैले बदल्न सक्छ । कुनै समय कांग्रेसले देशको समयलाई आफूअनुकूल बदलेको थियो, आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नु छ ।’ उनले कांग्रेसलाई ‘रिबिल्डिङ’ र ‘रिब्रान्डिङ’ गर्ने स्पष्ट लक्ष्य अघि सार्दै संगठनलाई जनमुखी, परिणाममुखी र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनको बन्दसत्रमा पेश गरिएको यस सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि आगामी दिनमा प्रतिनिधिहरूबीच छलफल हुने र त्यसकै आधारमा कांग्रेसको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय हुने नेताहरूले बताएका छन् ।

 

 

विशेष महाधिवेशनको बन्द सत्र सुरु, नयाँ नेतृत्व चयन गर्न सक्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र भृकुटीमण्डपमा सुरु भएको छ । बन्द सत्रको अध्यक्षता पार्टीका वरिष्ठ नेता ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् भने सत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्दैछन्। प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार बन्द सत्रमा पार्टीको नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने छ ।

प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, पार्टी विधानको परिमार्जन, संगठनात्मक संरचनामा सुधारलगायत विषय समेटिएका छन् । ती विषयमा गहन छलफल गर्न प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ । यसैबीच, विशेष महाधिवेशनको कार्यविधि पनि बन्दसत्रले ध्वनि मतबाट पारित गरेको छ । ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ पारित भएसँगै महाधिवेशनका आगामी कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने भएका छन् ।

कार्यविधिको प्रस्तावनामा पार्टी विधान २०१७ (संशोधनसहित) को धारा १७ को उपधारा (२) अनुसार विशेष केन्द्रीय महाधिवेशन बोलाइएको उल्लेख छ। साथै, विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायको हैसियतमा महाधिवेशनले आफ्नो कामकारबाहीलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरिएको स्पष्ट गरिएको छ ।

पारित कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनदेखि नयाँ नेतृत्व चयनसम्मको प्रक्रिया समावेश छ । त्यस्तै, विशेष केन्द्रीय महाधिवेशन सञ्चालनसम्बन्धी व्यवस्था, बन्द सत्रमा पेस हुने प्रस्तावहरू, ती प्रस्तावमाथि निर्णय गर्ने प्रक्रिया, प्रतिवेदनका विषय, गणपूरक संख्या तथा निर्वाचन समिति गठनसम्बन्धी प्रावधान पनि कार्यविधिमा उल्लेख छन् । महामन्त्री गगन थापाको नेतृत्वमा प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बोलाइएको कांग्रेसले जनाएको छ । महाधिवेशनमा २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको दाबी गरिएको छ । विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

 

 

वैधानिक संकटमा देउवा, विशेष महाधिवेशनले कांग्रेसलाई कुन मोडमा लैजाला ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा विरलै देखिने राजनीतिक उथलपुथल भृकुटीमण्डपमा देखिएको छ । चार वर्षअघि १४औं महाधिवेशनमा करिब ६० प्रतिशत मतका साथ शेरबहादुर देउवालाई सभापति बनाएका प्रतिनिधिहरू नै अहिले नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशनमा उभिएका छन् । यही दृश्यले कांग्रेसभित्र गहिरिँदो वैधानिक, नैतिक र राजनीतिक संकटलाई उजागर गरेको छ ।

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको संख्या र उत्साहले देउवाको परम्परागत पकड कमजोर बन्दै गएको संकेत गरेको छ । आइतबार रातिसम्म ४,७४३ मध्ये २,६६२ प्रतिनिधि दर्ता भइसकेका छन् । आयोजकहरूका अनुसार सोमबार पुनः नाम दर्ता खुल्दा सहभागिता ६० प्रतिशत नाघ्ने सम्भावना छ । यही संख्यात्मक बलका आधारमा विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति दुवै परिवर्तनको दबाब तीव्र बनाएका छन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै यसमा सभापति वा कार्यवाहक सभापति सहभागी नहुने स्पष्ट पारेका छन् । कार्यसम्पादन समितिले दुई पटकसम्म अवैधानिक घोषणा गरिसकेको कार्यक्रमलाई स्वामित्व लिन नसकिने उनको तर्क छ । तर, पार्टीभित्रै संस्थापन खेमाका कतिपय नेताहरू भने आसन्न निर्वाचनको संघारमा विवाद चर्किदा पार्टीलाई गम्भीर क्षति पुग्ने चेतावनी दिँदै देउवालाई ‘निकास’ खोज्न सुझाव दिइरहेका छन् ।
यही द्वन्द्वका बीच सभापति देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र शेखर कोइरालासँग निरन्तर परामर्शमा छन् । तर, एकातिर पद नछाड्न दबाब र अर्कोतिर बहुमत प्रतिनिधिको असन्तुष्टि—यी दुईबीच देउवा दोधारमा परेका देखिन्छन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका आक्रामक तर भावनात्मक सम्बोधनले थप उर्जाशील बन्यो । थापाले २०१४ सालमा सुवर्णशमशेरले बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरेको ऐतिहासिक उदाहरण स्मरण गराउँदै देउवालाई समयमै निर्णय लिन आग्रह गरे ।

‘कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्नुपर्छ,’ थापाको भनाइ थियो, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदा मान्छेको पार्टी हो ।’ महामन्त्री शर्माले विशेष महाधिवेशनलाई ‘भीड होइन, कांग्रेस बदल्न आएको जमात’ को संज्ञा दिँदै सुशासन, आत्मालोचना र पुस्तान्तरणको संकल्पसहित अघि बढ्ने घोषणा गरे ।

देउवाका विश्वासपात्र मानिने पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व सभामुख तारानाथ रानाभाटदेखि विभिन्न खेमाका नेताहरूको सहभागिताले असन्तुष्टि केवल युवा पुस्तामा सीमित नभएको स्पष्ट पारेको छ । गोपालमान श्रेष्ठले ‘इतिहासको ब्याजले भविष्य नबन्ने’ टिप्पणी गर्दै देउवालाई हठ त्याग्न आग्रह गरे ।

सोमबार बिहान सुरु हुने बन्दसत्रले कांग्रेसको आगामी बाटो तय गर्नेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा महामन्त्रीद्वयको प्रतिवेदनमाथि आठ समूहमा छलफल हुनेछ । नेतृत्व चयन नै मुख्य एजेण्डा भएकाले संस्थापन पक्षको सहभागिता वा अनुपस्थितिले परिणामलाई निर्णायक बनाउनेछ । विशेष महाधिवेशन पक्षधरहरू संस्थापनले स्वामित्व नलिए हलबाटै नयाँ नेतृत्व चयन गर्ने मनस्थितिमा देखिन्छन् ।

अनुशासित, व्यवस्थित र उत्साहपूर्ण देखिएको यो विशेष महाधिवेशनले कांग्रेसभित्र शक्ति सन्तुलन बदलिएको सन्देश दिएको छ । देउवाले समयमै राजनीतिक निकास खोजेर इतिहासमा सम्झौतावादी नेता बन्ने कि प्रतिनिधिहरूको दबाबमा पार्टी विद्रोहको बाटो रोज्ने–यो प्रश्नको उत्तर अब बन्द त्रले दिनेछ । जे होस्, भृकुटीमण्डपमा देखिएको दृश्यले कांग्रेस पुरानै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट संकेत गरिसकेको छ ।

कांग्रेसमा अब इतर–भितर छैन, नेतृत्व फेरेर जान्छौं : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले आफू डा. शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन् । ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छु,’ उनले भने, ‘किनकी उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न ।’ चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा शेखर कोइरालाले संकल्प लिएको पनि कार्कीले सम्झिए ।

‘म नियमित महाधिवशेनको पक्षमा छु, नभए विशेष महाधिवेशनको पक्षमा छु भन्नु भएको थियो,’ उनले भने, ‘उहाँको भौतिक उपस्थिति जरुरी छैन, त्यो विचार सारा महाधिवेशन प्रतिनिधिहरुले पुरा गर्दै हुनुहुन्छ ।’ नेता कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’

भए नियमित नभए निर्वाचन अगाडि नै विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू भएको उल्लेख गर्दै उनले कांग्रेस मालिकको आदेशले नभएर आम कार्यकर्ताहरूले बनाएको संरचना भएको बताए । उनले नेपाली कांग्रेसमा गुटगत राजनीति विशेष महाधिवेशनले खारेज गरिदिएको उल्लेख गर्दै भने, ‘अब इतर र भितर छैन । भन्ने सन्देश दिनलाई पनि विशेष महाधिवेशनमा आएका छौँ ।’

 

 

 

 

 

 

 

 

 

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जीवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन ।’ नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए । पौडेलले विधानले निर्दिष्ट गरेको विशेष महाधिवेशन भएकाले कार्यसम्पादन समितिले निर्देशित गर्न नसक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनामा नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो ।’ कांग्रेस नेताहरुले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको नेता पौडेलले बताए । बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन, बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुन्छ । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ । लोकतान्त्रिक पद्धतिका लागि संघर्ष गरेको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

 

 

 

 

 

 

 

कांग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रह : नेतृत्वमा पुग्ने यात्राबाट पछि नहट्नुस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् । आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताए ।

उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनु पर्ने बताए । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव समेत गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले कमसेकम ५० प्रतिशत नयाँ अनुहारहरुलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रुपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेशा होइन, समाजलाई रुपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रुपमा खुला हृदयले आमन्त्रणका साथ भित्र्याएको हेर्न चाहन्छ । त्यस्तो नेपाली कांग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रुपान्तरण नै गर्‍यो । नेपाली कांग्रेसले राजनीतिक रुपान्तरण मात्रै होइन आर्थिक रुपान्तरण नै २०४८ सालमा गरेको र त्यसैआधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रुपमा चलिराखेको छ ।’

उनले भने, ‘फेरि नेपाली कांगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकलका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरुलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरुको सपनालाई सार्थक बनाउन सक्ने प्रतिवद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढनुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुडकिलोमा पुर्‍याउनुहोस् ।’ नेता चौधरीले नेपाली कांग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताए।

 

 

 

 

 

 

आन्दोलन गर्न सक्यौ, शासन सत्ता चलाउन सकेनौं : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीमा व्यापक परिवर्तन आवश्यक रहेको र मात्र पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत ३४ वर्षको अनुभवलाई उद्धृत गर्दै भने, ‘ठूला पार्टीहरू मिलेर सरकार बनायौं, तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नु पर्‍यो ।’

भण्डारीले आफ्नो सम्बोधनमा देश अहिले संकटमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य प्रजातन्त्र जोगाउनु हो । देश अफ्यारो अवस्थामा छ र आगामी निर्वाचनमा हामीले एक ढिक्का भएर जानुपर्छ ।’ उनले पार्टीहरूले अब पद बाँड्नेभन्दा पार्टी निर्माण र नेतृत्व सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेता भण्डारीले यसअघि भएका विभिन्न आन्दोलनले केही उपलब्धि त ल्याएको तर शासन सञ्चालन गर्न नसक्दा देश संकटमा परेको बताए ।

उनले स्पष्ट पारे, ‘चलाख र सक्षम नेतृत्व नभए, जति पद दिए पनि मुलुक चल्दैन । हामीले समाजमा आशा जगाउन सकेनौं । आन्दोलन गर्न सक्यौं, शासन चलाउन सक्यौं भने वर्तमान संकट आउँदैनथ्यो ।’ भण्डारीले विशेष महाधिवेशनले कांग्रेस र देशको लागि योग्य नेतृत्व र स्पष्ट नीति तय गर्नुपर्ने बताए । ‘अब समाजमा आशा जगाउने बेला आएको छ । त्यसका लागि महाधिवेशनले सही निर्णय गर्नु आवश्यक छ’, उनले भने । उनको भनाइ अनुसार, आगामी दिनमा पार्टीले मात्र नभई राष्ट्रले पनि स्थिरता र विकासतर्फ अघि बढ्न सक्षम नेतृत्वको आवश्यकता छ ।

 

 

 

 

कांग्रेसको विशेष महाधिवेशनमा ५० प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा हालसम्म २३४० सय भन्दा बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनले गरेका निर्णय देउवाले मान्नु पर्छ : देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसे आफूहरूले पार्टी रूपान्तरणको प्रयास गरेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी रूपान्तरणको लागि पार्टीभित्र झगडा गरेको बताए । उनले भने, ‘सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भयो । त्यति मात्रै होइन चुनावअघि गठबन्धनको प्रयास हुँदै छ । त्यसले हाम्रो सिद्धान्तलाई कहाँ पुर्‍याउँछ ? आदर्शलाई कहाँ पुर्‍याउँछ ?’

उनले पार्टीको आयु सत्ता र सीटसँग नभई जनताको मनसँग जोडिन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । उनले पार्टीको विधानअनुसार आफूहरूले विशेष महाधिवेशन गरेको बताए । उनले भने, ‘विधान लागू गर्दा पार्टी फुट्छ भने त्यो विधान खारेज गर्नुस्, अन्यथा पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई छैन ।’ नेता चालिसेले विशेष महाधिवेशनको हलबाट हुने निर्णय सबैले मान्नुपर्ने बताए ।

चालिसेले कसैको प्रभावमा नपरेर हलले निर्णय गर्ने बताए । सभापति शेबहादुर देउवालाई विधानअुनसार, विशेष महाधिवेशनको गर्न आग्रह गर्दा नमानेपछि आफूहरू सरेको उनको भनाइ थियो । अब विशेष महाधिवेशनले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । ‘हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले मान्नुुर्पछ, वडाको सदस्यले पनि मान्नु पर्छ,’ चालिसेले भने । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । पार्टीलाई सुधार गर्न बाध्यकारी कदम चाल्नु परेको उनको भनाइ थियो ।

 

 

कांग्रेस चार महिनादेखि कोमामा थियो : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै देशले परिवर्तन खोजेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ । इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना पछारिएको थियो ।’ विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्ने बताए। पार्टीमा युवा नेतृत्वलाई अगाडि सार्नुपर्ने पनि बताए ।

 

 

गगन थापा कांग्रेसजनको आशा र भरोसाका केन्द्र : तीर्थ लामा

काठमाडौं । नेपाली कांग्रेसका काभ्रे सभापति तीर्थ लामाले कांग्रेसको जिम्मेवारी अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापा कांग्रेसजनको आशा र भरोसाको केन्द्र रहेको बताए । उनले विशेष महाधिवेशन उद्घाटन समारोह ऐतिहासिक भएको बताएका छन्।

जेनजी विद्रोहपछि पार्टीको निकास निकाल्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ । उनले भने, ‘यो उपस्थितिले समयसापेक्ष चल्नुपर्छ भन्ने अग्रज नेताहरूलाई सन्देश दिएको छ । मुलुकलाई निकास दिनसक्ने नेताहरू भनेको गगन थापा र विश्वप्रकाश शर्मा नै हो ।’ उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने प्रस्ट पारे ।

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइन : करुणा कटुवाल

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले विशेष महाधिवेशनले कांग्रेसको दिशानिर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताइन् ।

उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन् । विशेष महाधिवेशन कांग्रेसको निकासका लागि मात्रै नभई देशकै निकास निकाल्नका लागि आवश्यक भएको बताइन् । कांग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसलाई मात्रै निकास होइन, देशको निकासका लागि यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागि यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होइन, कुनै तिक्तताको लागि होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन । यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होइनौँ । हामी नेपाली कांग्रेसको दिशानिर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’ उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा कांग्रेसलाई नयाँ उत्साहका साथ होमिन सहयोग गर्ने बताइन् ।

कांग्रेस यथास्थितिमा चल्दैन, नेतृत्व परिवर्तन चाहिएको छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गुरुराज घिमिरेले पार्टी अब यथास्थितिमा अघि बढ्न नसक्ने स्पष्ट बताएका छन् । आज (बुधबार) विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व र नीतिगत परिवर्तन आवश्यक रहेको बताए ।

घिमिरेले भने, ‘जेनजी विद्रोहले पार्टीभित्रको सन्देश स्पष्ट पारेको छ। कांग्रेसलाई अब नयाँ नेतृत्व र नीति आवश्यक छ । ३६ वर्षको राजनीतिक यात्रा र अनुभवको गम्भीर समीक्षा गर्न आवश्यक छ। यो महाधिवेशन नै पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने ऐतिहासिक अवसर हो ।’

उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि महाधिवेशनमा सहभागी भएर एकताको सन्देश दिन आह्वान गरे । घिमिरेले यसरी भनिरहेका छन्, ‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उपस्थित भएर यो विशेष महाधिवेशनलाई १०० प्रतिशत सफल बनाउन आग्रह गर्दछु । मेरो तिक्ताको भण्डार रित्तिएको छ, तपाईंहरू पनि आउनुहोस् र आगामी संसदीय निर्वाचनमा कांग्रेसको दिग्विजय सुनिश्चित गर्न सहयोग गर्नुहोस् ।’

उनले पार्टीका साधारण सदस्य र संस्थापन पक्षका सबै नेताहरूलाई महाधिवेशनमा सहभागी भएर उत्सव मनाउन र पार्टी एकताबद्ध बनाउने पक्षमा उभिन पनि आग्रह गरे । उनले जोड दिए, ‘नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घकालीन जीवन र लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न ठूलो भूमिका राख्छन् । आज उनीहरूले यही विशेष महाधिवेशनको माग गरेका छन् । सबैले सहभागी भएर एकताको सन्देश दिन आवश्यक छ ।’ घिमिरेको यो अभिव्यक्तिले पार्टीभित्रको विद्यमान असन्तुष्टि र नेतृत्व परिवर्तनको आवश्यकता पुनः उजागर गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनले नेतृत्व, नीति तथा आगामी निर्वाचन रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

 

 

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशन उदघाटन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार औपचारिक रूपमा सुरु भएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गर्दै तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहायक महामन्त्री फरमूल्लाह मंसुरसहित चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठलगायत नेताहरूको उपस्थिति थियो। विभिन्न जिल्लाका सभापतिहरू पनि महाधिवेशनमा सहभागी भएका छन् ।

यस विशेष महाधिवेशनमा भने पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका शीर्ष नेताहरू सहभागी भएनन् । विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेपछि महामन्त्रीद्वयकै नेतृत्वमा उद्घाटन गरिएको हो । यही कारण कांग्रेसभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ। देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको छ भने गगन–विश्व समूहले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशन आयोजना गरेको दाबी गरेको छ ।

जुलुस, नारा र शक्ति प्रदर्शन
विशेष महाधिवेशनका अवसरमा कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीलगायत क्षेत्रबाट बाजागाजासहितका जुलुस भृकुटीमण्डपतर्फ आएका थिए । जुलुसमा ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्वले भन्छ’ भन्ने नारा गुञ्जिएको थियो । तामझामका साथ उद्घाटन सत्र चलिरहँदा प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि सँगसँगै अघि बढेको छ । नेताहरूका अनुसार प्रतिनिधिको संख्या र सहभागिताले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशा परिवर्तन हुने–नहुने निर्धारण गर्नेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र सुरु हुने र विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।

महाधिवेशन सुरु हुनुअघि महामन्त्री गगन थापा घरबाट आमाबुवाको आशीर्वाद लिएर कार्यक्रमस्थलतर्फ प्रस्थान गरेका थिए । उनले ‘यहाँहरूको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदै छु’ भन्दै आफ्नो भाव व्यक्त गरेका थिए । उता, उद्घाटन सत्र चलिरहेकै बेला थापाकी पत्नी अञ्जना केसी थापाले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै उनको साहस र प्रतिबद्धताको प्रशंसा गरिन् ।

उनले जोखिम ठूलो भए पनि गगन एक्लो नरहेको, परिवर्तन चाहने धेरै मानिसहरूको साथ रहेको उल्लेख गरेकी छन् । विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक मतभेद सतहमा ल्याएको छ । एकातिर संस्थापन पक्षको बहिष्कार, अर्कोतिर युवा नेतृत्वको अगुवाइमा भएको महाधिवेशन—यी घटनाक्रमले पार्टीको भविष्य र नेतृत्व संरचनाबारे नयाँ बहस सुरु गराएको छ । अब बन्द सत्रका निर्णय र प्रतिनिधिको सहभागिताले नेपाली कांग्रेसको आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

 

गोपालमानसहित संस्थापन पक्षका नेताहरु समेत भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । दिउँसो २ बजे शुरू भएको उद्घाटन सत्रमा पार्टीका विभिन्न धारका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष आकर्षणका रूपमा सहभागी भएका छन् । उनलाई महामन्त्री गगन थापाले मञ्चमा स्वागत गरेका थिए । चुनावअघि महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि सामूहिक रूपमा भृकुटीमण्डप पुगेका छन्, जसले महाधिवेशनको राजनीतिक महत्त्वलाई थप बल दिएको छ ।

उद्घाटन समारोहमा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरू महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत नेताहरू सहभागी छन् । पार्टीभित्र पछिल्लो समय मध्यमार्गी भूमिका खेलेका २५ केन्द्रीय सदस्यमध्ये २० जना विशेष महाधिवेशनमा सहभागी हुने जनाइएको छ, जसले आन्तरिक सन्तुलन र संवादको प्रयासलाई संकेत गरेको छ । संस्थापन पक्षबाट केन्द्रीय सदस्यहरू तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी र राजन केसीलगायत नेताहरू कार्यक्रमस्थलमा पुगेका छन् । उनीहरूको उपस्थितिलाई पार्टी एकताको सन्देशका रूपमा हेरिएको छ ।

यस्तै, डा. शेखर कोइराला पक्षका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको उपस्थिति पनि महाधिवेशनमा देखिएको छ । विभिन्न गुट र धारका नेताहरू एउटै मञ्चमा देखिनुले विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक संवाद, भावी राजनीतिक दिशा र संगठनात्मक पुनर्संरचनाका लागि निर्णायक मानिएको छ । नेपाली कांग्रेसले यो विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका मतभेद, आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।

भृकुटीमण्डप कांग्रेसमय, विशेष महाधिवेशनले ट्राफिक जाम (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप कांग्रेस नेता तथा कार्यकर्ताले भरिएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला-काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका र्‍यालीका कारण भृकुटीमण्डप र आसपासका क्षेत्र कांग्रेसमय बनेका छन् ।

क्षेत्रीय समितिहरूको अगुवाइमा आएका नेता–कार्यकर्ताहरूको  र्‍याली क्रमशः भृकुटीमण्डप प्रवेश गरिरहेकाले महाधिवेशनस्थलमा भीड बढ्दै गएको छ । र्‍याली आउने क्रम जारी रहेकाले विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम केही ढिला भएको छ । केहीबेरमा उद्घाटन समारोह सुरु गर्ने तयारी रहेको आयोजकले जनाएका छन् । विशेष महाधिवेशनमा सहभागी हुन ठूलो संख्यामा नेता तथा कार्यकर्ता राजधानी भित्रिएपछि काठमाडौँको यातायात व्यवस्था प्रभावित भएको छ । भृकुटीमण्डप, खुल्लामञ्च आसपास, पुतलिसडक, सिंहदरबार, माईतिघर, थापाथली चोक र त्रिपुरेश्वर क्षेत्रमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ती क्षेत्रहरूमा सवारी आवागमन कठिन भएको जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने आवश्यक नपरेसम्म ती क्षेत्रतर्फ यात्रा नगर्न सुझाव दिएको छ । विशेष महाधिवेशन आजै भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक दिशानिर्देश र भावी रणनीतिका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ । राजधानीमा बढेको भीड र सवारी चापलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी तथा ट्राफिक प्रहरी परिचालित गरिएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

सभापति पदको लोभ छैन, पार्टी एकताकै लागि अन्तिमसम्म लड्छु : शेखर कोइराला (भिडियो)

काठमाडौैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्ने अठोटसहित आफू कांग्रेस एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन उद्घाटनको संघारमा भिडियो सन्देश जारी गर्दै उनले व्यक्तिगत पद, प्रतिष्ठा वा शक्ति आफूलाई कहिल्यै लोभ्याउने विषय नभएको बताएका छन् ।

कोइरालाले कांग्रेस रूपान्तरणको अभियानमा आफूले शान्त, धैर्यशील र संयमित शैली अपनाएको उल्लेख गर्दै भने, ‘मेरा कतिपय शैलीसँग साथीहरू असहमत हुनु स्वाभाविक हो, तर आक्रोश र अधैर्यले पार्टीलाई सही दिशामा लैजान सकिँदैन भन्ने मेरो विश्वास हो ।’ उनले मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने आकांक्षा आफूमा कहिल्यै नरहेको दोहोर्‍याए ।

उनका अनुसार परिवारबाट प्राप्त जीवन दर्शन नै उनको राजनीतिक मार्गदर्शक सिद्धान्त हो । ‘त्यही दर्शनबाट प्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु’, उनले भने। यस क्रममा एकातर्फ सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको र अर्कोतर्फ परिवर्तन चाहने ऊर्जावान युवाहरूको असन्तोष पनि सम्बोधन गर्नुपर्ने चुनौती आफूले भोगेको उनको भनाइ छ ।

देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै कोइरालाले वर्तमान परिस्थितिमा कांग्रेसको एकता ऐतिहासिक आवश्यकता भएको बताए । ‘निर्वाचित सरकारको सट्टा अनिर्वाचित सरकार रहेको अवस्था, संविधानमाथि प्रश्न उठिरहेका बेला कांग्रेस एकताबद्ध हुनु अपरिहार्य छ’, उनले भने । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिकामाथि उठेका प्रश्नलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

कोइरालाले पार्टीभित्र विधि, प्रक्रिया र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । विशेष महाधिवेशनबारे आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखिसकेको जानकारी दिँदै उनले बीपी कोइरालाको मेलमिलाप नीति कानुनको अक्षरभन्दा पनि जनताको आवाज र अन्तरआत्माबाट आएको दर्शन भएको स्मरण गराए ।

महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसको ‘धरोहर’ को संज्ञा दिँदै उनले उनीहरू विधान कार्यान्वयन र पार्टी एकता कायम गर्न सक्षम रहेको गहिरो विश्वास व्यक्त गरे । ‘के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वका साथ एकताबद्ध महाधिवेशन गर्न सक्दैनौँ ? हाम्रो एकता देख्न चाहने समर्थक, शुभेच्छुक र अन्तर्राष्ट्रिय समुदाय छैनन् र ?’ उनले प्रश्न गरे । अन्त्यमा, पार्टीभित्र देखिएको गतिरोध समाधानका लागि आफूले केही दिनदेखि निरन्तर ‘भगीरथ प्रयास’ गरिरहेको उल्लेख गर्दै डा. कोइरालाले स्पष्ट प्रतिबद्धता जनाए, ‘जबसम्म निकास निस्किँदैन, तबसम्म म लागिरहने छु ।’

 

 

 

विशेष महाधिवेशनमा फरक दृष्य : कार्यकर्ता कुर्सीमा, नेतालाई कुसन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच सुरु हुन लागेको यस महाधिवेशनमा उद्घाटन सत्रअघि नै एउटा फरक र प्रतीकात्मक दृष्य देखिएको छ ।

भृकुटीमण्डपको खुला चौरमा तयार गरिएको उद्घाटन मञ्चमा नेताहरूका लागि परम्परागत कुर्सी नराखी कुसनको व्यवस्था गरिएको छ । विशेष महाधिवेशन आयोजक समितिले विगतको अभ्यासलाई निरन्तरता दिँदै नेताहरूलाई कुर्सीभन्दा तल कुसनमा बसाउने व्यवस्था गरेको हो । यसलाई नेताहरू र कार्यकर्ताबीचको दूरी घटाउने सन्देशका रूपमा पनि हेरिएको छ । मञ्च अगाडि भने कुर्सीहरू पंक्तिबद्ध रूपमा राखिएका छन् । ती कुर्सीमा १४औं महाधिवेशनका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरू बस्ने छन् । मञ्चमा नेताहरू कुसनमा र दर्शकदीर्घामा प्रतिनिधि कुर्सीमा बस्ने दृष्यले महाधिवेशनमा नयाँ सन्देश प्रवाह गरेको देखिन्छ ।

विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायत स्थानबाट निस्किएका र्‍यालीहरूले महाधिवेशनस्थललाई उत्साहपूर्ण बनाएका छन् । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन, पार्टी सुदृढीकरण र आन्तरिक एकताको माग उठाएका छन् । पार्टीभित्र देखिएको गहिरो विवादबीच आयोजना गरिएको यो विशेष महाधिवेशनले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ । मञ्चको व्यवस्थादेखि प्रतिनिधिहरूको सक्रिय सहभागितासम्म देखिएको फरक दृश्यले यस महाधिवेशनलाई अघिल्ला महाधिवेशनभन्दा अलग र अर्थपूर्ण बनाएको छ ।

 

 

 

 

विशेष महाधिवेशनमा नारा : नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुनुअघि राजधानी काठमाडौं आज राजनीतिक रूपमा निकै तातिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा हुने उद्घाटन समारोहअघि काठमाडौं र ललितपुरका छ स्थानबाट छुट्टाछुट्टै  र्‍याली निस्किएर भृकुटीमण्डपमा केन्द्रित भएका छन् । कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्किएका जुलुसहरू बाजागाजा, झाँकी र नारासहित भृकुटीमण्डप पुगेका हुन् ।  र्‍यालीमा सहभागी कार्यकर्ता तथा प्रतिनिधिहरूले ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ’, ‘जेनजी युवा के भन्छ ? गगन–विश्व ले भन्छ’ जस्ता नाराहरू घन्काएका छन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नीति र नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन बोलाइएको हो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको भन्दै आयोजकहरूले यसलाई पार्टी रुपान्तरणको निर्णायक क्षणका रूपमा व्याख्या गरेका छन् ।

भृकुटीमण्डपमा पुगेका प्रतिनिधिहरूको साझा धारणा स्पष्ट छ–अब कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनैपर्छ । सिराहाबाट आएका प्रतिनिधि मुस्तक अन्सारी भन्छन्, ‘देशको अहिलेको अवस्था र युवाको चाहनाले युवा नेतृत्व खोजेको छ । कांग्रेसलाई चलायमान बनाउन गगन–विश्वको विकल्प छैन ।’ गुल्मीबाट आएकी पार्वती कुँवर नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन आवश्यक भएको बताउँछिन् । ‘जेनजी आन्दोलनपछि झन् युवाको नेतृत्वको आवश्यकता देखिएको छ । बन्दसत्रले नेतृत्व परिवर्तन गर्छ भन्ने विश्वास छ’, उनले भनिन् ।

गोरखाबाट आएका प्रेमकुमार खत्री पार्टीमा नीतिगत र संरचनागत परिवर्तन अनिवार्य भएको बताउँछन् । ‘कांग्रेस पछिल्लो समय क्लब जस्तो बनेको छ । यो विशेष महाधिवेशनले नीति, नेतृत्व र विधि सबै परिवर्तन गर्नुपर्छ’, उनको भनाइ छ । जर्मनीबाट तीन दिनको बिदा लिएर आएकी प्रतिनिधि प्रतिमा भट्टले त नेतृत्व चयन नभएसम्म नफर्किने संकल्प नै व्यक्त गरेकी छन् । ‘पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको नेताले अब विश्राम लिनुपर्छ । नयाँ पुस्ताले पार्टी र देशको नेतृत्व लिनुपर्छ’, उनले भनिन्।

नेविसंघका केन्द्रीय सदस्य मनोज पुरी विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन नगरी फर्किने विकल्प नरहेको बताउँछन् । ‘हस्ताक्षर संकलन गर्दा नीति र नेतृत्व बदल्ने वाचा गरिएको थियो । त्यो पूरा भएन भने आह्वानकर्ताले नै जिम्मेवारी लिनुपर्छ’, उनले चेतावनी दिए । उनका अनुसार यदि गगन–विश्व पछि हटे कार्यकर्ताबाटै विद्रोह हुन सक्ने अवस्था बनेको छ । युवा नेता मोहन कालाथोकी पनि अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको दाबी गर्छन् । ‘५४ प्रतिशत प्रतिनिधिको समर्थनपछि अब नेतृत्व नफेर्ने सम्भावना सकियो । बहुमत भृकुटीमण्डपमै छ’, उनले भने ।

उदघाटन आज, निर्णायक बन्द सत्र भोलि

आज उद्घाटन सत्र र भोलि बन्दसत्र चल्ने विशेष महाधिवेशनबाट नीति, नेतृत्व र जेनजी आन्दोलनप्रतिको पार्टी दृष्टिकोण स्पष्ट हुने अपेक्षा गरिएको छ । महाधिवेशन प्रतिनिधि मात्र होइन, साधारण कार्यकर्तासमेत ठूलो संख्यामा उपस्थित भई कांग्रेसमा ‘फ्रेस नेतृत्व’ र एकताबद्ध पार्टीसहित चुनावतर्फ अघि बढ्नुपर्ने माग गरिरहेका छन् । अब सबैको चासो एकै ठाउँमा केन्द्रित छ–के यो विशेष महाधिवेशनले साँच्चै कांग्रेसको नेतृत्व र दिशामा ऐतिहासिक मोड ल्याउला ?

 

 

कांग्रेसको विशेष महाधिवेशन शुरू : ६० प्रतिशत सहभागिताको दाबी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । बिहान साढे ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरू भएको छ भने साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिले दर्ता गराइसकेको आयोजक समितिले जनाएको छ ।

आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार देशभरबाट चयन भएका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये उल्लेख्य संख्याले बिहानै दर्ता गराएका छन् । सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरी दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि भृकुटीमण्डप मूलगेटसँगै राखिएका स्टलहरूमा दर्ताका लागि लामो लाइन देखिएको छ ।

जिल्ला तथा क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा ल्याउन आग्रह गरेका छन् । विभिन्न स्थानबाट आउने जुलुसका कारण दर्ता प्रक्रियामा केही ढिलाइ भए पनि यसले उद्घाटन कार्यक्रममा असर नपर्ने आयोजकको दाबी छ ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपको खुला चौरमा हुनेछ । उद्घाटन सत्रका लागि भव्य मञ्च निर्माण गरिएको छ भने मञ्च अगाडि खुला चौरमा ठूलो संख्यामा कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च क्षेत्र कांग्रेसको झण्डा, ब्यानर, गेट तथा विभिन्न प्रचार सामग्रीले सजाइएको छ ।

उद्घाटनका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा प्रवेश गराउने तयारी गरिएको छ । विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ। बन्दसत्रमा दुईवटा फरक–फरक प्रतिवेदन प्रस्तुत गरिने तयारी छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । आयोजक पक्षका अनुसार विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ । गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

संस्थापन पक्षले भने विशेष महाधिवेशन माग गरिएको अवधिभित्रै १५औं नियमित महाधिवेशनको मिति तोकिसकिएकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको तर्क गर्दै आएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पाँच केन्द्रीय नेताहरूले असहमति जनाउँदै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा ‘कांग्रेसलाई पुनर्जागरण गर्ने उद्देश्य’ सहित आयोजना गरिएको दुई दिने विशेष महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिमा कस्तो सन्देश दिनेछ भन्ने विषयमा राजनीतिक वृत्तको चासो बढेको छ ।

 

जेनजीलाई गगनको आग्रह : महाधिवेशनपछि तपाईहरूसँग मिलेर सहकार्य गर्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको दौडधुप सकिएपछि जेनजी (Gen Z) अभियानसँग मिलेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । आज सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले जेनजीले उठाएका राष्ट्रिय महत्वका मुद्दामा साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

थापाका अनुसार जेनजी मुभमेन्टले अघि सारेका विशेष गरी सुधार (रिफर्म) सम्बन्धी विषयमा निर्वाचनअघि नै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकबीच राष्ट्रिय तहको संवाद र सहमति हुनुपर्ने उनको धारणा छ । यसअघि आफूले सामाजिक सञ्जालमार्फत यही प्रस्ताव राख्दा धेरैबाट सकारात्मक प्रतिक्रिया र उपयोगी सुझाव प्राप्त भएको उनले उल्लेख गरे ।

उनले कतिपयले व्यक्तिगत रूपमा समेत सुझाव र आइडिया दिइरहेको भन्दै अहिले नै अनौपचारिक रूपमा सहकार्य सुरु भइसकेको बताए । ‘हामी मिलेर निर्वाचनअघि नै जेनजी मुभमेन्टले उठाएका प्रमुख मुद्दाहरूमा राष्ट्रिय स्तरको एउटा समझदारी बनाउन सक्छौँ भन्ने विश्वास छ’, थापाले भिडियो सन्देशमा भनेका छन्। गगन थापाको यो अभिव्यक्तिलाई युवापुस्तासँग राजनीतिक दलको दूरी घटाउने र नीतिगत सुधारका एजेण्डामा साझा मोर्चा बनाउने संकेतका रूपमा हेरिएको छ।

हेर्नुस् भिडियो

 

विशेष महाधिवेशन विवाद उत्कर्षमा : राष्ट्रपति र कोइरालासँग देउवाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद उत्कर्षमा पुगेको बेला सभापति शेरबहादुर देउवा र पार्टीका अन्य समूहका नेता डा. शेखर कोइरालाबीच आज दुई वटा भेटवार्ता भएको छ । यसैबीच देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट्न पुग्दा पनि राजनीतिक हलचल बढेको छ ।

सूत्रका अनुसार, बिहान देउवा र कोइरालाबीच महाराजगञ्जस्थित देउवा निवासमा विस्तृत संवाद भएको थियो । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटवार्तामा विशेष महाधिवेशनको तयारी र रोकथामको विषयमा छलफल केन्द्रित भएको थियो ।

पार्टीको केन्द्रीय समितिले आगामी वैशाख २८–३१ सम्म १५औं नियमित महाधिवेशन गर्ने निर्णय पारित गरेको छ । तर, विशेष महाधिवेशन पक्षधर नेता गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने तयारी तीव्र पारेका थिए । यस्तो अवस्थामा पार्टी भित्रको संवाद र सहमति अभावले विवाद झन बढाएको छ ।

शीतल निवास पुगेर देउवाले राष्ट्रपति पौडेलसँग भेट गरेका कारण पार्टीभित्र यो कदमलाई राजनीतिक अर्थपूर्ण रुपमा हेरिएको छ । भेटको विषय र परिणाम सार्वजनिक भइसकेको छैन। देउवाले बैठक अघि थप छलफल गर्ने आशय व्यक्त गरेका थिए । विशेष महाधिवेशन स्थगित नगरेको खण्डमा संस्थापन पक्षले थप कदम चाल्ने तयारीमा छ । महाधिवेशन तालिका संसदको उम्मेदवारी दर्ता र राष्ट्रियसभाको चुनावपछि ल्याउने प्रस्ताव पनि संस्थापनले राखेको छ । राजनीतिक विश्लेषकहरूले भने, पार्टीभित्रको यो घामघुल्लो स्थिति आगामी महाधिवेशन र आगामी निर्वाचन रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

भण्डारी र शर्माले भने–विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पास गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले पार्टी एकता जोगाउँदै विशेष महाधिवेशन नीतिगत र संकल्प प्रस्ताव आधारित बनाइने दिशामा काम गरिरहेको बताएका छन् । उनीहरूले पार्टी विभाजन नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई सहकार्यको सन्देश दिएका छन् ।

शनिबार बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई ‘नीतिगत सम्मेलन’ का रूपमा अघि बढाउन आग्रह गर्दै भने, ‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आएका छन् । यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔं । चार महिनापछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई उत्साहित बनाइ पठाऔं ।’

उनले कुनै हालतमा पार्टी विभाजन हुन नदिने पनि स्पष्ट पारे । भण्डारीले भने, ‘संस्थापन पक्ष; सभापति÷कार्यवाहक सभापतिज्यूले पनि यसलाई आफ्नो भनेर ग्रहण गर्नु पर्नेछ र आयोजकहरूले यसलाई सम्पूर्ण पार्टीको सम्मेलन भन्ने गराउनु पर्छ ।’ नेता सुनिल शर्माले पनि पार्टी विभाजन रोक्न आफूहरू सक्रिय रहेको बताए । उनले जानकारी दिए, ‘हामी दिनरात खटिरहेका छौँ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेट गरेर पार्टीपंक्तिलाई उत्साहित गर्ने उपाय निकाल्ने काम भइरहेको छ ।’

भण्डारीले विधानको बेवास्ता गर्दा संस्थापन पक्षले कमजोरी देखाएको उल्लेख गर्दै भने, ‘संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्ता गरेकै कारण कांग्रेस अहिले संकटको डिलमा पुगेको छ । कांग्रेसभित्र संकट आउँदा मूल नेतृत्वमा असर पर्छ । त्यसैले हामीले यो रोक्न आग्रह गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा उनले थपे, ‘विशेष महाधिवेशन पक्षधरलाई पाखा राखेर अर्को ढङ्गले नजाने, मध्यमार्गी विकल्पमा दुवै पक्ष आउनु पर्छ । यसरी मात्र पार्टी एकता कायम रहन्छ ।’ यसरी, चन्द्र भण्डारी र सुनिल शर्माले विशेष महाधिवेशनलाई नीतिगत रूपमै अगाडि बढाएर पार्टी एकतालाई मजबुत बनाउने योजना अघि सारेका छन् । उनीहरू दुवै पक्षलाई सहकार्यमा ल्याएर नियमित महाधिवेशनतर्फ उन्मुख हुने दिशामा जुटिरहेका छन् ।

गगन–विश्वले गरे बैठक बहिष्कार, विशेष महाधिवेशनका आजका कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किदै जाँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएनन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको भए पनि महामन्त्रीद्वयको अनुपस्थितिले राजनीतिक तरंग पैदा गरेको छ ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा उभिँदै २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । यही विषयलाई लिएर पार्टी नेतृत्व र महामन्त्रीहरूबीच मतभेद सतहमा आएको देखिन्छ । बैठक बहिष्कारलाई पार्टीभित्रको असहमतिको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।

यसैबीच, विशेष महाधिवेशन पक्षधरले आजका लागि तय गरेका सबै कार्यक्रम स्थगित गरेका छन् । कांग्रेस नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रासहित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तयारी थियो ।

विशेष महाधिवेशन पक्षधरले पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको समयमा कुनै कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । जारी विज्ञप्तिमा पुस २६ गतेका सबै कार्यक्रम स्थगित गरिएको र पुस २७ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह श्रद्धा र सम्मानका साथ सुरु गरिने उल्लेख छ ।

८४ वर्षीय होमनाथ दाहालको शुक्रबार साँझ उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्वमन्त्री रहिसकेका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष समेत हुन् । विसं २०५६ मा सांसद निर्वाचित उनी पछि कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ । एकातिर कांग्रेसभित्र नेतृत्व र महामन्त्रीबीचको टकराव, अर्कोतिर शोकका कारण स्थगित कार्यक्रम–यी घटनाक्रमले कांग्रेसको आन्तरिक राजनीति थप संवेदनशील मोडमा पुगेको संकेत गरेका छन् ।

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, उदघाटनमा आउलान् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद देखिए पनि महाधिवेशन पक्षधर नेताहरूले यसलाई पार्टीको साझा मञ्चका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । यही पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने अपेक्षा उनीहरूले सार्वजनिक रूपमा दोहोर्‍याएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलपछि आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीभित्र तरंग ल्याएको छ । यसै सन्दर्भमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवालाई औपचारिक पत्र पठाइने र उनकै उपस्थितिमा उदघाटन हुने विश्वास व्यक्त गरे । ‘महामन्त्रीहरूले पत्र दिइसक्नु भएको छ, उहाँ स्वयं आएर उदघाटन गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ’, केसीले भने । महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् ।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशनस्थलको अवलोकन गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रक्रिया सुरु भइसकेपछि आवश्यक कार्यविधि निर्माण गरिने र त्यसकै आधारमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने बताए । उनले पार्टीभित्र कसैप्रति पनि अनादर वा नकारात्मक टिप्पणी नगर्ने उल्लेख गर्दै सभापति तथा कार्यवाहक सभापतिलाई समेत सहभागिताका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिए । ‘यो महाधिवेशन विस्तारै सबैको साझा मञ्च बन्छ भन्ने हाम्रो अपेक्षा छ’, शर्माले भने । महाधिवेशनको तयारीसँगै काठमाडौँ उपत्यकाका विभिन्न सडक कांग्रेसका झण्डाले सिँगारिएका छन् । आयोजक समितिका अनुसार भृकुटीमण्डपमा मञ्च निर्माण, हल सजावट तथा प्राविधिक कामहरू तीव्र रूपमा अघि बढिरहेका छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरू काठमाडौँ आउने क्रम पनि सुरु भइसकेको आयोजकको भनाइ छ । जनपरिचालन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सहभागिता रहने दाबी गरेका छन् । यसैबीच, व्यवस्थापन समितिले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई सहभागी नगराउने निर्णय गरेको छ । समितिका संयोजक मनोजमणि आचार्यका अनुसार यो कांग्रेसको नितान्त आन्तरिक विषय भएकाले एजेण्डा केन्द्रित महाधिवेशनमा अन्य दललाई ‘नो इन्ट्री’ गरिएको हो ।

उनले पार्टी नेतृत्वले महाधिवेशनलाई औपचारिक रूपमा अपनत्व लिने आशा गरिएको र यदि त्यसो नभए पनि आयोजक स्वयंले सभापतिलाई प्रमुख अतिथिका रूपमा निम्तो दिने बताए । उद्घाटन सत्र पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा हुनेछ । त्यसअघि कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभामा परिणत गर्ने तयारी गरिएको छ । संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।

 

 

 

 

 

विशेष महाधिवेशनलाई सबैको बनाउन प्रयासरत छौं : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताएका छन् । शुक्रवार भृकुटीमण्डपमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भए पनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताए । उनले विधानलाई सबैले मान्नु पर्नेमा नैतिक दायित्व र कर्तव्य बिर्सिएर अघि बढ्न नहुने बताए। महाधिवेशले राम्रो निकास दिने उनको विश्वास छ ।

उनले भने, ‘वास्तवमा शेरबहादुर दाइहरुले नै यो अधिवेशन गरिदिनु पर्दथ्यो । किनभने ४० प्रतिशतले भनिसकेको थियो । हाम्रो विधानलाई मान्नुपर्ने दायित्व, नैतिक दायित्व र कर्तव्य पनि उहाँहरुको हो । तर त्यसलाई लत्याउनु भयो । यसलाई सामान्य रुपमा लिनुपर्छ । विशेष महाधिवेशनले एउटा राम्रो निकास निकाल्नेछ । चाँडै पार्टीभित्रका समस्याहरु समाधान हुनेछन् । यो अधिवेशनलाई सबैको अधिवेशन बनाउने प्रयत्नमा हामी छौँ ।’ नेता शर्माले महाधिवेशनसँगै पार्टीभित्रका समस्या पनि चाँडै समाधान हुने बताए।

 

विशेष महाधिवेशनमा देउवा आफै सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफै सहभागी हुनुपर्ने बताएका छन् । शुक्रवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनी सहभागी हुनुपर्ने बताएका हुन् । नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे ।

उनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माप्रति संकेत गर्दै कांग्रेसको वर्तमान र भविष्य सोही महाधिवेशनले फैसला गर्ने समेत बताए । उनले भने, ‘७७ वटै जिल्लाका साथीहरु हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु हाम्रा हुन् । नेपाली कांग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरुलाई पनि हामीले मिलाएर लिएर जान्छौँ । विशेष महाधिवेशनमा सभापति पनि आउनु पर्छ, यो उहाँको पार्टी हो यो ।’ नेता भण्डारीले महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्ने समेत बताए ।

कोही नेता–कार्यकर्ताले पार्टी विभाजन चाहेका छैनन् : राणा

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनै पनि नेता–कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । उनले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताए ।

उनले पार्टीका नेता–कार्यकर्तालाई उग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपिल गरे । नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गरे । उनले भनिन्, ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरु हामीले देखेका छौँ । अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनै पनि कांग्रेसका नेता–कार्यकर्ताले पनि कांग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ ।’

उनले भने, ‘प्रतिनिधि सभा चुनाव नेपाली कांग्रेसका निम्ति एकदमै चुनौतीको रुपमा आएको छ । यसलाई फेस गर्नको लागि सबै साथिहरु एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली कांग्रेसका सबै नेता–कार्यकर्ताहरुलाई धेरै उग्र भएर हामी नहिडौँ भनेर आग्रह पनि गर्न चाहन्छु । यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विषेश महाधिवेशनलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नु पर्छ । हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ । विशेष महाधिवेशनलाई सफल पार्नको लागि सहयोग गर्नुहोस् ।’ उनले आइतवारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने जिकिर पनि गरे ।

 

 

 

 

एकताको दाबी र विभाजनको शंकाले कांग्रेसमा ‘तनाव’

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद चर्किदै गएको छ । महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने दाबी गरिरहेका बेला सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूले भने यसले कांग्रेसलाई फुटतर्फ लैजाने निष्कर्ष निकालेका छन् । भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारे । उनले पार्टीभित्र देखिएको आशंका निराधार भएको बताउँदै विशेष महाधिवेशनकै माध्यमबाट कांग्रेस अझ सुदृढ र एकताबद्ध हुने दाबी गरे ।

‘विशेष महाधिवेशनले पार्टी फुट्दैन । पार्टी विभाजन गर्ने व्यवस्था नै विधानमा छैन’, उनले भने, ‘आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस एकढिक्का भएर जान्छ, १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार हुनेछन् ।’ महामन्त्री शर्मा विशेष महाधिवेशनस्थलमा नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मालाई सँगै लिएर उपस्थित भएका थिए । यसलाई पार्टीभित्र एकताको सन्देश दिन खोजिएको संकेतका रूपमा हेरिएको छ । उनले विशेष महाधिवेशनको दिन अन्य गतिविधि हुनु अस्वाभाविक नभएको उल्लेख गर्दै हस्ताक्षर अभियानबारे पनि प्रष्ट पारे । उनका अनुसार सुरुमा हस्ताक्षर गर्ने ५४ प्रतिशत प्रतिनिधिमध्ये २४ जनाले नाम फिर्ता लिएका छन् भने विशेष महाधिवेशनका लागि करिब ५ सय नयाँ महाधिवेशन प्रतिनिधि थपिने अवस्था बनेको छ ।

तर, अर्कोतर्फ कांग्रेसको संस्थापन पक्ष भने विशेष महाधिवेशनप्रति गम्भीर असन्तुष्टि जनाइरहेको छ । शुक्रबार काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा आयोजित सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेलाले विशेष महाधिवेशनले पार्टी विभाजन हुने निष्कर्ष निकालेको हो । भेलामा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेतसहित लक्ष्मी खतिवडा, किरण पौडेल, उर्मिला थपलिया, मदनकृष्ण श्रेष्ठ, गंगा अवाल र गणेश लामा सहभागी थिए । नेता कृष्ण सिटौलाले पनि भेलालाई सम्बोधन गरेका थिए । भेलापछि केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन रोक्नुपर्ने निष्कर्षमा पुगेको जानकारी दिए ।

‘भूराजनीति र राष्ट्रिय राजनीतिका जटिल अवस्थाबीच कांग्रेस विभाजन हुने खतरा बढेको छ’, उनले भने, ‘पार्टी कमजोर बनाउने कुनै पनि क्रियाकलाप रोक्न देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ ।’ भेलाले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पनि निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

उल्लेखनीय छ, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । यही निर्णयलाई लिएर कांग्रेसभित्र अहिले एकताका लागि विशेष महाधिवेशन आवश्यक भन्ने धार र यसले विभाजन निम्त्याउने भन्ने धार आमनेसामने देखिएका छन् । आगामी दिनमा यी दुई धारबीच सहमति जुट्छ वा विवाद अझ गहिरिन्छ, त्यसले कांग्रेसको भावी राजनीतिक यात्रालाई निर्णायक रूपमा प्रभावित गर्ने देखिन्छ ।

 

 

 

 

 

पार्टीमा आज जुन परिस्थिति देखिएको छ, त्यो मानिंदैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् । शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए । उनले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गरे ।

अहिले सबै एकतावद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको बताए । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताए । विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताए ।

उनले भने, ‘पार्टी केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरुको बीचमा प्रतिष्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो । आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिंदैन । तथापि हामी केन्द्रिय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ । विशेष महाधिवेशन आजको आवश्यकता होइन । आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनु पर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’ नेता सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताए ।

विशेष महाधिवेशनस्थल पुगे विश्वप्रकाश, चन्द्र र सुनिल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक राजनीतिक तानातान तीव्र बनेको छ । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशनस्थलमै पुगेर तयारीको सन्देश दिएका छन् भने अर्कोतिर संस्थापन पक्षले यसलाई पार्टी विभाजनतर्फ लैजाने प्रयासको संज्ञा दिँदै रोक्न सक्रिय भएको देखिएको छ ।

शुक्रबार कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तथा नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशनको तयारी भइरहेको भृकुटीमण्डप पुगेका छन् । उनीहरूले महाधिवेशनस्थलको अवलोकन गर्नुका साथै त्यहाँ उपस्थित नेता–कार्यकर्तासँग छलफल र कुराकानी गरेका थिए । विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते गर्ने तयारी भइरहेको पक्षधर समूहको भनाइ छ । यसअघि पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने भनिए पनि त्यसलाई आउँदो वैशाखका लागि सारिएको छ । विशेष महाधिवेशन पक्षधरहरूका अनुसार कांग्रेस विधानअनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गत असोज २८ गते हस्ताक्षर बुझाइसकेकाले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

तर, संस्थापन समूह भने विशेष महाधिवेशनको एजेण्डालाई शंकाको दृष्टिले हेर्दै आएको छ । शुक्रबार बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा बसेको संस्थापन पक्षीय नेताहरूको भेलाले विशेष महाधिवेशनका नाममा पार्टी विभाजनको खतरा रहेको निष्कर्ष निकालेको छ । भेलामा केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराललगायतको सहभागिता थियो ।

छलफलपछि बोल्दै केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै जोखिममा पर्ने दाबी गरे । उनका अनुसार वर्तमान राष्ट्रिय र भूराजनीतिक परिस्थितिमा कांग्रेसलाई विभाजन र कमजोर बनाउने विभिन्न शक्ति सक्रिय छन् । ‘इतिहासको पेचिलो मोडमा हामी उभिएका छौं । पार्टी विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ’, उनले भने ।

संस्थापन समूहले विशेष महाधिवेशन पक्षधरहरूलाई समेत पार्टी एकता कायम राख्न आग्रह गर्ने निर्णय गरेको छ । पुस २७ गते नै विशेष महाधिवेशन आह्वान गरिएको दिन संस्थापन पक्षले जिल्ला सभापति तथा युवाहरूको भेला डाकेको छ । तर, बरालले उक्त भेला मुठभेडका लागि नभई ‘मध्यविन्दु’ खोजेर पार्टीलाई एकतामा ल्याउने उद्देश्यले बोलाइएको दाबी गरे । ‘२०५९ सालको जस्तो पार्टी विभाजन हुन दिँदैनौं’, उनले स्पष्ट पारे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह विशेष महाधिवेशनलाई वैधानिक र आवश्यक कदम ठानिरहेको छ भने संस्थापन पक्ष त्यसलाई पार्टी फुटतर्फ लैजाने चालका रूपमा व्याख्या गरिरहेको छ । यसरी एउटै पार्टीभित्र फरक–फरक भेलाहरू र समान मितिमा कार्यक्रम घोषणा हुँदा कांग्रेसको आन्तरिक राजनीति निर्णायक मोडतर्फ अग्रसर भएको संकेत देखिएको छ ।

 

 

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको रौनक बढ्दै, तयारी अन्तिम चरणमा {तस्वीरहरु}

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । पुस २७ र २८ मा आयोजना हुने महाधिवेशनलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डप र त्यस आसपासका क्षेत्र यतिबेला कांग्रेसमय बन्दै गएका छन् ।

शुक्रबार बिहानै करिब ५ बजेदेखि कार्यकर्ताहरू चारतारे झण्डा, ब्यानर र सजावट सामग्रीसहित महाधिवेशन स्थल सिंगार्न जुटेका छन्। भृकुटीमण्डपको मूल परिसरदेखि प्रवेशद्वार र वरपरका सडकसम्म कांग्रेसको झन्डाले विशेष महाधिवेशनको माहोल सिर्जना गरेको छ ।
महाधिवेशन व्यवस्थापनका कामहरू पनि चरणबद्ध रूपमा अघि बढाइँदै छन् । मञ्च निर्माण, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रतिनिधि बसोबास, सुरक्षा र स्वयंसेवक परिचालनलगायत तयारीहरू अन्तिम चरणमा पुगेका छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक महाधिवेशन अवधिभर परिचालन गरिनेछ ।

विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि पनि थप सक्रिय बनेको देखिन्छ । नेतृत्व, कार्यदिशा र आगामी रणनीतिलाई लिएर चासो बढ्दै गएको छ भने भृकुटीमण्डप यतिबेला केवल कार्यक्रम स्थल मात्र नभई कांग्रेसको आन्तरिक राजनीतिक बहसको केन्द्रका रूपमा उभिएको छ । नेतृत्व पक्षले महाधिवेशनलाई अनुशासित, व्यवस्थित र अर्थपूर्ण बनाउने तयारी भइरहेको दाबी गरेको छ । तयारीको तीव्रतासँगै कांग्रेस विशेष महाधिवेशनले कस्तो सन्देश दिनेछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

संस्थापन पक्षधर कांग्रेस नेता भन्छन्–कांग्रेस फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले कांग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । नेपाली कांग्रेसका नेता शिव हुमागाईंले आम निर्वाचनको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताए । उनले नेपाली कांग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्न आफूहरु लागिपरेको र शनिवारसम्म निकास निस्किने दाबी गरे ।

उनले प्रक्रियागत रुपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ कांग्रेस अघि बढ्ने बताए । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाप्रति आफूहरुको कुनै भनाइ नरहेको तर महामन्त्री पदलाई सबैलाई विश्वासका साथ अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुंगिने गरेको भन्दै निर्वाचनको मुखमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेको बताए ।

उनले भने, ‘निर्वाचनको सेड्युल अघि बढिसकेको छ । आम निर्वाचनको समय आइसकेको छ । यस्तो बेलामा नेपाली कांग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्ने भनेर हामी उपलब्ध मन मिल्नेले पार्टीलाई विभाजनको संघारमा पु¥याउनु हुँदैन। एकतावद्ध बनाउनु पर्छ भनेर लागेका छौँ । सबैलाई एक ढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दैछौँ ।’

उनले भने, ‘निर्वाचनको मुखमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि लैजाने काममा हामी लाग्छौँ । निर्वाचनको सेड्युल अघि आइसक्यो, यो बीचमा महाधिवेशन, विशेष महाधिवेशन हुने र फाइदा पुर्‍याउने अवस्था छैन । नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुंगिन्छ । नेपाली काँग्रेस पार्टी अहिलेको क्षणमा कुनै पनि हालतमा फुटको संघारमा जाँदैन । एकतावद्ध भएर चुनाव फेस गर्दछ ।’ अर्को नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गरेकाले सोहीअनुसार निर्णय गरिएको बताए । उनले निर्वाचन अगाडि महाधिवेशन गर्नसक्ने अवस्था नरहेको बताए । दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताए । नेपाली कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकतावद्ध भएर जाने बताए ।

उनले भने, ‘हामी नेपाली कांग्रेसको पक्षमा छौँ । विशेष र नियमित महाधिवेशनको पक्षमा बहस चलिरहेको छ । विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गर्नुभएको छ । नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको माग गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यसम्पादनका बैठकमा धेरै कुरा भएका छन् । चुनाव अघि महाधिवेशन सम्भव नरहेकाले चुनाव पछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरुको छ ।’ नेताहरुले नेपाली कांग्रेसको विधानमा एक वर्ष समय थप गर्न पाइने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे । छिटो महाधिवेशन गर्न क्रियाशिल सदस्यताको काम सम्पन्न गरेको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको बताए ।

कांग्रेसभित्र संकट गहिरिँदै : संस्थापन पक्षको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको तीव्र आन्तरिक ध्रुवीकरण थप सतहमा आएको छ । पार्टी नेतृत्वले आजका लागि तय गरेको विशेष पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ भने उता २५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई संवाद, सहमति र एकतामार्फत पार्टीलाई जनताको भरोसायोग्य शक्ति बनाउन आग्रह गरेका छन् ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका थिए । तर निर्धारित समयभन्दा केहीअघि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा ‘विशेष कारणवश’ सम्मेलन स्थगित गरिएको जानकारी दिइयो । यस अचानक निर्णयले कांग्रेसभित्र चलिरहेको शक्ति संघर्ष र सहमतिको प्रयासबारे विभिन्न अड्कलहरू सुरु भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’ आह्वान गरेपछि कांग्रेस राजनीतिमा नयाँ तरङ्ग पैदा भएको हो । संस्थापन पक्षले यस कदमलाई पार्टी विधानविपरीत भएको ठहर गर्दै कार्यसम्पादन समितिबाटै महाधिवेशन प्रतिनिधिहरूलाई उक्त भेलामा सहभागी नहुन निर्देशन दिइसकेको छ ।

आजको पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशनको औचित्य नरहेको र नियमित महाधिवेशनबाटै पार्टी सुधार सम्भव रहेको सन्देश दिन नेतृत्वको तयारी थियो । स्रोतका अनुसार, नेतृत्व एकढिक्का रहेको सन्देश दिन डा. शेखर कोइरालासहितका शीर्ष नेताहरूलाई समेत एउटै मञ्चमा उभ्याउने योजना थियो । तर अन्तिम समयमा आएर सम्मेलन स्थगित हुनुले पार्टीभित्र सहमति खोज्ने प्रयास अझै जारी रहेको वा रणनीतिमा पुनर्विचार भएको संकेत गरेको छ । यसैबीच बिहीबार डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरी विशेष महाधिवेशनमा हतार गर्दा पार्टी एकतामा नकारात्मक असर पर्न सक्ने भन्दै विवाद मिलाउन आग्रह गरेका थिए ।

यही राजनीतिक उथलपुथलबीच कांग्रेसका २५ केन्द्रीय सदस्यले संयुक्त अपिल जारी गर्दै नेतृत्वलाई संवाद र सहमतिमार्फत पार्टीलाई थप सुदृढ बनाउन आग्रह गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूले कांग्रेसलाई जनताको विश्वसनीय र भरोसायोग्य पार्टीका रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् । अपिलमा भनिएको छ, ‘२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात् गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानु आजको आवश्यकता हो । विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले लिखित निवेदन दर्ता गरिसकेको अवस्थालाई सम्मान गर्दै संवाद र सहमतिमार्फत वृहत् एकता कायम गरिनु पर्छ ।’

राजेन्द्र केसी, पुष्पा भुसाल, उदयशम्शेर राणा, गणेश लामा, डिला संग्रौला, अर्जुनप्रसाद जोशी, कर्णबहादुर बुढा, भरतकुमार शाहलगायतका केन्द्रीय सदस्यहरू उक्त अपिलमा हस्ताक्षर गर्दै पार्टीलाई परिणाममुखी र बलियो बनाउने पक्षमा उभिएका छन् ।
एकातर्फ विशेष महाधिवेशनलाई लिएर संस्थापन र महामन्त्रीहरूबीच टकराव बढिरहेको छ भने अर्कोतर्फ पार्टीभित्रैबाट एकता र संवादको आवाज पनि सशक्त बन्दै गएको छ । पत्रकार सम्मेलन स्थगित हुनु र केन्द्रीय सदस्यहरूको अपिल सार्वजनिक हुनुले कांग्रेस नेतृत्वमाथि अब आन्तरिक मतभेद समाधान गर्दै स्पष्ट दिशा तय गर्ने दबाब झन् बढाएको छ । आगामी दिनमा कांग्रेस कुन बाटो रोज्छ भन्ने चासो राजनीतिक वृत्तमा तीव्र बनेको छ ।

कांग्रेस सुदूरपश्चिमका ६ सभापतिले भने–विशेष महाधिवेशन विधान विपरित, सहभागी नहुनू

काठमाडौं । नेपाली कांग्रेसभित्र प्रस्तावित ‘विशेष महाधिवेशन’ लाई लिएर विवाद थप गहिरिँदै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना गर्न लागिएको विशेष महाधिवेशनविरुद्ध सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका सभापतिहरूले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन् । उनीहरूले उक्त महाधिवेशन पार्टी विधानविपरीत रहेको ठहर गर्दै पार्टीका नेता–कार्यकर्ता र प्रतिनिधिहरूलाई सहभागी नहुन सार्वजनिक अपिल गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा पुस २७ र २८ गते आयोजना गर्ने तयारी गरिएको विशेष महाधिवेशन अन्तिम चरणमा पुगेको भनिए पनि सुदूरपश्चिमका प्रभावशाली जिल्ला नेतृत्वले यसलाई ‘अवैधानिक र एकलौटी निर्णय’ को संज्ञा दिएका छन् । कैलाली, कञ्चनपुर, अछाम, डडेलधुरा, डोटी र बझाङका जिल्ला सभापतिहरूले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टी विधानको स्पष्ट उल्लंघन गरेर महाधिवेशन बोलाउन खोजिएको आरोप लगाइएको छ ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने सभापतिहरूमा कैलालीका नारायणदत्त भट्ट, कञ्चनपुरका पदम बोगटी, अछामका पुष्पबहादुर शाह, डडेलधुराका भीम साउद, डोटीका नरेन्द्रबहादुर सिंह र बझाङका खडकबहादुर बोहरा रहेका छन् । उनीहरूले नियमित महाधिवेशनको निर्धारित प्रक्रिया छोडेर ‘विशेष’ नाममा गरिने कुनै पनि भेला वैधानिक हुन नसक्ने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा पार्टी विधानको व्यवस्था उद्धृत गर्दै केन्द्रीय कार्यसमितिको औपचारिक निर्णय विना कुनै पनि पदाधिकारी वा व्यक्तिले अधिवेशन वा विशेष अधिवेशन आह्वान गर्न नपाउने उल्लेख गरिएको छ । ‘पदाधिकारी वा सदस्यले व्यक्तिगत हैसियतमा बोलाएको अधिवेशनका नाममा गरिने सबै गतिविधि विधानविपरीत हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता अवैधानिक क्रियाकलापमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिलाई हार्दिक अपिल गर्दछौं ।’

जिल्ला सभापतिहरूले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूको भनाइमा आन्तरिक शक्ति संघर्ष र विशेष महाधिवेशनको रस्साकस्सीले कांग्रेसलाई कमजोर बनाउने खतरा छ । त्यसैले नेतृत्वले आन्तरिक विवाद थाती राखेर आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

विज्ञप्तिमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनु पर्नेमा जोड दिइएको छ । ‘चुनावी चुनौतीका बेला आपसी विभाजनले पार्टीलाई क्षति पु¥याउँछ’, उनीहरूको भनाइ छ ।
यद्यपि, महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको व्यापक माग र हस्ताक्षरका आधारमा बोलाइएको दाबी गर्दै आएका छन् ।

उनीहरूका अनुसार पार्टीलाई पुनर्संरचना र सुधारको दिशामा लैजान विशेष महाधिवेशन आवश्यक भएको हो र यो विधानको मर्मअनुसार नै अघि बढाइएको छ ।सुदूरपश्चिमका जिल्ला सभापतिहरूको सामूहिक असहमतिको सार्वजनिक घोषणाले भने नेपाली कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरणलाई अझ स्पष्ट रूपमा सतहमा ल्याएको छ । विशेष महाधिवेशन हुने–नहुने मात्र होइन, पार्टी नेतृत्वको वैधानिकता र निर्णय प्रक्रियालाई लिएर समेत कांग्रेसभित्र बहस चर्किने संकेत देखिएको छ ।

आज कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला, ‘काउण्टर’ रणनीति बनाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति–संघर्ष झन तीव्र बन्दै गएको छ । विशेष महाधिवेशनलाई लिएर संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा समूह आमनेसामने भएका छन् । यही तनावका बीच कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाएको छ भने पार्टी केन्द्रले विशेष महाधिवेशन भनिएको भेलामा सहभागी नहुन प्रतिनिधिहरूलाई औपचारिक अपिल गरेको छ ।

संस्थापन पक्षले आज बिहान १० बजे बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा केन्द्रीय सदस्य भेला बोलाएको हो । भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ । तर, संस्थापन पक्षमै रहेका शीर्ष नेताहरूलाई भने भेलामा नबोलाइने निर्णय गरिएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि भेला बोलाउने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार भेलामा संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यको समूहलाई पनि सहभागी गराइँदै छ । विशेष महाधिवेशनलाई कसरी ‘काउन्टर’ दिने भन्ने विषय भेलाको मुख्य एजेण्डा रहने बताइएको छ । संयोगवश, यही पुस २७ र २८ गते महामन्त्री थापा र शर्माको पक्षले विशेष महाधिवेशन आह्वान गरेका छन् भने सोही दिन संस्थापन पक्षले जिल्ला सभापतिहरूको भेला पनि बोलाएको छ ।

यता, पार्टी केन्द्रले भने विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसमा सहभागी नहुन निर्देशनात्मक अपिल गरेको छ । बिहीबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र पार्टीका सबै तहका पदाधिकारी उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विधानअनुसार पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको बताए । नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन न वैधानिक रहेको र न आवश्यक भएको उनको भनाइ थियो । बैठकले उक्त भेला तत्काल रोक्न सम्बन्धित पक्षलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।

तर, महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन् । कार्यसम्पादन समिति बैठकपछि उनले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई भदौ २३–२४ पछिको परिस्थितिलाई सम्बोधन गर्न आवश्यक भएको दाबी गरे । ‘भदौ २३ अघि र भदौ २५ पछिको अवस्था एउटै हो कि होइन भन्ने प्रश्नको जवाफ खोज्न विशेष महाधिवेशन चाहिएको हो’, थापाले भने ।

थापाले केन्द्रले नबोलाएको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार विधानले दिएको जिकिर गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको ‘विशेष महाधिवेशन आवश्यक छैन’ भन्ने प्रस्तावलाई उनले विधानको अपव्याख्या र खिलाप ठहर गरे । यसैबीच, महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पनि पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो दिएका छन् ।

कार्यवाहक सभापतिमार्फत देउवालाई सन्देश पठाएको बताउँदै थापाले विशेष महाधिवेशनलाई अन्ततः केन्द्रीय कार्यसमितिले नै स्वामित्व लिने विश्वास व्यक्त गरे ।विशेष महाधिवेशनको मिति नजिकिँदै जाँदा दुवै पक्षका नेताहरू आन्तरिक छलफल र रणनीतिमा व्यस्त छन् । सहमतिको प्रयास स्वरूप छोटो सूचनामा बोलाइएको बैठक पनि निष्कर्षविहीन बनेको छ । यसले नेपाली कांग्रेसभित्रको आन्तरिक तनाव अझ गहिरिँदै गएको संकेत गरेको छ ।