`

विश्वप्रकाशले पार्टी फुट्न नदिन सुल्झाए यस्ता तीन विकल्प

Nepal One HD १८ पुष २०८२ १६:१८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्न नदिन र अहिलेको समस्या समाधान गर्नका लागि तीन वटा विकल्प अघि सारेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले तीन विकाल्प अगाडि सारेका हुन् । शर्माका अनुसार विधान अनुसार अब विशेष महाधिवेशनको विकल्प नभएकाले यहि महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाएर चुनावमा जाने पहिलो विकल्प हो ।

दोस्रो विकल्प भनेको विशेष महाधिवेशनले मूल नेतृत्व अर्थात सभापतिको मात्र निर्वाचन गरेर जाने उपाय हुन सक्छ । यदि नेतृत्व परिवर्तन अहिले गर्दा समस्या आउने भए नीति पारित गरेर विशेष महाधिवेशनको वैधानिक व्यवस्थापन गर्ने तेस्रो विकल्प उनले दिएका छन् । शर्माले भने, ‘कांग्रेसमा जारी समस्या समाधान गर्न कुनै ठूलो कुरा छैन । कांग्रेसले सबै समस्या मुस्कुराउँदै हल गर्छ । विधान अनुसार अगाडि बढौ, पार्टी फुट्दैन । पार्टी एकढिक्का रहन्छ । पार्टी फुटाउने कुरा हुन्न । नेतृत्व का लागि नभई नीतिका लागि पनि नेपाली कांग्रेस पार्टी यतिबेला विभाजन हुँदैन ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले बस्दै छ । बैठकमा सहभागी हुन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्व गृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका छन् । बैठक ३ बजेका लागि बोलाइएको भए पनि एक घण्टा ढिलोगरी सुरु हुन लागेको हो । कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए । यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *