`

देउवा निवासमा शीर्ष नेताहरुको बैठक

Nepal One HD २० पुष २०८२ १७:१०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आफू निकट पदाधिकारीहरूको बैठक बसेको छ । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी र पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य पनि बैठकमा छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइएको छैन । महामन्त्रीद्वयले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले पारित गरेको कार्यतालिकामा फरक मत राखेका थिए ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेअनुसार विधानको धारा १७ को २ अनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन् । सभापति देउवाले आगामी चुनाव र पार्टीभित्रको आन्तरिक विषयका बारेमा आफू निकट नेताहरूसँग राय लिन बैठक राखेको एक पदाधिकारीले जानकारी दिए । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ०८३ को वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी बहुमतले कार्यतालिका पारित भएको थियो ।

त्यतिबेला फरक मत राखेका महामन्त्री द्वय थापा र शर्मा भने पुषभित्र विशेष महाधिवेशन गर्ने पक्षमा छन् । पार्टीको विधानअनुसार उनीहरुले ५४ प्रतिशत महाधिवेशन आयोजक समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । संकलित हस्ताक्षरलाई आधार बनाएर विशेष महाधिवेशन गर्ने थापा–शर्मा पक्षको तयारी छ । पार्टी विधानले बहुमत सदस्यहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गर्न सकिने भनेको छ । सोही अधिकार प्रयोग गरेर उनीहरु पुषभित्रै विशेष महाधिवेशन गर्ने रणनीतिमा छन् । महामन्त्री द्वय थापा र शर्माले अहिले कानुनी परामर्श गरिरहेको बताइन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *