गोपालमानसहित संस्थापन पक्षका नेताहरु समेत भृकुटीमण्डपमा
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । दिउँसो २ बजे शुरू भएको उद्घाटन सत्रमा पार्टीका विभिन्न धारका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष आकर्षणका रूपमा सहभागी भएका छन् । उनलाई महामन्त्री गगन थापाले मञ्चमा स्वागत गरेका थिए । चुनावअघि महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि सामूहिक रूपमा भृकुटीमण्डप पुगेका छन्, जसले महाधिवेशनको राजनीतिक महत्त्वलाई थप बल दिएको छ ।
उद्घाटन समारोहमा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरू महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत नेताहरू सहभागी छन् । पार्टीभित्र पछिल्लो समय मध्यमार्गी भूमिका खेलेका २५ केन्द्रीय सदस्यमध्ये २० जना विशेष महाधिवेशनमा सहभागी हुने जनाइएको छ, जसले आन्तरिक सन्तुलन र संवादको प्रयासलाई संकेत गरेको छ । संस्थापन पक्षबाट केन्द्रीय सदस्यहरू तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी र राजन केसीलगायत नेताहरू कार्यक्रमस्थलमा पुगेका छन् । उनीहरूको उपस्थितिलाई पार्टी एकताको सन्देशका रूपमा हेरिएको छ ।
यस्तै, डा. शेखर कोइराला पक्षका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको उपस्थिति पनि महाधिवेशनमा देखिएको छ । विभिन्न गुट र धारका नेताहरू एउटै मञ्चमा देखिनुले विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक संवाद, भावी राजनीतिक दिशा र संगठनात्मक पुनर्संरचनाका लागि निर्णायक मानिएको छ । नेपाली कांग्रेसले यो विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका मतभेद, आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।
