देउवाले बोलाएको छलफल गगनले गरे अस्वीकार, प्रतिवेदन तयार पार्न धुलिखेल जाँदै
काठमाडौं । नेपाली कांग्रेसकाे इतर पक्षले विशेष महाधिवेशनको तयारी तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफलका लागि बोलाए पनि, थापा विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न धुलिखेल जाने कार्यक्रममा व्यस्त हुने भएका छन्।
महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल प्रस्थान गर्ने तयारीमा छन् । ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्ने कामको लागि २–४ दिन धुलिखेल जाने तालिका पूर्व निर्धारित थियो । थापा प्रतिवेदन तयार पारेर मात्र फर्किने छन्’, उनले बताए। विशेष महाधिवेशनका पक्षधर नेताहरूले २७ र २८ पुसका लागि काठमाडौंस्थित ठूलो हल बुक गरेका छन् । आयोजक समितिका अनुसार, दुई दिनको हल भाडा, बगैँचा र पार्किङस्थल समेतको शुल्कसहित करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बुकिङका लागि आयोजक समितिले एक लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकेको छ ।
महाधिवेशनको सम्पूर्ण व्यवस्थापन—खाना, स्टेज, साउण्ड सिस्टम, सजावट लगायत—इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत एकै पटक सम्हालिने तयारी भइरहेको छ । विशेष महाधिवेशनका लागि हल बुक गर्ने काममा युवा नेता लेखनाथ पोखरेल स्वयं संलग्न भएका थिए । यसअघि, असोज २९ मा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको थियो । विधानअनुसार, प्रस्ताव दर्ता भएको ३ महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्छ । गत मंसिर १५ मा केन्द्रीय कार्यसमितिको बैठकले पुस २६–२८ सम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको भए पनि, नियमित महाधिवेशन स्थगित भएपछि विशेष महाधिवेशनको विवाद फेरि चर्किएको छ ।
