कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, उदघाटनमा आउलान् देउवा ?
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद देखिए पनि महाधिवेशन पक्षधर नेताहरूले यसलाई पार्टीको साझा मञ्चका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । यही पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने अपेक्षा उनीहरूले सार्वजनिक रूपमा दोहोर्याएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलपछि आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीभित्र तरंग ल्याएको छ । यसै सन्दर्भमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवालाई औपचारिक पत्र पठाइने र उनकै उपस्थितिमा उदघाटन हुने विश्वास व्यक्त गरे । ‘महामन्त्रीहरूले पत्र दिइसक्नु भएको छ, उहाँ स्वयं आएर उदघाटन गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ’, केसीले भने । महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् ।
शुक्रबार भृकुटीमण्डपमा महाधिवेशनस्थलको अवलोकन गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रक्रिया सुरु भइसकेपछि आवश्यक कार्यविधि निर्माण गरिने र त्यसकै आधारमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने बताए । उनले पार्टीभित्र कसैप्रति पनि अनादर वा नकारात्मक टिप्पणी नगर्ने उल्लेख गर्दै सभापति तथा कार्यवाहक सभापतिलाई समेत सहभागिताका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिए । ‘यो महाधिवेशन विस्तारै सबैको साझा मञ्च बन्छ भन्ने हाम्रो अपेक्षा छ’, शर्माले भने । महाधिवेशनको तयारीसँगै काठमाडौँ उपत्यकाका विभिन्न सडक कांग्रेसका झण्डाले सिँगारिएका छन् । आयोजक समितिका अनुसार भृकुटीमण्डपमा मञ्च निर्माण, हल सजावट तथा प्राविधिक कामहरू तीव्र रूपमा अघि बढिरहेका छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।
देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरू काठमाडौँ आउने क्रम पनि सुरु भइसकेको आयोजकको भनाइ छ । जनपरिचालन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सहभागिता रहने दाबी गरेका छन् । यसैबीच, व्यवस्थापन समितिले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई सहभागी नगराउने निर्णय गरेको छ । समितिका संयोजक मनोजमणि आचार्यका अनुसार यो कांग्रेसको नितान्त आन्तरिक विषय भएकाले एजेण्डा केन्द्रित महाधिवेशनमा अन्य दललाई ‘नो इन्ट्री’ गरिएको हो ।
उनले पार्टी नेतृत्वले महाधिवेशनलाई औपचारिक रूपमा अपनत्व लिने आशा गरिएको र यदि त्यसो नभए पनि आयोजक स्वयंले सभापतिलाई प्रमुख अतिथिका रूपमा निम्तो दिने बताए । उद्घाटन सत्र पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा हुनेछ । त्यसअघि कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभामा परिणत गर्ने तयारी गरिएको छ । संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।
