`

भृकुटीमण्डप कांग्रेसमय, विशेष महाधिवेशनले ट्राफिक जाम (तस्वीरहरु)

Nepal One HD २७ पुष २०८२ १४:२९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप कांग्रेस नेता तथा कार्यकर्ताले भरिएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला-काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका र्‍यालीका कारण भृकुटीमण्डप र आसपासका क्षेत्र कांग्रेसमय बनेका छन् ।

क्षेत्रीय समितिहरूको अगुवाइमा आएका नेता–कार्यकर्ताहरूको  र्‍याली क्रमशः भृकुटीमण्डप प्रवेश गरिरहेकाले महाधिवेशनस्थलमा भीड बढ्दै गएको छ । र्‍याली आउने क्रम जारी रहेकाले विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम केही ढिला भएको छ । केहीबेरमा उद्घाटन समारोह सुरु गर्ने तयारी रहेको आयोजकले जनाएका छन् । विशेष महाधिवेशनमा सहभागी हुन ठूलो संख्यामा नेता तथा कार्यकर्ता राजधानी भित्रिएपछि काठमाडौँको यातायात व्यवस्था प्रभावित भएको छ । भृकुटीमण्डप, खुल्लामञ्च आसपास, पुतलिसडक, सिंहदरबार, माईतिघर, थापाथली चोक र त्रिपुरेश्वर क्षेत्रमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ती क्षेत्रहरूमा सवारी आवागमन कठिन भएको जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने आवश्यक नपरेसम्म ती क्षेत्रतर्फ यात्रा नगर्न सुझाव दिएको छ । विशेष महाधिवेशन आजै भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक दिशानिर्देश र भावी रणनीतिका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ । राजधानीमा बढेको भीड र सवारी चापलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी तथा ट्राफिक प्रहरी परिचालित गरिएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *