लेखकमाथिको स्थान हद फुकुवा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।
लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो । अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि पत्र लेख्ने आयोगको तयारी छ । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकसँग चार घण्टासम्म पूरक बयान समेत लिएको थियो ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले बुधबार सिंहदरबारमा लेखकसँग विस्तृत रूपमा बयान लिएको हो । यसअघि पनि आयोगले पुस १४ गते करिब दुई घण्टा लेखकसँग बयान लिइसकेको थियो । बुधबारको लामो बयानपछि लेखकले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आयोगलाई आफूले दिएको विवरणबारे जानकारी दिएका थिए । भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन गृहमन्त्री लेखकले सोही दिन साँझ नै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
उक्त घटनापछि भदौ २४ गते काठमाडौंसहित २८ जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विभिन्न प्रहरी कार्यालयमा आगजनी हुनुका साथै हतियार समेत लुटिएको थियो । आयोग समक्ष दिएको बयानमा लेखकले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुवैले सुरक्षाकर्मीलाई स्पष्ट रूपमा ‘कुनै पनि हालतमा क्याजल्टी नहोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन् ।
उनका अनुसार भदौ २३ गते बिहान समेत उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरी संयम अपनाउन र हताहती हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका थिए । यही विषयमा गृह सचिवसँग पनि निरन्तर समन्वय भएको उनले बताएका छन् । लेखकले गृहमन्त्रीको हैसियतमा सुरक्षाका निकायलाई तीन वटा मुख्य निर्देशन दिएको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू लामो समयदेखि राजनीतिक जीवन समर्पित गर्दै आएको दाबी गरेका छन् । ‘विचार अभिव्यक्तिलाई रोक्ने कुरा सोच्न पनि सक्दिनँ’, उनले आयोग समक्ष भनेको विवरणमा उल्लेख छ ।
आयोगले यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की (भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका), काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलगायतसँग बयान लिइसकेको छ । उनीहरूमाथि लगाइएको स्थानहद यसअघि नै फुकुवा भइसकेको छ ।
