`

विशेष महाधिवेशनस्थल पुगे विश्वप्रकाश, चन्द्र र सुनिल

Nepal One HD २५ पुष २०८२ १४:१८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक राजनीतिक तानातान तीव्र बनेको छ । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशनस्थलमै पुगेर तयारीको सन्देश दिएका छन् भने अर्कोतिर संस्थापन पक्षले यसलाई पार्टी विभाजनतर्फ लैजाने प्रयासको संज्ञा दिँदै रोक्न सक्रिय भएको देखिएको छ ।

शुक्रबार कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तथा नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशनको तयारी भइरहेको भृकुटीमण्डप पुगेका छन् । उनीहरूले महाधिवेशनस्थलको अवलोकन गर्नुका साथै त्यहाँ उपस्थित नेता–कार्यकर्तासँग छलफल र कुराकानी गरेका थिए । विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते गर्ने तयारी भइरहेको पक्षधर समूहको भनाइ छ । यसअघि पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने भनिए पनि त्यसलाई आउँदो वैशाखका लागि सारिएको छ । विशेष महाधिवेशन पक्षधरहरूका अनुसार कांग्रेस विधानअनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गत असोज २८ गते हस्ताक्षर बुझाइसकेकाले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

तर, संस्थापन समूह भने विशेष महाधिवेशनको एजेण्डालाई शंकाको दृष्टिले हेर्दै आएको छ । शुक्रबार बानेश्वरस्थित आनन्दभूमि बिजनेस सेन्टरमा बसेको संस्थापन पक्षीय नेताहरूको भेलाले विशेष महाधिवेशनका नाममा पार्टी विभाजनको खतरा रहेको निष्कर्ष निकालेको छ । भेलामा केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराललगायतको सहभागिता थियो ।

छलफलपछि बोल्दै केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै जोखिममा पर्ने दाबी गरे । उनका अनुसार वर्तमान राष्ट्रिय र भूराजनीतिक परिस्थितिमा कांग्रेसलाई विभाजन र कमजोर बनाउने विभिन्न शक्ति सक्रिय छन् । ‘इतिहासको पेचिलो मोडमा हामी उभिएका छौं । पार्टी विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ’, उनले भने ।

संस्थापन समूहले विशेष महाधिवेशन पक्षधरहरूलाई समेत पार्टी एकता कायम राख्न आग्रह गर्ने निर्णय गरेको छ । पुस २७ गते नै विशेष महाधिवेशन आह्वान गरिएको दिन संस्थापन पक्षले जिल्ला सभापति तथा युवाहरूको भेला डाकेको छ । तर, बरालले उक्त भेला मुठभेडका लागि नभई ‘मध्यविन्दु’ खोजेर पार्टीलाई एकतामा ल्याउने उद्देश्यले बोलाइएको दाबी गरे । ‘२०५९ सालको जस्तो पार्टी विभाजन हुन दिँदैनौं’, उनले स्पष्ट पारे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह विशेष महाधिवेशनलाई वैधानिक र आवश्यक कदम ठानिरहेको छ भने संस्थापन पक्ष त्यसलाई पार्टी फुटतर्फ लैजाने चालका रूपमा व्याख्या गरिरहेको छ । यसरी एउटै पार्टीभित्र फरक–फरक भेलाहरू र समान मितिमा कार्यक्रम घोषणा हुँदा कांग्रेसको आन्तरिक राजनीति निर्णायक मोडतर्फ अग्रसर भएको संकेत देखिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *