`

गगन–विश्वले गरे बैठक बहिष्कार, विशेष महाधिवेशनका आजका कार्यक्रम स्थगित

Nepal One HD २६ पुष २०८२ १२:१४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किदै जाँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएनन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको भए पनि महामन्त्रीद्वयको अनुपस्थितिले राजनीतिक तरंग पैदा गरेको छ ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा उभिँदै २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । यही विषयलाई लिएर पार्टी नेतृत्व र महामन्त्रीहरूबीच मतभेद सतहमा आएको देखिन्छ । बैठक बहिष्कारलाई पार्टीभित्रको असहमतिको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।

यसैबीच, विशेष महाधिवेशन पक्षधरले आजका लागि तय गरेका सबै कार्यक्रम स्थगित गरेका छन् । कांग्रेस नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रासहित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तयारी थियो ।

विशेष महाधिवेशन पक्षधरले पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको समयमा कुनै कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । जारी विज्ञप्तिमा पुस २६ गतेका सबै कार्यक्रम स्थगित गरिएको र पुस २७ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह श्रद्धा र सम्मानका साथ सुरु गरिने उल्लेख छ ।

८४ वर्षीय होमनाथ दाहालको शुक्रबार साँझ उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्वमन्त्री रहिसकेका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष समेत हुन् । विसं २०५६ मा सांसद निर्वाचित उनी पछि कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ । एकातिर कांग्रेसभित्र नेतृत्व र महामन्त्रीबीचको टकराव, अर्कोतिर शोकका कारण स्थगित कार्यक्रम–यी घटनाक्रमले कांग्रेसको आन्तरिक राजनीति थप संवेदनशील मोडमा पुगेको संकेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *