`

कांग्रेसमा चर्कियो ‘शक्ति संघर्ष’ : विशेष महाधिवेशनको तयारी तीव्र, १५ सय कोठा ‘बुक’

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै पार्टीभित्र राजनीतिक सरगर्मी तीव्र बनेको छ । विशेष महाधिवेशन आह्वान गर्ने पक्ष र त्यसप्रति असहमत संस्थापन समूह दुवै आ–आफ्नो रणनीतिसहित सक्रिय देखिएका छन् ।

विशेष महाधिवेशनको केन्द्रीय तयारी अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिक स्थापना गरिएको सचिवालयमार्फत अघि बढाइएको छ । सचिवालयको समन्वयमा स्वयंसेवक परिचालन, मञ्च निर्माण, सुरक्षा, आवास तथा भोजन व्यवस्थापन जस्ता कामहरू चरणबद्ध रूपमा अगाडि बढाइएका छन् । आयोजक समितिका अनुसार भृकुटीमण्डपमा मञ्च निर्माणको काम सुरु भइसकेको छ । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिएका छन् । महाधिवेशनको व्यवस्थापन सहज बनाउन विभिन्न उपसमितिहरूलाई जिम्मेवारी बाँडिएको र ती समितिमा रहेका नेताहरू आ–आफ्नो भूमिकामा सक्रिय रहेको सचिवालयले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १,५०० होटल कोठा बुक गरिएको छ । आवास तथा भोजन समितिका संयोजक रमेश धमलाका अनुसार एयरपोर्ट, सुन्धारा, ठमेल र नक्साल क्षेत्रका होटलहरूमा कोठा सुनिश्चित गरिएको छ । ‘हरेक निर्वाचन क्षेत्रका प्रतिनिधिहरूलाई फोकल पर्सन तोकेर बसोबासको व्यवस्था मिलाइएको छ,’ उनले सुनाए । यो विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो । यद्यपि, पार्टीको संस्थापन समूहले यसलाई अस्वीकार गर्दै काउन्टर रणनीतिका रूपमा युवा भेला र केन्द्रीय सदस्यहरूको छुट्टै भेला आयोजना गर्ने घोषणा गरेको छ । यसले कांग्रेसभित्रको शक्ति संघर्ष सतहमा आएको संकेत गरेको छ ।

केन्द्रीय गतिविधिसँगै जिल्लास्तरमा पनि विशेष महाधिवेशनको पक्षमा माहोल बन्दै गएको छ । काभ्रे जिल्लामा जिल्ला कार्यसमितिदेखि क्षेत्रीय र प्रदेश सभा समितिसम्मका नेतृत्वले विशेष महाधिवेशनमा सक्रिय सहभागिताको आह्वान गरेका छन् । जिल्ला सभापति तीर्थ लामासहित दुवै क्षेत्रका क्षेत्रीय सभापति र प्रदेश सभा समितिका सभापतिहरूले संयुक्त रूपमा महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थिति जनाउन आग्रह गरेका हुन् । जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनलाई सफल बनाउन काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई पुस २७ गते बिहान ११ बजे पुतलीसडकको पद्मोदय मोडमा भेला भई विशेष ¥यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ ।

काभ्रेको क्षेत्र नं १ का सभापति दिनेश लामा र क्षेत्र नं २ का सभापति महेश खरेलसहित प्रदेश सभा क्षेत्रका सभापतिहरूले समेत विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् । यसले विशेष महाधिवेशनको पक्षमा जिल्लास्तरबाट समेत संस्थागत समर्थन बढ्दै गएको देखाउँछ । महाधिवेशनको मिति नजिकिँदै जाँदा भृकुटीमण्डप परिसरमा नेता–कार्यकर्ताको आवतजावत बढ्न थालेको छ भने कांग्रेसभित्रको राजनीतिक तापक्रम थप चर्किदै गएको छ । विशेष महाधिवेशनले पार्टीको आगामी दिशा र आन्तरिक शक्ति सन्तुलनमा के असर पार्ला भन्ने चासो अहिले कांग्रेस वृत्तमा केन्द्रित बनेको छ ।

विशेष महाधिवेशनलाई ‘काउण्टर’ दिन देउवा पक्ष सक्रिय, तीन छुट्टाछुट्टै भेला तय

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको आन्तरिक विवादबीच संस्थापन पक्षले काउन्टर रणनीतिलाई तीव्र बनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेपछि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले केन्द्रीय सदस्य, युवा तथा जिल्ला सभापतिहरूको छुट्टाछुट्टै भेला गर्ने निर्णय गरेको हो ।

सभापति देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले शुक्रबार बिहान साढे १० बजे केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा हुने उक्त भेलामा संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यसहित केन्द्रीय सदस्यहरू मात्रै सहभागी हुनेछन् । शीर्ष नेताहरूलाई भने जानाजानी नबोलाइएको संस्थापन पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार भेलाको मुख्य एजेन्डा विशेष महाधिवेशनलाई कसरी काउन्टर गर्ने भन्ने विषयमै केन्द्रित हुनेछ । ‘भोलि केन्द्रीय सदस्यहरूबीच मात्रै छलफल हुन्छ, विशेष महाधिवेशनको रणनीतिबारे स्पष्ट धारणा बनाइन्छ’, ती नेताले बताए । यस्तै, विशेष महाधिवेशन हुने भनिएको दिनमै संस्थापन पक्षले पार्टी कार्यालयमै शक्ति प्रदर्शनजस्तै कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । हालै सभापति देउवा निवासमा बसेको संस्थापन पक्षका शीर्ष नेताहरूको बैठकले पुस २७ गते तरुण दलको आयोजनामा युवा भेला गर्ने र पुस २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो ।

पुस २७ गते हुने युवा भेलाको संयोजन तरुण दलका अध्यक्ष विद्वान गुरुङले गर्नेछन् भने २८ गतेको जिल्ला सभापति भेलाको समन्वय केन्द्रीय सदस्य जीतजंग बस्नेत र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई जिम्मा दिइएको छ । देउवा निवासमा भएको बैठकमा सभापति देउवासहित बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत नेताहरू सहभागी थिए । बैठकपछि बाहिरिएका एक नेताका अनुसार विशेष महाधिवेशनलाई असंवैधानिक र पार्टी विधानविपरीत ठहर गर्दै त्यसविरुद्ध संगठनात्मक रूपमा सशक्त सन्देश दिने तयारी गरिएको छ ।

‘विभिन्न तहका कार्यक्रममार्फत संस्थापन पक्षको धारणा स्पष्ट पार्ने तयारी भइरहेको छ’, उनले भने । महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी भइरहँदा, त्यसलाई रोक्न वा कमजोर पार्न संस्थापन पक्ष समानान्तर कार्यक्रममार्फत दबाब बढाउने रणनीतिमा देखिएको छ । यसले कांग्रेसको आन्तरिक राजनीतिक द्वन्द्व आगामी दिनमा अझ चर्किने संकेत गरेको छ ।

 

देउवालाई भेटेर शेखरले भने–पार्टी विभाजन रोक्न लचक बन्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजन उन्मुख भएको भन्दै त्यसलाई रोक्न लचक बन्न सुझाव दिएका छन् । आज (बिहीबार) बिहान देउवा निवास धुम्बाराही पुगेर उनले विशेष महाधिवेशन पक्षधरको भावना पनि समेट्नु पर्ने बताएका हुन् । नेता डा. मिनेन्द्र रिजालसँगै देउवा निवास पुगेका कोइरालाले मध्यमार्गी धार अपनाएर दुवै पक्षको विजय हुने बाटो समाउन सुझाव दिएका हुन् ।

कांग्रेस विभाजनको पीडा देशले र पार्टीले पहिले नै भोगेको स्मरण गराउँदै उनले पुनः त्यो पीडा भोग्ने अवस्थामा पार्टीलाई नपु¥याउन सभापति देउवा समक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित पुनः देउवा निवासमा जाने तयारी छ ।

दिउँसो शेखरले उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार तथा नेता मिनेन्द्र रिजाल लिएर देउवा निवास जाने र छलफल गर्ने सचिवालयले जनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन भन्दै २७–२८ पुसमा विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका छन् । अर्कोतर्फ नेतृत्वको निर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ ।

विशेष महाधिवेशन कांग्रेसलाई फुटाउन होइन, उठाउनका लागि : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन कुनै पनि हालतमा पार्टी विभाजनतर्फ नजाने स्पष्ट गर्दै यसलाई मुर्झाएर बसेको कांग्रेसलाई पुनः ऊर्जावान बनाउने अभियानका रूपमा अघि सारिएको बताएका छन् ।
उनले विशेष महाधिवेशन विधानसम्मत, संविधानसम्मत र पार्टीलाई नयाँ दिशा दिने उद्देश्यसहित आयोजना हुन लागेको दोहोर्‍याएर स्पष्ट पारेका छन् । बिहीबार सार्वजनिक गरेको भिडिओ सन्देशमार्फत महामन्त्री शर्माले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन भएरै छाड्ने दृढता व्यक्त गरे। पार्टीभित्र र बाहिरबाट उठिरहेका शंकाहरूको जवाफ पाँच मुख्य प्रश्नमार्फत दिँदै उनले ‘विशेष महाधिवेशन पार्टी फुटाउने होइन, कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ संकल्पसहित अघि बढाउने माध्यम हो’ भने ।

उनले भदौ २२-२३ पछिको राष्ट्रिय राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवन दुवै संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै बदलिएको समयअनुसार नयाँ योजना, दृष्टि र संकल्प आवश्यक भएकाले विशेष महाधिवेशन अपरिहार्य बनेको बताए । ‘आजको कांग्रेसले हिजोको सोच र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन’, शर्माको भनाइ थियो, ‘यसैले विशेष परिस्थिति, विशेष निर्णय र विशेष महाधिवेशन आवश्यक भएको हो ।’

महामन्त्री शर्माले विशेष महाधिवेशनबाट कांग्रेस विभाजन हुन्छ भन्ने प्रचारलाई निराधार भ्रमको संज्ञा दिँदै यदि त्यस्तो अवस्था सिर्जना हुन खोजेमा सबैभन्दा पहिले आफू हलबाट बाहिरिने घोषणा गरे । ‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजन हुँदैन’, उनले स्पष्ट शब्दमा भने, ‘यदि कसैले कांग्रेसलाई फुटाउने दिशामा लैजान खोजे भने म सबैभन्दा पहिले बाहिर निस्कन्छु, त्यसपछि सबै मिलेर त्यसलाई रोक्छौं ।’

विशेष महाधिवेशनको वैधानिकतामाथि उठेका प्रश्नको जवाफ दिँदै शर्माले नेपाली कांग्रेसको विधानको धारा १७ (२) उल्लेख गरे । उनका अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ, र यदि केन्द्रीय समितिले आवश्यक नठाने पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था विधानमै छ । ‘यो कुनै व्यक्ति वा समूहको मनपरी होइन, विधानले दिएको अधिकार र दायित्व हो’, उनले भने ।
विशेष महाधिवेशन मागपत्रमा हस्ताक्षर नगरेका नेता–कार्यकर्ता पनि सहभागी हुन पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासामा महामन्त्री शर्माले स्पष्ट जवाफ दिए । ‘विशेष महाधिवेशन हस्ताक्षर गर्नेको मात्र होइन, नगर्नेको पनि हो’, उनले भने, ‘पार्टीका सबै तहका नेता–कार्यकर्तालाई भृकुटीमण्डपमा उपस्थित भएर आफ्नो विचार राख्ने अवसर हुनेछ ।’

उनले विशेष महाधिवेशनले पार्टीभित्र विमति राख्ने, बहस गर्ने र वैचारिक छलफल गर्ने संस्कृतिलाई थप संस्थागत गर्ने विश्वास पनि व्यक्त गरेका छन् । विशेष महाधिवेशनले आगामी उम्मेदवारी दर्ता र आम निर्वाचनमा असर पार्छ कि भन्ने प्रश्नमा शर्माले उल्टै यसले कांग्रेसलाई थप मजबुत बनाउने दाबी गरे । ‘मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनमा राम्रो परिणाम दिन्छ’, उनले भने, ‘विशेष महाधिवेशन कांग्रेसलाई चुनावी मैदानका लागि थप तयार बनाउनेछ ।’ महामन्त्री शर्माले अन्त्यमा सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर विशेष महाधिवेशन सफल बनाउन आह्वान गर्दै नयाँ संकल्प, नयाँ जागरण र नयाँ ऊर्जा सहित कांग्रेसलाई अगाडि बढाउने समय आएको बताए ।

 

गगनसहित विशेष महाधिवेशन पक्षधर बुद्धिजीवीसँग परामर्शमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीको भविष्य र नेतृत्व पुनर्निर्माणसम्बन्धी रणनीति बनाउन बुद्धिजीवीहरूसँग परामर्श थालेका छन् । पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका महामन्त्री थापासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायतका नेताहरू नक्सालस्थित एक होटलमा छलफलमा सहभागी छन् ।

यो छलफलमा विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय बुद्धिजीवीहरूलाई समेटिएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले बुधबार दिउँसो अनामनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । उनका अनुसार पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनासँग मेल खाने बनाउन, समसामयिक नीति निर्माण र नयाँ ऊर्जा र नेतृत्वका साथ पार्टी पुनर्निर्माण गर्न यो विशेष महाधिवेशन अपरिहार्य छ ।

पार्टी विधानको धारा १७ उपधारा (२) अनुसार २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको नेताहरूले जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई छैन । यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो । यसलाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।’

यसअघि, पार्टीको संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो, तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । विशेष महाधिवेशन पक्षधर नेताहरूको यो कदमले पार्टीभित्रको आन्तरिक संवादलाई थप सशक्त बनाउने र नेतृत्वसँग सम्बन्धित विभिन्न धाराहरूबीच विचार विमर्शलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

 

 

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान, बनाइयो १८ उपसमिति

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवादबीच पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन पक्षधर समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही २०८२ साल पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको हो ।

पक्षधर समूहका अनुसार पार्टीले यसअघि २०८२ पुस २८ भित्र १५ औं नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयभित्र महाधिवेशन हुन नसकेको अवस्था सिर्जना भएको छ । यही कारण विशेष महाधिवेशन अब ‘विकल्प होइन, बाध्यता’ बनेको उनीहरूको दाबी छ । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७ (२) अनुसार आवश्यक प्रक्रिया पूरा गरिएको उल्लेख गरिएको छ । विधान बमोजिम २,४८८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गराइसकिएको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा स्पष्ट शब्दमा भनिएको छ, ‘पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन । यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो ।’ पक्षधरहरूले २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था उल्लंघन गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई विधानको सम्मान गर्न आग्रह गरेका छन् ।

विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पक्षधर समूहले १८ वटा उपसमिति गठन गरी संयोजक समेत तोकेको जानकारी दिएको छ । महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप बुकिङ गरिसकिएको र शान्ति–सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पत्राचार समेत भइसकेको उनीहरूको भनाइ छ । सचिवालयका तर्फबाट आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक तयारी अघि बढिसकेको बताउँदै उनीहरूले पार्टी केन्द्रलाई आयोजनाको स्वामित्व लिन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको धारणा राखेको छ । उनीहरूका अनुसार पार्टी विधानले तोकेको सर्वोच्च निकाय केन्द्रीय महाधिवेशन भएकाले यसले गर्ने निर्णय स्वतः वैध हुनेछन् । तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिँदै आएको छ। यही मतभेदका कारण कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको देखिन्छ । विशेष महाधिवेशन पक्षधरहरूले यो महाधिवेशन पार्टीलाई विभाजनतर्फ होइन, आन्तरिक एकता र विधानको सर्वोच्चता सुदृढ गर्ने कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ,

‘वर्तमान संवेदनशील घडीमा पार्टी विधानको अक्षुण्णता कायम गर्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप बलियो बनाउने साझा जिम्मेवारी हामी सबैको हो ।’ अब विशेष महाधिवेशनको आह्वानले पार्टी नेतृत्वले के निर्णय लिन्छ र कांग्रेसको आन्तरिक शक्ति सन्तुलन कुन दिशातर्फ जान्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ ।

 

 

एमालेसँगको गठबन्धन र राष्ट्रियसभा उम्मेदवार छनोटमा गगन थापाको फरक मत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) सँग गरिएको तालमेल र उम्मेदवार छनोट प्रक्रियाप्रति औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ज गराएका छन् । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले उक्त निर्णयप्रति असहमति जनाउँदै लिखित फरक मत राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट सम्पूर्ण प्रक्रिया पार्टीको संस्थागत संरचना र विधिविपरीत भएको आरोप लगाए । ‘आज जसरी राष्ट्रियसभा उम्मेदवार चयन गरियो, त्यसले केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड दुवैको मानमर्दन भएको छ’, थापाले भने, ‘त्यसैले महामन्त्रीको हैसियतले मैले यो निर्णयप्रति लिखित फरक मत राखेको हुँ ।’

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) पछाडि हटेपछि कांग्रेसले एमाले र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ । सो तालमेलअनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपाले एक सिट पाउने सहमति भएको छ । तर, थापाले यो तालमेल अचानक र पर्याप्त छलफल विना गरिएको भन्दै यसको सैद्धान्तिक आधारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

‘एमालेसँग तालमेल किन गरियो ? यसको सैद्धान्तिक आधार के हो ?’ थापाले प्रश्न गर्दै भने, ‘यस्ता महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिमा तर्कपूर्ण छलफल भएर आउनु पथ्र्यो, तर त्यसो भएन ।’ महामन्त्री थापाका अनुसार मंगलबारको बैठकले उम्मेदवार छनोटको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरेको थियो, जसप्रति उनले सुरुदेखि नै आपत्ति जनाएका थिए । केन्द्रीय समिति र संसदीय बोर्ड हुँदाहुँदै सम्पूर्ण अधिकार एक व्यक्तिमा केन्द्रित गर्नु संस्थागत अभ्यासविपरीत भएको उनको भनाइ छ । यही आपत्तिपछि बुधबार पुनः बैठक बसे पनि, त्यस बैठकमा समेत प्रक्रियागत त्रुटि दोहोरिएको उनले बताए ।

‘आज नाम प्रस्ताव गर्न बैठक बसेको भनियो, तर नाम प्रस्ताव गर्नै बाँकी छ । पारित हुन बाँकी छ’, थापाले भने, ‘तर उम्मेदवारहरू भने मनोनयनपत्र बोकेर आ–आफ्नो जिल्लातिर गइसकेका छन् ।’ यसले निर्णय पहिल्यै सीमित व्यक्तिहरूले गरिसकेको र बैठक औपचारिकतामा सीमित भएको संकेत गर्ने थापाको आरोप छ ।

महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयको स्वामित्व आफूले नलिने स्पष्ट पारे । ‘तालमेल र उम्मेदवार छनोटका आधारहरू न त खुला छलफलबाट आएका छन्, न त संस्थागत रूपमा निर्णय भएका छन्’, उनले भने, ‘त्यसैले यो निर्णयको जिम्मेवारी हामी लिँदैनौं ।’ उनले पार्टीभित्र महत्वपूर्ण निर्णयहरूमा महामन्त्री जस्ता पदाधिकारीलाई समेत जानकारी नदिई केही व्यक्तिहरूले घेराबन्दी शैलीमा निर्णय गर्न खोजेको आरोप समेत लगाए । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने थापाको चेतावनी थियो। महामन्त्री थापाको फरक मतले राष्ट्रियसभा निर्वाचन मात्र होइन, कांग्रेसभित्रको निर्णय प्रक्रिया, गठबन्धनको राजनीति र नेतृत्व शैलीबारे पनि गम्भीर बहस जन्माउने संकेत देखिएको छ ।

 

गगनको गुनासो : विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्रीहरुका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् । उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए । उनले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताए । उनले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को अर्का महामन्त्री (विश्वप्रकाश शर्मा) दुई जनालाई पार्टीको महामन्त्रीको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ । मैले नेताहरुलाई भनेको छु, यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ तर पार्टीको घेरा ठूलो छ, समर्थक, शुभेच्छुकको घेरा ठूलो छ । तपाईंहरु हामीलाई पार्टीको या साँघुरो घेराबाट झन ठूलो घेरामा जान झन झन बाध्य पार्दै हुनुहुन्छ ।’ महामन्त्री थापाले संख्याको आधारमा दम्भ राखेर महामन्त्रीहरुलाई घेराबन्दी गरिएको बताए ।

राष्ट्रिय सभा सदस्य छनोट प्रक्रियाप्रति अर्जुननरसिंह केसीको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेद्वार छनोट प्रक्रियाप्रति आपत्ति जनाएका छन् । उनले बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेद्वार छनौट गरिएको बताए । पार्टीभित्र पर्याप्त छलफल नगरी नौं जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ ।

उनले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गरे । राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताए । उनले ६०–४० को भागबण्डाका आधारमा उम्मेद्वार छनौट गरिएको पनि आरोप लगाए । नौं जनाको सूचीमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय सभाको प्रतिनिधि छान्ने सन्र्दभमा जुन खालको छलफल ग¥यौँ, त्यसमा अहिलेसम्म दुःखद् कुरा मैले भन्नैपर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नु भयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुःखद पक्ष हो । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जुन पार्टीले पद्धति मात्रै बसालेको होइन, प्रक्रियाको पनि सबैभन्दा महत्वपूर्ण अंग हो लोकतन्त्रको ।’

उनले भने, ‘त्यो प्रक्रियगत रुपमा कही छलफल नगरी अहिले जुन ९ जनाको नाम ल्याइएको छ । इतर र भितरको ६० र ४० को भागबण्डामा नै यो नाम आएको छ । यो ९ जनाको मान्छेहरुको नाममा एउटा पनि जनजाति पर्न सक्या छैन भने साह्रै दुःख पाएका, संघर्ष गरेका राजनीतिज्ञ अवथा नेपाली कांग्रेसलाई, लोकतन्त्रलाई सहयोग गरेका कलाकार, साहित्यिक क्षेत्रका धेरै मान्छेलाई प्रतिनिधित्व गराउनु पर्ने थियो । सबभन्दा पहिला त आदिबासी जनजातिको प्रतिनिधित्व नै छैन । व्यक्तिको नाममा म टिप्पणी गर्न चाहन्छ तर जुन प्रक्रियाबाट जसरी ल्याएर टुंग्याइयो यो चाँही लोकतन्त्रको निम्ति लज्जास्पद भन्ठान्छु मैले । लोकतान्त्रिक पार्टी भएर ४ दिनसम्म बैठक गरेर व्यक्तिगत औचित्य, उपयोगिता, क्षमता, उसको योगदान कुनैको छलफल नभईकन टक्क लिष्ट आएर जो प्रस्तुत गरियो त्यसमा मैले असहमति जनाए ।’ नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नै नगरी सूची प्रस्तुत गरिनु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाई छ । उनले पार्टीको निर्णयप्रति असहमति राखेको जनाए ।

 

 

विशेष महाधिवेशन पक्षधरले ‘घेरे’ कांग्रेस पार्टी कार्यालय (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् । प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नारावाजी समेत गरेका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न अवरोध गरेका छन् ।

पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा अवरोध भएको हो । त्यसक्रममा धकेलाधकेलको स्थिति समेत आएको छ । निधिसहितको समूह कुनै पनि हालतमा विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा ३ महिना पुग्दैछ । कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था कांग्रेसको विधानमा छ ।

तर, संस्थापन पक्ष बलियो रहेको केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ मा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ । यता विशेष महाधिवेशन पक्षधरहरू भने यही पुस २७ र २८ का लागि हल बूक समेत गरेर तयारीमा जुटेका छन् । आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

 

 

 

शेखर कोइरालाको प्रस्ताव : माघ ६ पछि विशेष महाधिवेशन, प्रतिनिधिसभामा गठबन्धन नगरौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सकिएपछि विशेष महाधिवेशन बोलाउने प्रस्ताव अघि सारेका छन् । आज (मंगलबार) विशालनगरस्थित आफ्नो निजी कार्यालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँग भएको छलफलमा उनले माघ ६ पछि महाधिवेशन आह्वान गर्दा सबै प्रक्रिया पूर्ण हुने र पार्टीमा एकताको सन्देश जाने बताएका हुन् ।

कोइरालाले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाका उम्मेदवार टुंग्याउनु आवश्यक छ । त्यसैले विशेष महाधिवेशन बोलाउनअघि पक्षधरहरूसँग छलफल गर्नु उपयुक्त हुन्छ । यसरी बोलाउँदा पार्टीभित्रको मनोभावना सम्बोधन हुन्छ र सबैलाई मान्य हुने प्रक्रिया सुनिश्चित हुन्छ ।’ उनी विशेष महाधिवेशनको व्यवस्थापनका लागि मध्यमार्गी विकल्प खोज्न सक्रिय रहेको बताए । यसअघि पार्टीभित्र केही २५ जना संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचन अगावै महाधिवेशन बोलाउने ‘लबिङ’ गरेका थिए । कोइरालाले यस्तो दबावलाई मध्यनजर गर्दै सबैको सहमतिमा केन्द्रिय कार्यसमितिले महाधिवेशन बोलाउनु पर्ने आफ्नो पुरानो अडान दोहोर्‍याए ।

छलफलमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबैसँग पहल भइरहेको बताइन् । उनले महाधिवेशनलाई निर्वाचनअघि ‘चुनावी घोषणा सभा’ को रूपमा रूपान्तरण गर्न सुझाव दिएकी छन् । बैठकमा चीनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा र अर्जुन जोशीलगायत सदस्यहरू सहभागी थिए ।

उक्त अवसरमा कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने स्पष्टता पनि दिए । उनले भने, ‘गठबन्धन गर्दा प्रत्यक्ष निर्वाचनमा दुई–चार सिट बढी आउला, तर समानुपातिक मत घट्छ । दीर्घकालीन रूपमा कांग्रेसलाई हानी हुनेछ । त्यसैले कांग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ विशेष महाधिवेशनको समयसारणी र चुनावी तयारीलाई मध्यनजर गर्दै कोइरालाले पार्टीभित्रको विवादलाई व्यवस्थापन गर्दै, सबै पक्षको मनोभावना सम्बोधन गर्ने रणनीति अघि सारेका छन् ।

 

कांग्रेसका ३० केन्द्रीय सदस्यहरुको शेखर कोइरालासँग छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन, गठबन्धन र नेतृत्वको भूमिकालाई लिएर चर्किंदै गएको विवादको केन्द्रमा नेता शेखर कोइराला देखिएका छन् । पछिल्लो समय सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यसँगको लामो भेटघाटले उनीमाथि पार्टीभित्रको संकट समाधानका लागि अग्रसर हुन दबाब बढाएको छ ।

बिहीबार बिहान करिब साढे दुई घण्टा भएको छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएका मतभेद न्यूनिकरण गर्दै एकताको पहल लिन कोइरालालाई आग्रह गरेका थिए । केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वयसहित पाँच नेताले फरक मत राखेका थिए । तर, कोइरालाले भने औपचारिक रूपमा फरक मत नराखी बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

कोइराला विशेष महाधिवेशनको भावनासँग सहमत रहेको बताउँदै आए पनि त्यसको खुला नेतृत्व लिन भने हिच्किचाइरहेको देखिन्छ । उनले सर्वसम्मत निर्णय भए विशेष महाधिवेशन सम्भव हुने धारणा राखेका छन् । यही कारण उनलाई समर्थन गर्ने हस्ताक्षर अभियानकर्ताहरूले स्पष्ट अडान नलिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

विशालनगरस्थित सम्पर्क कार्यालयमा आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले विशेष महाधिवेशन पक्षधरको भावना बुझ्ने तर बहुमतको निर्णयविरुद्ध विद्रोह गर्न नसकिने स्पष्ट पारेका थिए । यही अभिव्यक्तिलाई लिएर कांग्रेस वृत्तमा उनको भूमिका ‘कमजोर’ बन्दै गएको टिप्पणी भइरहेको छ ।

 

टिकट र तालमेलको टुङ्गो लगाउँदै कांग्रेस, आज सानेपामा कार्यसम्पादन समितिको वैठक

काठमाडौँ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उम्मेदवार छनोट, सिट बाँडफाँट र अन्य दलसँगको चुनावी समन्वयबारे निर्णायक छलफल हुने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको बैठकमा राष्ट्रियसभा निर्वाचन २०८२ का विविध पक्षमाथि प्रारम्भिक विमर्श भएको थियो । तर सबै पदाधिकारी तथा सदस्यहरूको धारणा राख्ने क्रम पूरा नभएकाले बैठक आज पुनः बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजोको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार तथा कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्ना धारणा राखेका थिए । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा तथा प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आफ्नो मत व्यक्त गरेका थिए ।

आजको बैठक मूलतः माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसको रणनीति के हुने भन्नेमा केन्द्रित रहनेछ । उम्मेदवार चयनका मापदण्ड, सुरक्षित सिटको पहिचान र गठबन्धनभित्रको समन्वय प्रमुख एजेण्डा हुने बताइएको छ । गठबन्धन दलहरू र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चलिरहेको सिट बाँडफाँटको रस्साकस्सीलाई टुंग्याउन नेतृत्वलाई आवश्यक म्यान्डेट दिने तयारीमा बैठक रहेको बुझिन्छ ।

यसैबीच, सोमबार साँझ कार्यवाहक सभापति खड्काले भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त संवादलाई राष्ट्रियसभा निर्वाचनमा सहमतिको आधार खोज्ने प्रयासका रूपमा हेरिएको छ । आजको बैठकले यही संवादको जगमा टेकेर उम्मेदवार छनोट र गठबन्धनको अन्तिम खाका कोर्ने अपेक्षा गरिएको छ ।

संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रियसभामा आफ्नो प्रभाव कायम राख्न चाहेको कांग्रेसका लागि आजको बैठक निर्णायक मानिएको छ । अब सानेपामा चल्ने विमर्शले कांग्रेसको चुनावी दिशा र गठबन्धनको स्वरूप कति स्पष्ट बनाउँछ, त्यसतर्फ राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।

विशेष महाधिवेशन विवाद थप चर्किदै : कांग्रेसको पाँच प्रदेशले भन्यो–औचित्य सकियो, पक्षधरको प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद थप स्पष्ट देखिएको छ । पाँच प्रदेश सभापतिले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गरेका छन् भने त्यसका पक्षधर नेताहरूले विधानविपरीत निर्णय गरिएको भन्दै प्रतिवादलाई निरन्तरता दिएका छन् ।

कोशी प्रदेश सभापति उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्र बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले जारी गरेको संयुक्त वक्तव्यमा अब पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने उल्लेख छ । उनीहरूले वैशाखमा हुने नियमित महाधिवेशन नै वैधानिक प्रक्रिया भएको भन्दै सबै तहका कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आह्वान गरेका छन् । वक्तव्यमा गण्डकी र लुम्बिनी प्रदेश सभापतिको हस्ताक्षर नभए पनि सुदूरपश्चिम सभापति बलायरले दुवै प्रदेशसँग समन्वय भइरहेको दाबी गरेका छन् ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारी दिँदै मातहतका निकायलाई परिपत्र पठाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार विशेष महाधिवेशनको प्रस्ताव स्वतः रद्द भएको जनाइएको छ । परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरिएको छ भने माघ ३ भित्र सदस्यता शुल्कसहित विवरण केन्द्रमा बुझाउन निर्देशन दिइएको छ ।

तर विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय निर्णयप्रति आपत्ति जनाएका छन् । देवराज चालिसे, सुवास पोखरेललगायत प्रतिनिधिहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्न माग गर्दै पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूको भनाइमा केन्द्रीय कार्यसम्पादन समितिलाई विशेष महाधिवेशनको औचित्य सकिएको ठहर गर्ने अधिकार छैन र यस्तो निर्णय विधानविपरीत छ ।

ज्ञापनपत्र बुझाएपछि चालिसेले कुनै हालतमा विशेष महाधिवेशन रोकिन नहुने बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वानको पक्षमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्रको बहस थप चर्किएको छ । एकातिर पाँच प्रदेश सभापतिहरू केन्द्रको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् भने अर्कोतिर विशेष महाधिवेशन पक्षधर नेताहरू विधान र आन्तरिक लोकतन्त्रको सवाल उठाउँदै दबाब बढाइरहेका छन् । यसले कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे थप बहस निम्त्याएको छ ।

कांग्रेसले मंगलबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुंगो लगाउने भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो । सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलवार पुनः ११ बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रवक्ता महतले भने, ‘कार्य सम्पादन समितिको बैठक भोलि ११ बजे पनि बस्दैछ । राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय कसरी गर्ने ? छलफल जारी छ । अन्य राजनीतिक दलहरुसँगको सहकार्यको विषयमा नेतृत्व तहबाट छलफल भइरहेको छ । आज बेलुका, भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ । कुराकानी हुँदैछ, भोलि फेरि कार्य सम्पादन समितिको बैठक बसेपछि अनि छलफल कसरी अघि बढ्यो, त्यसको आधारमा हामीले के निर्णय गर्ने भन्ने निधो हुन्छ । छलफल सबै दलहरुसँग भईराखेको छ ।’

उनले भने, ‘जसको भोटिङ स्ट्रेन्थ छ । राष्ट्रिय सभा निर्वाचनको लागि जसको निर्वाचित हुन हैसियत राख्ने दलहरु सबैसँग सहकार्यको कुरा भईराखेको छ । राष्ट्रिय सभा निर्वाचनको लागि सबै दलहरु जो राष्ट्रिय सभा निर्वाचनका लागि म्याटर गर्छ । जसको हैसियत छ । सबैसँग कुराकानी भइराखेको छ । कुराकानीको निष्कर्ष के निस्कियो, त्यो भोलि बिहानसम्म थाहा पनि हुन्छ । अनि त्यसको आधारमा भोलि हाम्रो ११ बजे नै केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्छ । भोलि नै हामी यो उम्मेदवारबारे टुंगो लगाउन कोशिस गर्छौं ।’ नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।

 

 

‘गगन–विश्वका गतिविधि नेविसंघको झगडा जस्तै, विशेष महाधिवेशन आवश्यक छैन’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडा जस्तै भएको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै कांग्रेस जस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताए ।

उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी समेत गरे । सहमहामन्त्री राठौरले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण समेत गराए । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको समेत जानकारी दिए ।

उनले भने, ‘महामन्त्रीहरुले गरेको गतिविधि नेविसंघका महामन्त्रीहरुले गरेको जस्तो गतिविधि भयो के । नेपाली कांग्रेस यति लामो इतिहास भएको पार्टी, देश र जनताप्रति जिम्मेवार र उत्तरदायी पार्टीको गरिमा बचाउने जिम्मेवारी उहाँहरुको हो । नेविसंघको अध्यक्ष र महामन्त्रीको झगडा जस्तो भयो । पार्टी महामन्त्री भनेको धेरै ठूलो कुरा हो । त्यसको गरिमा उहाँहरुले बचाएर जानुपर्छ । पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन । पार्टी फुटाएर कसैलाई फाइदा पनि हँुदैन बरु बाहिरी शक्ति र अन्य दलहरुलाई फाइदा हुन्छ ।’

उनले भने, ‘अहिले यो विषेश महाधिवेशनको फण्डा ल्याउनुपर्ने जरुरी नै छैन । पार्टीभित्र त्यो परिस्थिति होइन । हाम्रो कार्यकाल चार वर्षको हो । गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्म कहिले एक वर्ष त कहिले डेढ वर्ष थप नै गरेको हो । सभापतिले त मंसिरमै महाधिवेशन गर्नु भनेर कार्यवाहक सभापति र महामन्त्रीहरुलाई भन्नु भएको रहेछ । हामीलाई उहाँहरुले त्यही भन्या हो । त्यसकारण अहिले पार्टीभित्र विषेश महाधिवेशन गर्नुपर्ने आवश्यकता पनि छैन । यो अवस्था पनि होइन । यो विषेश महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन महामन्त्रीहरुले बोलाएको होला नआउनु होला भनेर महाधिवेशन प्रतिनिधि साथिहरुलाई भनेका छौँ ।’ उनले सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न भनेको भएपनि कार्यवाहक सभापति र महामन्त्रीकै कमजोरीका कारण हुन नसकेको जिकिर गरे ।

कांग्रेस बैठकमा खड्काको ‘ब्रिफिङ’ : राष्ट्रियसभामा एमालेसँग मिल्ने, आठ सीट दावी

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचन एमाले र नेकपासँग मिलेर जानेबारे छलफल भइरहेको ‘ब्रिफिङ’ गरेका छन् । सानेपामा जारी कार्य सम्पादन समिति बैठकमा खड्काले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ सुजाता कोइरालाले गठबन्धनमा पार्टीको तर्फबाट आठ सीट मागेको जानकारी गराएको बताइन् । माघ ११ गते राष्ट्रिय सभाका रिक्त १८ सीटमा चुनाव हुँदैछ । चुनावमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनको गृहकार्य भइरहेको छ ।

‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन हुने र कांग्रेसले गठबन्धनमा ८ सीट दाबी गरेको ब्रिफिङ कार्यवाहक सभापतिले गर्नु भएको छ,’ बैठकबाट निस्किँदै गर्दा कोइरालाले भनिन् । यी दलहरूबीच तालमेलको सैद्धान्तिक सहमति भएपनि सीट संख्यामा कुरा मिल्न सकेको छैन । राष्ट्रिय सभाका १८ सीटका लागि आगामी माघ ११ गते चुनाव हुँदैछ।

 

कांग्रेस कार्य सम्पादन समितिको बैठक, राखिएन विशेष महाधिवेशनको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । केहीबेर अघिबाट केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीभित्रको आन्तरिक विषयवस्तुलगायत वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न एमाले र नेकपासँग छलफल गरिरहेको छ । त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने जनाइएको छ ।

यस्तै, यसअघि बसेको बैठकले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकार्श शर्माले यही महिनाभित्रै विशेष महाधिवेशन गर्ने अडान लिइरहेका छन् । महाधिवेशन विवाद चर्किएपछि निकासको लागि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

सोमबारको बैठकमा विशेष महाधिवेशनको विषय एजेण्डामा नरहेको पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २८ र २९ गतेका लागि विशेष महाधिवेशन बोलाएपछि कांग्रेसमा विवाद चुलिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनमा नआउन प्रतिनिधिहरूलाई परिपत्र गरेको छ । तल्ला कमिटीलाई महाधिवेशनको नयाँ कार्यतालिका समेत पठाइसकेको छ ।

आफू निकट विशेष महाधिवेशन पक्षधरसँग शेखर कोइरालाको छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी विकल्पको खोजीका लागि नेताहरू खटाएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि धकेलेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले मध्यमार्गी विकल्पको खोजीका लागि आफू नकिट नेताहरूलाई खटाएका हुन् । विधानअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने र विशेषको औचित्य समाप्त भइसकेको अडानका कारण कांग्रेसमा विवाद चर्किएको छ ।

नेता कोइरालाले सोमबार बिहान बसुन्धरास्थित निवासमा आफू निकट (विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेकासहित) नेताहरूसँग सम्भावित मध्यमार्गी विकल्पबारे छलफल गरेका छन् । छलफलमा सहमहामत्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, हस्ताक्षर अभियानको नेतृत्व गर्नेमध्येका देवराज चालिसेलगायतको सहभागिता थियो । ‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनु भएको थियो,’ छलफलमा सहभागी नेता पोखरेलले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नु भएको छ ।’

नेता कोइरालासँगको छलफलपछि चालिसे हस्ताक्षरका लागि अभियान सञ्चालन गरेका नेताहरूसँग परामर्शमा जुटेको पोखरेलले जानकारी दिए । ‘देवराजजी आफ्नो टिमसँग छलफल गर्दै हुनुहुन्छ,’ नेता पोखरेलले भने, ‘शेखर दाइले हामीहरूलाई पनि कसरी मिलाउन सकिन्छ भनेर संवाद गर्न लगाइरहनुभएको छ । एकछिन पछि देवराजजी र हामी फेरि भेट्छौं ।’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७–२८ का लागि गरेको विशेष महाधिवेशनको आह्वानको विपक्षमा उभिएका नेता कोइरालाले आफू निकट विशेष महाधिवेशन पक्षधरलाई मनाउने प्रयास गरिरहेका छन् । पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८–३१ का लागि नियमित महाधिवेशन तोकेपछि विशेष महाधिवेशन पक्षधर नेतालाई पार्टीको निर्णय बाहिर नजान कोइरालाको सुझाव छ ।

 

 

 

विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन् । आज (सोमबार) पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन् ।

‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ । प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने । राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले पत्रकार सम्मेलन गरेर आजको कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए ।उनले भने, ‘कुन–कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो ।

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’कांग्रेसले एमाले, नेकपासँगै मधेशी मोर्चासँग पनि तालमेलका लागि छलफल गरिरहेको छ । उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे । ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’ विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरेका छन् । ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।

 

‘टकराव’ का बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको महाधिवेशन विवादको निर्णायक मोडका रूपमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन (सानेपा) मा दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसको आन्तरिक राजनीति मात्र होइन, आगामी बाटो नै तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगनकुमार थापा–विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधरबीच लामो समयदेखि चलिरहेको रस्साकस्सी यही बैठकमा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ । बैठकको औपचारिक एजेण्डा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषय भए पनि वास्तविक बहस १५औं महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ ।

गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र असन्तुष्टि थप चर्किएको छ । किनकी पार्टी विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते नै ५४ प्रतिशत अर्थात् २,४८८ प्रतिनिधिले हस्ताक्षर बुझाइसकेको विशेष पक्षधरको दाबी छ । उनीहरूका अनुसार पुस मसान्तसम्म विशेष महाधिवेशन बोलाइनु विधानको बाध्यकारी व्यवस्था हो । यही आधारमा महामन्त्रीद्वयले पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् ।

अहिले कांग्रेसभित्र तीन स्पष्ट समूह देखिन्छन् । पहिलो, सभापति देउवाको नेतृत्वमा वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापन समूह । दोस्रो, गगन–विश्व समूह, जसले पुसमै विशेष महाधिवेशन हुनुपर्ने अडान लिएको छ । तेस्रो, नेता शेखर कोइरालाको समूह, जो दुवै पक्षबीच मध्यबिन्दु खोज्ने प्रयासमा छ । शेखर कोइराला समूहले पार्टी विभाजनतर्फ जान नदिन विशेष महाधिवेशन पक्षधरको भावना सम्बोधन गर्दै समन्वयको बाटो खोज्नुपर्ने धारणा बनाएको छ । उनीहरूका अनुसार विशेष महाधिवेशन भए वा नभए पनि नीति, विधान र संस्थागत सुधारका विषयमा गम्भीर बहस आवश्यक छ ।

विशेष महाधिवेशन पक्षधर समूहले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेर महाधिवेशन प्रतिनिधिसँग संवाद बढाइरहेको छ । गगन थापा ‘डकुमेन्ट’ तयारीमा जुटेका छन् भने विश्वप्रकाश शर्माले व्यवस्थापकीय पक्ष सम्हालिरहेका छन् । प्रदेश, क्लस्टर र समूहगत छलफल तीव्र बनाइएको उनीहरूको भनाइ छ । तर, यही समूहभित्र पनि विशेष महाधिवेशनले पार्टीलाई दुर्घटनामा लैजान सक्ने डर देखिन्छ । ‘हामी पार्टी फुट्न दिँदैनौं’, भन्दै गगन थापाले विधान कार्यान्वयन गर्दा विभाजन नहुने दाबी गरे पनि मध्यबिन्दु खोज्नै पर्ने स्वीकारोक्ति समूहका नेताहरूबाट आउन थालेको छ ।

यता संस्थापन पक्ष पनि तनावमै छ । विशेष महाधिवेशनको तयारी तीव्र भएपछि सभापति देउवाले आफ्ना निकट नेताहरूसँग पटक–पटक छलफल गरेका छन् । पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार कार्यसम्पादन समितिले विशेष महाधिवेशन स्पष्ट रूपमा रोकेको भन्दै महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउन अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनलाई ‘गुटगत भेला’ मात्र ठान्छन् । उनीहरूका अनुसार कार्यसम्पादन समितिले वैशाखको महाधिवेशन तय गरिसकेपछि विशेषको औचित्य सकिएको छ । सहमहामन्त्री महेन्द्र यादवले पार्टी नफुट्ने र एक ढिक्का रहने दाबी गर्दै विशेष पक्षधरको गतिविधिलाई तागत प्रदर्शनको प्रयासका रूपमा चित्रण गरेका छन् ।

आजको कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशन रोक्ने रणनीति, वैशाखको महाधिवेशन कार्यतालिका र सम्भावित मध्यबिन्दुको खोजी मुख्य बहसका विषय बन्ने छन् । क्रियाशील सदस्यता अझै टुंगो नलागेको अवस्थामा वैशाखमा महाधिवेशन सम्भव छ कि छैन भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ । विधान, संख्या र राजनीतिक दबाबबीच कांग्रेस अहिले निर्णायक मोडमा उभिएको छ । संस्थापन र विशेष पक्षधर एकअर्कालाई गलाउने रणनीतिमा व्यस्त रहँदा शेखर कोइराला समूहले अघि सारेको मध्यमार्गी विकल्पले पार्टीलाई एकतामा राख्न सक्छ कि सक्दैन-त्यसको संकेत आजको बैठकले दिनेछ ।

देउवा निवासमा शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आफू निकट पदाधिकारीहरूको बैठक बसेको छ । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी र पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य पनि बैठकमा छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइएको छैन । महामन्त्रीद्वयले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले पारित गरेको कार्यतालिकामा फरक मत राखेका थिए ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेअनुसार विधानको धारा १७ को २ अनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन् । सभापति देउवाले आगामी चुनाव र पार्टीभित्रको आन्तरिक विषयका बारेमा आफू निकट नेताहरूसँग राय लिन बैठक राखेको एक पदाधिकारीले जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ०८३ को वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी बहुमतले कार्यतालिका पारित भएको थियो ।

त्यतिबेला फरक मत राखेका महामन्त्री द्वय थापा र शर्मा भने पुषभित्र विशेष महाधिवेशन गर्ने पक्षमा छन् । पार्टीको विधानअनुसार उनीहरुले ५४ प्रतिशत महाधिवेशन आयोजक समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । संकलित हस्ताक्षरलाई आधार बनाएर विशेष महाधिवेशन गर्ने थापा–शर्मा पक्षको तयारी छ । पार्टी विधानले बहुमत सदस्यहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गर्न सकिने भनेको छ । सोही अधिकार प्रयोग गरेर उनीहरु पुषभित्रै विशेष महाधिवेशन गर्ने रणनीतिमा छन् । महामन्त्री द्वय थापा र शर्माले अहिले कानुनी परामर्श गरिरहेको बताइन्छ ।

 

 

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

शुक्रबार कार्यसम्पादन समिति बैठकले आगामी वैशाख देखि महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको हो । पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियो ।

उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि राखेका छन् । उनीहरुले पुस मसान्तभित्रै पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने अडान लिएका छन् । कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । त्यसै अनुरुप विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्रीद्वयको भनाइ छ ।

कांग्रेसमा हुकुमी शासनको अभ्यास भयो, पार्टी सदस्यलाई रैती ठानियो : गुरुराज घिमिरे

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको र नेतृत्वले हुकुमी शासन झल्काउने शैली अपनाइरहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा स्वेच्छाचारिता हाबी हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

घिमिरेका अनुसार पार्टी नेतृत्वले सदस्यहरूलाई रैतीझैं व्यवहार गर्ने, पार्टीलाई निजी जमिन्दारी वा घरेलु मामिला जस्तो ठान्ने प्रवृत्ति बढ्दै गएको छ । उनले यस प्रकारको सोच र व्यवहारलाई सर्वथा निन्दनीय भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘नेता सरह वा त्योभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती ठान्ने र पार्टीलाई निजी सम्पत्ति ठान्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यको घोर अपमान हो ।’ नेता घिमिरेले विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरे पार्टीभित्र गहिरो राजनीतिक संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । कसैको दबाब वा जबरजस्तीबाट निर्णय लादेर त्यसको औचित्य पुष्टि नहुने उनको भनाइ छ ।

उनले स्पष्ट शब्दमा भनेका छन्, ‘जबरजस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने कुनै पनि राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले लिनु पर्नेछ ।’ ७५ वर्षभन्दा लामो इतिहास बोकेको र आठ दशकसम्म विधिको शासन र लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीमा अहिले स्वेच्छाचारिता र हुकुमी शासनको अभ्यास मौलाउँदै गएको घिमिरेको आरोप छ । उनले विशेष महाधिवेशनको माग तत्काल सम्बोधन नगरे पार्टीको साख, प्रतिष्ठा र जनआधारमै गम्भीर असर पर्ने बताएका छन् ।

घिमिरेले दलभित्र विधिविहीनता र बेथिति चरम सीमामा पुगेको उल्लेख गर्दै विशेष महाधिवेशन माग गर्ने पार्टी सदस्यहरूमाथि गरिएको व्यवहारलाई पार्टी विधानको खुला उल्लंघन र उपहासको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘मागकर्तामाथि गरिएको बेवास्ता, दुव्र्यवहार र अपमान पार्टीभित्रको अलोकतान्त्रिक चरित्रको प्रमाण हो ।’

महाधिवेशनसम्बन्धी कागजी तालिका समेत न्यूनतम रूपमा लागू नगर्ने, स्वेच्छाचारी ढंगले समय परिवर्तन गर्ने र त्यसबारे पार्टी सदस्यहरूलाई अग्रिम जानकारीसम्म नदिने प्रवृत्तिलाई उनले अत्यन्तै अलोकतान्त्रिक भनेका छन् । नेतृत्वको कार्यशैली तानाशाहीपूर्ण र भत्र्सनायोग्य रहेको उनको ठहर छ ।

घिमिरेले कुनै पनि लोकतान्त्रिक संस्था केवल सिद्धान्तले होइन, आचरण र व्यवहारले लोकतान्त्रिक देखिनुपर्ने उल्लेख गर्दै कांग्रेस नेतृत्व त्यसमा चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस अन्य दलहरू जस्तो औसत दल नभई उच्च राजनीतिक साख र व्यापक जनसमर्थन बोकेको पार्टी भएको स्मरण गराउँदै उनले नेतृत्वलाई त्यो यथार्थ बुझ्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस अरू दल जस्तै साधारण दल होइन भन्ने तथ्यलाई नेतृत्वले आत्मसात् गर्न सक्नु पर्छ ।’

 

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहाक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आज (शुक्रवार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षले वैशाख अन्तिमका लागि नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।

यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ प्रस्ताव पेश गरेको हो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने अव विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ ।

यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए । संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

 

 

गच्छदारको दाबी : विशेष महाधिवेशन हुँदैन, पार्टी पनि फुट्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले विशेष महाधिवेशन नहुने दाबी गरेका छन् । कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार कांग्रेस पार्टी कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै गच्छदारले विशेष महाधिवेशन सम्भव नभएको बताएका हुन् ।

‘न विशेष महाधिवेशन हुन्छ, न पार्टी विभाजन हुन्छ । नियमित महाधिवेशन मात्र हुन्छ,’ गच्छदारले भने । अर्का नेता विमलेन्द्र निधिले पनि विशेष महाधिवेशनको औचित्य नभएको र पार्टीले अब चुनावको तयारी थाल्ने बताए । महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि आव्हान गरेलगत्तै आज कांग्रेसको बैठक बस्न लागेको हो । विशेष महाधिवेशनका लागि पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ भइसकेको छ । अहिले कार्यसम्पादन समितिको वैठक बसिरहेको छ ।

कांग्रेसले विशेष महाधिवेशनबाट गगनलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्छ : मन्सुर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै महामन्त्री गगनकुमार थापालाई सभापति र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै मन्सुरले नियमित महाधिवेशनका लागि समय र अवस्था अनुकूल नभएकाले विशेष महाधिवेशन नै व्यवहारिक विकल्प भएको दाबी गरे ।

उनका अनुसार कांग्रेसभित्र देखिएको जटिलता समाधान गर्न र जनताको विश्वास जित्न गगन थापाको नेतृत्व आवश्यक छ । ‘आम नेपाली जनताले गगनमाथि भरोसा गरेका छन् । देश र पार्टीभित्रका समस्या पार लगाउन उहाँ सक्षम हुनुहुन्छ’, मन्सुरले भने, ‘त्यसैले विशेष महाधिवेशन गरेर उहाँलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस चुनावमा जानुपर्छ ।’

उनले पार्टीभित्र परिवर्तनविरोधी शक्तिहरूले महाधिवेशन रोक्न खोजेको आरोप पनि लगाए । महाधिवेशनपछि आफ्नो प्रभाव घट्ने र चुनावमा टिकट बाँड्ने अधिकार गुम्ने डरले केही पदाधिकारीहरू प्रक्रिया अवरुद्ध गर्न लागेको उनको भनाइ छ । मन्सुरले कांग्रेस नयाँ नेतृत्व, नीति र स्पष्ट कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्नेमा जोड दिँदै महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमार्फतै नेतृत्व चयन गरी पार्टीलाई पुनर्जीवित गर्नुपर्ने उनको निष्कर्ष छ ।

 

विश्वप्रकाशले पार्टी फुट्न नदिन सुल्झाए यस्ता तीन विकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्न नदिन र अहिलेको समस्या समाधान गर्नका लागि तीन वटा विकल्प अघि सारेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले तीन विकाल्प अगाडि सारेका हुन् । शर्माका अनुसार विधान अनुसार अब विशेष महाधिवेशनको विकल्प नभएकाले यहि महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाएर चुनावमा जाने पहिलो विकल्प हो ।

दोस्रो विकल्प भनेको विशेष महाधिवेशनले मूल नेतृत्व अर्थात सभापतिको मात्र निर्वाचन गरेर जाने उपाय हुन सक्छ । यदि नेतृत्व परिवर्तन अहिले गर्दा समस्या आउने भए नीति पारित गरेर विशेष महाधिवेशनको वैधानिक व्यवस्थापन गर्ने तेस्रो विकल्प उनले दिएका छन् । शर्माले भने, ‘कांग्रेसमा जारी समस्या समाधान गर्न कुनै ठूलो कुरा छैन । कांग्रेसले सबै समस्या मुस्कुराउँदै हल गर्छ । विधान अनुसार अगाडि बढौ, पार्टी फुट्दैन । पार्टी एकढिक्का रहन्छ । पार्टी फुटाउने कुरा हुन्न । नेतृत्व का लागि नभई नीतिका लागि पनि नेपाली कांग्रेस पार्टी यतिबेला विभाजन हुँदैन ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले बस्दै छ । बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्व गृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका छन् । बैठक ३ बजेका लागि बोलाइएको भए पनि एक घण्टा ढिलोगरी सुरु हुन लागेको हो । कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए । यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन् ।

 

 

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गरेका छन् । उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा ध्यानाकर्षण गराएका हुन् ।

विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू देवराज चालिसे, प्रमोदहरि गुरागाईं, मनोजमणि आचार्य, सुवास पोखरेल, नारायणप्रसाद भट्टराईलगायतले केन्द्रीय कार्यसमितिले यही पुस २६ देखि २८ गते नियमित महाधिवेशनको मिति तोके पनि उक्त कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेको अवस्थामा सो माग गरेका हुन् । विधानले तोकेको समयसीमा (२०८२ मङ्सिर) भित्र १५औँ महाधिवेशन गर्न अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गत असोज २९ गते देशभरका दुई हजार ४८८ (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरुले अवगत गराएका छन् ।

साथै उनीहरुले गत भदौ २३ देखि २४ गतेपछिको विशेष राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन् ।

 

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो : निधि

काठमाडौँ । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले महामन्त्रीले बोलाएको भेलाको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मतिबाट नियमित कार्यतालिका पास भएपछि विशेष महाधिवेशनको औचित्य त्यसै समाप्त भएको उनले बताए।

‘जुन दिन पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन हुन्छ भनेर सर्वसम्मतिले निर्णय भयो त्यसै दिनदेखि हो । विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो,’ उनले भने, ‘विशेष महाधिवेशन नगर्नेबारेमा १५ गते नै टुङ्गो लागिसकेको छ ।’ सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुन नसक्ने पनि उनको भनाइ छ । महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन गैरजिम्मेवारपूर्ण काम भएको उनको प्रतिक्रिया छ ।

‘केन्द्रीय कार्यसमितिले जे निर्णय गरेको छ त्यसको कार्यान्वयन गर्नुको महामन्त्रीको काम हो । केन्द्रीय कार्यसमितिले त अहिले विशेष महाधिवेशन गर्ने भनेर निर्णय गरेको छैन,’ उनले भने, ‘त्यसैले विशेष महाधिवेशनका लागि आह्वान गर्नु भनेको केन्द्रीय कार्यसमितिको निर्णयविपरीतको काम हो ।’ सहमतिका लागि सभापतिसँग बसेर मिलाउने कुनै प्रयास भएको छ भन्ने प्रश्नमा नेता निधिले भने, ‘त्यसबारे मलाई जानकारीमा छैन । उहाँहरूले त हामीलाई गर्नुभएको छैन । केको छलफल गर्नु ?’

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका सदस्यहरूसँग आज दिउँसो छलफल गर्दैछन्। आजै बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्तुत गर्ने धारणाका बारेमा पनि उक्त छलफलमा कुराकानी हुने बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्विप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै पुस २७–२९ मा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसमा तरंग पैदा भएको छ ।

 

संस्थापन पक्षका नेताहरुलाई गगन–विश्वले भने–पार्टी विभाजन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर चर्किँदै गएको विवादबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टी नेतृत्वसँग लगातार छलफल थालेका छन् । पार्टी विभाजनको आशंका बढ्न थालेपछि ती नेताहरूले सभापति शेरबहादुर देउवालगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरी सहमतिमार्फत निकास खोज्न आग्रह गरेका हुन् । शुक्रबार बिहान सभापति देउवासँग छलफल सकेर निस्किएका २५ केन्द्रीय सदस्यले काठमाडौंको महाराजगञ्ज आसपासमा महामन्त्रीद्वयसँग भेट गरेका थिए । भेटमा विशेष वा नियमित महाधिवेशनको नाममा पार्टीलाई विभाजनतर्फ नलैजान आग्रह गरिएको सहभागी नेताहरूले बताएका छन् ।

केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशनसम्बन्धी विवादले पार्टी कमजोर हुने संकेत देखिएपछि संयुक्त रूपमा नेतृत्वसँग संवाद गरिएको हो । ‘पार्टीभित्र देखिएको अन्योल र असहमतिको समाधान सहमतिमै खोज्नुपर्छ भन्ने हाम्रो आग्रह हो’, उनले भनिन्, ‘महामन्त्रीहरू पनि समाधानप्रति सकारात्मक देखिनु भएको छ ।’ उनका अनुसार महामन्त्री थापा र शर्माले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको स्पष्ट सन्देश दिएका छन् । ‘उहाँहरूले कांग्रेसलाई फुटतर्फ लैजाने कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो’, संग्रौलाले जानकारी दिइन् ।

त्यस्तै, केन्द्रीय सदस्य पुष्पा भुसालले पनि भेटमा पार्टीलाई कमजोर बनाउने वा फुटाउने कुनै मनसाय नरहेको कुरा महामन्त्रीद्वयले स्पष्ट पारेको बताइन् । ‘पार्टी एकताबद्ध राख्नु नै अहिलेको आवश्यकता हो भन्नेमा उहाँहरूको जोड थियो’, भुसालले भनिन् । महाधिवेशनको समय र स्वरूपलाई लिएर कांग्रेसभित्र फरक–फरक मत देखिँदै आएको छ । यही विषयले आन्तरिक तनाव बढ्दै गएपछि संस्थापन पक्षका नेताहरूले सक्रिय रूपमा नेतृत्वसँग संवाद थालेका हुन् । उनीहरूको पहलले पार्टीभित्र सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको छ । कांग्रेस नेतृत्वस्तरमा भएको पछिल्लो छलफललाई पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।

पार्टी नफुटोस् भन्ने चाहन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरूले देउवालाई भेटेका हुन् । आज बिहान महाराजगञ्ज पुगेका नेताहरूसँग देउवाले आफू पार्टी नफुटोस् भन्नेमा सचेत रहेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

ती नेताले सुनाए, ‘हामीले पार्टी अप्ठ्यारो अवस्थामा छ । मिलाएर अघि बढ्नको लागि भूमिका खेल्नुस् भनेर ध्यानाकर्षण गरायौँ । उहाँले आफू पार्टी विभाजन नहोस् भन्ने चाहनामा रहेको बताउनु भयो ।’ यी नेताहरूले आजै महामन्त्रीद्वय थापा र शर्मासँग पनि भेट्ने तयारी गरेका छन् । भेटमा संलग्न केन्द्रीय सदस्य डिला संग्रौलाले सभापति देउवाले आफू पार्टी विभाजन होस् भन्ने पक्षमा नरहेको बताएको जानकारी दिइन् । ‘हामीले विशेष महाधिवेशन रोक्नु पर्छ । नत्र पार्टी विभाजनसम्म जान सक्छ भनेर सभापतिजीको ध्यानाकर्षण गराएका छौँ,’ उनले भनिन्, ‘उहाँले पनि विभाजनको बाटो ठीक होइन भन्ने धारणा राख्नुभयो । हामीले नियमित महाधिवेशनले यो विवादको समाधान गर्न सक्छ भनेर सुझाव दिएका छौं ।’

विशेष महाधिवेशन पक्षधरले भने–अब विशेष महाधिवेशनको विकल्प रहेन, बोलाउनै पर्छ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग पुनः तीव्र बनेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले अब अरू कुनै विकल्प बाँकी नरहेकाले पार्टीले अनिवार्य रूपमा विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्ष सार्वजनिक गरेका छन् । शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सुवास पोखरेलले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न पार्टी केन्द्रको जिम्मेवारी रहेको बताए । उनले यो माग कसैको जित–हारका रूपमा नभई पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउने अवसरका रूपमा बुझ्न नेतृत्वलाई आग्रह गरे ।

पोखरेलले भने, ‘हामीलाई विश्वास छ, केन्द्रले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्नेछ । यो माग पार्टी एकता कायम राख्दै जनताप्रति जवाफदेही बन्ने ऐतिहासिक अवसर हो । विशेष महाधिवेशनमार्फत कांग्रेसलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र एकतासहित अघि बढाउन सकिन्छ ।’
उनका अनुसार असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । त्यसपछि नियमित महाधिवेशन गर्ने आश्वासन आएपछि केही समय माग स्थगित भए पनि कार्यतालिका सार्वजनिक भएपछि फेरि विषय सतहमा आएको हो । बिहीबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत विशेष महाधिवेशनको पक्षमा सक्रिय देखिएका छन् ।

पोखरेलले पार्टीले घोषित समयमै महाधिवेशन नगरी मिति सार्ने सुविधा नपाउने स्पष्ट चेतावनी दिँदै भने, ‘हामीले पहिल्यै भनेका थियौँ-घोषित समयमा महाधिवेशन नगरे विशेष महाधिवेशनको माग स्वतः जीवित रहन्छ । असोज २९ मा दर्ता भएको माग कार्यान्वयन गर्नु पार्टीको बाध्यकारी कर्तव्य हो।’ उनले विशेष महाधिवेशन कुनै ‘विकल्प’ वा ‘छनोट’ नभई महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबी गरे । ‘लोकतान्त्रिक पार्टी भएर पनि यदि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको कुरा गरेर जनतामाझ जाने नैतिक आधार कसरी रहन्छ ?’ उनले प्रश्न गरे ।

पत्रकार सम्मेलनमै विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनको प्रयास भनेर आलोचना गरिँदै आएको विषयमा पनि नेताहरूले स्पष्ट जवाफ दिएका छन् । नेता देवराज चालिसेले विशेष महाधिवेशनले पार्टी फुट्ने होइन, बरु एकता बलियो बनाउने बताए । ‘विधानअनुसार महाधिवेशन माग गर्दा कसरी पार्टी विभाजन हुन्छ ?’ चालिसेले प्रश्न गरे । उनले सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उनले पार्टीलाई क्षतविक्षत बनाउने कल्पना गर्न नसकिने बताए ।

‘जुन पार्टीले नेताहरूलाई यो हैसियत दियो, त्यही पार्टीलाई दुर्घटनामा लैजान्छन् भन्ने सोच नै गलत हो’, उनले भने, ‘सबै पक्षले विन–विन गर्ने बाटो खोज्नुपर्छ। एकता बहसबाट आउँछ, तर त्यो सकारात्मक हुनुपर्छ ।’ ५४.८८ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन हुँदा विभाजनको प्रश्न उठ्नु नै अस्वाभाविक भएको चालिसेको तर्क छ । ‘हामीले कसैलाई बाध्य बनाएका होइनौँ, विधानले दिएको अधिकार प्रयोग गरेका हौँ’, उनले भने । अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सडकमा हुलहुज्जत गर्ने होइन । विधानले यही बाटो दिएको छ भने त्यसैअनुसार अघि बढ्ने हो ।’ कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कँदै जाँदा अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले राजनीतिक वृत्तको ध्यान तानेको छ ।

 

कांग्रेस कार्यसम्पादन समिति बैठकअघि देउवाले शीर्ष नेताहरुलाई बोलाए छलफलमा

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र विवादको रूप लिँदै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पार्टीभित्र राजनीतिक तरंग पैदा भएको छ ।
विशेष महाधिवेशन भए पार्टी विभाजनको जोखिम बढ्ने भन्दै कार्यकारी भूमिकाबाट पछि हटिसकेका सभापति शेरबहादुर देउवा पछिल्ला दिनहरूमा भने शीर्ष नेताहरूसँग लगातार संवादमा जुटिरहेका छन् । विवाद चर्किँदै गएपछि उनी आफै पहलमा उत्रिएका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति सार्वजनिक गरे लगत्तै देउवाले उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकसहितका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए । साथै उनले महामन्त्री थापा र शर्मालाई पनि आफ्नै निवासमा बोलाएर संवाद गर्न चाहेका थिए । तर विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन तयारीको काममा जुट्न गगन थापा काभ्रेको धुलिखेलतर्फ गएकाले त्यो भेटघाट हुन सकेन ।

यसैबीच, कांग्रेसले आज दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकअघि सभापति देउवापक्षीय, अर्थात् संस्थापन पक्षका नेताहरूले छुट्टै रणनीतिक छलफल गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका नेताहरू दिउँसो १२ बजे सानेपास्थित सिद्धार्थ फुडल्यान्डमा भेला भएर साझा धारणा बनाउने भएका हुन् । छलफलपछि उनीहरू औपचारिक बैठकमा सहभागी हुने बताइएको छ ।

अर्कोतर्फ, विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्री गगन थापाले पनि कार्यसम्पादन समिति बैठकअघि आफ्ना समर्थकहरूसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । त्यसका लागि उनी आज बिहानै धुलिखेलबाट काठमाडौं फर्किसकेका छन् । पार्टीभित्र फरक–फरक धारणा सतहमा आउँदै जाँदा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ ।

निर्वाचन र सरकार परिवर्तनले मात्र मुलुकको विद्यमान समस्या समाधान हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा देखिएका गहिरा राजनीतिक र शासकीय समस्याको समाधान केवल निर्वाचन र सरकार परिवर्तनले मात्र सम्भव नहुने स्पष्ट पारेका छन् । उनले नेपालको समस्या सतही नभई संरचनागत भएकाले दीर्घकालीन सुधारका लागि निर्वाचनअघि नै व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष र आगामी निर्वाचनको सन्दर्भमा सोमबार राति सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत महामन्त्री थापाले वर्तमान राजनीतिक प्रणालीभित्र रहेका कमजोरीले भ्रष्टाचारलाई बढावा दिएको र सुशासन स्थापना गर्न कठिन बनाएको स्वीकार गरे । उनका अनुसार सानातिना प्रशासनिक वा कार्यकारी निर्णयले मात्र अहिलेको जटिल अवस्थाबाट देशलाई बाहिर निकाल्न सकिँदैन ।

थापाले विशेष गरी समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाए । समावेशिताका लागि ल्याइएको यो प्रणाली दलका शीर्ष नेताहरूको ‘खल्तीबाट नाम निकाल्ने’ अभ्यासका कारण बदनाम बनेको उनको भनाइ थियो । नयाँ र पुराना सबै दलमा यो प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले एकपटक सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पुनः समानुपातिक सूचीमा राख्न नपाइने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरूको स्वायत्ततामाथि पनि शंका व्यक्त गरेका छन् । संवैधानिक परिषद्बाट हुने नियुक्तिमा राजनीतिक भागबण्डा हावी हुँदा ती निकायहरू स्वतन्त्र रूपमा काम गर्न नसकेको थापाको ठहर छ । नियुक्त भएका व्यक्तिहरूले आफूलाई सिफारिस गर्ने राजनीतिक शक्तिप्रति नै निष्ठा देखाउने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण कमजोर बनेको उनको भनाइ थियो । यस सन्दर्भमा उनले दक्षिण अफ्रिकाजस्ता देशहरूको अभ्यास उदाहरण दिँदै सार्वजनिक सुनुवाइ र पारदर्शी छनोट प्रक्रियामार्फत नियुक्ति गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रबारे बोल्दै महामन्त्री थापाले एउटै व्यक्ति पटक–पटक पार्टीको नेतृत्वमा रहिरहने अवस्थाले दलहरू कमजोर बनेको बताए । यस्तो प्रवृत्तिलाई रोक्न संविधान वा कानुनमार्फत नेतृत्वको अवधि र सीमाबारे स्पष्ट व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

यी सबै सुधारका काम निर्वाचनपछि बन्ने संसद्ले मात्र गर्न नसक्ने भन्दै उनले निर्वाचनअघि नै सबै दलहरूबीच न्यूनतम सुधार एजेण्डामा सहमति जुटाउनुपर्ने आवश्यकता औंल्याए । वि.सं. २०६२÷६३ को जनआन्दोलनअघि नागरिक समाजको पहलमा दलहरूबीच भएको ऐतिहासिक सहमतिलाई स्मरण गर्दै थापाले अहिले पनि त्यस्तै किसिमको ‘राष्ट्रिय संवाद’ आवश्यक रहेको बताए ।

उनले नागरिक समाज, बुद्धिजीवी र विशेषगरी युवा पुस्तालाई अगाडि बढेर राजनीतिक दलहरूलाई एउटै टेबुलमा बसाल्न र सुधारका मुद्दामा प्रतिबद्ध गराउन आह्वान गरे । ‘निर्वाचन त २०८४ मा पनि हुन्थ्यो, तर सुधारका लागि अहिलेको समय अत्यन्तै महत्वपूर्ण छ’, थापाले भने ।

उनका अनुसार निर्वाचनपछि जुनसुकै दलको सरकार बने पनि संविधान र कानुन संशोधनमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा ठोस काम गर्न सकिने वातावरण चुनावअघि नै तयार हुनुपर्छ । त्यसो गर्न सके मात्र परिवर्तनका लागि बलिदान दिनेहरूको सपना पूरा हुने र आम नागरिकमा राज्यप्रतिको विश्वास पुनःस्थापित हुने थापाको विश्वास छ ।

 

महाधिवेशन विवादका बीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर मतभेद तीव्र बन्दै गएको छ । यही पृष्ठभूमिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले आफ्ना निकटस्थ नेताहरूसँग परामर्श गरेपछि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । आजको बैठकलाई पार्टीको आगामी दिशा र महाधिवेशनसम्बन्धी निर्णयका हिसाबले महत्वपूर्ण मानिएको छ ।

यसअघि बिहीबार सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको छलफल अन्तिम समयमा स्थगित गरेका थिए । साँझ ५ बजेका लागि तय गरिएको छलफल नहुने जानकारी देउवाले अन्तिम समयमा महामन्त्रीद्वयलाई गराएका थिए ।

पार्टी मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले आज महामन्त्रीद्वयसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । ‘आज अनुकूल समयमा सभापति ज्यूले महामन्त्री ज्यूहरूलाई बोलाएर छलफल गर्नु हुन्छ’, पौडेलले भने । महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गर्दै भृकुटीमण्डपमा हल बुक गरेपछि देउवाले छलफलको पहल गरेका हुन् ।

निर्धारित समयमै नियमित महाधिवेशन हुन नसक्ने अवस्था देखिएपछि बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित भएको सार्वजनिक घोषणा गरेका थिए । उनीहरूले अब विशेष महाधिवेशन नै आवश्यक भएको तर्क गर्दै आएका छन् । यसका लागि आवश्यक तयारीसमेत अगाडि बढाइएको छ । महामन्त्री थापा विशेष महाधिवेशनका लागि आवश्यक दस्तावेज तयारी गर्न केही दिन धुलिखेल बस्ने तयारीमा छन् ।

उता सभापति देउवा र बहुमत केन्द्रीय नेतृत्व भने संस्थापन पक्षमै उभिएको छ । संस्थापन पक्षले कुनै पनि हालतमा नियमित महाधिवेशन नै गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । पुस १६ गतेदेखि वडास्तरबाट सुरु गर्ने भनिएको नियमित अधिवेशन हुन नसके पनि, त्यसलाई स्वीकार गर्दै अर्को उपयुक्त मिति तोकेर प्रक्रिया अघि बढाउनु पर्ने उनीहरूको धारणा छ ।

महाधिवेशनको स्वरूप र समयबारे नेतृत्व तहमा देखिएको यो मतभेदले कांग्रेसभित्र आन्तरिक राजनीतिक गर्मिएको छ । आज बस्ने कार्यसम्पादन समिति बैठक र सभापति–महामन्त्रीबीचको छलफलले पार्टीको आगामी बाटो के हुने भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ ।

देउवाले बोलाएको छलफल गगनले गरे अस्वीकार, प्रतिवेदन तयार पार्न धुलिखेल जाँदै

काठमाडौं । नेपाली कांग्रेसकाे इतर पक्षले विशेष महाधिवेशनको तयारी तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफलका लागि बोलाए पनि, थापा विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न धुलिखेल जाने कार्यक्रममा व्यस्त हुने भएका छन्।

महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल प्रस्थान गर्ने तयारीमा छन् । ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्ने कामको लागि २–४ दिन धुलिखेल जाने तालिका पूर्व निर्धारित थियो । थापा प्रतिवेदन तयार पारेर मात्र फर्किने छन्’, उनले बताए। विशेष महाधिवेशनका पक्षधर नेताहरूले २७ र २८ पुसका लागि काठमाडौंस्थित ठूलो हल बुक गरेका छन् । आयोजक समितिका अनुसार, दुई दिनको हल भाडा, बगैँचा र पार्किङस्थल समेतको शुल्कसहित करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बुकिङका लागि आयोजक समितिले एक लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकेको छ ।

महाधिवेशनको सम्पूर्ण व्यवस्थापन—खाना, स्टेज, साउण्ड सिस्टम, सजावट लगायत—इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत एकै पटक सम्हालिने तयारी भइरहेको छ । विशेष महाधिवेशनका लागि हल बुक गर्ने काममा युवा नेता लेखनाथ पोखरेल स्वयं संलग्न भएका थिए । यसअघि, असोज २९ मा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको थियो । विधानअनुसार, प्रस्ताव दर्ता भएको ३ महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्छ । गत मंसिर १५ मा केन्द्रीय कार्यसमितिको बैठकले पुस २६–२८ सम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको भए पनि, नियमित महाधिवेशन स्थगित भएपछि विशेष महाधिवेशनको विवाद फेरि चर्किएको छ ।

लेखकमाथिको स्थान हद फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।

लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो । अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि पत्र लेख्ने आयोगको तयारी छ । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसँग चार घण्टासम्म पूरक बयान समेत लिएको थियो ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुधबार सिंहदरबारमा लेखकसँग विस्तृत रूपमा बयान लिएको हो । यसअघि पनि आयोगले पुस १४ गते करिब दुई घण्टा लेखकसँग बयान लिइसकेको थियो । बुधबारको लामो बयानपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आयोगलाई आफूले दिएको विवरणबारे जानकारी दिएका थिए । भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री लेखकले सोही दिन साँझ नै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।

उक्त घटनापछि भदौ २४ गते काठमाडौंसहित २८ जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विभिन्न प्रहरी कार्यालयमा आगजनी हुनुका साथै हतियार समेत लुटिएको थियो । आयोग समक्ष दिएको बयानमा लेखकले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सुरक्षाकर्मीलाई स्पष्ट रूपमा ‘कुनै पनि हालतमा क्याजल्टी नहोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन् ।

उनका अनुसार भदौ २३ गते बिहान समेत उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरी संयम अपनाउन र हताहती हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका थिए । यही विषयमा गृह सचिवसँग पनि निरन्तर समन्वय भएको उनले बताएका छन् । लेखकले गृहमन्त्रीको हैसियतमा सुरक्षाका निकायलाई तीन वटा मुख्य निर्देशन दिएको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू लामो समयदेखि राजनीतिक जीवन समर्पित गर्दै आएको दाबी गरेका छन् । ‘विचार अभिव्यक्तिलाई रोक्ने कुरा सोच्न पनि सक्दिनँ’, उनले आयोग समक्ष भनेको विवरणमा उल्लेख छ ।

आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलगायतसँग बयान लिइसकेको छ । उनीहरूमाथि लगाइएको स्थानहद यसअघि नै फुकुवा भइसकेको छ ।

कांग्रेसको विशेष महाधिवेशनका लागि हल ‘बुकिङ’, दुई महामन्त्रीले संयुक्त आह्वान गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक राजनीति तातेको छ । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौँको भृकुटीमण्डमा हल ‘बुकिङ’ गर्दै तयारी तीव्र पारेका छन् भने अर्कोतिर सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न संस्थापन पक्षसँग परामर्शमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरिसकेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार, नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेपछि विधानअनुसार विशेष महाधिवेशनको बाटो रोज्न बाध्य भएको उनीहरूको दाबी छ । गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भइसकेको थियो । कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यसअघि दुवै पक्षबीच पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन ।

यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । महामन्त्री थापाले यसअघि नै पुस मसान्तभित्र महाधिवेशन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरिसकेका छन् । उता, सभापति शेरबहादुर देउवा भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनको जोखिम बढाउने तर्क गर्दै त्यसको विपक्षमा छन् ।

विशेष महाधिवेशन रोक्ने रणनीतिका लागि देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् । सोही क्रममा उनले बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका छन् । स्रोतका अनुसार देउवाले विशेष महाधिवेशन पक्षधरहरूको गतिविधि–हल खोज्ने, विधानसम्बन्धी तयारी गर्ने लगायतका काम तीव्र भएपछि त्यसलाई कसरी रोक्ने भन्ने विषयमा ‘काउन्टर मुभ’ बारे परामर्श गरेका हुन् । यसरी, एकातिर विशेष महाधिवेशनको तयारी औपचारिक चरणमा प्रवेश गरिरहेको छ भने अर्कोतिर पार्टी नेतृत्व त्यसलाई रोक्न सक्रिय देखिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्षले आगामी दिनमा पार्टीको दिशा र एकतामाथि गहिरो प्रभाव पार्ने देखिएको छ ।

पुसभित्रै विशेष महाधिवेशन बोलाउने महामन्त्रीद्वयको तयारी, के भन्छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औ महाधिवेशन अन्योलमा पर्दै जाँदा विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र फेरि मतभेद तीव्र बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्षमा उभिएका नेताहरूले पुस २६ देखि २८ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् भने सभापति शेरबहादुर देउवा पक्ष त्यसलाई अस्वीकार गर्दै निर्वाचनपछि मात्र नियमित महाधिवेशन हुने अडानमा छ ।

केन्द्रीय समितिले यसअघि पुस १६ मा वडा अधिवेशन र पुस २६-२८ मा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता नवीकरण, वितरण, छानबिन समिति र विधान मस्यौदा समिति गठन जस्ता आधारभूत काम नै सम्पन्न हुन सकेनन् । यसले तोकिएको समयमा नियमित महाधिवेशन असम्भव बनेपछि विशेष महाधिवेशनको माग चर्किएको हो । विशेष महाधिवेशन पक्षधरले पार्टी विधानअनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी असोज अन्त्यतिर केन्द्रीय कार्यालयमा बुझाइसकेका छन् । उनीहरूका अनुसार ५४ प्रतिशत प्रतिनिधिले माग गरेकाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी हुन्छ । यही आधारमा पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको दाबी गरिएको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशन विधानतः अनिवार्य मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गर्दा महामन्त्रीमार्फत केन्द्रीय कार्यालयले अधिवेशन बोलाउन सक्ने सुझाव पाएको पनि बताएका छन् ।

तर संस्थापन पक्ष भने विशेष महाधिवेशन असम्भव रहेको दाबीमा अडिग छ । प्रवक्ता प्रकाशशरण महतले चुनावअघि महाधिवेशन गर्दा पार्टीको ध्यान भंग हुने र संगठन कमजोर हुने तर्क गरेका छन् । उनका अनुसार आम निर्वाचनपछि मात्रै वडा तहदेखि नियमित अधिवेशन प्रक्रिया अघि बढ्नेछ । सभापति देउवाले पनि विशेष महाधिवेशनमा गए विधि र प्रक्रियामै अर्को विवाद सुरु हुने भन्दै त्यसको आवश्यकता नरहेको बताएका छन् ।

यद्यपि देउवाले यदि नियमित महाधिवेशन गर्न पार्टी तयार भए आफू बाधक नबन्ने पनि स्पष्ट पारेका छन् । आफू सभापतिको उम्मेदवार नबन्ने भएकाले तटस्थ रहने उनको भनाइ छ । पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् । ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भइहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’

यसरी कांग्रेसभित्र एकातिर विशेष महाधिवेशनको तयारी तीव्र बनिरहेको छ भने अर्कोतिर संस्थापन पक्ष निर्वाचनपछिको नियमित महाधिवेशनमै जोड दिइरहेको छ । पुस अन्त्य नजिकिँदै जाँदा कांग्रेस कुन बाटो समाउने हो भन्ने प्रश्नले पार्टी राजनीति थप तरंगित बनेको छ । नेताहरुको आ–आफ्नो अडानका कांग्रेस महाधिवेशन पेचिलो बन्दै गएको छ । दुबै पक्षका नेताहरुले आ–आफ्ना तर्क पेस गरे पनि महाधिवेशन कहिले हुन्छ भन्ने स्वयम कांग्रेसका नेताहरुलाई नै थाहा छैन ।