`

आज कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला, ‘काउण्टर’ रणनीति बनाउने

Nepal One HD २५ पुष २०८२ ७:५७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति–संघर्ष झन तीव्र बन्दै गएको छ । विशेष महाधिवेशनलाई लिएर संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा समूह आमनेसामने भएका छन् । यही तनावका बीच कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाएको छ भने पार्टी केन्द्रले विशेष महाधिवेशन भनिएको भेलामा सहभागी नहुन प्रतिनिधिहरूलाई औपचारिक अपिल गरेको छ ।

संस्थापन पक्षले आज बिहान १० बजे बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा केन्द्रीय सदस्य भेला बोलाएको हो । भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ । तर, संस्थापन पक्षमै रहेका शीर्ष नेताहरूलाई भने भेलामा नबोलाइने निर्णय गरिएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि भेला बोलाउने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार भेलामा संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यको समूहलाई पनि सहभागी गराइँदै छ । विशेष महाधिवेशनलाई कसरी ‘काउन्टर’ दिने भन्ने विषय भेलाको मुख्य एजेण्डा रहने बताइएको छ । संयोगवश, यही पुस २७ र २८ गते महामन्त्री थापा र शर्माको पक्षले विशेष महाधिवेशन आह्वान गरेका छन् भने सोही दिन संस्थापन पक्षले जिल्ला सभापतिहरूको भेला पनि बोलाएको छ ।

यता, पार्टी केन्द्रले भने विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसमा सहभागी नहुन निर्देशनात्मक अपिल गरेको छ । बिहीबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र पार्टीका सबै तहका पदाधिकारी उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विधानअनुसार पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको बताए । नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन न वैधानिक रहेको र न आवश्यक भएको उनको भनाइ थियो । बैठकले उक्त भेला तत्काल रोक्न सम्बन्धित पक्षलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।

तर, महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन् । कार्यसम्पादन समिति बैठकपछि उनले विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई भदौ २३–२४ पछिको परिस्थितिलाई सम्बोधन गर्न आवश्यक भएको दाबी गरे । ‘भदौ २३ अघि र भदौ २५ पछिको अवस्था एउटै हो कि होइन भन्ने प्रश्नको जवाफ खोज्न विशेष महाधिवेशन चाहिएको हो’, थापाले भने ।

थापाले केन्द्रले नबोलाएको अवस्थामा पनि महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार विधानले दिएको जिकिर गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको ‘विशेष महाधिवेशन आवश्यक छैन’ भन्ने प्रस्तावलाई उनले विधानको अपव्याख्या र खिलाप ठहर गरे । यसैबीच, महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पनि पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो दिएका छन् ।

कार्यवाहक सभापतिमार्फत देउवालाई सन्देश पठाएको बताउँदै थापाले विशेष महाधिवेशनलाई अन्ततः केन्द्रीय कार्यसमितिले नै स्वामित्व लिने विश्वास व्यक्त गरे ।विशेष महाधिवेशनको मिति नजिकिँदै जाँदा दुवै पक्षका नेताहरू आन्तरिक छलफल र रणनीतिमा व्यस्त छन् । सहमतिको प्रयास स्वरूप छोटो सूचनामा बोलाइएको बैठक पनि निष्कर्षविहीन बनेको छ । यसले नेपाली कांग्रेसभित्रको आन्तरिक तनाव अझ गहिरिँदै गएको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *