देउवालाई भेटेर शेखरले भने–पार्टी विभाजन रोक्न लचक बन्नुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजन उन्मुख भएको भन्दै त्यसलाई रोक्न लचक बन्न सुझाव दिएका छन् । आज (बिहीबार) बिहान देउवा निवास धुम्बाराही पुगेर उनले विशेष महाधिवेशन पक्षधरको भावना पनि समेट्नु पर्ने बताएका हुन् । नेता डा. मिनेन्द्र रिजालसँगै देउवा निवास पुगेका कोइरालाले मध्यमार्गी धार अपनाएर दुवै पक्षको विजय हुने बाटो समाउन सुझाव दिएका हुन् ।
कांग्रेस विभाजनको पीडा देशले र पार्टीले पहिले नै भोगेको स्मरण गराउँदै उनले पुनः त्यो पीडा भोग्ने अवस्थामा पार्टीलाई नपु¥याउन सभापति देउवा समक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित पुनः देउवा निवासमा जाने तयारी छ ।
दिउँसो शेखरले उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार तथा नेता मिनेन्द्र रिजाल लिएर देउवा निवास जाने र छलफल गर्ने सचिवालयले जनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन भन्दै २७–२८ पुसमा विशेष महाधिवेशनको औपचारिक आह्वान गरेका छन् । अर्कोतर्फ नेतृत्वको निर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ ।
