कांग्रेसमा हुकुमी शासनको अभ्यास भयो, पार्टी सदस्यलाई रैती ठानियो : गुरुराज घिमिरे
विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको र नेतृत्वले हुकुमी शासन झल्काउने शैली अपनाइरहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा स्वेच्छाचारिता हाबी हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
घिमिरेका अनुसार पार्टी नेतृत्वले सदस्यहरूलाई रैतीझैं व्यवहार गर्ने, पार्टीलाई निजी जमिन्दारी वा घरेलु मामिला जस्तो ठान्ने प्रवृत्ति बढ्दै गएको छ । उनले यस प्रकारको सोच र व्यवहारलाई सर्वथा निन्दनीय भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् ।
उनले लेखेका छन्, ‘नेता सरह वा त्योभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती ठान्ने र पार्टीलाई निजी सम्पत्ति ठान्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यको घोर अपमान हो ।’ नेता घिमिरेले विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरे पार्टीभित्र गहिरो राजनीतिक संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । कसैको दबाब वा जबरजस्तीबाट निर्णय लादेर त्यसको औचित्य पुष्टि नहुने उनको भनाइ छ ।
उनले स्पष्ट शब्दमा भनेका छन्, ‘जबरजस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुनसक्ने कुनै पनि राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले लिनु पर्नेछ ।’ ७५ वर्षभन्दा लामो इतिहास बोकेको र आठ दशकसम्म विधिको शासन र लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीमा अहिले स्वेच्छाचारिता र हुकुमी शासनको अभ्यास मौलाउँदै गएको घिमिरेको आरोप छ । उनले विशेष महाधिवेशनको माग तत्काल सम्बोधन नगरे पार्टीको साख, प्रतिष्ठा र जनआधारमै गम्भीर असर पर्ने बताएका छन् ।
घिमिरेले दलभित्र विधिविहीनता र बेथिति चरम सीमामा पुगेको उल्लेख गर्दै विशेष महाधिवेशन माग गर्ने पार्टी सदस्यहरूमाथि गरिएको व्यवहारलाई पार्टी विधानको खुला उल्लंघन र उपहासको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘मागकर्तामाथि गरिएको बेवास्ता, दुव्र्यवहार र अपमान पार्टीभित्रको अलोकतान्त्रिक चरित्रको प्रमाण हो ।’
महाधिवेशनसम्बन्धी कागजी तालिका समेत न्यूनतम रूपमा लागू नगर्ने, स्वेच्छाचारी ढंगले समय परिवर्तन गर्ने र त्यसबारे पार्टी सदस्यहरूलाई अग्रिम जानकारीसम्म नदिने प्रवृत्तिलाई उनले अत्यन्तै अलोकतान्त्रिक भनेका छन् । नेतृत्वको कार्यशैली तानाशाहीपूर्ण र भत्र्सनायोग्य रहेको उनको ठहर छ ।
घिमिरेले कुनै पनि लोकतान्त्रिक संस्था केवल सिद्धान्तले होइन, आचरण र व्यवहारले लोकतान्त्रिक देखिनुपर्ने उल्लेख गर्दै कांग्रेस नेतृत्व त्यसमा चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस अन्य दलहरू जस्तो औसत दल नभई उच्च राजनीतिक साख र व्यापक जनसमर्थन बोकेको पार्टी भएको स्मरण गराउँदै उनले नेतृत्वलाई त्यो यथार्थ बुझ्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस अरू दल जस्तै साधारण दल होइन भन्ने तथ्यलाई नेतृत्वले आत्मसात् गर्न सक्नु पर्छ ।’
