`

भण्डारी र शर्माले भने–विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पास गरौं

Nepal One HD २६ पुष २०८२ १२:५२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले पार्टी एकता जोगाउँदै विशेष महाधिवेशन नीतिगत र संकल्प प्रस्ताव आधारित बनाइने दिशामा काम गरिरहेको बताएका छन् । उनीहरूले पार्टी विभाजन नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई सहकार्यको सन्देश दिएका छन् ।

शनिबार बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई ‘नीतिगत सम्मेलन’ का रूपमा अघि बढाउन आग्रह गर्दै भने, ‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आएका छन् । यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔं । चार महिनापछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई उत्साहित बनाइ पठाऔं ।’

उनले कुनै हालतमा पार्टी विभाजन हुन नदिने पनि स्पष्ट पारे । भण्डारीले भने, ‘संस्थापन पक्ष; सभापति÷कार्यवाहक सभापतिज्यूले पनि यसलाई आफ्नो भनेर ग्रहण गर्नु पर्नेछ र आयोजकहरूले यसलाई सम्पूर्ण पार्टीको सम्मेलन भन्ने गराउनु पर्छ ।’ नेता सुनिल शर्माले पनि पार्टी विभाजन रोक्न आफूहरू सक्रिय रहेको बताए । उनले जानकारी दिए, ‘हामी दिनरात खटिरहेका छौँ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेट गरेर पार्टीपंक्तिलाई उत्साहित गर्ने उपाय निकाल्ने काम भइरहेको छ ।’

भण्डारीले विधानको बेवास्ता गर्दा संस्थापन पक्षले कमजोरी देखाएको उल्लेख गर्दै भने, ‘संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्ता गरेकै कारण कांग्रेस अहिले संकटको डिलमा पुगेको छ । कांग्रेसभित्र संकट आउँदा मूल नेतृत्वमा असर पर्छ । त्यसैले हामीले यो रोक्न आग्रह गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा उनले थपे, ‘विशेष महाधिवेशन पक्षधरलाई पाखा राखेर अर्को ढङ्गले नजाने, मध्यमार्गी विकल्पमा दुवै पक्ष आउनु पर्छ । यसरी मात्र पार्टी एकता कायम रहन्छ ।’ यसरी, चन्द्र भण्डारी र सुनिल शर्माले विशेष महाधिवेशनलाई नीतिगत रूपमै अगाडि बढाएर पार्टी एकतालाई मजबुत बनाउने योजना अघि सारेका छन् । उनीहरू दुवै पक्षलाई सहकार्यमा ल्याएर नियमित महाधिवेशनतर्फ उन्मुख हुने दिशामा जुटिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *