पार्टी नफुटोस् भन्ने चाहन्छु : देउवा
काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरूले देउवालाई भेटेका हुन् । आज बिहान महाराजगञ्ज पुगेका नेताहरूसँग देउवाले आफू पार्टी नफुटोस् भन्नेमा सचेत रहेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
ती नेताले सुनाए, ‘हामीले पार्टी अप्ठ्यारो अवस्थामा छ । मिलाएर अघि बढ्नको लागि भूमिका खेल्नुस् भनेर ध्यानाकर्षण गरायौँ । उहाँले आफू पार्टी विभाजन नहोस् भन्ने चाहनामा रहेको बताउनु भयो ।’ यी नेताहरूले आजै महामन्त्रीद्वय थापा र शर्मासँग पनि भेट्ने तयारी गरेका छन् । भेटमा संलग्न केन्द्रीय सदस्य डिला संग्रौलाले सभापति देउवाले आफू पार्टी विभाजन होस् भन्ने पक्षमा नरहेको बताएको जानकारी दिइन् । ‘हामीले विशेष महाधिवेशन रोक्नु पर्छ । नत्र पार्टी विभाजनसम्म जान सक्छ भनेर सभापतिजीको ध्यानाकर्षण गराएका छौँ,’ उनले भनिन्, ‘उहाँले पनि विभाजनको बाटो ठीक होइन भन्ने धारणा राख्नुभयो । हामीले नियमित महाधिवेशनले यो विवादको समाधान गर्न सक्छ भनेर सुझाव दिएका छौं ।’
