`

आफू विष पिएर भए पनि पार्टी विभाजन हुन दिन्नँ : डा. शेखर कोइराला

Nepal One HD २८ पुष २०८२ १३:१२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने बताएका छन् । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताए । उनले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गरे । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उनको प्रतिवद्धता छ ।

उनले भने, ‘पार्टी जोगाउन कोशिस गर्दैछु । पार्टी जोगिन्छ । त्यो चिन्ता नगर्नुस् । मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन र म फुट्न दिन्नँ । समन्वय गरिकन मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु ।’ आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफलमा आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताएका हुन् ।

पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए । उनले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहरेको छु। तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस् । निराश हुने कामै छैन ।’ उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।

उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए । छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू–शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसकेका छन् । सोमवारबाट बन्द सत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *