`

कांग्रेस कार्यसम्पादन समिति बैठकअघि देउवाले शीर्ष नेताहरुलाई बोलाए छलफलमा

Nepal One HD १८ पुष २०८२ १०:५४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र विवादको रूप लिँदै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पार्टीभित्र राजनीतिक तरंग पैदा भएको छ ।
विशेष महाधिवेशन भए पार्टी विभाजनको जोखिम बढ्ने भन्दै कार्यकारी भूमिकाबाट पछि हटिसकेका सभापति शेरबहादुर देउवा पछिल्ला दिनहरूमा भने शीर्ष नेताहरूसँग लगातार संवादमा जुटिरहेका छन् । विवाद चर्किँदै गएपछि उनी आफै पहलमा उत्रिएका छन् ।

बिहीबार साँझ महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति सार्वजनिक गरे लगत्तै देउवाले उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकसहितका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए । साथै उनले महामन्त्री थापा र शर्मालाई पनि आफ्नै निवासमा बोलाएर संवाद गर्न चाहेका थिए । तर विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन तयारीको काममा जुट्न गगन थापा काभ्रेको धुलिखेलतर्फ गएकाले त्यो भेटघाट हुन सकेन ।

यसैबीच, कांग्रेसले आज दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकअघि सभापति देउवापक्षीय, अर्थात् संस्थापन पक्षका नेताहरूले छुट्टै रणनीतिक छलफल गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका नेताहरू दिउँसो १२ बजे सानेपास्थित सिद्धार्थ फुडल्यान्डमा भेला भएर साझा धारणा बनाउने भएका हुन् । छलफलपछि उनीहरू औपचारिक बैठकमा सहभागी हुने बताइएको छ ।

अर्कोतर्फ, विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्री गगन थापाले पनि कार्यसम्पादन समिति बैठकअघि आफ्ना समर्थकहरूसँग अलग्गै छलफल गर्ने तयारी गरेका छन् । त्यसका लागि उनी आज बिहानै धुलिखेलबाट काठमाडौं फर्किसकेका छन् । पार्टीभित्र फरक–फरक धारणा सतहमा आउँदै जाँदा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई कांग्रेसको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *